Comments Add Comment

‘नाङ्गो तार’का हाइभोल्टेज कवि

लकडाउनअघि कवि शैलेन्द्र साकारले एक अन्तर्वार्तामा भनेका थिए– ‘कविता लेख्नु नाङ्गो तार समात्नुजस्तै हो ।’

कविता लेख्दा र पढ्दा नाङ्गो तार समाएजस्तै झट्का लाग्नुपर्छ भन्ने आशयमा उनले यो वाक्य बोलेका थिए । साकार स्वयंले २०४६ सालपछिका राजनीतिक विसंगतिमाथि ‘नाङ्गो तार’ शीर्षकको लामो कविता लेखे । ‘बौद्धिक जगतले नाङ्गो–तार निकै रुचायो’ साकार भन्छन् ‘कविता राजनीति त होइन तर यसले समाजलाई सधैं प्रभाव पारिरहेको हुन्छ ।’

साकारका पाँच कवितासंग्रह प्रकाशित छन् । दुईवटाको नाम राजनीतिसँग जोडिएको छ । ‘सर्पहरू गीत सुन्दैनन्’ र ‘नाङ्गो तार’ उनका चर्चित कवितासंग्रह हुन् । यसबाहेक ‘शैलेन्द्र साकारका कविता’, ‘अमेरिका’ र ‘कवितामा अमेरिका’ उनका कवितासंग्रह हुन् । दुई कथासंग्रह ‘रामायण र अरू कथाहरू’ तथा ‘कालपात्र र अरू कथाहरू’ पनि प्रकाशित छन् ।

****

२०३० को दशकको मध्यमा बागबजारस्थित रामदाइको नेवारी खाजाघर नामी थियो । ६२  पैसामा एक गिलास रक्सी पाइन्थ्यो । आधा खान चाहनेले ३१ पैसा तिर्नुपथ्र्यो ।

एक साँझ सिंहदरबारस्थित कृषि विकास बैंकबाट निस्केर शैलेन्द्र साकार कवि समूहसँग खाजाघर पुगे । हरिभक्त कटुवाल दिउँसैदेखि त्यहीँ जमेका रहेछन् । साकारलाई देखेपछि उनको जोश बढ्यो ।

‘ल साकार भाइ, ६२ पैसा हानौं !’

मत्थु भइसकेका कटुवालको आग्रह टार्न नसकेर साकार पिउन बसे । एक गिलास थप्नेबित्तिकै कटुवाल लगातार हाछ्युँ गर्न थाले । केहीबेर त कसैले वास्ता गरेनन् तर दर्जनौं पटक हाछ्युँ गरेपछि भने साकारलाई दोधार भयो ।

यता हाछु्युँले उग्र रूप लिएपछि हरिभक्त केहीबेरमै ढले । फसाद साकारलाई पर्‍यो । साकार र साथी दीपक जोशी मिलेर कटुवाललाई होटलबाट बाहिर निकालेर ट्याक्सीमा वीर अस्पताल लगे ।

‘त्यो रात के हुने भन्नेमै बित्यो’ चार दशकअघिको त्यो घट्ना सम्झिँदै साकार भन्छन् ‘तर भोलिपल्ट बिहान हामीलाई थाहै नदिई कटुवाल अस्पतालबाट गायब भए ।’

कटुवालले बिहान एक बोतल पानी पिएछन् अनि नर्सलाई धन्यवाद भनेर हिँडेछन् । त्यो थाहा पाएपछि साकारको मनको डर हट्यो ।

कवि साकारसँग साहित्यका कुरा गर्दा अनेकौं प्रसङ्गमा रक्सी जोडेर आइहाल्छ । रक्सी खाने क्रममा अन्य साहित्यकारसँग भएका राम्रा–नराम्रा घटना उनी चाहेर पनि बिर्सन सक्दैनन् ।

