+
+
Shares
विचार :

कति पढाउनु यार, पारिजातलाई ?

पारिजात, बीपीहरुको स्थानमा नयाँलाई नै राखिएको होला भन्ने आशाका साथ अगाडि बढ्दा जे जे पाठहरू देखियो, त्यही वस्तुस्थितिबाट निम्तिएको परिस्थितिले अहिले नेपाली साहित्यिक जगत् चलमलाएको छ ।

बिन्दु शर्मा बिन्दु शर्मा
२०८१ चैत १३ गते १७:३७

यति बेला देशको शासनसत्तामा राजा फर्काउने कसरत चलिरहेको छ । गणतन्त्रका विरुद्धमा बृहत् प्रदर्शनको तयारी पनि हुँदै छ । नेपाली साहित्यको पाठ्यक्रम चाहिँ एक वर्षअगाडि नै गणतन्त्रका विरुद्धमा हिँडिसकेको रहेछ ।

२०८० सालमा परिमार्जित भएर २०८१ फागुन १ गतेदेखि लागु भएको पाठ्यक्रम हातमा परेपछि मात्र थाहा पाइयो; यसको विशेष अध्ययनबाट व्यक्ति प्रतिभा हटिसकेछन् । लैङ्गिक, वर्गीय र क्षेत्रीय सहभागिता एउटा निश्चित लिङ्ग र समुदायको फोल्टाभित्र खुम्चिएर म्याद गुज्रिसकेका पुरातनवादी दर्शन र दृष्टिकोण हावी भइसकेछन् ।

हुन त कसैको अनुयायी हुनुमा नै हामी सबैभन्दा खुसी हुन्छौँ; आफूलाई कसैप्रति समर्पित गर्नुमा गौरवान्वित ठान्छौँ; कसैलाई चीरकालसम्म पनि निर्विकल्प ठान्नुमा हाम्रो आनन्दको अनुभूति चाक्लिँदै जान्छ ।

यस्ता अनुभवले नै हामीमध्ये धेरैमा दासताप्रतिको आशक्ति नैसर्गिक रूपमै आएको प्रस्ट हुन्छ । जब आफूमै दासताप्रति आशक्ति रहन्छ, तब उसले अरूलाई पनि सोही आचरणमा ढाल्ने प्रयत्न गर्नु स्वाभाविकै हो ।

नेपाली समाज पुरुषतान्त्रिक व्यवस्थाबाट परिचालित हुँदै आएको तथ्य सर्वविदित छ । पुरुषतन्त्रको प्रमुख अस्त्र भयद्वारा नियन्त्रण हो । यसैको बलमा मिथ्या प्रेम दर्साउँदै उसले इतिहासदेखि नै आफूप्रतिको बफादारी, सामाजिक अनुशासन र सहनशीलताको मार्गमा महिलालाई हिँडाइरहेको छ; आर्थिक, सामाजिक, शैक्षिक आदि विभिन्न संरचना र त्यससँग सम्बन्धित मूल्यमान्यतालाई पनि प्रभावित पार्दै आएको छ ।

यसले महिला र उनीहरूको सिर्जना, सहभागिता एवम् उपलब्धिलाई कहिल्यै महत्त्व दिँदैन । वर्णव्यवस्थाबाट प्राप्त लाभांशसमेत मिसिएपछि नेपालको पुरुषतन्त्रले एउटा निश्चित धार्मिक र जातीय समूहको स्वार्थलाई नै मानक चरित्र बनाइदिएको छ । समाज, संस्कृति र शिक्षाका सवालमा पनि आममानिसको सम्मानित सहभागितालाई खुम्च्याउँदै आएको पुरुषतन्त्रको सङ्कीर्ण र नाङ्गो प्रवृत्ति पाठ्यक्रममा समेत प्रकट भएको छ ।

लुकाइएको किन ?

फागुन १ गतेबाट पढाउनुपर्ने पाठ्यक्रम माघ ३० गते मात्र वेबसाइटमा राखिएछ । त्यो पनि पहिलो सत्रको मात्र । यसको जानकारी साथीहरूले माघ मसान्तको बेलुका अबेर गरी थाहा पाए । माघ २२ गतेबाट नयाँ कक्षा सुरु गर्नुपर्ने डीन कार्यालयको निर्देशन पाठ्यक्रम उपलब्ध नभएकै कारण दुईपटक अवज्ञा गरिसकेका शिक्षकहरूको नयाँ पाठ्यक्रमप्रति चासो हुने नै भयो । बाँकी तीनओटा सत्रको पाठ्यक्रम किन बेवसाइटमा राखिएन ?

