
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले धादिङको शैलुङ क्षेत्रको चौंरीपालन र खर्क व्यवस्थापनको महत्व र चुनौतीहरू वर्णन गरेका छन्।
- उनले स्थानीय किसान, परम्परागत ज्ञानको मूल्य र संरक्षणको आवश्यकता औंल्याएका छन्।
- यात्रा र तालिम कार्यक्रममार्फत किसानको जीविकोपार्जन र खर्क संरक्षणको प्रयास भइरहेको उल्लेख गरेका छन्।
‘माथिमाथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई,
हत्केलामा मायाको गुराँस फुलाउनेलाई ।’
म युवावयदेखि नै श्रवण मुकारुङले लेखेको र कुन्ती मोक्तानले गाएको यो गीत निकै सुन्थें । गीतको शिल्पी र भाव त गज्जब छँदैथियो, त्यसमा पनि कुन्ती दिदीको सुरिलो स्वरले त्यत्तिकै उन्माद ल्याउँथ्यो । अहिले पनि यो गीतले उसरी नै चेतनामा मधुरो स्पर्श गरिरहन्छ ।
युवा विद्यार्थी हुँदादेखि नै शैलुङ उक्लिने तृष्णाले भुतुक्कै हुन्थें तर ती स्वप्निल चुचुराहरू टेक्ने अवसर मिलिसकेको थिएन, रहर–रहरमै सीमित भइरहेको थियो । कुराको खेती गर्नेहरू बढिरहेका र खेतीको कुरा गर्नेहरू घटिरहेको वर्तमानमा चौंरी र चरनका विविधतालाई नजिकबाट नियाल्ने चेतनाको चिराग मभित्र धिपधिपाइरहेको थियो ।
वन विज्ञानमा बीएस्सी पढ्नेताका रेन्ज म्यानेजमेन्ट भन्ने विषयमा खर्कका सन्दर्भहरू घोकिए, परीक्षा केन्द्रित भएर । पढियो, पास गरियो, सकियो । यात्रीका फोटो र घुमन्तेका संस्मरणहरूमा खर्कका रहर र पीडा बग्रेल्ती पढियो तर मनमै रह्यो, चौंरी डुलाउने रहर, खर्कहरूमा डुल्ने मनको सपना ।
चौंरी डुलाउने शैलुङ (खर्क) प्रति मेरो उत्सुकता वन विज्ञानको विद्यार्थीभन्दा पनि यही गीतले बढाएको थियो । म रुमानी कल्पनामा हराउथें । त्यहाँको चौरीवाला ठिटाठिटीको कथा कल्पेर । अझ त्यसमा लटरम्म गुराँस वा चिमाल फुलेर वनपाखा लालमय वा श्वेत वर्णमा रूपान्तरित हुँदाको पलले मलाई अझ रोमाञ्चित तुल्याउँथ्यो । चौंरी खर्कको यो रोमाञ्च तोड्न मलाई निकै समय लाग्यो ।
सपनाको खोजी
हामी २२ कात्तिक २०८१ देखि एउटा महत्वपूर्ण ट्रेकिङमा हिंडेका थियौं । धादिङको उत्तरी बस्ती रुबी भ्यालीमा पर्ने कालोदह, सेतोदह, हार्चीपास, गणेशकुण्ड, गणेश हिमाल बेसक्याम्प पुग्ने उद्देश्यले यात्रारत थियौं ।
त्यो यात्राको क्रममा मैले पहिलोपल्ट धादिङको सबैभन्दा उत्तरी गाउँ लिंग्जो पार गरेपछि एक होइन, अनेक साना तथा ठूला खर्क देखेको थिएँ र त्यहाँका चौंरी र भेडा पालक किसानसँग बाटोमा केही कुरा गर्ने मौका पाएको थिएँ । तर त्यहाँ श्रवण मुकारुङले व्याख्या गरेजस्तो रोमाञ्च र रुमानी कुरा थिएन । त्यहाँ युवावयका न ठिटा थिए न ठिटी । न गुराँसको थुँगो हातमा राखेर आफ्नी मैच्याङको शिरमा फूल सिउरिदिने च्याङ्वा थिए ।
