
News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सेवा एकाई खडा गरिएका अस्पतालहरूले लक्षित समूहलाई सेवा दिन सकेका छैनन्।
- कीर्तिपुर र भक्तपुर अस्पतालहरूले गरिब र पीडितलाई सहज र सस्तो उपचार सेवा प्रदान गर्न प्रयास गरिरहेका छन्।
- अस्पतालहरूले मानवता र भावना बुझ्ने कर्मचारी र सरल प्रक्रियाबाट सेवा प्रवाह गर्न आवश्यक छ।
नेपालका कतिपय अस्पतालहरूमा सामाजिक सेवा एकाई खडा गरिएको छ । जुन आफैँमा सकारात्मक थालनी हो । अधिकांश जनता आर्थिक रुपमा कमजोर रहेको हाम्रो समाजमा सामाजिक सेवा एकाई खडा गरेर लक्षित समूहको उपचारमा मद्दत गर्नु सरकार र अस्पतालहरूको सह्रानीय काम हो ।
यस्तो सेवा सबै अस्पताल वा कुनै पनि स्वास्थ्य सेवा दिने ठाउँमा अनिवार्य नै गरिनुपर्छ । फलस्वरुप निम्न वर्गले पनि सरलरुपमा स्वास्थ सेवा पाउने आधार बन्छ । राज्यको अभिभावकीय भूमिकाप्रति जनताको विश्वास बढ्छ ।
यद्यपी यस्ता सामाजिक सेवा एकाईले लक्षित समुदायलाई उचित सेवा दिन सकेका छन् त ? भनेर प्रश्न गर्नुपर्ने अस्वस्था छ ।
वीर अस्पतालमा मात्रै गरिब, अपांगता भएका, ठूला-ठूला रोग लागेका जस्ता विभिन्न विधा गरेर धेरै खाले छुट र सुविधा प्रदान गर्ने सामाजिक सेवा एकाइ तथा संयन्त्रहरू खडा गरिएका छन् । दु:खलाग्दो कुरा यस्ता सुविधाबाट लक्षित वर्गले प्रभावकारी सेवा पाउन सकेको देखिदैन ।
धेरै हद सम्म त ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भने झैँ यो सेवाले पनि बोल्न सक्ने, टाठा-बाठा, तुरुन्त प्रभावशाली मानिसलाई फोन लगाउन सक्ने, रवाफ देखाउन सक्ने व्यक्तिहरूलाई बढी फाइदा भएको देखिन्छ ।
अर्कोतर्फ लक्षित समूहलाई राज्यले दिएको त्यो सहुलीयत लिन निकै कष्ट छ । पिछडिएका, सिधासाधा व्यक्तिहरूलाई न त त्यस्तो सेवा, सुविधा अस्पतालमा छ भन्ने थाहा हुन्छ, न त उनीहरू त्यो सुविधाको माग गर्न नै सक्छन् ।
यसै सन्दर्भमा यहाँ दुइवटा अस्पतालमा बिरामी र आफन्तले भोगेका कथा प्रस्तुत गर्दैछु ।
एक
लगभग दुइ वर्ष अगाडिको कुरा हो । कीर्तिपुरको जलन अस्पतालमा मेरो आफन्तलाई अप्रेसन गरेकाले हामी अस्पतालमै रात बसेका थियौं । त्यो समय नेपालको तराई र शहरी क्षेत्रमा डेंगी निकै फैलिएको थियो । कीर्तिपुर अस्पतालमा पनि डेंगीका धेरै बिरामी आईसीयूमा भर्ना गरिएका थिए । त्यसमध्ये दाङका दलित समुदायका एक बिरामीको हालतले हाम्रो ध्यान खिच्यो । २९ वर्षीय ती युवक कीर्तिपुरमा डेरा लिएर बसी ज्यामी काम गर्थे ।