****

भोजपुर बजारमा म्याट्रिक (अहिलेको एसएलसी) पढ्दासम्म साकारलाई आफ्नो नाम र जीवनले ‘युटर्न’ लेला भन्ने कुनै छनक थिएन । फाट्टफुट्ट कविता लेख्थे । घरमा भएका साहित्यिक किताबहरू पढ्थे । अरू समय साथीहरूसँग डुल्नेमै बित्थ्यो ।

‘म्याट्रिक पास गरेपछि काठमाडौं जान्छु भन्न्ने थियो’ किशोरकाल सम्झिँदै साकार भन्छन् ‘तर काठमाडौं कहाँ पर्छ, कसरी जाने केही थाहापत्तो थिएन ।’

काठमाडौं जाने नै सुर कसेर उनी विराटनगर झरे । जोगबनीबाट रेल चढेर बिहार हुँदै वीरगञ्ज आइपुगे । वीरगञ्जमा चढेको गाडीले सुनधारानिर ल्याएर ओराल्यो ।

नजिकैको गगनचुम्बी धरहरालाई उनले चिनिहाले । जीवनमा पहिलोचोटि त्यति अग्लो धरहरा हेरेर उनी छक्क पनि परे ।

साँझ पर्‍यो तर बासको टुङ्गो थिएन । भेटिएका मान्छेलाई आफू भोजपुरको हुँ भनेर बताए । तीमध्ये कसैले भोजपुरेहरू नक्सालमा बस्छन् भनेपछि हिँड्दै त्यहाँ पुगे ।

काठमाडौं आएको पहिलो रात उनको बास भोजपुरका हरिप्रसाद नेपालको डेरामा भयो । पहिलो रातमा नै भाग्यले साथ दिएजस्तो लाग्यो । ‘कवि–लेखकहरू चिन्ने बाटो पनि खुल्यो’, उनी भन्छन्, ‘भोजपुरमा नै चिनेका केबी श्रेष्ठ त्यहीँ मुरली बजाइरहेका थिए ।’

केबीले त्यही टोलकी चनमति भन्ने केटीलाई प्रभाव पार्न मुरली बजाएका रहेछन् । साकारसँग केहीबेर बोलेर उनी मुरलीमै मग्न भए ।

केही बेरमा पल्लो घरबाट एक अधबैंसे पुरुष आएर केबीलाई हकारे, ‘आधा रातमा किन बाँसुरीको हल्ला, भाइ ?’

रिसाउँदै केबीले प्रतिप्रश्न गरे, ‘तपाईं को हो मलाई मुरली नबजा भन्ने ?’

‘म रामेश्वर शर्मा चालिसे भन्ने रमेश विकल हुँ !’

त्यो सुनेर साकारको दिमागमा टिङ्टिङ् घन्टी बज्यो । उनलाई खोजेकै ठूलो मान्छे भेटेजस्तो भयो । विकललाई उनले विद्यालय जीवनमै पढेका थिए । अप्रत्याशित रूपमा ती कथाकार भेटिँदा उनलाई अपार खुसीसँगै भयङ्कर संकोच लाग्यो ।

‘यसपछिका दिनमा त नक्सालमै बस्ने भैरव अर्याल, पारिजात, भूपी शेरचन, पुष्कर लोहनी, रोचक घिमिरे सबैसँग चिनजान भयो’ साकार भन्छन् ‘आफूले किताबमा मात्र पढेका लेखकसँग बसउठ गर्न पाउँदा भुइँमा खुट्टा थिएन ।’

काठमाडौं आएकै महिना उनले ‘एक उद्वेग’ शीर्षकको कविता लेखेर ‘रचना’मा पठाए । कविको नाममा साकार लेखेका थिए । ‘रचना’ को अंक–२ मा ‘एक उद्वेग’ छापिएर आयो । कविको नाम शैलेन्द्र साकार थियो ।