त्यहाँ ५० नाघेका, असमयमा नै अनुहारमा मुजा परेका, नाम मात्रको गोठमा जसोतसो गुजारा चलाइरहेका आम अनुहारहरू थिए, जसले मेरा काल्पनिक रुमानी सपनामा अमिलो निचोरिरहेको थियो र रोमाञ्चकता सहजै भत्किएको थियो । यो पटकको मेरो यात्राको उद्देश्य अर्कै थियो, त्यसैले त्यता मैले अल्झिन पाइनँ तर मेरो मनमा यो विषय निकै गढेर बस्यो ।
हामीसँग ट्रेकिङमा सहभागीमध्ये एक बीबहादुर तामाङ आफैं त्यो क्षेत्रका अगुवा चौंरीपालक थिए । हामीले दुई रात उनकै फरक–फरक गोठमा बितायौं र केही उनका कुरा सुन्यौं । उनका कुरा सुन्ने र रात बिताउने मात्र होइन, पहिलोपल्ट छुर्पीको पचासौं बोरालाई साथी बनाएर सुत्यौं । बढीमा १–२ केजी छुर्पी देखेका हामीले त्यहाँ झन्डै हजार किलो छुर्पी देख्दा रमाइलो लाग्नु स्वाभाविक नै थियो ।
यात्राको क्रममा हामी बाटोमा पर्ने नुम्सिंह खर्क, सिन्दुर्चो, बाबिल खर्क, छ्याराचो खर्क, हार्ची पास भएर अगाडि बढ्यौं । त्यहाँको अवस्था, सम्भावना र समस्या देखेपछि र उहाँहरूको कुरा सुनेपछि मलाई लाग्यो, हामी यो क्षेत्रमा सानो भए पनि कार्यक्रम लिएर आउनुपर्छ ।
खर्क व्यवस्थापनको दायित्व वन कार्यालयको पनि थियो तर यो हामीबाट झन्डै गुमनाम वा अछूत थियो । म आफैंलाई पनि अचम्म लागेको थियो कि, किन आजसम्म पनि यो क्षेत्र हाम्रो नजरमा परेन । हाम्रो त्यो यात्रा केही प्राविधिक कारणले बीचमा नै स्थगन भयो, फर्कियौं ।
मेरो दिमागमा खर्कको कुरा आउने–जाने गरिरहेको थियो । मैले झट्ट राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनालाई सम्झें र साथीहरूसँग यसको बारेमा कुरा गरें । उहाँहरूले असाध्य सकारात्मक रूपमा लिनुभयो । त्यसको केही महिनापछि आयोजनाको तर्फबाट सुनिल सापकोटा भाइले अब कार्यक्रमको तयारी गरौं भनेपछिको परिमाण थियो यो कार्यक्रम । हामीले ‘हिमाली क्षेत्रका खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम’ नामकरण गर्यौं र २०८२ जेठ ५ देखि ९ सम्मको मिति तय गर्यौं ।
यसको उद्देश्य त्यो भेगमा काम गर्ने किसानलाई खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक बनाउने र जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने थियो । अनि मिल्यो भने श्रवण दाइको त्यो मैच्याङ वा च्याङ्वालाई भेट्ने, जो हातमा गुराँस बोकेर आफ्नी प्रियको पछि लागिरहेको हुनेछ ।
पढाउन गएको पढेर आइयो
वर्षातको समय, भिरालो र अप्ठेरो बाटोका बाबजुद दुखम–सुखम लिंग्जो पुगियो । यो कार्यक्रमको व्यवस्थापनमा स्थानीय अगुवा बीबहादुर लामा र प्रकाश घलेले ठूलो सहयोग गर्नुभयो । यो स्थान रोज्नुको मुख्य कारण चाहिं रुबी भ्यालीको सबैभन्दा धेरै बाख्रा, भेडा र चौंरीपालनमा संलग्न किसान रुबी भ्याली १ नम्बर वडाबाट हुनुहुन्थ्यो ।
अर्को महत्वपूर्ण पक्ष, हामी फिल्डमा आधारित छलफल गर्न चाहन्थ्यौं जहाँ उहाँहरूका कुरा मज्जाले सुन्न पाइयोस्, काम देख्न पाइयोस्, केही सिकियोस् र केही आफूले जानेका कुरा बताउन पाइयोस् । म ठूला होटलका अर्थ न बर्थका भाते कार्यक्रमबाट आजित थिएँ, त्यसैले पनि गाउँ नै जान खोजेको थिएँ ।