गाउँमा साना केटाकेटी र श्रीमती थिए भने उनी यहाँ साथीसंग बसेका थिए । श्रीमती, केटाकेटी गाउँमै थिए । साथीसँग बस्थे डेरामा । साथीले नै अस्पतालमा भर्ना गरी उपचारमा सहयोग पनि गरेका थिए । उनी बाँच्न सक्ने अवस्था नदेखिएकोले सोही दिनको बिहान अस्पताल प्रशासनले फोन गरेर उनकी श्रीमतीलाई बोलाएको थियो ।
रातभर उनले मृत्युसँग संघर्ष गरे । बिहानी उनले मृत्युवरण गरेको सूचना अस्पतालले दियो । त्यसपछि भने शुरु भयो उनको परिवारले व्यहोर्नुपरेको असिम सकस र पीडाको कहानी । उनकी श्रीमती र उनका मामा गाउँबाट २-४ हजार रुपैया बाटो खर्च ऋण काढेर हतार-हतार गाडी चढेका थिए ।
उनकी श्रीमतीसँग खाना खाने समेत पैसा थिएन । अस्पतालले सबै गरेर लगभग ४५ हजारको बिल देखायो । बिल भुक्तानी नगरेसम्म शव नदिने अड्डी कस्यो । मृतककी श्रीमतीलाई रुँदै कुनामा बसेको देखेँ । श्रीमान् गुमाउँदाको थेगिनसक्नुको पीडा एकातिर थियो, अर्कोतिर अब सन्तानलाई कसरी हुर्काउने भन्ने पीडा बेग्लै थियो । त्यसमाथि अस्पतालको बिल ।
उनी भएको ठाउँमा गएँ, नआत्तिन भनेँ, पानी दिएँ । त्यसपछि उनलाई लिएर त्यहाको सामाजिक सेवा एकाईमा गएँ । त्यहाँ कोही थिएन । हामीले झन्डै एक घण्टा पर्खिएपछि महिला कर्मचारी कतैबाट आइपुगिन् । उनको व्यवहार देख्ने जोसुकैले सहजै भन्न सक्थ्यो कि, यस्ती कठोर स्वभाव भएकी कर्मचारी सामाजिक सेवामा हुनुभन्दा सामाजिक सेवा नै नभएको ठिक ।
उनले झर्किंदै छुटबारे ५ वटा कुरा भनिन्, ‘गाउँपालिकाबाट अनिवार्यरुपमा सिफारिश ल्याउनु पर्छ . १० प्रतिशतभन्दा बढी छुट हुँदैन । औषधिको बिलमा छुट हुने छैन । ‘इडी’ ( अस्पतालका कार्यकारी निर्देशक)ले हस्ताक्षर गरेपछि मात्रै त्यो छुट पाइन्छ र ‘इडी’ सर हप्तामा १-२ दिन मात्र यो अस्पताल आउनुहुन्छ ।
हामीले अरु केही सोध्न खोज्यौं । जस्तो कि, मान्छे मरिसक्यो, शव लिएर जानुपर्ने अवस्था छ । अब दाङमा गएर कसले सिफारिस ल्याइदिने ? आदि आदि । तर त्यो आफ्नो समस्या नभएको भन्दै उनी बाहिर निस्किइन् ।
त्यसपछि हामी अस्पतालको मुख्य भवनमा गयौँ, कुनै ठूलो मानिसलाई भेट्न र पीडा पोख्न पाइन्छ कि भनेर । त्यहाँ एकजना राइ थरका सिनियर डाक्टर भेटिए, जो निकै दयावान र सहयोगी रहेछन् । उनले आफू र कर्मचारीको तर्फ पनि केही सहयोग गर्ने मनसुबा देखाए । अर्को एकजना अस्पतालकै प्रशासक पनि थिए, जसले पनि उक्त अवस्थाप्रति सहानुभूति देखाउदै कसरी सहयोग गर्न सकिन्छ भनेर विचार गर्न लागे । संसारमा मानवता पूर्णरुपमा त मरिसकेको छैन नि !