सम्पादक रोचक घिमिरेले ‘शैलेन्द्र साकार’ लेखिदिएछन् ।  त्यही दिनदेखि शंकरप्रसाद श्रेष्ठ शैलेन्द्र साकार भए । तर सरकारी कागजमा शैलेन्द्र साकार नचल्ने भएकाले कति ठाउँमा ‘म शंकरप्रसाद श्रेष्ठ नै हुँ’ भन्नु परेको उनी सुनाउँछन् ।

आइए पढ्न काठमाडौं आएका साकारले दुईचोटि ‘आइए’ पढ्न पुग्ने समय व्यर्थमा बिताए । सुरुका चार वर्ष न कुनै जागिर खाए न त क्याम्पस भर्ना भए । जो भेटिन्छ उसकै पछि लाग्ने, कविता लेख्ने, गीत सुन्नेमै समय बिताए ।

‘दुब्लाएर बुख्याँचाजस्तो भइसकेछु’, उनी भन्छन्, ‘घर गएर आमाको स्याहार पाएर मात्र फेरिएँ ।’ गाउँ फर्केका साकारले एक वर्ष त्यतै पढाए । पढाउँदै गर्दा एकदिन उनको चेत खुल्यो– अहो ! हेडमास्टर बन्न बिए गर्नुपर्छ । नत्र यिनै केटाकेटी पढाएर बस्नुपर्छ ।’

त्यसलगत्तै हान्निएर धरान झरेर महेन्द्र कलेजमा आइए पढे । परीक्षा दिनेबित्तिकै दोस्रोचोटि काठमाडौं आए ।

त्यसपछि आजसम्म काठमाडौं नै साकारको आधार थलो बनेको छ । बीचमा केही वर्ष अमेरिका र एक वर्षजति पोखरा बसे । त्यसबाहेकका सबै हिउँद–बर्खा नयाँ सडक, सिंहदरबार, पुतलीसडक र वानेश्वरमा बिताए, बिताउँदैछन् ।

वानेश्वरमा घर, सिंहदरबारमा कार्यालय र नयाँ सडकमा साहित्यिक जमघट भयो । मदिराले पुतलीसडक निम्त्याउँथ्यो । उनी भन्छन्, ‘हिसाब गर्‍यो भने काठमाडौंको सडकमा एक लाख फन्को लगाइसकेको हुँला !’

****

साकारले कृषि विकास बैङ्कमा बिताएको २५ वर्ष कहिल्यै बिर्सने कुरै भएन । उनलाई त्यो बैङ्कमा छिर्न एसएससी दिँदाको साथी ज्ञानेन्द्रराज कोइरालाले उक्साएका थिए ।

एक भेटमा उनले भने– ‘ए शंकर, हाम्रो बैङ्कमा अफिसरको भ्याकेन्सी खुल्दैछ । तिमी पनि आउ, जागिर खानुपर्छ ।’

जवाफमा साकारले भने– ‘एक सुकाको हिसाब आउँदैन के अफिसर बन्ने ?’

‘हैट ! त्यो त सबै असिस्टेन्टले गरिहाल्छ नि, तिमीले टिप्पणी लेख्ने, सुपरीवेक्षण गर्ने हो’ कोइरालाले सम्झाए ।

अन्ततः उनले परीक्षा दिए । नाम दोस्रो नम्बरमा निस्कियो । त्यो देखेर साकार तीन छक परे अनि एकाध दिनमा आफैं चित्त बुझाए ।

‘कर्जा शीर्षकमा निबन्ध लेख्न भनिएको थियो’, उनी सम्झन्छन्, ‘अरू कुरा त्यस्तैउस्तै हो, मेरो लेखन शैलीले जाँचकीलाई खुब प्रभावित पारेछ भन्ने लाग्यो ।’

सलल बगेको त्यो निबन्धको सार ‘आवश्यक परेकालाई ऋण दिनुपर्छ, लोभीलाई होइन’ भन्ने रहेको साकारले बिर्सेका छैनन् ।