खोजखबर गरियो तर डीन कार्यालयबाट समेत आलटालबाहेक कुनै स्पष्ट जवाफ आएन । पहिलो सत्रको मात्र भए पनि सबैले त्यो पाठ्यक्रम सरसर्ती पढ्यौँ । पाठ्यक्रमको समग्र रूपरेखा हेर्दा साहित्यिक पाठ मात्र नभई साहित्यका सिद्धान्त, इतिहास, दर्शनसहित पाठ्यक्रमको संरचना नै कुरूप बनाउने गरी परिवर्तन गरिएको रहेछ ।

यसअघि ऐच्छिक विषयअन्तर्गत नेपाली साहित्यका प्रभावशाली स्रष्टाको जीवनी, व्यक्तित्व र रचनाकारिताको समग्र सघन अध्ययन गराउने उद्देश्यका साथ राखिएका लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, पारिजात, विजय मल्ल जस्ता साहित्यकारलाई हटाइएको रहेछ ।

तिनका स्थानमा नयाँलाई नै राखिएको होला भन्ने आशाका साथ अगाडि बढ्दा जे जे पाठहरू देखियो, त्यही वस्तुस्थितिबाट निम्तिएको परिस्थितिले अहिले नेपाली साहित्यिक जगत् चलमलाएको अवस्थामा छ । बाँकी तीन सत्रको पाठ्यक्रम उपकुलपतिसँगको बैठकपछि डीन कार्यालयबाट फोटो खिचेर मात्र ल्याउन पाइयो ।

अहिले पनि यसको सफ्ट प्रति डीन कार्यालय र नेपाली केन्द्रीय विभागमा छैन । त्यसैले दुईचार जना शिक्षकले मात्र यो हेर्न पाएका छन्, अरूले त पाठ्यक्रबारे चासो राख्नुलाई पनि अपराध ठानिरहेका छन् । त्रिविका नेपाली विषय समितिका अध्यक्ष, सदस्य र अधिकांश शिक्षकहरूको प्राज्ञिकता कतिसम्म ह्रास भइसकेको छ भने आफूले जिम्मा लिनुपर्ने र दैनिक अध्यापन गर्नुपर्ने पाठ्यक्रमबारे सार्वजनिक रूपमा विमर्श गर्नसमेत उनीहरू तयार छैनन् !

पारिजात स्मृति केन्द्रको आपत्ति

पारिजात स्मृति केन्द्रसँग आबद्ध भएका कारण विशेष अध्ययनबाट परिजातलाई हटाइएको सूचना मैले अनलाइन गु्रपमा खसालेँ । त्यसपछि हाम्रो छलफल सुरु भयो । विश्वविद्यालय जस्तो स्वायत्त निकायले आफ्नो पाठ्यक्रम आवश्यकताअनुसार परिवर्तन गर्न र नयाँ पाठहरू चयन गर्न पाउँछ भन्ने कोणबाट पनि मत प्रकट भयो । तर, विकल्पमा चयन गरिएका पाठको प्रकृति र आशय के हो त भन्ने विषयमा हामी केन्द्रित भयौँ र अन्त्यमा विषय समितिको स्वार्थ र वैचारिक पूर्वाग्रह रहेको ठहर गर्दै पाठ्यक्रमबाट पारिजातको विशेष अध्ययन हटाइएको विरुद्धमा वक्तव्य जारी भयो ।

बहस यत्तिमै सकिएन । केही साहित्यकार शिक्षक साथीहरूले अप्रत्यक्ष रूपमा त केहीले प्रत्यक्ष रूपमै भने, “कति पढाउनु यार ! पारिजातलाई ?” सामाजिक सञ्जालमा पनि मधुरो स्वर सुनियो, “कति पारिजात मात्रै पढाउनु त ? अब नयाँ नयाँ प्रतिभा पनि पढाउनुपर्छ !” के त्यसो भए पारिजातलाई पाठ्यक्रमबाट हटाउन पाउँदैनौ भन्ने स्मृति केन्द्र नै परिवर्तनको बाधक हो त ? के पाठ्यक्रममा नयाँ लेखकहरूको प्रविष्टिलाई रोक्ने पारिजात नै हुन् त ?

