+
+
Shares
विचार :

अन्धविश्वासी र अतीतमुखी राजावादी

षड्यन्त्र र अपवित्र कृत्यको शक्तिपीठ दरबार र त्यसका मुखिया राजाहरूको इतिहासलाई सफेद बनाउन खोजेका राजावादीले बुझुन्– मान्छे र देशको जीवन भविष्यमुखी हुन्छ, अतीतमुखी होइन ।

रामकृष्ण शर्मा रामकृष्ण शर्मा
२०८२ असार ४ गते ७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजनीतिक अस्थिरता र बेरोजगारीले आक्रान्त नेपालमा एउटा रोचक पुनरागमन भइरहेको छ । राजावादी सोच मात्र होइन, अन्धविश्वास र मिथकहरू पनि फेरि जीवित भइरहेका छन् ।
  • आजको युगमा राज्य प्रमुखले आफ्नो दक्षता, क्षमता, जवाफदेहिता र नैतिकताको आधारमा हैसियत निर्माण गर्नुपर्छ, ईश्वरत्वको दाबीबाट होइन । तर, दरबारले ईश्वरीय वरदान जोडेर जनताको ‘ब्रेन वास’ गर्‍यो ।
  • अर्को भ्रमको भाष्य खडा गरिएको छ, ‘हजार राजा भन्दा त एउटै राजा ठिक !’ यो तथ्यका आधारमा गलत त हुँदै हो, भावनाको दृष्टिले अन्धविश्वास हो ।
  • गणतन्त्रसम्मको यात्राका प्रमुख राजनीतिक दलका नेतामा रहेको कमजोरीलाई राजावादीहरू गणतन्त्रको दोष बताउँछन् र सक्रिय भइहाल्छन् । यथार्थमा राजसंस्था अनियमितता, भ्रष्टाचार, पारिवारिक लाभको कारखाना थियो ।

घटना एकः २०५५ सालको बर्खाको समय थियो । घरबाट स्कूल जान–आउन हामी दाङको तुलसीपुरस्थित पातु खोला तर्नुपर्थ्यो । २०४८ सालमै नगरपालिका घोषणा भएको तुलसीपुरको काखैमा बग्ने त्यो खोलामा २०६५ सालसम्म पुल बनेन । मध्य बर्खाको बिहान कान्छो भाइ र म स्कूल जाँदै थियौं । पातु खोलाले बैंस देखाएको थियो । न सवारी साधन, न त मान्छे, खोला तर्ने आँट कसैले गरिरहेको थिएन । भाइ फ्याट्ट बोल्यो, ‘यो खोला त राजा बाहेक अरू कसैले तर्न सक्दैन होला ।’

म फिस्स हाँसें । तर मेरो मनमा गहिरो प्रश्न दबिरह्यो, ‘राजा विशेष मान्छे हो कि आम मान्छे ?’ भाइको बालसुलभ मस्तिष्कले राजालाई सर्वशक्तिमान वा सुपर पावर भन्ठानेको थियो । त्यो स्वाभाविक पनि थियो, किनकि हाम्रो घरमा राजालाई भगवान विष्णुको अवतार भनेर चिनाइएको थियो । भगवान भएपछि सुपर पावर त हुनैपर्‍यो । तर मेरो मन शान्त भएको थिएन । साँझ घर फर्किएपछि आमालाई सोधें, ‘मान्छेहरू राजा कसरी हुन्छन् ?’ आमाले भन्नुभयो, ‘राजा हुन त राजाको छोरो हुनुपर्छ, भगवान विष्णुले पठाउनुहुन्छ ।’

आमाको जवाफ मलाई चित्त बुझेन । मैले आमालाई सोधिनँ तर मनमा धेरै प्रश्न डुलाइरहें, ‘राजाको छोरो राजा हुने भए जस्तै गाउँको पण्डितको छोरो किन पण्डित भएनन् ? हाम्रो गाउँको किसानका छोरा किसान नभएर किन व्यापारी भए ? योग्यता अनुसार काम हुनुपर्ने होइन ? राजाको छोरो पत्रु भएर निस्कियो भने पनि जनताले राजा मानिदिनुपर्ने ? भगवानले किन विभेद गरेका ? जनताको छोरो जनता नै हुनुपर्ने, राजा हुन किन नपाउने ?’ प्रश्नै प्रश्नले थकित भएर निदाएछु ।