हामीले एउटा सेड्युल त बनाएका थियौं तर उहाँहरूको कुरा सुरुमै सुन्न चाह्यौं, जसले उहाँहरूको बुझाइ र हाम्रो बुझाइमा तालमेल हुन सकोस् । हामीले कुरा सुन्यौं, सुन्दै मनमनै गुनिरह्यौं । भेडा, बाख्राका कुरा, चौंरीका कुरा, अनुदानका कथा, खर्कका कुरा, दुःखका कुरा, सुखका कुरा । सुनेपछि हामी नाममात्रका प्रशिक्षक वा स्वघोषित विज्ञ रहेछौं भन्ने महसुस भयो ।
उहाँहरूको अथाह परम्परागत ज्ञान देखेर हामी छक्क पर्यौं । उहाँहरूको रैथाने ज्ञानका सामु हामीले समुद्रको अगाडि कुवा जस्तो महसुस गर्यौं । सिकाउन भनेर गएका हामीले उल्टै धेरै कुरा सिकेर आयौं । किताबमा नलेखिएका, इतिहासमा नसमेटिएका धेरै कुरा सिक्ने मौका पाएर हामी धन्य भयौं ।
हामीले कुरा सुनेनौं मात्र, उहाँहरूले परम्परागत रूपमा चलाउँदै आउनुभएका दुई वटा भेडा र एउटा चौंरी गोठको स्थलगत अवलोकन पनि गर्यौं ।
धादिङमा चौंरी
रुबी भ्यालीका सबैभन्दा पहिलो चौंरीपालक दोस्रो पुस्ताका शेरबहादुर तामाङले कसरी उनका बुवा पुर्नसिङ तामाङ (गुइया तामाङ भनेर चिनिने) ले रुबी भ्यालीमा चौंरी भित्र्याए, केके दुःख पाए, त्यसको फेहरिस्त सुनाए । उनका बुवा साबिकको तिप्लिङ्ग गाउँ पञ्चायत ७ नम्बर वडाका वडाध्यक्ष पनि थिए । कामको सिलसिलामा तिब्बत गइरहन्थे । त्यो बेला तिब्बत जानु–आउनु सहज थियो । न पासपोर्ट, न भिसा । सहज वारपार हुन्थ्यो ।
तिब्बतको चमकधमक चौंरीपालन देखेर उनका बुवालाई पनि चौंरी पाल्न रहर लागेर आयो तर यता न पहाडी गाई न याक । जहाँ इच्छा, त्यहाँ उपाय भने जस्तै उनका बुवा गाई खोज्न कास्कीको घान्द्रुक पुगे र त्यहाँबाट प्रतिगाई ५०० रुपैयाँका दरले १८ वटा गाई किनेर ल्याए । यो २०४५/४६ सालको कुरा हो ।
गाई त आयो तर याक छैन । यसको लागि उनी आफ्नो जन्मथलो रसुवा पुगे । लाङटाङबाट एउटा याक किनेर ल्याए । यो याक मर्यो र त्यसपछि उनले त्यो बेलाका नेता बुद्धिमान तामाङलाई गुहारे । उनले केही पैसा दिए र फेरि १३ हजारमा याक किनेर ल्याएपछि सुरु भयो रुबी भ्यालीमा चौंरीको यात्रा । त्यसपछि क्रमशः गन्जीर घले, आइमान घले, बीबहादुरहरू जोडिंदै गए । यीमध्ये कोही अझै यही पेशामा छन् भने केही विस्थापित भएर अन्य पेशामा लागे ।
याकका जातभात
मैले अहिलेसम्म याक (भाले), नाक (पोथी) र चौंरीको मात्र कथा सुन्दै आएको थिएँ तर यिनको भित्री कथा अनेक रहेछन्, हाम्रो समाजका जात जस्तै । उपाध्याय, जैसी, कुमाई, क्षेत्री, खत्री वा अन्य जातिका विविध हाँगा जस्तै ।
स्थानीयले बताएअनुसार, हामीले सुन्ने गरेको याक र नाक चाहिं यसको उन्नत र असली वंश हो । त्यसमा पनि जङ्गली याक र नाक सबैभन्दा उन्नत हो । रुबी भ्यालीमा जङ्गली याक र नाक हालसम्म फेला परेको छैन । तर किनेर ल्याइएका १० वटा याक र १७ वटा नाक छन्, जो अधिकांश समय पाङ्साङ पास र प्योल्दार पिकको वरिपरि खुला स्थानमा बस्छन् ।