के नेपाली विषयको पाठ्यक्रममा देवकोटा, कोइराला, भिक्षु, पारिजात र मल्लको हैसियत समान छ ? आफ्नो हातको पाठ्यक्रम पनि नपढी शिक्षक साथीहरूसमेत सतही टिप्पणीमा लागेको देख्दा सोच्न बाध्य भइयो, यस्तो सतही चिन्तन बोकेकाहरूले विद्यार्थीलाई कस्तो ज्ञान प्रसार गर्छन् होला !

कसले थुन्यो नयाँ पुस्ताको बाटो ?

त्रिविको नेपाली केन्द्रीय विभागको स्थापना भएको २०१७ सादेखि हालसम्म को को स्रष्टा पढाइए र तिनका कस्ता कस्ता पाठहरू पढाइएका छन् भन्ने कुरा अहिलेको विमर्शको महत्त्वपूर्ण बुँदा हो । प्रारम्भदेखि नै काव्यविधाअन्तर्गत भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाका रचना पढाइँदै आएका छन् र पछि पछि मोहन कोइराला, वैरागी काइँला, ईश्वरवल्लभ जस्ता कविका रचनाहरू पनि थपिएर आएका छन् तर पौड्यालकै समकालीन योगमाया तथा देवकोटा र ईश्वरवल्लभसम्मका कविका समकालीन गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, गोकुल जोशी, हरिभक्त कटुवाल, युद्धप्रसाद मिश्र, भूपि शेरचन, वानीरा गिरि, वासु शशी जस्ता कविको बाटो कसले थुन्यो ?

कस्ता कस्ता कविता पढाएर उनीहरूका रचनालाई वञ्चित गरियो ? ‘कमन सेन्स’विना प्याच्च बोलिहाल्ने साहित्यकार र प्राध्यापकहरूले बुझ्नुपर्ने पक्ष यहाँनिर छ । अहिलेको ‘जेनजी’ पुस्ताका विद्यार्थीहरूको परिवर्तनकारी चिन्तनलाई समन गर्नकै लागि भानुभक्त, मोतीराम, सोमनाथहरूका रचनालाई निरन्तरता दिइएको होइन भन्ने आँट छ यहाँहरूसँग ?

पाठ्यक्रममा सामन्तवादी चेतनाका कविले निर्विकल्प राज गरेको आधा शताब्दीभन्दा बढी समय व्यतीत भइसकेको छ तर पञ्चायतको अन्त्यतिरबाट मात्र प्रवेश पाएकी पारिजात भने पाठ्यक्रमको कसिङ्गर किन बनिन् त ? त्यसको फेहरिस्त पनि बताइहालौँ !

पारिजातले अपराध गरेकै हुन् !

प्रथमतः पारिजातले वीर गोर्खालीको नामभित्र लुकेको कतिपय सम्भावित पात्रको आपराधिक हर्कतलाई उद्घाटन गरिन् ! दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट लड्ने क्रममा आफ्नो रणकौशल देखाएका उनीहरूलाई ‘सुयोगवीर’का माध्यमबाट यौनपिपासु करार गरिदिइन् । पतिको मृत्युको अपुष्ट खबर सुनेरै मृत्युवरण गर्ने देवकोटाकी ‘मुना’को आदर्शको मुखुण्डो भिरेका महिलाका स्थानमा ‘सकम्बरी’जस्ती पुरुषसँग दार्शनिक बहस गर्न सक्ने जोधाहा र नरपीडक स्त्री पात्र रचना गरिन् ।

बाह्य आवरणमा मर्यादापुरुषोत्तमलाई जप्दै वासनायुक्त कुण्ठा बोकेर बाँचेका सुकिलामुकिलाहरूकोे सामाजिक अपराध सबैका सामु उदाङ्गो पारिदिइन् अनि ‘रामायण’को आदर्श शिरोपर गरी महिलालाई पुरुषकी छायाँ बनाउनुको साटो उल्टै पुरुषसँगै पाइला मिलाउँदै क्रान्तिको नेतृत्व गर्न सक्ने ‘सुवानी’ पो बनाइदिइन् ।

पतिभक्ति त मर्दैन पापी पति भए पनि” भन्ने समेली आदर्शको प्रतिकूलतामा पनि बोलिरहिन् । यसरी सनातनी नजरमा एउटा सिङ्गै पत्रमा पढाइन लायक नठहरिएपछि सुनिने कथित प्राज्ञिक बोली यही न हो, “कति पढाउनु यार ! पारिजातलाई ?”