उनले केही सम्झेझैँ गरी भने, ए साँच्ची, आज त इडी(अस्पताल प्रमुख) पनि आउनुभएको छ । उहाँसँग कुरा गर्नुहोस् न । हाम्रो डाइरेक्टर संवेदनशील र सहयोगी नै हुनुहुन्छ । सायद केही हुन्छ कि !
म आशाको मसिनो त्यान्द्रो बोकेर ती महिलालाई लिएर ‘इडी’ को कार्यकक्षमा पुंगे। म अचम्भित भएँ, त्यहाँ त मैले संगत गरेको आदरणीय व्यक्ति नै उक्त ‘इडी’ को कुर्सीमा आसिन थिए । उनी पनि मलाई देखेर छक्क परे । हाम्रो भेटघाट नभएको ६/७ वर्षभन्दा बढी भइसकेको थियो । मैले ‘इडी’ लाई ती महिलाको सबै कुरा बताएँ । उनले ध्यानपूर्वक मेरो कुरा सुने, ती महिलालाई केही सोधपुछ पनि गरे । त्यसपछि मलाई ती महिलाको अवस्था उजागर गरिदिएकोमा धन्यवाद दिँदै, सम्पूर्ण बिल छुट गरिदिए । म उनिप्रति अनुग्रहित भएँ ।
धेरैलाई लाग्ला चिनेको मानिस भएकोले यस्तो छुट भएको होला, तर होइन । पैसा चिनेका आफ्नाले त झन कस्छन् । अरुलाई समस्या परेको बेलामा बहाना बनाएर हामी सबै जना भाग्छौँ । चाहेको भए उनले पनि सजिलै यो सब टारीदिन सक्थे । तर उनले कुनै बहाना बनाएनन् । सिधै लेखाको मानिस बोलाए र कुनै पैसा नलिई शव दिनू भने ।
उनले मतिर हेर्दै भने, ‘यो अस्पतालमा प्रायजसो गरिब र श्रमिक नै आइपुग्ने हुन्, किनकी खतरापूर्ण काम गरेर जीविकोपार्जन गर्न धनी त जाँदैन । धनीहरू त कोही-कोही कुनै अनपेक्षित दुर्घटना परेर मात्रै आइपुग्ने हुन् । त्यसैले हामीले शुल्क भन्दा पनि उपचारमा बढी ध्यान दिनुपर्छ । हामीलाई पैसा त चाहिन्छ नै, किनकी यो अस्पताल आफ्नै कमाइमा बाँच्ने संस्था हो तर पनि जलनले चित्कार गरिराखेको बिरामीलाई पहिला पैसा जम्मा गर अनि हामी उपचार गर्छौं भन्न हामी सक्दैनौं ।’
त्यसपछि छुट गर्ने प्रक्रियाका लागि गाउँपालिकाको सिफारिश प्राप्त गर्न अस्पताल प्रशासन आफैँले पहल गर्यो । अस्पतालका कर्मचारी आफैँलेउक्त गाउँपालिकाको वेभसाइटबाट नम्बर लिएर त्यहाँका कर्मचारीलाई फोन गरी सिफारिस मगाए ।
मैले हिँड्ने बेलामा ‘इडी’ लाई धन्यवाद दिँदै भनेको थिएँ, ‘सर सामाजिक सेवा एकाईमा मेसिनजस्तो मानिस होइन कि मानवता र भावना बुझ्ने कर्मचारी राखिदिनु होला ।’
हामीले ती महिला र उनका आफन्तलाई खानाको प्रबन्ध गरिदियौं र त्यहाँ भएका हाम्रा आफन्त र साथीहरूलाई गुहारेर एम्बुलेन्सको केही हदसम्म खर्च पनि जुटाइदियौं । गम्भीर पीडाको बीचमा पनि ती महिलाले केही राहत महसुस गरेको कुरा उनको आँखामा देख्न सकिन्थ्यो ।
मृत्युलाई त धनी देशका नागरिकले पनि जित्न सक्दैनन् तर सही समयमा सही उपचार, त्यो पनि आत्मसम्मानका साथ राख्दै र कुनै आर्थिक बोझबिनै पाउनु आवश्यक छ । हो, यस्तो कुराले जीवनको गुणस्तर, खुसीको महसुस र तनाबरहित जीवन जिउन मानिसलाई मद्दत गर्नेरहेछ ।
त्यसो भन्दैमा कीर्तिपुरको ‘बर्न’ अस्पताल निकै राम्रो रहेछ भन्ने नबुझी दिनुहोला, त्यहाँ पनि निकै समस्या छन्, तर केही राम्रा ‘इनिसिएटिभ’ लिन खोजेको देखिन्छ सो अस्पतालले । ‘फेक्ट नेपाल’ को व्यवस्थापमा चलिराखेको सो अस्पताल अरु धेरै अस्पतालभन्दा सफा र व्यवस्थित देखिन्छ । ‘फेक्ट नेपाल’ ले व्यवथापन जिम्मा लिएकाले कार्यकारी निर्देशकले यहाँ हप्तामा १/२ दिन मात्र काम गर्ने रहेछन् । त्यसो त शुल्क केही महँगो भएको आम जनताको गुनासो पनि छ, यद्यपी सोही नगरपालिकाका बासिन्दालाई भने निकै सस्तो गरिएको एक स्थानीयले बताएका थिए ।
देश भरिकै जलनका बिरामीको एकमात्र आशाको धरोहर पनि हो यो अस्पताल । त्यसो त वीर अस्पताल, धुलिखेल अस्पताल लगायतका अरु अस्पतालहरूमा पनि जलनका बिरामीलाई उपचार गरिन्छ तर कीर्तिपुर बर्न अस्पतालको सेवा भरपर्दो मानेका छन् सेवाग्राहीले ।
आफ्नै कमाइमा बाँच्नुपर्ने भएकोले केही महंगो हुनु स्वीकार्य देखिएला तर अत्यन्त गरिब र निमुखा व्यक्तिहरूलाई अस्पतालले सेवा दिनुपर्ने भएकोले यो सेवा सरल र सस्तो हुन अतिजरुरी छ । त्यसका लागि राज्यबाट केही पहल हुनुपर्ने देखिन्छ । अर्को एक तरिका के हुन सक्छ भने हुनेबाट लिने र नहुने लाई नि:शुल्क उपचार गरिदिने विधि पनि अस्पतालले अवलम्बन सक्छ । नत्र जलन जस्तो पीडादायी र ‘क्रिटिकल दुर्घटनापछि पनि मानिसले गरिब भएकै कारणले उपचार नपाउने अवस्था झन्-झन् सघन बन्दै जानेछ ।
केहि समयलगाडि एउटा दुर्घटनामा परेका अर्थमन्त्रीले पनि जलनको उपचार गर्न पोखराबाट सिधै यसै अस्पतालमा उडान भर्नुपरेको थियो । उनले यो अस्पताललाई आधुनिकीकरण गर्न सघाउने पनि बताएका थिए त्यतिखेर । हालसालै आएको बजेट भाषणमा अर्थमन्त्रीले कीर्तिपुर लगायतका केही जलन उपचारको सेवा दिइराखेका अस्पतालहरूको सेवा तथा गुणस्तर वृद्धि गर्न अनुदानको व्यवस्था गरेको बताएका छन् । यद्यपी यसको कार्वान्यन पक्ष हेर्न बाँकी छ ।