त्यतिबेलासम्म साकारले दर्जनौं कथा लेखिसकेका र उम्दा कविमा दरिइसकेका थिए ।

****

अधिकांश तस्वीरमा टाईसुट र चस्मामा सजिएका देखिन्छन्, कवि साकार । जाडो याममा स्वेटर, ओभरकोट पनि थपिन्छ उनको ज्यानमा ।

उनी भन्छन्, ‘जीवनमा मैले जतिचोटि भूपी शेरचनलाई भेटेँ, सधैं टाइसुटमा ठाँटिएको देखें । त्यही प्रभाव पर्‍यो । पछि बैङ्कमा अधिकृत हुँदा कोट लगाउनैपर्ने भएकाले मलाई पनि सहज लाग्दै गयो ।’

अग्रज साहित्यकारहरूको लेखन र विचारले समेत प्रभाव पारेको उनी स्वीकार गर्छन् ।  ती कोको कवि–लेखक थिए, जसले साकारलाई प्रभावमा पारे ?

‘मोहन कोइरालाको कवित्वले मलाई मेहनत गर्न सिकायो’ उनी भन्छन् ‘प्रयोगवादी कविहरूले छन्दमा नबाँधिन प्रेरित गरे । कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, ईश्वरवल्लभको कविता गहिरोगरि मन पराएँ ।’

****

शैलेन्द्र साकार भन्नेबित्तिकै साहित्यिक आन्दोलन जोडिन्छ । आधा दर्जन साहित्यिक आन्दोलनमा प्रत्यक्ष संलग्न यी कवि आन्दोलनलाई चेतना प्रसार मान्छन् । त्यसैले उनी  ‘अस्वीकृत जमात’, ‘बुट पालिस’, ‘सडक कविता क्रान्ति’, ‘अमलेख’ लगायतका बहुचर्चित साहित्यिक आन्दोलनहरूमा सरिक भए ।

५० को दशकमा आफैंले ‘कथ्यः कायाकल्प’ सुरु गरे ।

राजनीतिक स्पष्टता नभएका साहित्यिक आन्दोलन सफल नहुने साकारको मत छ । नयाँ पुस्ताले विभिन्न साहित्यिक आन्दोलन सुरु गरेकोमा उनी खुसी छन् । तर बलियो वैचारिक जग नभएर ती आन्दोलनहरू ओइलाएकोमा दुःखी पनि उत्तिकै छन्, उनी ।

‘स्वतन्त्र र सृजनात्मक उत्कर्षतर्फ गयो भने आन्दोलनको प्रभाव दीर्घकालसम्म रहन्छ’ साहित्यिक आन्दोलनका अनुभवी साकार भन्छन्, ‘कुनै राजनीतिक समूह वा अभियानलाई साथ दिने साहित्यिक आन्दोलनले पनि अर्थहीन मृत्युवरण गर्छ ।’

आफू संलग्न साहित्यिक आन्दोलनमध्ये ‘सडक कविता क्रान्ति’लाई उनी नेपाली साहित्यकै सार्थक अभियान मान्छन् । त्यो कविता आन्दोलन अभिव्यक्ति स्वतन्त्रताको लागि थियो ।

****

२०४६ पछि भने साकार निष्कृय भए । जागिरको परिबन्ध त छँदै थियो, त्यसमाथि बहुदलको आडमा छेलोखेलो गर्नेहरूको दबदबाले उनी किनारतिर धकेलिए जस्ता भए ।

दल निकटस्थहरूको तमासा हेर्दाहेर्दै २०५५ साल आयो । त्योसँगै जागिरबाट अवकास पाएर उनी अमेरिकातिर लागे ।

साकार फर्कदा देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । उनी भन्छन्, ‘साथीहरूले जोडबल गरेर मलाई पनि पाँच महिनाका लागि साझा प्रकाशनको अध्यक्ष बनाइदिए ।’