मुगलकालीन भारतमा हिन्दुत्वको अभियानलाई पुनर्जागृत गरेका राजा ‘पृथ्वीराज चौहान’ र ‘महाराणा प्रताप’जस्ता क्षत्रिय कुलका धीरोदात्त नायक प्रयोग गर्ने देवकोटेली परिपाटीलाई उल्ट्याउँदै ‘ज्ञाने’ र ‘वसन्तीया’ जस्ता भुइँमान्छेहरूलाई नायकत्व प्रदान गर्ने पारिजात वास्तवमै सनातन धर्म र संस्कृतिका निम्ति घातक ठहरिनु कुन ठुलो कुरा भयो र ?

हो, उनी “पतिभक्ति त मर्दैन पापी पति भए पनि” भन्ने समेली आदर्शको प्रतिकूलतामा पनि बोलिरहिन् । यसरी सनातनी नजरमा एउटा सिङ्गै पत्रमा पढाइन लायक नठहरिएपछि सुनिने कथित प्राज्ञिक बोली यही न हो, “कति पढाउनु यार ! पारिजातलाई ?”

पुरुष स्रष्टाका सबै विधाका रचना पढाउनै पर्छ !

साहित्यिक योगदानको कुरा गर्ने हो भने परिमाणात्मक रूपमा जुन स्थान देवकोटालाई प्राप्त छ, युगचेतनाको सम्प्रेषणका दृष्टिले उनको जत्तिकै उच्च स्थान पारिजातको पनि हो । नेपाली साहित्यलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित गराउने श्रेय पनि देवकोटाभन्दा पारिजातलाई नै पहिले जान्छ ।

तर, पाठ्यक्रममा देवकोटा एउटै तहको कविता, खण्डकाव्य, महाकाव्य र निबन्धमा ससम्मान पढाइएर कुलदेवताको स्थानमा छन् भने पारिजात एउटा उपन्यासमा सीमित हुँदै सीमान्त सङ्घारमा धकेलिएकी छिन् ।

ठिकै छ ! देवकोटा महाकवि नै भए, यसलाई अनदेखा गरेर पचाइदिउँला रे ! नेपाली साहित्यमा शृङ्गारिक लेखनलाई स्थापित गरेका मोतीराम भट्ट कविता, नाटक र समालोचनाका दुई स्थानमा गरी चार चार ठाउँमा पढाइन्छन् । हिन्दु पुनर्जागरणसहितको आदर्शलाई गौरवशाली रूपले काव्यिक अभिव्यक्ति दिएका अर्का ऋषिकवि लेखनाथलाई पनि कविता र खण्डकाव्य विधाको दुई स्थान प्राप्त छ ।

नेपाली साहित्यका नाट्यसम्राट् घोषित सम कविता, महाकाव्य र नाटक गरी तीन ठाउँमा अटाएका छन् । फुटकर कविता र लामो कविता लेखेका मोहन कोइराला ती दुवै विधामा पढाइन्छन् । कविता, कथा, उपन्यास र निबन्ध लेखेका विश्वेश्वरप्रसाद कोइरालालाई पनि कथा र उपन्यास विधामा स्थान दिइएको छ भने कविता र खण्डकाव्य लेखेका माधव घिमिरेलाई ती दुवै विधामा सम्मानित स्थान प्राप्त छ । इन्द्रबहादुर राई कथा र उपन्यास दुवैतिर अटाएका छन् ।

पाठ्यक्रममा देवकोटा एउटै तहको कविता, खण्डकाव्य, महाकाव्य र निबन्धमा ससम्मान पढाइएर कुलदेवताको स्थानमा छन् भने पारिजात एउटा उपन्यासमा सीमित हुँदै सीमान्त सङ्घारमा धकेलिएकी छिन् ।

वासुदेव त्रिपाठीलाई पनि विषयको भिन्नताका आधारमा समालोचनापत्रमा दुई स्थान उपलब्ध छ । तर, कविता, कथा, उपन्यास, निबन्ध र नाटक चारै विधामा स्तरीय सिर्जना गरेकी पारिजात भने सबैतिर निषेधित हुँदै उपन्यासविधामा मात्र सीमित हुँदा पनि ‘इरिटेटिङ’ चिन्तनको बुर्जुवा बोली चर्किन्छ- ‘कति पढाउनु यार ! पारिजातलाई ?’