घटना दुईः २०५८ सालको वैशाखतिर हुनपर्छ । मैले आमालाई सोधें, ‘देशमा राजा भएन भने के हुन्छ ?’ आमाले भन्नुभयो, ‘राजा भनेको मौरीको रानो जस्तै हो, रानो भएन भने मौरीहरू एकापसमै लडेर सकिन्छन्, देशमा काटमार सुरु हुन्छ ।’ मैले सोधें, ‘काटमार त राजा हुँदा नै भइरहेको छ त । वीरेन्द्र राजा मरेपछि देश बाँकी रहँदैन त ?’ आमालाई उत्पात पीडा भएछ क्यारे । भन्नुभयो, ‘धत्, के अलच्छिन बोल्छ ?’

त्यही वर्षको १९ जेठमा नारायणहिटी दरबारभित्र अकल्पनीय घटना भयो । राजा वीरेन्द्रको परिवार नै सखाप भयो । कोमामा रहेका युवराजलाई राजा घोषणा गरियो । उनलाई आफू राजा बनेको थाहा पनि भएन । तर, इतिहासले तीनदिने राजा मानेकै छ । देशले पाँच दिनको अवधिमा तीन जना राजा देख्यो । त्यसको पाँच वर्षभित्रै राजतन्त्र नै समाप्त भयो । आमाले मौरीको रानो मानेको राजा नहुँदा पनि देश चलिरहेको छ । बेरोजगारी, भ्रष्टाचार, अनियमितता लगायत समस्या राजा हुँदा पनि थियो, अहिले पनि छ । राजा हुनु र नहुनुले तात्विक अन्तर राख्दो रहेनछ ।

राजनीतिक अस्थिरता र बेरोजगारीले आक्रान्त नेपालमा एउटा रोचक पुनरागमन भइरहेको छ । राजावादी सोच मात्र होइन, अन्धविश्वास र मिथकहरू पनि फेरि जीवित भइरहेका छन् । राजसंस्था समाप्त भएको दुई दशक पुग्नै लाग्दा केही समर्थकहरू पुरानो युगका धार्मिक कथा, इतिहासको तोडमोड र भावुक स्मृतिहरू लिएर सडकमा उत्रिरहेका छन् ।

गत २५ फागुनमा पूर्वराजाको स्वागतार्थ उपस्थित जनसहभागिताबाट हौसिएर राजावादी समर्थकहरूले रंगीविरंगी कमान्डर तोक्दै आन्दोलन शुरू गरेका छन् । सामाजिक सञ्जालको उग्रताबाट उत्साहित भएर आन्दोलन सुरु गर्ने तर सडकमा आएपछि आन्दोलन सुस्ताउने क्रम चलिरहेकै छ । तर उनीहरूको आन्दोलन शुरू भएसँगै राजतन्त्र ठिक कि गणतन्त्र भन्ने विषयमा बहस भइरहेको सत्य हो ।

राजा विष्णुका अवतार र धर्मका रक्षक हुन् ?

नेपालको राजसंस्थासँग सम्बन्धित सबैभन्दा गहिरो अन्धविश्वास हो, राजा विष्णुका अवतार हुन् । अहिले पनि सामाजिक सञ्जालहरूमा कथित पण्डितहरूको नामबाट राजालाई विष्णुको अवतार भन्दै युवाहरूको ब्रेन वास गर्ने काम भइरहेको छ । राजालाई विष्णुको अवतार मान्ने मान्यताको संस्थागत विकास भएको धेरै भएको छैन । नेपालमा शाहवंश भन्दाअघि मल्ल, लिच्छवि, किराँत लगायत वंशका राजा थिए । ती कुनै कालमा राजालाई विष्णुको अवतार भनेर चित्रित गरिएको थिएन ।

२०८१ चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा सहभागीहरु ।

पृथ्वीनारायण शाहभन्दा अघिका शाह राजाहरूको पालासम्म यो विषयले प्रवेश पाएको थिएन । यतिसम्म कि उनीभन्दा अघिका राजाहरू नरभूपाल, द्रव्य शाह लगायतको त धर्म पनि स्पष्ट थिएन । तर जब पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान अन्तर्गत काठमाडौं उपत्यका विजय गरे, तत्पश्चात् शाहवंशका राजाहरू हिन्दू सम्राट र भगवानका अवतार भएको हल्ला चलाए ।

यो कुनै धार्मिक वा ऐतिहासिक मान्यतामा आधारित दाबी थिएन । यो राजनीतिक रणनीति थियो, जुन विजय प्राप्त राज्यमा प्रत्याक्रमण नहोस् वा जनताको तहमा बदलाको भाव नहोस् वा असन्तुष्टि नचुलियोस् भनेर गरिएको नियोजित प्रचारबाजी थियो ।

विश्वका अन्य तानाशाही शासकहरूले झैं उनले आफूलाई धर्मको रक्षक, एक चक्रवर्ती राजा भनेर प्रस्तुत गरे । उनी र उनका सेनाको पराक्रमसामु घुँडा टेकेका बाइसे–चौबीसे राज्यहरूमा यो हल्लाले राम्रै मसलाको काम गर्‍यो ।

पृथ्वीनारायणपछि आएका राजाहरू दरबारको छिनाझपटी, एकअर्का विरुद्ध षड्यन्त्र र काटमारमा व्यस्त भए । विष्णुको अवतार भनेर गरिएको प्रचारबाजीलाई संस्थागत गर्नेतिर उनीहरूको ध्यान जानै पाएन । इतिहासका जानकारहरूका अनुसार त्रिभुवनको पालासम्म आउँदा यो विषय हराइसकेको थियो ।

तर, राजा महेन्द्रले शुरू गरेको पञ्चायती राज्य व्यवस्थाले यो मिथलाई संस्थागत गर्ने प्रयास गर्‍यो । महेन्द्रले शासनसत्ता लिएपछिको पहिलो संविधानले नेपाललाई हिन्दू राज्य घोषणा गर्‍यो । २०१९ मा पञ्चायती संविधान जारी हुनुभन्दा चार वर्षअघि २०१५ सालमा महेन्द्रले नै जारी गरेको संसदीय व्यवस्था सहितको संविधानमा पनि नेपाल राज्यको कुनै धर्म थिएन । यसबाट महेन्द्रले आफ्नो पञ्चायती व्यवस्था टिकाउन हिन्दू धर्मको आड लिने प्रयास गरेको देखिन्छ । हिन्दुत्वको रक्षाभन्दा पनि राजदरबारलाई हिन्दूहरूको आस्थाको केन्द्र बनाउने र त्यसकै टेकोमा पञ्चायत लम्ब्याउने रणनीति उनले अख्तियार गरेको देखिन्छ । जसरी हुन्छ राजा र दरबारलाई ईश्वरीय शक्तिसँग जोडेर जनतामा भ्रम छर्न उनले मिहिनेत गरे ।

अधिकांशलाई थाहा छ, नेपालका शाहवंशका राजाहरूको शुरुआती धर्म हिन्दू थिएन । हजारौं वर्ष पुरानो सनातनी धर्ममा २५० वर्षअघि जोडिएको राजसंस्था कसरी त्यसको सम्राट बन्न सक्छ ?

राजकीय पूजापाठको नाममा उनले चलाएको मन्दिर यात्रा त्यसकै उपज थियो । उनकै पालामा दरबार बदलियो । विष्णुको अर्को नाम ‘नारायण’ राखेर नारायणहिटी बनाइयो । पञ्चायती व्यवस्थाले दरबार शक्तिकेन्द्र त भएको थियो नै, विष्णुको नामकरणबाट उनले दरबारलाई शक्तिपीठ बनाउन पनि भ्याए । नयाँ पाठ्यक्रमहरू मार्फत राजालाई विष्णुको अवतारको रूपमा चित्रित गर्न महेन्द्रले धेरै धनराशि खर्च गरे । पाठ्यक्रममै राजाहरूको गुणगान गरिएपछि यो मान्यताको संस्थागत विकास भयो । पुस्तकहरूमा राजाहरूकै नालायकीका कारण नेपालको दुईतिहाइ भूभाग गुमेको कुरा लेखिएन ।

कालापानीमा भारतीय सेना बस्न महेन्द्र स्वयंले स्वीकृति दिएको कुरा उल्लेख गरिएन । नेपालको स्वाधीनतालाई धूलिसात् पार्ने कोशी सम्झौता, गण्डक सम्झौताबारे जानकारी दिन जरूरी ठानिएन । तर, राजाहरूको महिमागान गाउन फूलबुट्टा यसरी भरियो कि उनीहरू सर्वशक्तिमान हुन् भन्ने भाष्य नेपाली समाजमा किला बनेर गड्यो । मेरी आमाले पनि पञ्चायतकालीन पाठ्यक्रमकै आधारमा राजालाई विष्णुको अवतार मान्नुभएको रहेछ भन्ने ज्ञान मैले धेरैपछि पाएको थिएँ ।

आज पनि राजालाई विष्णुको अवतारकै रूपमा हेर्ने तथा राजसंस्थालाई धर्म र राष्ट्रको रक्षक भनेर प्रस्तुत गर्नेहरू छन् । उनीहरू गणतन्त्रवादीहरूलाई अधर्मीको रूपमा चित्रित गरिरहेका छन् । अधिकांशलाई थाहा छ, नेपालका शाहवंशका राजाहरूको शुरुआती धर्म हिन्दू थिएन । हजारौं वर्ष पुरानो सनातनी धर्ममा २५० वर्षअघि जोडिएको राजसंस्था कसरी त्यसको सम्राट बन्न सक्छ ? धर्म वा जात सबै मान्छेले नै बनाएका विषय हुन् तर कतिपयको मनमा यी दुई कुरा ब्रह्माण्ड सिर्जनासँगै आएको भन्ने लाग्छ । यो गहिरो अन्धविश्वास हो । कुनै पनि क्रिया वा परिघटनाको कारण थाहा नहुँदा मानिस अदृश्य शक्तिको दासी बन्छ ।

अज्ञानता र अन्धविश्वासलाई मानिसहरूले धर्मसँग जोड्न थाले भने अन्धधर्मको विकास हुन्छ । कुनै विषय नजान्नु र समाजमा घटित हुने क्रियालाई देवी–देउताको उपज ठान्नु धर्म होइन, अन्धविश्वास हो । नेपालमा राणाकाल र पञ्चायतले अन्धधर्मको विकास गर्न मद्दत गर्‍यो । नेपालभन्दा धेरै कान्छा विश्वका धेरै मुलुकमा विश्वविद्यालय र ठूला ठूला अस्पताल खुल्दै गर्दा नेपालमा दासप्रथा र सतीप्रथा जस्ता मानव सभ्यताकै लज्जास्पद युग चलिरहेको थियो ।

३५ वर्ष अघिसम्म शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिक सुरक्षा राज्यको दायित्व हो भन्ने समेत ज्ञान थिएन अधिकांश नेपाली जनतालाई । श्रम गर्न वा उच्च शिक्षाको लागि विदेश जान चाहने आम नेपालीले पासपोर्ट नै पाउँदैनथे । पाए पनि एक वर्षसम्म केरकारमा पर्नुपर्थ्यो । पासपोर्ट नभएकै कारण समुद्रपार जानसक्ने हैसियतका नेपाली पनि भारत भासिन बाध्य भएको इतिहास भर्खरको हो ।

यी सबै विषयमा प्रश्न गर्ने मानिसहरू नभएका होइनन्, तर बहुसंख्यक नेपाली आत्मकेन्द्रित राजा र केन्द्रीकृत राज्यसत्ताका कारण यो भइरहेको छ भन्नेमा बेखबर थिए । बरु ती मानिसहरू राजाको दर्शनभेटका भोका थिए ।

मठ–मन्दिरको दर्शन गर्न जाँदैमा धर्मको रक्षा हुन्छ भन्ने अन्धविश्वासमा जीवन चलाइरहेका मानिसहरू व्यापारका लागि नैतिकता समेत कुल्चन सक्ने ज्ञानेन्द्र शाहबाट हिन्दुत्वको रक्षा अपेक्षा गरिरहेका छन् । यो हास्यास्पद त हुँदै हो, सचेत समाजको लागि लज्जास्पद पनि हो । धर्मको रक्षा कुनै एक जना राजा वा एक जना कथित बाबाले मन्दिर दर्शन गरेर वा प्रवचन दिएर हुँदैन । यो त सो धर्म मान्ने मानिसहरूको सामूहिक प्रयत्नबाट मात्र सम्भव हुन्छ, राज्यले धर्मको संरक्षण र प्रवर्द्धन गर्ने नीति अख्तियार गरेर हुन्छ ।

गणतान्त्रिक शासकहरूले लय समात्न नसक्दा जनसमुदाय अहिले आक्रोशित छन् । त्यही आक्रोशलाई डाइभर्ट गर्न राजावादीहरू अतीतको फोहोर पर्दामा कमेरो छर्केर सफा देखाउने उत्ताउलो प्रयास गरिरहेका छन् ।

आजको युगमा राज्य प्रमुखले आफ्नो दक्षता, क्षमता, जवाफदेहिता र नैतिकताको आधारमा हैसियत निर्माण गर्नुपर्छ, ईश्वरत्वको दाबीबाट होइन । तर, दरबारले ईश्वरीय वरदान जोडेर जनताको ‘ब्रेन वास’ गर्‍यो । त्यसकै परिणाम आज पनि वृद्धवृद्धाहरू र केही युवा राजावादीहरू राजालाई हिन्दू धर्मको ठेकेदार मान्छन् । बहादुर शाहदेखि ज्ञानेन्द्र शाहसम्म आउँदा दरबारभित्र हत्याकाण्ड, शंकास्पद मृत्यु, बलात्कार र मनलाग्दी विवाह जस्ता दर्जनौं घटना भए ।

पशुपति दर्शन गर्न आएकी भारतकी एकल महिलालाई तेस्रो श्रीमतीको रूपमा दरबार भित्र्याउने राजा रणबहादुर शाहका काण्ड नैतिक र धार्मिक थिए ? शक्ति भएकै कारण जुनसुकै स्त्रीलाई पनि पत्नी बनाउन सक्ने धेरै राजाका रवाफ कुन धर्मसँग मेल खान्छ ? दरबार बाहिर मनलाग्दी सहवासबाट जन्मिएका सन्तानलाई राज्यका अंगमा पहुँच दिएका घटना कसरी देवस्तुत्य हुन्छन् ?

मेरो मनमा बेला बेला प्रश्न उठ्छ । राजालाई विष्णुको अवतार र हिन्दू धर्मको रक्षक मान्नेहरूको मनमा कहिल्यै प्रश्न उठेन होला ? पक्कै उठ्यो होला तर उनीहरूमा जरा गाडेर बसेको अन्धविश्वासले जित्यो र भन्यो होला, ‘राजाको घरमा जे हुन्छ, सही हुन्छ ।’

अन्धविश्वासको जगमा खडा भएको मृत महलमा फेरि प्राण भर्न राजावादीहरू कस्सिएका छन् । गणतान्त्रिक शासकहरूले लय समात्न नसक्दा जनसमुदाय अहिले आक्रोशित छन् । त्यही आक्रोशलाई डाइभर्ट गर्न उनीहरू अतीतको फोहोर पर्दामा कमेरो छर्केर सफा देखाउने उत्ताउलो प्रयास गरिरहेका छन् ।

हजार राजा भन्दा एउटै राजा ठिक !

राजावादीहरूले पछिल्लो आन्दोलन शुरू गरेपछि अर्को भ्रमको भाष्य खडा गरिएको छ, ‘हजार राजा भन्दा त एउटै राजा ठिक !’ यो भनाइसँग जोडिएर आएको विषय हो, अहिले जनप्रतिनिधि धेरै भए । यो तथ्यका आधारमा गलत त हुँदै हो, भावनाको दृष्टिले अन्धविश्वास हो र व्यावहारिक हिसाबले हास्यास्पद । राजतन्त्रप्रति अतिरिक्त मोह भएकाहरू भावनामै बगेर भनिरहेका छन्, ‘बरु एउटै राजा ठिक’ ।

राजतन्त्रकालसम्म देशमा दुई तहका सरकार थिए । झण्डै ४ हजार गाविस र ५८ नगरपालिकाहरूमा ३६ हजार बढी वडाहरू थिए । एउटा वडाबाट ५ जनाको मात्र हिसाब गर्दा त्यो संख्या डेढ लाखभन्दा बढी जनप्रतिनिधि थिए । अहिले केन्द्र, ७ प्रदेश र ७५३ पालिकामा भएका ६ हजार ७०० वडा तथा तिनका प्रतिनिधिको हिसाब गर्दा केही हजारमा मात्र सीमित हुन्छ । तथ्यगत हिसाबले अहिले जनप्रतिनिधिको संख्या पहिलेको तुलनामा निकै कम छ । अझै घटाउनुपर्छ भन्ने बहसमा सहमति जनाउन सकिन्छ ।

राजतन्त्रकालमा राजा, रानी, तिनका छोराछोरी, नाति–नातिना सबैको राज्यद्वारा तोकिएको पद थियो र सो पद अनुसार राज्यकोषबाट खर्च गर्नुपर्थ्यो । अहिले राजाको ठाउँमा पदासीन राष्ट्रपतिको श्रीमती र छोरा छोरीलाई राज्यले चिन्दैन । दरबारका दर्जनौं पद भन्दा राष्ट्रपति र उपराष्ट्रपति दुई पद नगन्य हो ।

त्यसैले जनप्रतिनिधि बढी भए भन्ने कुरा तर्कसंगत छैन । पहिले जनप्रतिनिधिको तलबभत्ता थिएन भन्ने तर्क पनि सुनिन्छ । तर त्यसमा कुनै सत्यता छैन । बरु नगरपालिकाका पदाधिकारीहरूको सेवा–सुविधा बढी र गाविसका पदाधिकारीको सेवा–सुविधा कम भएको सत्य हो ।

हास्यास्पद के छ भने, हजार राजा भनेर राजावादीहरू अरू कसैलाई होइन, आफैंले भोट हालेर जिताएका प्रतिनिधिहरूलाई इंगित गरिरहेका छन् । जनप्रतिनिधिलाई राजा बन्न खोजेको भन्नुको तात्पर्य उनीहरूले मनोमानी गरे, भ्रष्टाचार गरे र आम जनताभन्दा उपल्लो दर्जाको व्यवहार देखाए भन्ने होला । उसो भए राजावादीहरूले भन्नुपर्छ, राजा भनेकै मनोमानी गर्ने, भ्रष्टाचार गर्ने र जनतालाई तल्लो दर्जाको नागरिक व्यवहार गर्ने मानिस हुन् । अवश्य पनि जनप्रतिनिधि भइसकेपछि उसको कार्यालय हुन्छ, कार्यालयमा राम्रा फर्निचर हुन्छन् । जिम्मेवारी पनि धेरै हुने भएकोले आउजाउ गर्न सहज हुने सवारी साधन पनि जरूरी भइहाल्यो ।

पञ्चायतमा सुरुआत भई बहुदल आएपछि सम्पन्न भएको एउटा राजमार्ग देखाएर उनीहरू रोमाञ्चित हुन्छन् । तर, २०६५ सालमा गणतन्त्र आएपछि शुरू भएका र समापनको चरणमा रहेका मध्यपहाडी र हुलाकी राजमार्गलाई बेवास्ता गर्छन् । गाउँसम्म पुगेका चिल्ला सडकमा मोटरसाइकल कुदाउँदै घर पुग्छन् र सामाजिक सञ्जालमा मुलुकमा केही भएन भनेर आक्रोश पोख्छन् ।

औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा उच्च आसन हुने पनि स्वाभाविक नै भयो । यसकै आधारमा राजा भनिएको हो त ? उनीहरूले भ्रष्टाचार वा अनियमितता गरेको थाहा भए तत्काल उजुर गर्ने, कारबाहीका लागि दबाब बढाउने काम गर्न त पाइएकै छ । राजतन्त्रकालका प्रतिनिधिलाई देख्न–भेट्न समेत नपाउने र भए–गरेका अनियमितताबारे आवाज उठाउन नसकिने यथार्थका बीच अहिले घरआँगनमै जनप्रतिनिधिसँग भेटेर गुनासो गर्न वा आफ्नो व्यक्तिगत वा सामाजिक समस्याबारे तत्काल फोन गरेर अवगत गराउन सकिने अवस्था बनेको छ । तर पनि केही मानिसलाई किन चित्त बुझिरहेको छैन ? यो उदेकलाग्दो विषय हो । यसका पछाडि अन्धविश्वास कारक हुनसक्छ ।

उच्च जातीय अहंकार र पुरातन मानसिकता बोकेका केही मानिसलाई लाग्छ, समाजमा उच्च पद त धनीमानी वा जमिनदार वा ठकुरी वंशको वा काठमाडौंसँग राम्रो उठबस भएको व्यक्तिको पेवा हो । तर अहिले गाउँघरमा दलित, आदिवासी, मुस्लिम, थारू, महिलाहरू निर्वाचित भएर स्थानीय पालिकाहरूको नेतृत्व गरिरहेका छन् । अन्धविश्वास र संकीर्ण सोच बोकेका केही भलाद्मीहरू उनीहरूलाई अभिवादन गर्नुपर्दा आफ्नो अभिमान गुमेको महसुस गरिरहेका छन् ।

काठमाडौंमा रहेका केन्द्रीकृत सोचवाहक अभिजात वर्गका केही मानिसलाई जिल्ला–जिल्लामा अधिकार पुगेको अपच भइरहेको छ । जनताका छोराछोरीले स्थानीय सत्ता चलाइरहेको असह्य भइरहेको छ । राज्य सञ्चालन वा स्थानीय सत्ताको नेतृत्व त कुलीन वर्गकै मानिसले पो गर्नुपर्छ भन्ने लाग्छ उनीहरूलाई । तिनै अन्धविश्वासीहरूले खडा गरेको भाष्य हो, ‘हजार राजा भन्दा एउटै राजा ठिक’ । अनि साक्षरता र विवेकको दर कम रहेको नेपालमा यस्ता भाष्यका पछि लाग्ने भीड भेटाउन गाह्रो हुने कुरै भएन ।

विकसित युगको भ्रमखेती

राजावादी समर्थकहरू अहिले हराएको युगको रमणीय कल्पनामा हराइरहेका छन् । उनीहरूमा अर्को ठूलो भ्रमले घर गरेको छ– राजसंस्थाको पालामा नेपाल धेरै विकसित थियो । यो तर्क पुष्टि गर्न उनीहरू महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, केही उद्योगहरू, साना गल्ली भएका शान्त शहर र ग्रामीण जीवनको फोटो देखाउँछन् । उनीहरूलाई के थाहा छैन भने सन् १९६१ मा शिलान्यास गरिएको महेन्द्र राजमार्ग पूर्ण सम्पन्न हुन ३९ वर्ष लागेको थियो ।

पञ्चायतमा सुरुआत भई बहुदल आएपछि सम्पन्न भएको एउटा राजमार्ग देखाएर उनीहरू रोमाञ्चित हुन्छन् । तर, २०६५ सालमा गणतन्त्र आएपछि शुरू भएका र समापनको चरणमा रहेका मध्यपहाडी र हुलाकी राजमार्गलाई बेवास्ता गर्छन् । गाउँसम्म पुगेका चिल्ला सडकमा मोटरसाइकल कुदाउँदै घर पुग्छन् र सामाजिक सञ्जालमा मुलुकमा केही भएन भनेर आक्रोश पोख्छन् ।

आफ्ना पालिकामा बनेका भव्य महलहरूलाई सराप्छन् अनि राणाहरूले आफ्ना छोरा–नातिको मनोरञ्जनका लागि बनाएका दरबार र मल्लकालीन मन्दिर देखाएर राजाको पालामा बनेका संरचना भन्दै मुस्काउँछन् । एउटालाई विदेश पठाउन १० जना विमानस्थल पुग्छन् र प्रस्थान तथा आगमनको होलसेल फोटो देखाएर देश रित्तिएको रत्यौली गाउँछन् ।

राजा महेन्द्र अमेरिका जाँदा पाएको सम्मानको भिडियो हालेर गर्वानुभूति गर्छन् तर कर्णालीमा मातृमृत्यु र झाडापखाला महामारीको खबर पाउन एक महिना लागेको कहालीलाग्दो इतिहास बिर्सन्छन् । कतिपय राजावादी २०६० सालअघिको ग्रामीण जनजीवनको फोटो सञ्जालमा राखेर गणतन्त्रलाई सराप्छन् । महिलाहरूले चुलोचौको गरेको, किसानले हलगोरु नारेको, चोकमा युवाहरू क्यारम बोर्ड खेलेको, खरको छानो, बरको रूख देखाएर नोस्टाल्जिक त हुन सकिन्छ तर सूचनाप्रविधि विनाको कठिनतम त्यो समय ठिक थियो भन्न कदापि सकिदैन ।

राजावादीहरु राजालाई दयालु, विकासप्रेमी, विद्वान् र निष्कलंक जस्तो बनाएर चित्रित गर्छन् । यथार्थमा राजसंस्था अनियमितता, भ्रष्टाचार, पारिवारिक लाभको कारखाना थियो ।

राजनैतिक, सांस्कृतिक र आर्थिक हिसाबले सचेत अहिलेको समाज उनीहरूलाई पचेको छैन । त्यसैले चरम विभेद, गरिबी र व्यापक सूचना नियन्त्रण रहेको युगको कल्पनामा रोमाञ्चित हुन्छन् । मधेशी, मुस्लिम, आदिवासी, महिला लगायत समाजका अपहेलित तप्का कसरी बाँचिरहेको थियो भन्ने विषयमा आँखा चिम्लिन्छन् तर मुट्ठीभर मान्छेको रजगज चलेको युग सम्झेर पुलकित हुन्छन् ।