शाही शासन भए पनि नेपाली साहित्यमा केही गर्छु भनेर उनी साझामा बस्न राजी भएका थिए । भन्छन्, ‘कम्तीमा पनि साहित्यको अभिलेखीकरण गर्छु भन्ने पवित्र भावना लिएर गएको थिएँ ।’

यता बजारमा कतिपयले साकार राजावादी भयो, पश्चगामी निस्क्यो भनिरहेका थिए, उता उनी विद्रोही कविता लेखिरहेका थिए । त्यो पाँच महिना त्यसरी नै बित्यो ।

१० वर्षयता साकार नेपाल–अमेरिका गरिरहन्छन् । काठमाडौं छँदा युवा कविहरूको हुलमा भेटिन्छन् । यदकदा मित्र–मण्डलीसँग ‘दारु महल’ पनि पुग्छन् । लकडाउन सुरु भएपछि घरमै थुनिएका उनी अहिले जीवनलाई रसिलो पार्न कता निस्कुँ, कता घुमुँको मुडमा छन् ।

****

शैलेन्द्र साकारलाई धेरैले सोध्छन्, ‘एकाघरका दाजुभाइ कसरी नामी साहित्यकार हुन पुगे ?’

परशु प्रधान शैलेन्द्रका सहोदर दाजु हुन् । प्रधान कविता र निबन्धमा पढिएका छन् । साकार कविता र कथामा ।

दाजुभाइ नै साहित्यमा भएको कुरा चल्दा साकार भन्ने गर्छन्– ‘हजुरबुबा नै लेख्नुहुन्थो । उहाँका दर्जनौं कविता रहेछन् । ती बटुलेर सानो पुस्तक निकालेका छौं ।’

उमेरमा साढे तीन वर्ष फरक हरेका यी दाजुभाइमा समालोचकीय सम्बन्ध पनि छ । दाइले केही लेख्दा भाइले पढेर सुझाव दिन्छन् । भाइको कवितामाथि दाइ टिप्पणी गर्छन् ।

‘अमेरिका बस्दा पनि फोनमा कविता सुनाउँछु’, साकार भन्छन्, ‘लेखनसँग ठट्टा गरेको परशु दाइ मन पराउनुहुन्न ।’

आफ्नो व्यावहारिक जीवनमा पनि दाजुको ठूलो हात रहेको उनी सुनाउँछन् ।

‘म व्यवस्थित हुन जान्दिनँ । दाइले नै जग्गा हेरेर किनिदिनुभयो । मेरै बुद्धिले त काठमाडौंमा कसरी घर बन्थ्यो !’

आफूले जीवनका उर्जाशील दुई दशक कार्यालय र साथीभाइसँग बिताएको साकार बताउँछन् । ‘परिवारसँग त सँगै छु भनेजस्तो मात्र भयो’, ३० र ४० को दशकको आफ्नो दिनचर्या सुनाउँदा उनले भने ।

****

कविता लेखेर के पाउनुभयो ?

साकारलाई यो प्रश्न वाइयात लाग्छ । ‘केही पाउन लेखेको होइन । अस्तित्व र आवाजका लागि लेखेको हुँ’, उनी आफ्नो मान्यता सुनाउँछन् ।

कविता लेखेकै कारण जब्बर प्रशंसकहरू पाएका छन्, उनले । आत्मीय साथीभाइ र पाठक पाएका छन् । युवा कवि विश्व सिग्देल साकार दाइको स्वर कहिल्यै सानो नसुनिएको बताउँछन् ।

समकालीन साथी विमल निभा साकारलाई कलासचेत अग्रणी आधुनिक कवि मान्छन् । ‘सामान्य बन्नु र सामान्य जीवन बिताउनु साकारको परिचय हो’ निभा भन्छन् ‘उनको कविता भने विद्रोही र अराजक छन्, त्यसैले कविले कहिल्यै घुँडा टेक्नु परेको छैन ।’

भिडिओमा हेर्नुहोस् शैलेन्द्र साकारका तीन कविता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment