+
+
Shares

गणतन्त्रमा रातो बत्ती

जनताको निराशा र आक्रोश, शासनशैलीको अपूर्णता, अक्षमता र पश्चगामी शक्तिहरूको उत्साहले यत्ति छिट्टै संघीय गणतन्त्र चढेको रेलगाडीमा रातो बत्ती बल्दैछ ।

गणेशमान सिंह गणेशमान सिंह
२०८२ जेठ २४ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गणतन्त्रको विरोध बढ्दै गएको र राजनीतिक दलहरूमा सुधार आवश्यक रहेको सिंह नेकपाका उपसचिवले बताए।
  • राजनीतिक दल र नेतृत्वले जनताको विश्वास जित्न र सुधार गर्न आवश्यक छ, अन्यथा गणतन्त्रको स्थिरता चुनौतीमा पर्नेछ।
  • जनताको निराशा र आक्रोशलाई मध्यनजर गर्दै पार्टी र नेतृत्वले आफूलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याइयो।

गणतन्त्रका झन्डै दुई दशक र नयाँ संविधान लेखेको एक दशकपछि गणतन्त्रको विरोधमा सडक तातिएको छ । राजतन्त्रका पक्षधरहरू हौसिएका छन् । गणतन्त्र आएको यति छोटो अवधिमै गणतन्त्रको विपक्षमा कसरी जनमत बढिरहेको छ ? कुनै पनि राजनीतिक व्यवस्था स्थापित हुन, विकासित बन्न र त्यो व्यवस्थाले प्रतिफल दिन समय लाग्छ नै तर आज जनताको ठूलो पंक्ति निर्धक्क गणतन्त्रको विरोधमा बोल्ने, सडकमा आउने काम भइरहेको छ । जुन कुरा गणतन्त्रको लागि शुभसंकेत होइन ।

यसमा गम्भीर बन्दै यस व्यवस्थाका मुख्य हिमायती दल कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलका नेतृत्व/कार्यकर्ताले आफैंलाई प्रश्न गरौं र भनौं– हामीले के त्यस्तो गरिरहेका छौं जसले जनतालाई चिढ्याइराखेको छ ?

समस्याको समीक्षा

कहिलेकाहीं यस्तो लाग्छ, नेपालमा स्वतन्त्र जनता नै छैनन् । मात्र दलका कार्यकर्ता । पार्टीका नेता । मतदाताको परिचयपत्र नै दलको सदस्यता जस्तो भएको छ । तसर्थ अधिक स्वतन्त्र जनता विनाका चुनावी परिणाममा हामीले हर्षबढाइँ गरेको धेरै भइसक्यो । जनताका प्रतिनिधिले संविधान लेखिसकेपछि, तीन तहका सरकारमा समावेशी प्रतिनिधित्व भइसकेपछि अब हामी विस्तारै समृद्धिको यात्राबारे उत्सुक हुनुपर्ने, हुँदैछौं पनि । व्यापक बहस, गम्भीर चासो र अनेक उपायको खोजी गर्दैछौं ।

गणतन्त्रमा जनताका असली प्रतिनिधि भनेका राजनीतिक दलहरू हुन् । दलहरूले नै जनतामा आशा, भरोसा जगाउनुपर्छ । सुख–दुःखमा साथ दिनुपर्छ । जनताले आफ्नो विचार, आवश्यकता, विश्वासले आवधिक निर्वाचन मार्फत दल चुन्ने, नेतृत्व चुन्ने र त्यो अवधिमा चुनेको दल, नेतालाई परीक्षण र निगरानीमा राख्ने कुरा गणतन्त्रमा अनिवार्य हो । जब जनता जज हुन्छन् र फैसला गर्छन् त्यो सर्वस्वीकार्य हुन्छ, हुनुपर्छ गणतन्त्रमा । के अहिले यस्तो अवस्था हो त ?

मुख्यगरी, अहिलेको राज्यसत्ता सञ्चालकमा कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू छन् । अब प्रश्न उठ्छ के अहिले यी दल र नेतृत्वले राज्यसत्ता सञ्चालनमा गणतन्त्रको मर्म बुझेका छन् ? जनताले त्यो अधिकार उपभोग गरेको महसुस गरेका छन् ?

मिलीजुली सरकार चलाउने, आलोपालो प्रधानमन्त्री बन्ने र मौका पाएसम्म सत्ताको भोग गर्न पछि नपर्ने चरित्र अहिलेको दलीय चित्र हो । निकै लामो समयदेखि जुन व्यवस्था आए पनि राज्यसत्ता चलाएका अनुहारहरूको निरन्तरता र फेरि उनै पात्र र प्रवृत्तिले राजनीतिक पार्टीहरूमा रजगज गरेको देख्ने जो–कोही जनता पनि निराश हुनु स्वाभाविक छ । यी र यिनै प्रवृत्तिहरू नै गणतन्त्रको सूचक वा उपलब्धि जस्तो देखिनु, ठान्नु नै अहिलेको गणतन्त्रप्रति प्रश्न उठ्नुको मूल कारण मान्न सकिन्छ ।

राजनीतिमा परिवर्तन

यदि गणतन्त्रका आधारस्तम्भहरू राजनीतिक दलहरू हुन् भने अहिलेका राजनीतिक दललाई जनताको नजरमा विश्वासिलो, भरोसायोग्य र उत्तम विकल्पको रूपमा बदल्न जरूरी छ । अहिलेका कांग्रेस/कम्युनिष्टहरू विशेषतः निरंकुश जहानियाँ राणाशासनमा जन्मेका पार्टी हुन् । यी दलको तत्कालीन उद्देश्य नै निरंकुशताबाट मुक्ति थियो । बलपूर्वक संघर्ष नै विकल्प थियो ।

शताब्दी राज गरेको राणाशासन ढालेर प्रजातन्त्र ल्याउन बनेका पार्टी र त्यसको संरचनाले त्यो बेला जे–जे गर्नुथियो शायद सफलतापूर्वक गरे । आफ्नो लक्ष्य/उद्देश्य प्राप्त गरे पनि । जब प्रजातन्त्रमा दलहरूले चुनावमा भाग लिए र सरकार बनाए, उक्त सरकार वर्ष दिन नपुग्दै फेरि देश अर्को निरंकुशतामा गयो । झन्डै तीस वर्ष राज गरेको पञ्चायतलाई ढालेर पुनः प्रजातन्त्र ल्याउन उस्तै पार्टी, उस्तै संरचना र उस्तै शैली स्वभावको नेतृत्व/कार्यकर्ता निर्माण गर्न समयको आवश्यकता थियो । तिनै पार्टी संरचना, तिनै नेता–कार्यकर्ताको नेतृत्वमा पुनः प्रजातन्त्र आयो ।

नेपालका दल र त्यसको नेतृत्वले उपयुक्त समय नै पाएन कि– समृद्धिको लागि नयाँ ढंगको पार्टी, कार्यदिशा बनाउन । त्यही अनुकूलको नेता कार्यकर्ता तयार पार्न । विडम्बना ठूल्ठूला आन्दोलन र संघर्ष गरेर ठूल्ठूला सफलता प्राप्त गर्ने पार्टी र नेतृत्वहरू नै गणतन्त्र आएपछि आलोचित हुँदै गए । अल्छी, पुराना जस्ता देखिए ।

पटक–पटक व्यवस्था परिवर्तनमा संघर्ष र सफलताको नेतृत्व गरेका कांग्रेस, एमाले र दशक संघर्ष गरेर आएका माओवादी, मधेशवादी दलहरू, गणतन्त्र आएको यस बीचमा बदलिन र नयाँ सोच शैलीमा अगाडि बढ्न तयार भएनन् । हिम्मत गरेनन् ।

नयाँ संविधान आएको यो दश वर्षमा, तीन तहका सरकारले आफ्नो दुई अवधि पूरा गर्न थाल्दा जनताले स्पष्ट परिणाम खोजेका छन् । जो दल र सत्तामा आसीन व्यक्तिहरूले जानीजानी यो विषयलाई अन्यत्र मोड्न खोज्दा जनता थप आक्रोशित भएको सत्य हो ।

संघीयता सहितको संविधान जारी पछिको दोस्रो अवधिको सरकार चलिरहँदा– यदि स्थानीय सरकारले संविधानले व्यवस्था गरे अनुरुप पारदर्शिता सहितको जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन लगायतको गाउँठाउँ सुहाउँदो विकासको मोडल लागू गरेको भए, प्रदेश सरकारले प्रदेशका जनतालाई समग्र प्रदेशको विकास नयाँ मार्ग देखाउँदै वास्तविक सरकारको अनुभूति गराएको भए र संघको सरकारले त्यही स्तरको क्षमता, नैतिकता र दूरदृष्टिसहित देशलाई अगाडि बढाइरहेको अनुभूति गराएको भए पक्कै पनि संघीय गणतन्त्रमा यति छिट्टै यो स्तरको प्रश्न किमार्थ उठ्ने थिएन ।

तसर्थ, अब हामी हाम्रा दलको निर्मम सुधार गर्दै राजनीतिलाई जनतासँग जोड्ने र जनताको हितलाई सर्वोपरि ठान्दै राजनीति गर्ने परिपाटी बसाल्न जरूरी भइसकेको छ । त्यसको लागि पहिला निम्न कुरामा सुधार आवश्यक छ ।

क) सीमित दल

नेपालमा कति दल छन् ? थुप्रै कम्युनिष्ट पार्टीहरू, तीभन्दा केही कम उदारवादी धारका कांग्रेस जस्तै पूँजीवादी पार्टीहरू । सामन्ती युगका पक्षपाती राजतन्त्र पक्षधर पार्टीहरू, जाति, जनजाति र क्षेत्रीय पार्टीहरूले जनतालाई राजनीतिक शिक्षा र संस्कार कम, दिग्भ्रमित बनाउन ज्यादा योगदान गरिरहेका छन् भन्दा अतिशयोक्ति हुँदैन ।

कुनै पनि गन्तव्यमा पुग्न यदि असंख्य बाटाहरू भए भने यात्री अलमलमा पर्छ । भ्रम र अन्योलमा हुन्छ । गन्तव्यमा पुग्न सक्दैन । पुगे पनि ढिलो पुग्छ । अहिले भएको राजनीतिले पनि जनतालाई अन्योलमा पारेका छन् । उस्तै नाम, उस्तै विचार, उस्तै कार्यक्रम कार्यदिशा, उस्तै संगठन लिएर जनतामा जाने यी असंख्य पार्टीले जनतालाई संगठित, मजबुत बनाउन भन्दा असंगठित, अराजक र कमजोर बनाएका छन् ।

तसर्थ सबैभन्दा पहिला राजनीतिमा सुधार र सफापन ल्याउन जरूरी छ । संवैधानिक व्यवस्था गरेर दल खोल्ने, सञ्चालन गर्ने कुरामा निश्चित मापदण्ड तयार पार्नुपर्छ । किनभने, जो कसैले पार्टीको पसल खोल्ने, आफ्नो गुजारा गर्ने र समाज, देशलाई अराजक र असंगठित हुने वातावरण तयार पार्ने परिपाटीलाई अन्त्य गर्न सहज होस् ।
उच्च नैतिक आदर्श, विचार र योजनामा स्पष्ट सीमित पार्टी नै देश र जनताको हितमा दृढतापूर्वक लाग्न सक्छन् ।

ख) राजनीतिक संरचनामा सुधार

राजनीतिका विविध संरचना/संगठनमा व्यापक सुधारको खाँचो छ । हिजो प्रजातन्त्र/गणतन्त्र प्राप्तिमा आवश्यक त्यही अनुरूपका लडाकु संरचनाहरू अहिलेको प्रविधिको उच्च विकास सहितको वैश्य युगमा अगाडि बढ्न निश्चय नै कठिन छ । हिजो कडा, संघर्षशील, जुझारु, सशक्त र आदेशमा चल्ने पार्टी, संगठन र कार्यकर्ता आवश्यक थियो ।
हिजो राणाशासनमा बोल्न छुट थिएन, पढ्न–लेख्न, राजनीतिक गतिविधि गर्न छुट थिएन । जनतामा जागरण थिएन, समाजमा असाध्यै गरिबी थियो । त्यो बेला साहसी योद्धाको आवश्यकता थियो । त्याग, संघर्ष र बलिदानको उच्च कदर हुनुपथ्र्यो । र, त्यही अनुरूपको स्कूलिङ, त्यही अनुसारको पार्टीको कार्यदिशा, कार्यक्रम हुने गर्थ्यो ।

राणाशासन, पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्दा जेलनेल खान सक्ने नेता–कार्यकर्ता आवश्यक थियो । समाजका हर तप्काका मान्छे राजनीतिक गतिविधिमा सहभागी हुनुपर्ने आह्वान, आवश्यकता थियो । सरकारी कर्मचारी, शिक्षक, डाक्टर, वकिल, पत्रकार, व्यवसायी, कलाकार, लेखक सबै–सबै आन्दोलित थिए । परिवर्तनका संवाहक भएर सडकमा संघर्ष गर्न तैनाथ थिए । गणतन्त्र सबैको योगदानले आएको हो । अब यो गणतन्त्र अगाडि बढ्न सबैको भूमिका आवश्यक छ तर आ–आफ्नो ठाउँबाट योगदान दिएर मात्र । यो फरक बुझौं, बुझाऔं ।

अहिलेसम्म शासनसत्तामा पुग्ने हामी सबैका थुप्रै कमी–कमजोरी रहे/छन् भन्ने कुरा स्वीकार्दै सबै पार्टी र तिनका नेतृत्व, कार्यकर्ताले आफूले त्याग गरेर र बदलिएर अरूलाई शिक्षा दिने संस्कार सिके अवश्य पनि गणतन्त्र गर्विलो बन्ने, नेपाली जनताको समृद्धिको यात्रामा हरियो बत्ती बल्नेछ

हिजो शिक्षक स्कूलमा कम पार्टीका गतिविधिमा ज्यादा संलग्न थियो । आज डाक्टरले उपचारमा सबै ऊर्जा, समय लगाएन भने, कर्मचारीले सेवा दिनमा सम्पूर्ण समय लगाएन भने, पत्रकारले पत्रकार भएर आफ्नो पेशामा निष्ठा देखाएन भने, न्यायाधीशले न्यायमा, व्यवसायीले व्यवसायमा र समाजका हर तप्काले इमानदारीपूर्वक आफ्नो पेशामा सहभागिता देखाएन भने गणतन्त्र टिक्दैन । जोगिंदैन । जनताको नजरमा राम्र्रो हुँदैन । तसर्थ अब पार्टीका, राजनीतिका सबै संरचनामा समयानुकूल सुधार गर्नुपर्ने खाँचो छ ।

ग) युगचेत भएका नेता–कार्यकर्ता

विश्वव्यवस्थामा अनेक किसिमका फेरबदल भइरहेका छन् । आज हामी प्रविधिको युगमा छौैं । प्रविधिले गर्दा आज संसार हरेकको हातमा आइपुगेको छ । प्रविधिको उच्चतम विकास, आर्थिक रूपमा आएको व्यापक फेरबदल, जनतामा भएको चेतनाको अभूतपूर्व विकासले हाम्रो देशमा ठूलो अर्थ राख्दैछ ।

आज देशका युवाहरू काम खोज्दै संसारको कुना–कुनामा पुगिरहेका छन् । उनीहरू जहाँ–जहाँ जान्छन् त्यो देशको राजनीति, सत्ता सरकार, आर्थिक गतिविधि, भौतिक विकास, जनताको जीवनस्तर सबै–सबै देख्छन्, भोग्छन् । अनि ती कुराको तुलना आफ्नो देशसँग गर्छन् । जसले गर्दा उनीहरूमा तीव्र विकास र सम्पन्नताको भोक जाग्छ । त्यसको लागि युवाहरू तड्पिन्छन्, छटपटिन्छन् । भने जस्तो, देखे जस्तो, भोगे जस्तो व्यवस्था आफ्नो देशमा नपाउँदा यो बेला उनीहरू चरम निराश र आक्रोशित छन् ।

तसर्थ अबको नेता– यो युगको हुनुपर्छ । प्रविधि बुझेको हुनुपर्छ । परिवर्तनलाई आत्मसात् गरेको हुनुपर्छ । हरेक युगमा एउटै व्यक्ति र प्रवृत्तिले नेतृत्व गर्न सम्भव हुँदैन । सबै दलमा अहिलेको युग हाँक्ने क्षमता भएको नेता–कार्यकर्ता तयार पार्न र त्यसको लागि वातावरण बनाउन अत्यावश्यक भइसक्यो । जसले पहिला यो पहलकदमी लिन्छ उसले राजनीतिमा जित्ने निश्चित छ ।

घ) आत्मनिर्भर र पारदर्शी संघर्ष

लोकतन्त्रमा राजनीतिक दल/पार्टी भनेका जनताका सार्वजनिक संस्था हुन् । यी संस्थाहरू आत्मनिर्भर, पारदर्शी भए मात्र जनताको विश्वास जित्छन् । जनता नै सर्वोपरि हुने व्यवस्थामा जनताको विश्वास जिते गर्न धेरै सकिन्छ ।

पछिल्लो समय नेपालमा जनताको आलोचना/आक्रोश दल र तिनको नेता कार्यकर्तामा छ । हिजो कठिन संघर्षको समय थियो, जनताले निःशर्त पार्टी, नेतालाई विश्वास गरेर आफ्नो तन, मन, धन सबै सुम्पेका थिए । तर आज हिजोको संघर्ष गरेर आएका दल र नेता कार्यकर्ता सत्तामा छन्, सरकारमा छन् र जनताको नजरमा सुविधाभोगी, अवसरवादी देखिएका छन् । हिजो संघर्षमा देखिएका सपना र आदर्श खै भनेर जनताले सोधिरहेका छन् ।

अहिले जनताले न पार्टीलाई आत्मनिर्भर र पारदर्शी देख्छन्, न नेता कार्यकर्तामा पारदर्शिता । जब उनले जीवनभर दुःख गर्दा यही देशमा खान–लाउन पुग्दैन तर केही नगरी राजनीति गर्दै हिंडेको नेता कार्यकर्तासँग अथाह सम्पत्ति, अथाह सुविधा छ । तब न उनीहरूको मन कुँडिएको र शंकाले राज गरेको छ ।

अब हरेक पार्टीमा आत्मनिर्भर हुने प्रणालीको विकास हुनैपर्छ । नेता–कार्यकर्ता आफ्नै पौरखमा बाँचेका हुनुपर्ने र हरेक कुरामा पारदर्शिता हुनैपर्ने अहिलेका जनताको माग हो ।

ङ) स्वतन्त्र नागरिक

कहिलेकाहीं लाग्छ– जुन देशमा पार्टीको नेता/कार्यकर्ता बन्न सजिलो छ तर स्वतन्त्र नागरिक भएर बाँच्न गाह्रो छ, त्यस्तो देशको हालत कस्तो हुन्छ ? ठिक हाम्रो जस्तो । आज समाजका विकृति/विसङ्गतिको ढल निकासको रूपमा राजनीतिक पार्टीहरू देखा परेका छन् । समाजका अल्छी, असफल, अराजक र अपराधीहरूको छहारी बनेका छन् पार्टीहरू । तसर्थ अब पार्टीको सदस्य भन्दा स्वतन्त्र नागरिक हुन जरूरी भएको देखिन्छ । देशका सबै–सबै संरचनाहरू पार्टी सदस्यहरूले कब्जा गर्ने स्थिति छ । अनि कसरी हुन्छ जनताको साँचो खबरदारी ?

सरकारी कर्मचारीहरू पनि पार्टीनिकट फरक–फरक, वकिल न्यायाधीश पनि पार्टीनिकट फरक–फरक, उद्योगी व्यवसायीहरू पनि पार्टीनिकट फरक–फरक, डाक्टर, लेखक, बुद्धिजीवी, मजदूर, किसान, युवा, महिला, दलित, जनजाति सबै–सबै पार्टीनिकट भएपछि स्वतन्त्र नागरिक हुने को ? तसर्थ अब गुण–दोषको आधारमा, नीति योजनाको आधारमा, आदर्श र नैतिकताको आधारमा पार्टी र नेतृत्व चुन्ने परिपाटी बसाउन योग्य स्वतन्त्र नागरिक चाहिन्छ । त्यसको लागि सर्वप्रथम हरेकलाई व्यवहारतः स्वतन्त्रताको हक दिलाउनुपर्छ । अधिक स्वतन्त्र नागरिकले चुन्ने उत्तम व्यवस्था नै गणतन्त्र हो भन्ने कुराको पुष्टि गर्नुपर्छ ।

अन्तमा, जनताको निराशा र आक्रोश, शासनशैलीको अपूर्णता, अक्षमता र पश्चगामी शक्तिहरूको उत्साहले यत्ति छिट्टै संघीय गणतन्त्र चढेको रेलगाडीमा रातो बत्ती बल्दैछ । र त्यो बत्ती ज्वाला बन्न कत्तिबेर लाग्ने छैन पनि ।

तसर्थ, जनताको निराशा र आक्रोश जायज छ । अहिलेसम्म शासनसत्तामा पुग्ने हामी सबैका थुप्रै कमी–कमजोरी रहे/छन् भन्ने कुरा स्वीकार्दै सबै पार्टी र तिनका नेतृत्व, कार्यकर्ताले आफूले त्याग गरेर र बदलिएर अरूलाई शिक्षा दिने संस्कार सिके अवश्य पनि गणतन्त्र गर्विलो बन्नेछ र नेपाली जनताको समृद्धिको यात्रामा हरियो बत्ती बल्नेछ । धन्यवाद ।

(सिंह नेकपा एमाले सल्यानका उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?