केही याक सहकारी मार्फत, केही निजी, केही पालिकाको र अन्य संघ–संस्थाको सहयोगमा छन् । रसुवा र तिब्बतमा नाकको दूध दुहे पनि यहाँ प्रायः नाक दुहुने चलन रहेनछ, गोठाला पनि कहिलेकाहीं याक र नाकलाई नुन खुवाउन जाने रहेछन् । नभए खुला अवस्थामा नै बस्दा रहेछन् ।
हामीले धेरै सुनेको चौंरी गाई चाहिं याक र पहाडी गाईको क्रस रहेछ । यिनबाट जन्मेको पोथीलाई चौंरी र भालेलाई भने जोक्पा भनिन्छ । चौंरीको दूध दुहुने हुनाले यसको महत्व छ तर जोक्पा जोत्न र केही स्थानमा भारी बोक्न प्रयोग हुनाले उनीहरू बेच्दा रहेछन् । नभए स्याहार नपाएर सानैमा मर्ने समेत रहेछन् ।
चौंरीगाई र पहाडी गोरु (साँढे) को क्रसबाट जन्मेको पुस्ता चाहिं तेल्मो हुन्, जुन दूधको लागि तयार गरिन्छ । यिनको भाले तेल्पो हुन्, जुन केही ठाउँमा जोत्न र भारी बोक्न प्रयोग गरे तापनि त्यति बलियो नहुनाले प्राथमिकतामा नपर्ने रहेछ ।
चौंरी र याकको क्रस भएर जन्मेका पोथीलाई होर्मो र भालेलाई होर भनिंदोरहेछ । यदि होर्मो र याक पुनः क्रस भएमा नाक वा याक नै मानिंदोरहेछ । यसैगरी तेल्मो र पहाडी साँढेको क्रसबाट जन्मेका पोथी गार्मो र भाले गर्पू हुन् । गार्मो पनि दूधको लागि प्रयोग गरिन्छन् । गार्मो र गोरुको क्रस सुन्ग्मो (पोथी) र भाले ओया हो, जुन गाईको नजिक र झन्डै गाई जस्ता हुने रहेछन् । सुन्ग्मो र गोरु क्रस भएमा चाहिं अब पूरै गाई हुन्छ । स्थानीयको लागि सामान्य भए पनि हाम्रो लागि यो विल्कुल नयाँ विषय थियो । हामी सुनेर दंगदास थियौं ।
यहाँका किसान सहजताको लागि तेल्मा वा चौंरी नै मनपराउने रहेछन् । अरूको दुध दुहुने वा प्रयोग नगर्ने रहेछन् । तेल्मोको पुच्छर चौंरीभन्दा अलिक सानो र ज्यानको रौँ अलिक मसिनो हुनेरहेछ र चौंरीको भन्दा दूध केही पातलो हुने बाँकी उस्तै । हामीले हेर्दा नचिनिने तर चौंरीको फिल्ड भिजिट गर्ने क्रममा बीबहादुरले कसरी तेल्मो र चौंरी चिन्ने भनेर हामीलाई बुझाए । हामी मक्ख ।
असार, साउन र भदौ ३ महिना पहाडी गाई र याक सँगै राखिन्छ र यही बेला गर्भाधानको काम हुन्छ । जाडोमा गाई माथि जान नसक्ने र गर्मीमा चौंरी तल झर्न नसक्ने हुनाले सबैभन्दा उपयुक्त समय यही नै रहेछ । यहाँ चौंरी पालक दुई किसिमका पाइयो । एक प्रकारका किसानले चौंरी दुहेर दुध, घ्यू, छुर्पी, चिज बेच्दा रहेछन् भने अर्का केवल बच्चा चौंरी हुर्काएर बेच्ने दूध आदिको काम नगर्ने रहेछन् ।
भेडाका कुरा
सुन्दा अचम्म लाग्छ, यहाँको धेरै परिवारको लागि निर्वाहमुखी जीविकोपार्जनको लागि महत्वपूर्ण माध्यम भेडापालन हो । किसानको भनाइ छ, भेडापालन अरूभन्दा सजिलो छ । यसले ऊन दिन्छ, मासु र नगद दिन्छ ।