खासमा बजेट भाषण पनि एउटा राजनीतिक भाषण मात्रै हो भनेर बुझ्दा धेरै गलत नहुने रहेछ नेपालमा । किनकी, बजेटमा पर्ना साथ पैसा आउने भन्ने होइन रहेछ । यदि रातो किताबमा छापियो भने मात्र बजेट निस्कासन हुने प्रक्रियामा जाने रहेछ । अघिल्लो आर्थिक वर्षमा बजेट भाषणमा परेको, अर्थमन्त्री र प्रधानमन्त्रीले पनि बारम्बार बोलेको अवस्थामा हुँदा पनि उक्त बजेट यो अस्पतालमा आइपुगेन ।
यदि यो पटक सरकारले पैसा दिने निर्णय नै गर्यो र रातो किताबमा पनि छापियो भने पनि मन्त्रालयमा पापड बेलाइ, झन्झटिलो प्रक्रिया, स्वास्थ र अर्थ मन्त्रालय, विभाग र कार्यालयबीचका अल्झन अनि त्यसमाथि मन्त्रालयका कर्मचारीहरूलाई खुसी पार्न गर्नुपर्ने सही र बेसही कामहरू । कति बेला त लाग्छ, कामै नगरी बस्नु बेस ।
तैपनि मुख्य कुरा के हो भने गर्न चाहेमा हरेक संस्थाले वा हरेक व्यक्तिले केही राम्रो योगदान दिन सक्छ समाजलाई, विशेष गरेर ‘निड़ी’ लाई किनकी आम जनता नै राज्यका मुख्य खम्बा र सबैतिर पुग्ने संयन्त्र हुन् ।
दुई
सन् २००९ सम्म नेपालमा यस्तो अवस्था थियो कि, क्यान्सर लगायतका गम्भीर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीहरू पीडाले तड्पेर बस्नु पर्दथ्यो । भनिन्छ, ‘अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई आगोमाथि बसेजस्तै गरी शरीर पोल्छ । तर मोर्फिन एउटा यस्तो रामवाण हो जसलाई सही तरिकाले प्रयोग गरियो भने त्यसले सम्पूर्ण पीडालाई हरण गरिदिन्छ र बिरामीले बाचुन्जेलसम्म पीडामुक्त जीवन जिउन सक्छ ।
त्यो बेलासम्म भारतबाट नेपालले महंगोमा यो औषधि आयात गर्थ्यो त्यो पनि माग भन्दा निकै कम । त्यसैले यो औसधि असाध्यै महँगो मुल्यमा कालो बजारीमा किन्नुपर्थ्यो । कतिले भारतबाट आफन्त आउँदा औषधि मगाउने पनि गर्थे ।
सन् २००९ डा. बिष्णु दत्त पौडेलको अथक प्रयास र पहलकदमीमा नेपालमै यो औषधि उत्पादन गर्न सुरु भयो । कुनै पनि रोगको अत्यन्त पीडादायी ‘स्टेज’ मा पुगेका बिरामीले ठूलो राहत पाएका छन् नेपालमा आज । अनि भक्तपुर क्यान्सर अस्पतालमा पुग्ने बिरामीले आवश्यक पर्दा न्यून मूल्यमा वा कतिपय अवस्थामा त नि:शुल्क पनि यो औषधि पाउने भएका छन् अहिले ।
पछि सन् २०२० भक्तपुर क्यान्सर अस्पताल प्रमुख बनेर आएपछि डा. पौडेलले नै प्यालेटिभ सेवालाई नया उचाइमा पुर्याएका थिए । उनले प्यालेटिभ केयर युनिटको प्राथमिकताका साथ पुनर्संरचना गरे, फराकिलो पारे, सफाइमा ध्यान दिए । उनकै पालामा प्यालेटिभ केयर बिशेषज्ञ भित्र्याए, अनि अशक्त बिरामीको घर-घरमै गएर निशुल्क उपचार गर्ने कामको थालनी पनि गरे।