पुनरावृत्ति महिलाको मात्रै हुन्छ !

रमाइलो कुरा त के छ भने, यस पाठ्यक्रमका कथित निर्माताहरू अचेल दिनदिनै फेसबुकतिर स्पष्टीकरण पोस्छ गरिरहन्छन्, ‘पारिजातलाई हटाइएको होइन, पाठ्यक्रममा भएको पुनरावृत्ति मिलाइएको मात्र हो ।’ कति हाँस्नु ! एउटै व्यक्ति दोहरिनु, तेहरिनु र चौहरिनु पनि केही होइन तर ऐच्छिक पत्रअन्तर्गतको विशेष अध्ययनमा रहेका स्रष्टाका एकाध कृति दोहोरिनु चाहिँ गम्भीर त्रुटि हो; अनिवार्य विषयको सिङ्गै पत्रमा राखिएको लोकसाहित्य पुनः ऐच्छिक विषयको पूरै पत्रमा पढाइनुलाई पुनरावृत्ति भनिँदैन; शैलीवैज्ञानिक र संरचनावादी समालोचना तीन ठाउँमा राखिनु त झन् पुनरावृत्ति हुँदै होइन, किनभने पाश्चात्य साहित्यमा १९६० को दशकबाटै मृत बनेका यी समालोचनालाई नेपाली साहित्यमा जीवित राखेका तीन जना समालोचकको विशाल समूह यहाँ छ र उनीहरूका तीनओटा कृतिपछि अहिलेसम्म एक जना समालोचक पनि सक्रिय नरहेको अवस्थामा यिनलाई मृत हुन दिने त कुरै भएन !

एउटै रचना बी.ए. र एम.ए.मा पढाइनु पनि पुनरावृत्ति होइन किनभने यहाँ ‘स्तुतिपद्य’, ‘रामायण’, ‘दिव्योपदेश’, ‘जङ्गबहादुरको बेलायतयात्रा’ जस्ता कृति दुवै तहमा पढाइँदै आएका छन् । उनै देवकोटा, पौड्याल, सम, कोइराला, घिमिरे, गोविन्दबहादुर, इन्द्रबहादुर, मोहन कोइराला, ईश्वरवल्लभहरू दुवै तहमा पढाइनु पनि पुनरावृत्ति होइन तर बी.ए.मा पढाइँदै आएका महिलालाई एम.ए.मा पढाउनुलाई चाहिँ पुनरावृत्ति भनिन्छ ! त्यसैले नेपाली साहित्यको पाठ्यक्रम एउटा समुदाय र लिङ्गका प्रतिभाका लागि जिजुबाजेको अंश बनेको हो भने अरूका लागि चाहिँ आकाशको फल !

कवि ग्याब्रियल मिस्त्रालले भनेकी छन्-संसार कुनै क्षण पनि बदलिन सक्छ र त्यसै दिन हामी जन्मने छौँ ! महिलाको अस्तित्व स्विकार्नु सत्ताधारीहरुका निम्ति पुनरावृत्ति हुन्छ ? हामी त मिस्त्रालले भने जस्तै निरङ्कुशताको प्रतिरोधका निम्ति पटक पटक जन्मिरहन्छौँ । तपाईंहरु चाहिँ लाज पनि लजाउने गरी प्रलाप गरिरहनुहोस्— “कति पढाउनु यार ! पारिजातलाई ?”

समावेशीकरण कि वञ्चितीकरण ?

पाठ्यक्रममा भएका पुनरावृत्ति हटाउने बाहनामा विशेष अध्ययनबाट खारेज गरिएका र अनिवार्य विषयमा मुस्किलले एक स्थान पाएका तराईमधेसको क्षेत्रीयताको प्रतिनिध्रित्व गर्ने आख्यानकार भवानी भिक्षु, सीमान्तीकृत लैङ्गिक र वर्गीय समुदायको प्रतिनिधित्व गर्ने आख्यानकार पारिजात तथा काठमाडौँ उपत्यकाको सांस्कृतिक विशिष्टताको प्रतिनिधित्व गर्ने नाटककार विजय मल्ल जस्ता स्रष्टाको पहिचानलाई एक पटक गमेर हेरौँ त ! समावेशी लोकतन्त्र उच्चारण समेत गर्न नपाइने जमानामा पाठ्यक्रममा राखिएको स्रष्टापरक अध्ययनबाट कसरी झिनो रूपमा भए पनि समावेशी चिन्तनको अनुशरण भएको रहेछ !

