+
+
Shares

अस्पतालका घाइते भन्छन्- निहुरिँदा गोली लाग्यो, कर्फ्यू थाहै पाएनौं

चिकित्सक भन्छन्– धेरैजसो गोलीको छर्राले भेटेका घाइते छन्

‘हामीलाई कर्फ्यूको के मतलब ! संसद् छिर्न पायौं अनि हान्यौं,’ घाइतेको भनाइ उद्धृत गर्दै ती चिकित्सकले भने, ‘हामी त पूरै भित्र नै गएर भिडेको हो ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ भदौ २३ गते १६:४९

२३ भदौ, काठमाडौं । काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्न पुगेको छ । संघीय संसद् भवन परिसरमा प्रदर्शन गर्दै पुगेका उनीहरू एकाएक भित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

लगत्तै, प्रदर्शन आक्रामक बन्न पुग्यो ।

दिउँसो ४ बजेसम्मको विवरण अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १५ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा उपचारमा संलग्न चिकित्सकहरूले बताए अनुसार, करिब २ सय घाइते उपचाररत छन् ।

त्यसमध्ये दुई दर्जन बढी गम्भीर घाइते छन् । नयाँ बानेश्वर आसपासका क्षेत्रमा रहेका अस्पतालहरूमा घाइतेहरू छन् । ट्रमा सेन्टरमा ६, पाटन अस्पतालमा ४, काठमाडौं मेडिकल कलेजमा ८ र त्रिवि शिक्षण अस्पतालमा ६ जना गम्भीर घाइते छन् ।

घाइतेहरू अस्पताल पुग्ने क्रम अझै पनि जारी छ ।

के भन्छन् घाइतेहरू ?

विभिन्न अस्पतालमा घाइतेहरूले चिकित्सकसँग आफूहरूलाई कर्फ्यू लागेको थाहै नपाएको बताएका छन् ।

‘कर्फ्यू लागेको थियो र सर ? हामीलाई त थाहै थिएन,’ ट्रमा सेन्टरमा उपचारमा संलग्न एक बिरामीले चिकित्सकसँग भनेका छन् । अर्का एक घाइतेले संसद् भवनको गेटमा आफूले नै आगो लगाएको चिकित्सकसँग स्वीकार गरेका छन् ।

‘हामीलाई कर्फ्यूको के मतलब ! संसद् छिर्न पायौं अनि हान्यौं,’ घाइतेको भनाइ उद्धृत गर्दै ती चिकित्सकले भने, ‘हामी त पूरै भित्र नै गएर भिडेको हो ।’

चिकित्सकका अनुसार, घाइते भएर आएका अधिकांशलाई गोली लागेको छ । केहीलाई छर्राले भेटेको छ ।

रबरको गोली घाँटीमा लागेका एक बिरामीले आफू बँच्नका लागि निहुरिँदा गोली लागेको बताए ।

‘बँच्नका लागि निहुरिएँ । त्यतिबेलै गोली लाग्यो,’ घाइतेले चिकित्सकसँग भनेका छन्, ‘गोली हान्न लागेको देखेपछि यसो निहुरिएको त्यही बेलामा लाग्यो ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?