क्यान्सर बिमारको नेपालमा राम्रो उपचार हुँदैन भनेर भारत धाउने धेरै छन् । केही हदसम्म यो तथ्य सत्य पनि होला । नेपालका क्यान्सर अस्पतालमा रोग पत्ता लगाउन र त्यसको सही उपचार अपनाउन राम्रो ल्याब, सिटी स्क्यान, पेट स्क्यान, एम.आर.आइ., बायोप्सी ल्याब, मेमोग्राम, फ्लो-साइट्रोमेट्रि टेस्ट लगायतका परिक्षण गर्ने मेसिनहरूको अभाव छ । यो प्रक्रियामा बिरामी तथा बिरामीका आफन्तले निकै प्रताडना बेहोर्नुपर्छ ।
क्यान्सर लागेको लगभग निश्चित भइसकेपछि पनि त्यसको यकीन पहिचान गरी उपचार सुरु गर्न महिनौ लाग्ने अवस्था छ । जुन अन्तरालमा बिरामीको अवस्था चिकिस्तकहरूले भन्ने गरेको पहिलो चरणबाट उपचार नै हुन नसक्ने चौथो चरणमा पुगिसक्छ ।
एकै अस्पतालमा सबै परीक्षण गर्ने मेसिन नहुनु अनि अस्पतालका सबै प्रणालीबीच राम्रो तालमेल नहुनु नै यसरी उपचार ढिला हुनुमा मुख्य कारक रहेको बिरामी र तिका आफन्तहरूको गुनासो सुन्ने गरिन्छ ।
एमआरआई, सिटी स्क्यान गर्न अर्कै ठाउमा जानु पर्छ भने, बायोप्सी ल्याब अन्तै हुन्छ । अझ बायोप्सीका लागि त प्रायजसो भारत नै पठाउने गरिएको छ, जुन रिपोर्ट नेपाल आउन ५ देखि १० दिन सम्म लाग्छ । अनि, कतिपय रगतका परीक्षण पनि सबैतिर हुँदैनन् । फेरि किमोको साइकल सकिएपछि रेडियसन गर्न पालो पाउनै गार्हो पर्छ । कतिपय काठमाडौंका बिरामी किमोको साइकल सकेर रेडियोथेरापीका लागि चितवन जानु परिराखेको छ ।
यदी त्यही बिरामीलाई मानौं कि, दिल्लीको राजीव गान्धी अस्पताल लगियो भने २/३ दिनभित्र सबै परीक्षण सकेर उपचार सुरु भइसक्छ । सबैकुरा एकै अस्पतालमा हुने भएकोले उपचार सरल र रेखीय प्रवाहमा हुन्छ । बिरामी र आफन्तले पनि निकै कम दुविधा र असुविधा व्यहोर्नुपर्छ ।
नेपालमा जस्तो रोग पहिचानकै लागि विभिन्न ‘ल्याब’ र अस्पतालमा भौँतारिनु पर्दैन । यता नेपालमा पैसाको संकट त उसै पनि छँदैछ, त्यसमाथि आफ्नो मान्छे गुमाउनु पर्ला भन्ने पीडा र डर अनि काठमाडौँका गल्लीहरूमा महिनौंसम्म गोता खाँदै भौतारिनु पर्छ । अनि कथम-कदाचित, छिटो उपचारका लागि निजी अस्पताल पुगिहालियो भने ! भो कुरै नगरौं ।
आजको दिनमा आम नेपाली परिवारमा एक जना सदस्यलाई ठूलो रोग लाग्यो भने बिरामीसहित पूरै परिवारको जीवन तहस-नहस हुने अवस्था छ ।
फेरि पनि भारत वा कुनै पनि विदेशी भूमिमा उपचार गर्नु आम नेपालीको लागि कुनै राम्रो समाधान होइन किनकी त्यहाँ उपचार गर्दा उठाउनु पर्ने आर्थिक भार यति धेरै छ कि यसले पुरै परिवारलाई खरंगघाट पारिदिन्छ । जस्तो कि भक्तपुर क्यान्सर अस्पतालमा रोगको पहिचान देखि उपचार गर्ने सम्मको हिसाब गर्ने हो भने सामान्यतया पूरै खर्च ५/६ लाख पनि नपर्न सक्छ ।
