News Summary
Generated by OK AI. Editorially reviewed.- प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा रौतहटको मौलापुर नगरपालिकामा बजेट कार्यान्वयन, कर्मचारी तलब र आर्थिक कारोबार पूर्ण रूपमा प्रभावित भएका छन्।
- उपसचिव सुरेशबाबु घिमिरे र निलमकुमार न्यौपानेको छोटो कार्यकालपछि मौलापुर फेरि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको नगरपालिकाले जनाएको छ।
- नगरसभाबाट बजेट पारित भए पनि कर्मचारीले प्रमाणीकरण नगर्दा र फोहोर व्यवस्थापनको ट्याक्टर क्षतिग्रस्त हुँदा नगरको सेवा प्रवाहसमेत प्रभावित भएको मेयर रिनादेवी साहले बताएकी छन्।
२९ भदौ, जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा आर्थिक कारोबार प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनदेखि कर्मचारीको तलब भुक्तानीसम्मका काम प्रभावित भएको छ ।
नगरपालिकामा लामो समयसम्म आठौँ तहका इन्जिनियर रामबाबु साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले २०७८ कात्तिक २४ गतेदेखि २०८२ वैशाख २ गतेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए ।
सरकार परिवर्तनपछि चैतको अन्तिम साता उपसचिव सुरेशबाबु घिमिरेलाई मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो । उनी वैशाख ३ गते कार्यालयमा हाजिर भएका थिए । तर असार १२ गतेसम्म मात्र कार्यालयमा बसेर त्यसपछि काठमाडौं गएका उनी पुनः नगरपालिकाको कार्यालय फर्किएनन् ।
तीन महिना प्रमुख प्रशासकीय अधिकृत रहँदा उनी एक महिना मात्र नगरपालिका कार्यालयमा हाजिर गरेको मेयर रिनादेवी साहले बताइन् ।
घिमिरेले काठमाडौं बसेरै नगरपालिकाका भुक्तानीसम्बन्धी काम गरेका थिए । ‘उहाँ काठमाडौं गएपछि फर्केर आउनु भएन । त्यहीँबाट आफ्नो स्वार्थ अनुसारको चेक काट्ने काम गर्नुभयो । केही फाइलको भुक्तानी नै गर्नुभयो । साह्रै समस्या भयो,’ मेयर साहले भनिन् ।
घिमिरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जिल्ला समन्वय समिति दैलेखमा सरुवा भएपछि उनी उतै गए ।
त्यसपछि मन्त्रालयले उपसचिव निलमकुमार न्यौपानेलाई मौलापुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गर्यो ।
साउन ४ गते उपसचिव न्यौपाने मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भए । तर उनले पनि लामो समय काम गर्न पाएनन् । भदौ ५ गते कार्यालयबाट निस्किएका न्यौपानेले राजीनामा दिएको जानकारी नगरपालिकाले पाएको छ ।
नगरपालिकाका अनुसार न्यौपानेको उमेर ५६ वर्ष १० महिना र सेवा अवधि ३८ वर्ष पुगिसकेको थियो । अनिवार्य अवकाशको समय नजिकिएकाले उनले राजीनामा दिएको भन्दै मन्त्रालयमा पत्र बुझाएको नगरपालिकाको भनाइ छ ।
उनले कार्यालय छाड्नुअघि बरबुझारथसमेत गरेको र आफ्नो कार्यकालमा आर्थिक कारोबार नभएको इन्जिनियर रामबाबु यादवले बताए । यद्यपि, सामान्य प्रशासन मन्त्रालयमा बुझ्दा उनको राजीनामा भने स्वीकृत नभएको जनाइएको छ ।
त्यसयता मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । असार ११ गते नगरसभा गरी चालु आर्थिक वर्षको बजेट ल्याइए पनि त्यसलाई अन्तिम रूप दिन नसकिएको मेयर साहले बताइन् । नगरसभा सम्पन्न नभएकाले बजेट कार्यान्वयनमा समेत समस्या भएको उनको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा सामान्य प्रशासनिक काम सञ्चालन भइरहे पनि आर्थिक कारोबार भने पूर्ण रूपमा ठप्प रहेको नगरपालिकाले जनाएको छ । इन्टरनेट सेवा, सवारी साधन सञ्चालन, कर्मचारी तथा जनप्रतिनिधिका लागि इन्धन व्यवस्थापन र कर्मचारीको तलब भुक्तानीसमेत प्रभावित भएको मेयर साहको भनाइ छ ।
‘बालेन सरकार आएपछि मौलापुर नगरपालिकालाई अनिर्णयको बन्दी जस्तै बनाइएको छ । सामान्य प्रशासन मन्त्रालयले खेल खेलाउन थालेको छ । मन्त्रालय पुग्दा मन्त्रीज्यू भेट दिनुहुन्न, गुनासो सुनिदिनुहुन्न,’ मेयर साहले भनिन्, ‘न उपसचिवको राजीनामा स्वीकृत गर्छन् । न त नयाँ प्रशासकीय अधिकृत पठाउँछन् । यसरी नगरपालिका चल्छ ?’
जेनजी आन्दोलनका क्रममा नगरपालिका कार्यालय र फोहोर व्यवस्थापनमा प्रयोग हुने ट्याक्टरसमेत आगजनीबाट क्षतिग्रस्त भएको मेयर साहले बताइन् । ट्याक्टरमा क्षति पुगेपछि नगरको सरसफाइ सेवासमेत प्रभावित हुँदै आएको उनको भनाइ छ ।
नगरसभाबाट जनप्रतिनिधिले सहमतिमा बजेट पारित गरे पनि कर्मचारीले प्रमाणीकरण नगरेको र त्यसको कारण बजेट पनि चलाउन नसकिएको नगरपालिकाले जनाएको छ ।
यस विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी उपसचिव कृष्ण गिरीले बुझेर बताउने भने पनि उनी फोन सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया 4