अझ खुला आकाशमा सहज बस्न सक्ने, तल्लो भेगमा पनि लैजान सकिने र माथिल्लो ४,५०० मिटरको उचाइसम्म पनि पुर्याउन सकिने, धेरै स्याहार पनि नचाहिने । यहाँ भेडा ठूलो बनाएर बेच्नुको साटो सानोमा नै बेच्ने चलन रहेछ । भएकामध्ये ठूलो र बलियोलाई ब्याडको लागि राख्ने र बाँकी बेच्ने । यसले घरायसी खर्च चलाउने काममा ठूलो भरथेग पनि गर्ने हुनाले भेडापालन लोकप्रिय छ ।
रुबी भ्यालीका किसानको जीविकोपार्जनको महत्वपूर्ण माध्यम कृषि हो र यी कृषिको लागि भेडा र बाख्राको मल साह्रै मलिलो हुन्छ । त्यसैले पनि खेती गर्ने सबैको घरमा केही न केही गाईवस्तु छन् । भेडाको छुर्पी गुलियो र पोषिलो हुने, घ्यू पनि राम्रो दिने । तर यहाँ भेडा दुहुने चलन रहेनछ ।
छैन तथ्यांक
छलफल हुँदै गयो र मैले सहभागीलाई जिज्ञासा राखें– रुबी भ्यालीमा कति होला त चौंरी र भेडाको सङ्ख्या ? कसैलाई थाहा छैन । तथ्यांक राख्नुपर्ने पालिकासँग पनि यसको पछिल्लो तथ्यांक रहेनछ । पशु सेवा कार्यालयसँग पनि अद्यावधिक रहेनछ । वन कार्यालयसँग हुने कुरै भएन । सहभागीले विश्वास दिलाउनुभयो, हामी तालिम सकिनु अगावै सङ्ख्या पत्ता लगाउँछौं । नभन्दै, चौथो दिनको बेलुका समूहले आफ्नो गाउँको किसानलाई फोन गर्दै ग्रुप–ग्रुपमा बसेर जोडघटाउ गरेपछि यसको केही सङ्ख्या हात लाग्यो ।
विगतभन्दा कम हुँदै गए पनि हाल रुबी भ्यालीमा ६५ किसानका करिब ८ हजार भेडा रहेछन्, औसतमा प्रतिघर १२० भेडाभन्दा बढी । यसैगरी चौंरी र तेल्मो गरेर करिब ३०० रहेछन् । १० वटा याक र १७ नाक । यो तालिमले पत्ता लागेको सङ्ख्या । यो निकै उत्साहित थियो हाम्रो लागि । पालिकाले अब तत्काल नै अन्य पशुको पनि तथ्यांक अद्यावधिक गर्ने बताएको छ । यसमध्ये पनि वडा नम्बर १ मा पर्ने लाब्दुङ, पुरु र लिंग्जोमा सबैभन्दा बढी । अर्को भाषामा भन्दा सरकारले चाहेमा पकेट क्षेत्रको घोषणा गर्न सकिने अवस्था रहेछ ।
एक्ला किसान
संसारभरका किसान प्रायः एक्ला नै हुन् । किसानका पक्षमा किसान बाहेक कोही देखिंदैन । प्रकृति, विपत्ति सबै विपक्षमा र सरकार पनि अनुदार बनेपछि किसान एक्ला हुने नै भए । किसानका आफ्नै गुनासा छन् । भेडा, बाख्रा र चौंरीमा लाग्ने रोगब्याधी छँदैछ । क्रमशः चरन खुम्चिंदो छ, घाँसको गुणस्तर घटेको छ, घाँस हुने ठाउँमा पोथ्रापोथ्री आउने र क्रमशः रूखले ढाकेको छ ।
खर्कमा पानीको उत्तिकै समस्या छ । कहिलेकाहीं एकैपटक खर्कमा गाईवस्तु, भेडा, चौंरीको संख्या थेगिनसक्नु हुन्छ । एकलाई लाग्ने रोग अर्कोलाई सर्ने हुन्छ । आधुनिक औषधि मुलो छैन, खोर स्थायी छैन, चिसोले भेडाबाख्रा बिरामी हुनु सामान्य हुन्छ । हिउँदका चार महिना किसानलाई साह्रै गाह्रो हुन्छ तर बेथा कसले बुझ्ने ! न बीमा, न क्षतिपूर्ति । देशको अन्य भागमा जस्तै यहाँ पनि सरकारी अनुदान आउँछ, जान्छ।
यी त भए आम सामाजिक कुरा । अब प्रकृतिको बज्र पनि किसानमाथि नै लाग्छ । बेलाबेलामा बाढी–पहिरोले यिनका भेडाबाख्रा र चौंरीलाई आक्रमण गर्छ । स्याहार नपुगेपछि रोगब्याधी, महामारी यिनैलाई लाग्ने भैहाल्यो । जंगली जनावर चितुवा, स्याल र बँदेल लगायतले यिनकै भेडाबाख्रा र चौंरी ताक्छ ।
राहतको व्यवस्था सरकारले गरेको छ तर राहत कार्यविधि यिनका पक्षमा छैनन् । यिनका गोठ सबै जंगलमा छन् । जनावरले वस्तुभाउ मार्छ तर राहत निर्देशिकाले जंगलमा मारिएकालाई राहत दिंदैन । निर्देशिकाले घर र गाउँको गोठ खोज्छ । किसानसँग हेरेर चित्त बुझाउनुको विकल्प छैन ।
युवा पुस्ताको चरम वितृष्णा
युवापुस्ता गोठमा फर्केर हेर्दैनन् । धेरै केटाकेटीको प्रश्न छ, किन गर्ने यो दुखिया काम ? बरु हामीलाई चौंरी÷भेडा बेचेर पैसा देऊ, विदेश जान्छौं ।
गोठ ७५ वर्षका धने घले र ७२ वर्षका ज्याबुरी तामाङको जोडीले धानेको छ । किसानका अनुहार हेर्यो र उमेर सोध्यो, अधिकांश ५०–६० को हाराहारीका छन् । यो पेशा नाफामूलक छैन । तर किसानको साझा प्रश्न छ– छाडेर के गर्ने, कहाँ जाने ? उमेर गइसक्यो, व्यापार गर्न पैसा र आइडिया छैन ।
पितापुर्खाले यही पेशा अँगाले, हामीले यही सिक्यौं, यसैले दुःख–सुख गरेर केटाकेटी पढायौं अब सकुन्जेल गर्ने हो, जहिलेबाट सकिन्न छाड्ने हो । हामी आफैं पनि केटाकेटीलाई यो काममा नलाग्न भनिरहेका छौं र दुःख गरेर पनि काठमाडौं, पोखरा वा धादिङमा राखेका छौं ।
हेर्दा लाग्छ, यही क्रम रहने हो भने रुबी भ्यालीको भेडा वा चौंरीपालन इतिहासमा सीमित हुने पो हो कि ! डर लाग्छ, चौंरी डुलाउने यो नै अन्तिम पुस्ता पो हो कि !
किसानका अपेक्षा
किसानका अपेक्षा यत्ति हो– उनको नाममा आएका अनुदान उनले नै पाए हुन्थ्यो । केही औषधिको व्यवस्था, बीमा र सहज राहतको व्यवस्था । नयाँ प्रबिधि, बजारसँग जोडिने उपाय, बजारसँग पहुँच यस्तै यस्तै । ठूला सपना, आकांक्षा, माग केही पनि छैनन् । केवल एउटा नागरिकले राज्यबाट प्राप्त गर्ने जतिको सुविधा भए पुग्छ तर कहिले आउँछ विकासको उज्यालो ? मलाई पनि थाहा छैन, मुश्किलले नेपाली बुझ्ने ज्याबुरी तामाङ र उमेर नपुगी बुढो भएका काइँलीहरूलाई थाहा हुने कुरै भएन ।
फेरि एउटा गीत लेख्नुस् है !
श्रवण दाइ ! यता यस्तै छ, त्यता के छ ? मेरो चुल्ठो खाली छ भनेर आह्वान गर्ने मैच्याङ बुढ्यौलीमा प्रवेश गरिसकेका छन् । उनका छोराछोरी, नाति–नातिना अब गुराँसबाट होइन, मोबाइलबाट मायापिरती साटिरहेका छन् । तर तिनै च्याङ्वा र मैच्याङ बुढेसकालमा नै सही अझै चौंरी र भेडा डुलाइरहेका छन् ।
तिनले गाउने गीत र भोगाइ फेरिएका छन् तर सन्दर्भ फेरिएको छैन । केवल उमेर बदलियो तर ऊ बेला लागेको माया रत्तिभर घटेको छैन । त्यसैले त अब खर्कका नयाँ गीत लेखिनुपर्छ, अनि फेरि कुन्ती दिदीको स्वरमा गुञ्जाउनुपर्छ ।
तपाईंका मायालु जोडी पूर्वी पहाडतिर मात्रै छैनन्, धादिङका सिन्दुर खर्चि र सिङ्लातिर पनि छन् । प्रिय श्रवण दाइ, धादिङको शैलुङमा निम्तो छ है । बिन्दास डुलौंला, ज्याबुरी र धनेको कथा फेरि लेखौंला, च्याङ्वा र मैच्याङको गीत फेरि घन्काउँला ।
प्रतिक्रिया 4