त्यसमा पनि बायोप्सीको रिपोर्ट आएको दिनदेखि डेढ लाख सम्मको सरकारी सहयोग ( १ लाख संघीय सरकारबाट र ५० हजार बागमती सरकारबाट) पाइन्छ भने प्रतिमहिना ५ हजार रुपैयाँ बिरामी स्याहार तथा औषधि खर्च पनि पाइन्छ ।
अर्को तर्फ भारत वा कुनै अर्को देश गएर उपचार गरे पनि वा नेपालमै उपचार गरे पनि क्यान्सर रोगलाइ पूर्णरुपमा जितेर फेरि सामान्य जीवन जिउनेको संख्या कम नै छ ।
समयको अन्तरालमा उपचार पद्धतिमा हुँदै जाने नवीनतम खोज-अनुसन्धानसँगै ‘सर्भाइभर’ को संख्यामा उल्लेख्य सुधार हुँदै जाला भनेर आशा गर्न सकिन्छ । त्यसो त प्राकृतिक विधिहरू पनि खोज अनुसन्धान भइराखेका छन् , जसअनुसार स्वस्थ जीवनशैली र प्राकृतिक जीवन पद्धतिबाटै क्यान्सर रोगलाई जित्न सकिन्छ भन्ने विश्वास राखिन्छ ।
दुइ हप्ता अगाडि भक्तपुर क्यान्सर अस्पतालको ‘प्यालेटिभ केयर वार्ड’ले लामो समयदेखि सोहि अस्पतालमा उपचार र ‘प्यालेटिभ केयर’ सेवा लिइराखेका बिरामीको केक काटेर जन्मदिन र दिर्घायुको कामना सहितको सानो उत्सब आयोजना गर्यो । त्यस कार्यक्रममा ३/४ जना लामो समय ( ३/४ वर्ष) देखि उपचार र ‘प्यालेटिभ केयर’ सेवा लिएका बिरामी थिए ।
ती वर्षौदेखि उपचारमा संलग्न बिरामीका आफन्तसँग बुझ्दा औषतमा ५/६ लाखको हाराहारीमा मात्रै खर्च भएको उनीहरूले बताएका थिए । अब सोही उपचार भारतमा गरेको र ‘फलोअप’ गर्न पनि उतै जाने गरेको भए ती बिरामीहरूको कम्तीमा ५०/६० लाख देखि एक करोड हाराहारी खर्च भइसक्थ्यो ।
भारत भन्दा बाहिर जानेको कुरा गर्ने हो भने कि अति सम्पन्न कि राज्यको श्रोत-साधनमा प्रत्यक्ष पहुँच भएका व्यक्तिहरू नै पर्दछन् । अरुले जसरी उपचार गरे पनि यस्ता पहुँचवालाहरूले भने यिनै उपचार गराउन नसक्ने गरिब जनताले दिएको करबाट आएको पैसाले नै विदेसमा उपचार गर्ने हुन्, जसमा कम्तिमा करोड देखि दशौँ करोडसम्म खर्च गरेका उदाहरणहरू धेरै छन् ।
यसैले नेपालमा क्यान्सर उपचार गर्ने भनेर धेरै अस्पताल वा स्वस्थ्य संस्था खुले पनि जनतालाई सहज र सरल उपचार गर्ने सुविधासम्पन्न क्यान्सर अस्पतालको टड्कारो जरुरत देखिन्छ ।
त्यो पनि सबै कुरा एकै अस्पतालमा हुने गरी । अहिले भइराखेका अस्पताललाई स्तरोन्नति र विशेषज्ञले सम्पन्न गराउँदा पनि केही सहज हुन जान्छ । भक्तपुर क्यान्सर अस्पताल जस्ता सरकारी तथा सामुदायिक अस्पतालहरूलाई स्तरोन्नति गर्दा त्यसले गरिब र पिछडिएका वर्गका मानिसलाई ठूलो राहत हुनसक्छ।
आजको दिनमा भक्तपुर क्यान्सर अस्पतालले उदाहरणीय रुपमा एउटा काम गरिराखेको छ, त्यो हो प्यालेटिभ केयर अर्थात बिरामीको दुखाइ र पीडामा मल्हमपट्टी लगाउने काम । धेरैजसो बिरामीहरू उपचार सम्भव नहुने अवस्थामा पुगेपछि वा अभाव, पीडा र उदासीको परकाष्ठामा पुगेका बिरामीहरू नै यो अस्पतालको ‘प्यालेटिभ केयर’ मा पुग्छन् । भक्तपुर क्यान्सर अस्पतालको प्यालेटिभ केयर वार्डमा पुगेपछि भने बिरामी र उसका आफन्तहरूले अनौठो अनुभव गर्न पाउँछन् ।
त्यहाँका चिकित्सकले बिरामीको दुखाइ व्यवस्थापन गर्न कुनै कसर बाँकी राख्दैन् भने नर्सहरूको व्यवहार हेर्दा साँच्चिकै फ्लोरेन्स नाइटिंगेल भेटेजस्तो भान हुन्छ । खासमा यतिखेरको यो अस्पतालको प्यालेटिभ टिम गज्जबको नै छ ।
त्यहाँ नर्सहरूले मुस्कानको साथ बिरामीको सेवा गर्दछन्, गहिरा घाउ हरूमा मल्हमपट्टी लगाउँछन् । तर त्यो भन्दा पनि बढी के भने बिरामीहरूका पीडा र सास्तीका कथाहरू सुनिदिने, उनीहरू सँगै गीत गाउने, नाच्ने, खेल खेल्ने गरेर उनीहरूको जीवनमा खुसी घोल्ने प्रयास पनि गर्दछन् । अझ कतिपय अवस्थामा त बिरामीका साना-तिना आर्थिक गर्जो टार्न समेत त्यहाँका डाक्टर र नर्सले प्रयास गरेको देखिन्छ ।
त्यसो त यहाँका हालका अस्पताल प्रमुख डा. उज्ज्वल चालिसे पनि प्यालेटिभ वार्डप्रति निकै सकारात्मक र संवेदनशील देखिन्छन् । उनले सकेसम्म गरिब बिरामीलाई सरल र निशुल्क सेवा दिने प्रयत्न गरेका छन् । हाल अस्पताल व्यवस्थापन, प्रशासन र प्यालेटिभ केयर युनिटको दृढ संकल्पमा यो युनिट प्रसंशायोग्य काम गरेर बिरामीहरूको माझ बिशेष छाप छोड्न सफल भएको छ ।
हाल यो प्यालेटिभ वार्डले हप्तामा एक दिन गरिब र असमर्थ बिरामीको घर-घरमै गएर पनि निशुल्क सेवा दिइराखेको छ । ‘होम भिजिट’ का दौरानमा बिरामीको अवस्था विचार गर्ने, औषधि मिलाइदिने, घाउको ड्रेसिङ्ग गरिदिने, आवश्यक परेमा स्लाइन पानी दिने, भिडियो एक्स रे गरिदिने सम्मका सेवाहरू दिइन्छ ।
त्यसमाथि इच्छुक स्वयंसेवकहरूसँग समेत हातेमालो गरेर यो प्यालेटिभ केयर युनिटले आफ्ना सेवालाई अझ निमुखा र कमजोर बिरामीहरू माझ पुर्याउन कोसिस गरिराखेको छ । यस्ता उदाहरण अरु अस्पतालले पनि हृदयंगम गरी अगाडि बढ्न सकेमा पिछडिएका व्यक्तिले पनि सहज स्वास्थ्य सेवा पाउने थिए ।
प्रतिक्रिया 4