News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकारले रवि लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै आफ्नो नाम शुभकामना काण्डमा नजोड्न आग्रह गरेकी छन् ।
- उनले रवि लामिछानेको टिमले आधारभूत तथ्यभन्दा बाहिर गएर समर्थक बढाउने प्रवृत्तिबाट बच्नुपर्ने भन्दै सचेत गराइन् ।
- लेखिकाले रास्वपामा आचार्य श्रीनिवासजस्ता विवादास्पद पात्र, अनधिकृत सर्भिलियन्स र सर्वदलीय संयन्त्र नबनेको विषयमा पनि प्रश्न उठाइन् ।
रवि लामिछानेजी, अरु नेताहरूलाई झैं तपाईंलाई पनि जन्मदिनको शुभकामना दिने रहर मलाई थिएन । तपाईं यो नबुझ्नुहोला कि म तपाईंलाई माया गर्दिनँ, त्यसैले शुभकामना दिइनँ । खास धेरै मूलधारे व्यावसायिक पत्रकारझैं मेरो पनि नेता–नेतालाई भेटेर वा फोनमा शुभकामना दिँदै हिँड्ने बानी नै छैन । बेकारमा तपाईंको टिमका केहीलाई भ्रम भएछ ।
तर यसपल्ट भने म यसकारण, अकारण शुभकामना दिन अभिशप्त भएँ कि, तपाईंको निजी कोटरीमा शुभकामना पठाउनेहरू पत्रकारहरुमध्ये मेरो नाम पनि सामेल रहेको मज्जैले हल्ला फिँजिएछ ।
यो नेपाल देशमा त फेरि जे पनि काण्ड भइहाल्छ, त्यसैले म तपाईंसँग निवेदन गर्छु कि यो शुभकामना काण्डको एउटा मतियारमा कृपया मेरो नाम दर्ज नहोस् । कतै झुक्किएर लेखिएको भए तपाईं त्यो नाम आफैंले काटिहाल्नुहोला । विशेष दिन हो, जन्मदिन । यसलाई परिवार, निकटस्थ, पार्टीपंक्तिमै मनाउँदा उचित हुन्छ पक्कै ।
तपाईंको टिमका निकटस्थ साथीहरूलाई यहीँबाट अनुरोध छ– तपाईंहरू अलिक सुध्रिनुहोला । किनकि प्यारा नेताहरूलाई आधारभूत तथ्यभन्दा बाहिर राख्नुहुँदैन । समाज कता जाँदैछ भन्ने वास्तविकता भुलेर केवल आफ्ना बफादार र अन्धभक्तप्रति आशक्त, अनि आलोचकप्रति अनुदार बन्नेहुँदा विगतमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्डजीहरूको बहुत बुरा हाल भएको थियो । कुनै पनि भक्तजनहरूले सभापति रविजीलाई त्यस प्रवृत्तिको शिकार बन्ने शृंखलामा नउभ्याउनुहोला ।
याद रहोस्, नेताहरूको हैसियत बढ्दै गएपछि उनीहरूले समर्थकको पनि स्तर हेर्न थाल्छन् । नेताहरूले कदकाँठी हेर्न थालेका दिन तपाईंहरूकै नाम ढोकामा काटिएला । तपाईंहरूको समेत हितका लागि यो सन्देश जारी गरेको हो ।
जन्मदिनको शुभकामनासँगै यहाँ अरु विषयमा पनि कुरा गरुँ । अब हेर्नुस् रविजी । हामी पत्रकारका अनेक अपेक्षा हुन्छन्– व्यक्ति जो होइन, कहिलेकाहिँ ऊ त्यस्तो भइदिए हुन्थ्यो भन्ने कामनासहित लेख्नुपर्ने, बोल्नुपर्ने बाध्यता छ कतिपय साथीभाइलाई ।
आजभन्दा एक वर्षअघिसम्म विषाक्त नकारात्मकता जसको कुटकुटसम्म भरिएको थियो, ती अचानक सकारात्मक सोचको महामारी फैलाउन उद्दत छन् । यति धेरै सकारात्मक काम भइसके, तर तिमीहरू हेर्नै नसक्ने ? देख्नै नसक्ने ? लगेरहो मुन्नाभाईमा भन्छ नि ! विनम्र भएर सम्झाउँदैछु, तँ एकछिन चुप लागेर सुन्न सक्दैनस् ?
