+
+
Shares

युक्रेनको खार्किभमा रुसद्वारा मिसाइल र ड्रोन आक्रमण

घटनामा डेढ महिनाको शिशु र १४ वर्षीया बालिका समेत घाइते भएका छन् । शुक्रबारयता मात्रै रुसी आक्रमणमा परी कम्तिमा ७ जना युक्रेनीको मृत्यु हुनुका साथै ४० बढी घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसले युक्रेनको खार्किभमा मिसाइल र ड्रोन आक्रमण गर्दा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।
  • आक्रमणमा ५० भन्दा बढी ड्रोन, गाइडेड बम र मिसाइल प्रयोग भएको युक्रेनी अधिकारीहरुले बताएका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्तपात नरोकिए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।

२४ जेठ, काठमाडौं । रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । आाक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

शनिबार खार्किभलाई निसाना बनाउँदै रुसले मिसाइल र ड्रोनबाट कम्तिमा ४० विस्फोट गराएको त्यहाँका मेयर इगोर टेरेखोभलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

युक्रेनले एफपीभी ड्रोन प्रयोग गरेर क्रुज मिसाइल बोक्न सक्ने रुसका ४० वटा लडाकु विमानमा क्षति पुर्याएपछि मस्को आक्रामक बनेको छ । खार्किभका मेयर टेरेखोभले टेलिग्राममार्फत भनेका छन्, ‘नगरले युद्ध सुरु भएयताकै सबैभन्दा शक्तिशाली आक्रमण भोगिरहेको छ, शत्रुले मिसाइल, ड्रोन र गाइडेड बम प्रयोग गरेर सहरका विभिन्न क्षेत्रहरूमा एकैपटक आक्रमण गरिरहेको छ । यो निहत्था नागरिकमाथिको खुल्ला आतंक हो ।’

युक्रेनको आपतकालीन सेवाले जारी गरेको एक भिडियोमा ओस्नोभ्यान्स्की जिल्लामा रहेको बहुतले आवासीय भवनमा ठूलो आगलागी भएको देखिन्छ । उनले सो क्षेत्रमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उत्तरी जिल्ला किभ्स्कीको एउटा घरमा भएको आक्रमणमा अर्को एक जनाको मृत्यु भएको मेयर टेरेखोभले जानकारी दिए ।

रुसी आक्रमणमा ५० भन्दा बढी ड्रोन, ४ वटा गाइडेड बम र एउटा मिसाइल प्रयोग भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । आक्रमणबाट खार्किभको एक प्रशासनिक भवन र संगीत विद्यालय क्षतिग्रस्त भएको छ ।

घटनामा डेढ महिनाको शिशु र १४ वर्षीया बालिका समेत घाइते भएका छन् । शुक्रबारयता मात्रै रुसी आक्रमणमा परी कम्तिमा ७ जना युक्रेनीको मृत्यु हुनुका साथै ४० बढी घाइते भएका छन् ।

पछिल्लो आक्रमणको जवाफी कारवाहीमा रुसको सू–३५ लडाकु विमान खसालेको युक्रेनको दाबी गरेको छ । एक रूसी सैनिक भ्लगरले विमान खसेको र पाइलटको उद्धार गरिएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार पनि रुसले युक्रेनका विभिन्न क्षेत्रमा घातक ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । शान्तिवार्ताको चर्चा चलिरहेका बेला रुस–युक्रेन युद्ध पुनः चर्किएको छ ।

रक्तपात नरोकिए रुसमाथि थप प्रतिबन्ध : ट्रम्प

पछिल्लो आक्रमणबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको आलोचना गरेका छन् । शुक्रबार राति एअर फोर्स वनमा पत्रकारहरू कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘उनीहरूले पुटिनलाई रातभर बमबारी गर्न उचित बहाना दिए ।’

युक्रेनले रुसका एक तिहाइ युद्धपोतमा क्षति पुर्याएपछि ट्रम्पले मस्कोले जवाफी गर्न सक्ने चेतावनी दिएका थिए । बुधबार रुसी राष्ट्रपति भोलोदोमीर पुटिनसँग कुरा गरेका ट्रम्पले आफू युद्ध अन्त्यको पक्षमा रहेको र आवश्यक परे रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन् ।

‘यदि मलाई लाग्यो रुस शान्ति सम्झौताको बाटोमा छैन वा रक्तपात रोकिने छैन भने, म अवश्य नै आवश्यक प्रतिबन्ध लगाउँछु ।’ सोमबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरु दोस्रो चरणको शान्ति वार्तामा बसेकोमा एक घण्टा पनि नबित्दै बिथोलिएको थियो । सो वार्तामा दुवै पक्ष कैदी आदानप्रदान गर्न भने सहमत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?