यस्ता स्रष्टा र तिनको साहित्यलाई दिइएको पाठ्यक्रमको स्थानमा पाठ्यक्रम निर्माताका वैयक्तिक स्वार्थ परिपूर्ति हुने विषय र उनकै पूर्वप्रकाशित कृतिको विषयसूची हुबहु सारिनु पनि त्रुटि होइन ! लोकतान्त्रिक व्यवस्थामा नेपाली साहित्यको मूल धारमा रहेको जनपक्षीय लेखनको धारलाई हटाउनु पनि त्रुटि होइन !

महिला साहित्यकारहरू समेट्नुको साटो ‘नेपालको संविधान २०७२’ को धारा ३८ (४) ले मौलिक हकका रूपमा व्यवस्था गरेको राज्यको सम्पूर्ण संरचनामा महिलाको समानुपातिक सहभागिता हुनुपर्ने व्यवस्थालाई लत्याउँदै भएकी पारिजातलाई समेत विशेष अध्ययनबाट हटाइएकोमा लेखक र प्राध्यापक जस्ता चेतनशील भनिएका वर्ग पनि मौन रहनुलाई प्रतिगामी चिन्तनको उपज नभनेर के भन्नु ?

यस्ता स्रष्टा र तिनको साहित्यलाई दिइएको पाठ्यक्रमको स्थानमा पाठ्यक्रम निर्माताका वैयक्तिक स्वार्थ परिपूर्ति हुने विषय र उनकै पूर्वप्रकाशित कृतिको विषयसूची हुबहु सारिनु पनि त्रुटि होइन ! लोकतान्त्रिक व्यवस्थामा नेपाली साहित्यको मूल धारमा रहेको जनपक्षीय लेखनको धारलाई हटाउनु पनि त्रुटि होइन !

विशेष अध्ययनमा स्रष्टा, उसको सिर्जनशीलता र कृतिहरूको अन्तरक्रियात्मक हुने वातावरण थियो; त्यसले स्रष्टाको साहित्यिक–राजनीतिक चिन्तन, आन्दोलन र क्रियाशीलतासित कृतिहरूको तुलना गर्न र तिनको योगदानको गहन सामाजिक मूल्याङ्न गर्न सघाउँथ्यो भन्ने पनि हेक्का नहुने, आफूलाई क्रान्तिकारी भन्ने अनि पाठ्यक्रम निर्माणको स्थायी समितिमै रहेका बेला यस्ता हर्कतमा सहगामी भएपछि सुनिने कुरा यस्तै न हो, “कति पढाउनु यार ! पारिजातलाई ?”

दलीय भागबन्डा !

अहिले पनि पाठ्यक्रमका पाठहरू दलको भागबन्डामा राखिन्छन् भन्ने भाष्य नेपाली साहित्यिक र शैक्षिक वृत्तमा बलियो गरी स्थापित छ । पहिले विश्वेश्वरप्रसाद कोइराला र पारिजातका सन्दर्भमा हुने गरेका यस्ता हल्लाहरू उनीहरूका पाठ पढेपछि मिथ्या लागेका हुन् तर यसमा आंशिक सत्यता भने छ र केही पाठमा यस्तो भागबन्डा भएको सहजै अनुमान पनि हुन्छ । यहाँ एक थरी सुरुदेखि नै मोहन कोइराला र ईश्वरवल्लभ नपढाउँदा सर्वस्व गुम्छ भन्ने भ्रममा छन् भने अर्का थरी मोदनाथ प्रश्रित र हरिहर खनाल समेटिएपछिको आत्मरतिमा रमाउँदै न्यानोमा निदाइरहेका छन् ।