तर रविजी, तपाईंलाई पनि थाहै छ, सत्तासँग सकारात्मक हुनेहरूको अचम्मै ताउरमाउर छ अचेल । आचार्य श्रीनिवास नै हेर्नुस् । तपाईंभन्दा बढी आधिकारिक ढंगले रास्वपाको भर्सन बोल्न थालेका छन् तिनी । तर मान्छेहरू बोल्नै धकाउँछन् उनका बारेमा । आफ्नो विवादास्पद विगतलाई हिन्दु धर्म बचाउको नारा दिँदै राजनीतिदेखि धर्मसम्मको ठेक्का पनि तिनैले लिएका छन् । अब सत्ताको केन्द्रमा उभिने उनको चाहना जेनजी सहिद स्मृति दिवसमा लुकाएनन् उनले ।
यस्तो लाग्छ कि अब हामीले हाम्रा धर्म र पवित्र आस्थाहरूलाई यस्ता रङ नम्बर गुरुजीहरूबाट बचाउनुपर्ने भएको छ । यहाँ कस्ता महान र विद्वान पण्डित अनि गुरुजीहरू होलान्, तिनको महानताउपर श्रद्धाले शिर निहुराउन छाडेर बदनाम श्रीनिवासजीका बारेमा एक कप एस्प्रेसो खर्च गर्नु पनि खासमा बेकार हो ।
तर तिनले रास्वपा के हो, कस्तो प्रकारको शक्ति हो, अब रास्वपाले के गर्नेवाला छ, रास्वपाका कस्ता टाइपका व्यक्ति अँटाउन सक्दैनन् भनी खरररर भन्दैगर्दा, अनि परररर ताली बज्दैगर्दा सबैभन्दा बढी दिल त तपाईंकै दुखेको होला । तपाईंलाई जन्मदिन पनि ढुक्कले मनाउन दिएनन् यी श्रीनिवास नाम गरेका व्यक्तिले ।
अहिलेसम्म तपाईंलाई अच्युतम लामिछाने, आशिका तामाङ, सागर ढकाल, खगेन्द्र सुनारका बारेमा टेन्सन लिएर हिँडे पुग्ने भएको थियो । तर जेनजीका शहीदहरूप्रति भावपूर्ण श्रद्धान्जली दिनुपर्ने दिनमा तपाईंको पार्टीभित्र रहेका ती चहकिला पात्रहरूका बारेमा प्रश्न उठाउन थालिएको छ, जसले आम मान्छेको हृदयमा रास्वपाको लोकतान्त्रिक छवि चम्काउन थप सघाएका छन् ।
ती चहकिला मान्छे को होलान्, आफैं खोज्नुहोला रविजी । हामीले नाम लियौं भने फेरि तपाईंको पार्टीमा तिनैको नम्बर घट्ला, मिडियाको आँखामा चम्किएको भनेर । खासमा मिडियाको होइन, आम नागरिकको आशाका आधारशिला बन्दै गरेका पात्रहरूलाई पार्टीभित्र र बाहिरका निज श्रीनिवासहरूले गरेको आक्रमण, सत्ताको गुपचुप सहारा लिएर तपाईंकै पार्टीका नेताहरूमाथि थालिएको अनधिकृत सर्भिलियन्सबारे तपाईं पक्कै जानकार हुनुहुन्छ ।
तर किन रविजी, तपाईंको हातमा सबथोक भएर पनि तपाईं केही नभएजस्तो व्यवहार गरिरहनुभएको छ ?
रविजी, तपाईं विभिन्न नेताहरूसँगको बैठकमा एउटा सर्वदलीय संयन्त्रको प्रस्ताव गर्दैहुनुहुन्थ्यो । त्यो अहिले तीन साता हुन लाग्दासम्म बनेको छैन । तपाईं सत्ता चलाउने पक्षलाई जिम्मेवार र उत्तरदायी हुन आह्वान गर्दै हुनुहुन्थ्यो । विपक्षीहरूलाई विपदमा सँगै उभिने हात बढाइराख्नुभएको थियो ।
अमेरिकी कूटनीतिज्ञहरू सर्जियो गोरदेखि विदेशमन्त्री मार्को रुबियोसम्म, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चिनियाँ नेताहरूसम्म तपाईं उच्च प्राथमिकतामा हुनुहुन्थ्यो, सायद अझै हुनुहुन्छ ।
रवि लामिछानेजी, तपाईंको हातमा असाधारण बहुमत पाएको पार्टीको नेतृत्व छ । तर श्रीनिवास जस्ता विवादास्पद विगत भएका पात्रहरूले रास्वपाको हवाला दिएर रास्वपाकै सांसदहरू हप्काउँदा पनि किन तपाईं हराए हराएजस्तो, डराए डराए जस्तो अवस्थामा हुनुहुन्छ ?
मैले यी प्रश्नहरू तपाईंलाई भेटेरै सोध्नेवाला छु । यो नसम्झनुहोला कि नेपालको प्रेस र यसका दाजुभाइहरू तपाईंसँग आँखा जुधाएर कुरै गर्दैनन्, गर्न सक्दैनन् । यसअघि एउटा कार्यक्रममा बोल्ने क्रममा तपाईंले प्रश्नको लाइसेन्स कसैलाई दिएका छैनौं भन्नुभयो । ठिकै हो, त्यो प्रश्नको लाइसेन्स तपाईंले नदिएकाले, र लाइसेन्स दिने अधिकार समेत तपाईंहरू व्यक्तिविशेषलाई नभएकाले म यी नागरिकसम्मत प्रश्नहरू पक्कै राख्नेछु । तर आज जन्मदिनको ढिलै भए पनि शुभकामना दिने दिन हो ।
खास तपाईंको जन्मदिन हिजो हो, जुन दिन तपाईंलाई शुभकामना दिन त्यस्तै के-के कारणले गर्दा पाइएन, भ्याइएन, बिर्सियो, वा भनौं आवश्यक ठानिएन । तर म आज म मनदेखि नै जन्मदिनको शुभकामना (सुटुक्क मेसेजमा होइन है, सिधै मेरो ओपिनियन शटमार्फत्) दिन चाहन्छु । ह्याप्पी बर्थडे रविजी ।
प्रतिक्रिया 4