+
+
Shares

बिल तिर्न नसक्दा शिव सदा अस्पतालमै, पैसा खोज्न हिँडेकी आमा सम्पर्कविहीन

उपचारपछि सामान्य अवस्थामा फर्किए पनि अस्पताललाई तिर्ने पैसा नहुँदा शिव सदा विराटनगरस्थित उक्त अस्पतालबाट डिस्चार्ज हुन पाएका छैनन् ।

अभि लामिछाने अभि लामिछाने
२०८३ वैशाख ४ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको दुधौली नगरपालिका-७ का १७ वर्षीय शिव सदा विष सेवनपछि विराटनगरस्थित विराट निदान हस्पिटलमा उपचाररत छन्।
  • अस्पतालले १ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै शिवलाई डिस्चार्ज गर्न नमानेपछि परिवारले आर्थिक सङ्कट भोगिरहेको छ।
  • शिवकी आमा पैदल घर फर्किने क्रममा सम्पर्कविहीन भएकी छन् र परिवारले अस्पतालको व्यवहारमा असमानता र पहुँच अभावको उजुरी गरेको छ।

४ वैशाख, उदयपुर । सिन्धुलीको दुधौली नगरपालिका-७ पोखरेका १७ वर्षीय शिव सदा एक सातादेखि विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरको बेडमा छन् । उपचारपछि सामान्य अवस्थामा फर्किए पनि अस्पताललाई तिर्ने पैसा नहुँदा शिव  विराटनगरस्थित उक्त अस्पतालबाट डिस्चार्ज हुन पाएका छैनन् ।

विष सेवन गरेका शिवलाई २७ चैत साँझ आमा मघिया सदा र श्रीमती कृतिकाले अटोमा हालेर कटारी अस्पताल पुर्‍याए । अवस्था गम्भीर भएपछि उनलाई कोशी अस्पताल रिफर गरियो । त्यहाँ पुगेपछि ‘अक्सिजन छैन, अन्यत्र लैजानुस्’ भन्ने सुझाव आयो । एक एम्बुलेन्स चालकको सुझावअनुसार शिवलाई विराट निदान हस्पिटल पुर्‍याइयो ।

उपचार सुरु भयो, दुई दिनमै शिवको ज्यान जोगियो । परिवारले सास फेर्‍यो, तर त्यो राहत छोटो समयमै पीडामा बदलियो । अस्पतालले १ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै बिरामीलाई डिस्चार्ज गर्न नमानेपछि, शिवको परिवार फेरि अर्को संघर्षमा धकेलियो ।

गरिबीले थिचिएको यो परिवारका लागि त्यो रकम आकाशको तारा जस्तै भयो । कोशी अस्पतालमै औषधि किन्नु पर्दा आमा मघियाले आफ्नो मोबाइल १५ सय रुपैयाँमा बन्दकी राखिन् । त्यतिले पनि पुगेन । सोमबार उनी गाउँमा पैसा खोज्न भन्दै विराटनगरबाट हिँडिन्, भाडा नभएपछि पैदलै । तर तीन दिन बितिसक्दा पनि उनी घर पुगेकी छैनन्, सम्पर्कविहीन छन् ।

विराटनगरदेखि करिब ३०० किलोमिटर टाढा रहेको घरतर्फ पैदल हिँडेकी आमाको अवस्था के भयो ? यो प्रश्नले अहिले परिवारलाई झन् त्रसित बनाएको छ।

यता, अस्पतालमा शिवको परिवारलाई अर्कै तनाव छ । ‘पैसा हाल्नुस्, नभए बिरामीलाई जे पनि हुन सक्छ’ भन्दै आफूलाई अस्पतालका कर्मचारी बताउने व्यक्तिले बारम्बार फोन गरेर धम्की दिने गरेको शिवकी सासु भीम सरिया सदाले दुःखेसो पोखिन् । गाउँबाट ऋण काढेर अहिलेसम्म २० हजार रुपैयाँ पठाइसकिएको छ, तर बाँकी रकम जुटाउने कुनै उपाय छैन।

‘हामी जस्ता गरिब, दलितले के गर्ने ? उपचार नगरे मर्ने, उपचार गरेपछि पैसा तिर्न नसके अस्पतालमै थुनिने ?,’ भीम सरिया प्रतिप्रश्न गर्छिन्।

सरकारी अस्पतालले समयमै र पर्याप्त उपचार गरेको भए निजी अस्पताल धाउनु पर्ने अवस्था नआउने भन्दै उनी दुःखेसो पोख्छिन्, ‘सरकारी अस्पतालले नै हेरेको भए आज यो दिन देख्नु पर्ने थिएन,’ उनी भन्छिन् ।

यस विषयमा अस्पतालसँग फोन गरेर प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

शिवको परिवारले भोग्नु परेको यो पीडा नेपालको स्वास्थ्य प्रणालीमा गहिरिँदै गएको असमानता, पहुँचको अभाव र कमजोर नियमन उजागार गरेको सरोकार बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?