यी दुवै समूहका लागि पारिजात ‘रौँ बराबर’ पनि छैनिन् । गुटहरूमा विभक्त साहित्यिक वृत्तमा पारिजात सबैकी हुन् तर कसैकी पनि होइनन् ! त्यसैले उनलाई हटाएर भए पनि अरूहरूलाई भित्र्याउने मत बलियो बनेको हो । स्मरण रहोस्; यसअघि पारिजातको कथा पढाइएको स्थानमा यस पटक हरिहर खनाललाई स्थापित गरिएको छ । सामन्तवादी दास मानसिकतासहितको पुरुषत्वयुक्त दम्भ भिरेकाहरू सवर्णी सर्जक तथा उनीहरूका ‘रामायण’ र ‘स्तुतिपद्य’लाई सर्वकालोपयोगी ठान्दै प्रत्येक तहमा दोहोर्‍याइरहन्छन्; छिमेकीले अन्तरिक्ष विजय गरिरहँदा यिनीहरू भने विज्ञानको पराजय देखाउँदै ईश्वरीय शक्तिको जयगान गरिरहेका ‘प्रह्लाद’का भक्तिगाथा रटाइरहन्छन्; ‘पम्फा’को जैविक उन्मत्तता र अचेतनबाट परिचालित तथा ‘मिस्री’को निर्णयलाई सामान्यीकरण गर्दै प्रत्येक महिलाको चरित्रमाथि औँला उठाउन सक्ने मानवसंसाधन उत्पादन गर्ने भाग्यवादी लीलालेखनलाई अभीष्ट बनाउँछन् र सजिलै भन्छन्, ‘कति पढाउनु यार ! पारिजातलाई ?’

र, अन्त्यमा :

मानवीय संस्कृति, इतिहास र साहित्यको अध्ययनबाट विद्यार्थीमा आलोचनात्मक सोच र सिर्जनशीलताका सिपहरूको विकासमा सहयोग पुर्‍याउनु मानविकी सङ्कायको उद्देश्य हो । यसको परिपूर्ति भानुभक्तीय अध्यात्म रामायण, मोतीरामका शृङ्गारिक गजल वा इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ पढाएर हुन्छ कि योगमाया, प्रभादेवी, पारिजात वा वानीरा गिरीका सम्भावनात्मक सिर्जना पढाएर ?

वस्तुथ्यमा टेकेर बोल्ने हो भने जति वर्षदेखि भानुभक्त र मोतीराम पढाइँदै आएका छन् त्यति नै वर्ष पारिजातलाई पनि पढाइनुपर्छ किनभने पारिजातका रचना सामन्तवादी युगदेखि पुँजीवादी युगसम्मका लागि पनि उत्तिकै सान्दर्भिक छन्, आलोचनात्मक विवेकयुक्त छन् र तिनले अझै समावेशी हुन, लोकतान्त्रिक बन्न, समाजवादतिर उन्मुख गति लिन वैकल्पिक चिन्तनका अनेकौँ सम्भावनाहरूसँग पौँठेजोरी खेल्न शिक्षार्थीहरूलाई झकझक्याइरहन्छन् । पाठ्यक्रममा जुन स्थान देवकोटालाई दिइएको छ, सोही स्थान अब पारिजातलाई पनि चाहिन्छ ।

पाब्लो नेरुदाले लेखेका छन्- तिमी सबै फूलहरु निमोठेर फाल्न त सक्छौ तर वसन्तलाई आउनबाट भने रोक्न सक्दैनौ ! पारिजात र पारिजातहरुलाई अब कुनै निरङ्कुश सत्ताले पनि रोक्न सक्दैन । महिलाका अनुभवलाई बुझ्ने, समतामूलक चिन्तनको सिप विकास गर्ने, महिलाका विशिष्ट जैविक मूल्यहरूलाई आत्मसात् गर्ने एवम् महिला उत्पीडनका मुद्दाहरूमा सचेतना सिर्जना गर्नका लागि अब पढाउनैपर्छ योगमायालाई; अझै पढाइरहनुपर्छ पारिजातलाई; थप्नुपर्छ प्रभादेवी उपाध्यालाई, देवकुमारी थापालाई, लख्खीदेवी सुन्दासलाई, देवी शर्मालाई, वानीरा गिरिलाई, माया ठकुरीलाई, पद्मावती सिंहलाई, भागिरथी श्रेष्ठ, उषा शेरचन र आदि आदिलाई । धेरै भयो अब त-पुरुषतान्त्रिक चिन्तनको पर्याधार बनेको एकपक्षीय र रूढ साहित्य पढेको अनि पढाएको पनि ! थाकियो अब, कति पढाउनु यार ! भानुभक्त र मोतीरामहरूलाई मात्र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?