विकसित युगको भ्रम–खेती गर्न उनीहरूले महेन्द्रकालीन पञ्चायतको हवाला दिन्छन् तर राजा भने ज्ञानेन्द्र खोज्छन् । ज्ञानेन्द्रलाई फिर्ता ल्याउन खोज्नेहरूले कम्तीमा ज्ञानेन्द्रकालमा भएका राम्रा कामको प्रचार गरे हुन्थ्यो ।

राजनीतिक, सामाजिक अधिकार खोसिएको, नागरिक स्वतन्त्रता लुटिएको, पत्रकारिता बन्धनमा रहेको र सबै कुरा दरबारमा सीमित रहेको कुरालाई उनीहरू स्थायित्व भनिरहेका छन् । त्यो स्थायित्व होइन, त्यो त दमनको अनुशासन थियो । गाउँका धनीमानी र सामन्त जमिनदारहरूको अगाडि शोषित, पीडित तथा अपहेलित व्यक्तिले प्रश्न नगरेका घटना सामाजिक सद्भाव होइन । पहाडका मगर, गुरुङ, शेर्पा, तामाङ, राई, लिम्बू र तराईका मधेशीहरू आफ्नो अधिकारको लागि बोल्न नसकेको अवस्थालाई सामाजिक एकता भनिंदैन ।

देशको पछिल्लो सार्वजनिक ऋणलाई देखाएर राजावादीहरू अर्को भ्रम छरिरहेका छन् । सार्वजनिक ऋणको विषयलाई सामान्य अर्थमा बुझ्न सकिन्छ । जस्तो ५ लाख वार्षिक आम्दानी हुँदा २ लाख ऋणमा रहेको परिवारभन्दा ३० लाख वार्षिक आम्दानी हुँदा १२ लाख ऋण भएको परिवार सम्पन्नशाली हो । राजावादीहरू २ लाखबाट १२ लाख पुगेको ऋणको विषयमा चर्चा गर्छन् तर ५ लाखबाट ३० लाख पुगेको आम्दानीको विषयमा आँखा चिम्लिन्छन् ।

नेपालको हकमा पहिले कुल गार्हस्थ्य उत्पादन कम थियो, ऋण पनि कम थियो । अहिले दुवै बढेको छ तर अनुपात हेर्दा पहिलेको तुलनामा सार्वजनिक ऋण त्यस्तो चिन्ताजनक होइन । यसरी राजतन्त्र रहँदासम्म जुन विकासको कुरा गरिन्छ, त्यो संकीर्ण र झुटो स्मृति हो । केही प्रतिशत मानिसहरूको लागि स्वर्ग थियो होला तर ९० प्रतिशत नेपालीहरूका लागि त्यो युग अँध्यारो र पीडादायक थियो ।

अन्त्यमा, गणतन्त्रसम्मको यात्राका प्रमुख राजनीतिक दलका नेतामा रहेको कमजोरीलाई राजावादीहरू गणतन्त्रको दोष बताउँछन् र सक्रिय भइहाल्छन् । उनीहरू राजालाई दयालु, विकासप्रेमी, विद्वान् र निष्कलंक जस्तो बनाएर चित्रित गर्छन् । यथार्थमा राजसंस्था अनियमितता, भ्रष्टाचार, पारिवारिक लाभको कारखाना थियो ।

देशको वनजंगल, खोलानाला, राष्ट्रिय निकुञ्जहरूलाई आफ्नो पेवा बनाएर दरबारले के लाभ लिन खोजेको हो प्रष्ट हुनुपर्ने होइन र ? वीरेन्द्र शाहको परिवारको नाममा भएको सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा आफ्नो नाममा नामसारी गरेको घटनाबाटै ज्ञानेन्द्र शाहको चरित्र बुझ्नुपर्ने होइन र ?

अहिले राजावादी आन्दोलनको नेतृत्व गरेका नवराज सुवेदी स्वयंले लेखेको पुस्तकमा उल्लेख ओमेगा घडी र पानीजहाज काण्ड पढे ज्ञानेन्द्रप्रवृत्ति उदांगो हुँदैन र ? षड्यन्त्र र अपवित्र कृत्यको शक्तिपीठ दरबार र त्यसका मुखिया राजाहरूको इतिहासलाई सफेद बनाउन खोजेका राजावादीहरूले बुझुन्– मान्छे र देशको जीवन भविष्यमुखी हुन्छ, अतीतमुखी होइन ।

लेखक
रामकृष्ण शर्मा

लेखक शर्मा अमेरिकामा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?