
भनिन्छ नि जिन्दगी एक यात्रा हो। अविरल अघि बढिरहने यो यात्रामा अनायासै हामी कति व्यक्तिसँग जोडिन पुग्छौं, कस्तो भवितव्य घटनासँग साक्षात्कार हुन्छौं पत्तो हुँदैनौं। तर पनि हामी मनुष्य बीच साझा अनुभूति छन्। एकको जीवनमा घटित घटना अर्कोको भोगाइसँग मेल खान सक्छ। एकको अनुभवले अर्काको मर्म बुझ्ने ल्याकत राख्दछ। त्यसै साझापनले हामीलाई एक अर्कोसँग निकटता बढाउँछ। जसबाट विकसित सम्बन्ध हाम्रो लागि सबैभन्दा ठूलो देन हुन सक्छन्। जिउने सहारासँगै बाँच्ने आशाको स्रोत पनि यस्तै सम्बन्ध हुने गर्छन्। त्यसैले हामी यिनीप्रति सदैव ऋणी हुन्छौं।
यो कथा हो दुई अजनबी बीच बढ्दै गरेको मित्रवत् सम्बन्धको, जो एक यात्राको दौरान मेट्रो स्टेशनमा पहिलो पटक भेटिन्छन्। कथा अघि बढेसँगै उनीहरू बीचको सम्बन्ध झन्-झन् प्रगाढ हुँदै जान्छ। एकले अर्कोलाई आफ्नो विगत, घरायसी गतिविधि र रुचिहरूबारे खुलस्त भन्न सक्ने भइसकेको हुन्छन्।
६ वर्षको उमेरमा रेलबाट यात्रा गर्दै गर्दा इरावतीलाई उसको बुवाले केहीबेर एक्लै छोड्नुले उसमा पैदा भएको डर इरावतीको मनमा जरा गाडेर बसेको हुन्छ। बचपनमा भोग्नु परेको त्यस डरले उसलाई हरेक पल्ट मेट्रोबाट यात्रा गर्न असहज बनाइरहन्छ। त्यसैले सकभर उसले यस किसिमको यात्रा छल्ने गर्छे। तर आफ्नी गर्भवती बहिनीको स्वास्थ्य अवस्था गाह्रो भएको खबर थाहा पाउँदा उसले हैदरावादसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ। पतिले आफ्नो कार्यव्यस्तता देखाउँदै उसलाई मेट्रोबाटै यात्रा गर्न सुझाउँछ। अन्य विकल्प नहुँदा ऊ आफ्नो भयलाई सम्हाल्दै मेट्रो स्टेशनमा जान्छे। तर ऊभित्र कैद भयले उग्र रुप लिंदै उसको साहस भंग गरिदिन्छ। ऊ निरीह भइदिन्छे त्यहाँ। चिटचिट पसिनाले भिजेर ऊ त्यहाँ ढल्नै लाग्दा एक व्यक्तिले उसलाई सहायता दिन पुग्छ। यसरी प्रितम र इरावती पहिलो पटक भेटिन्छन्।
इरावती आधुनिक समाज र प्रविधिसँग विशेष सम्बन्ध राख्दिनँ। गृहस्थी जीवन बाँचिरहेकी ऊ फोन सम्पर्क गर्न नोकियाको किप्याड मोबाइल प्रयोग गर्छे भने खाली समयमा आफ्ना मनका भावलाई डायरीमा शब्दले सिंगार्दै बस्नु उसको दिनचर्या हुन्छ। कोरेका रचना उसले आफ्नो पति र बहिनीलाई कहिलेकसो सुनाउन नखोजेकी होइन तर उनीहरूको खास दिलचस्पी नहुँदा उसले ती रचना आफूसम्मै सीमित राख्ने गर्छे। विभिन्न पललाई कवितामा परिणत गर्न खोज्नु उसको गहिरो रुचि हो।
अर्कोतर्फ, प्रितम पुस्तकको रसले आफ्नो जीवन सिञ्चित गर्ने गर्छ। पेशागत हिसाबले बैंकमा जागिर भए पनि बाँकी समय ऊ किताबको चाङसामु नै देखापर्छ। बजारमा आएका फरक फरक विधा र विषयवस्तुमा लेखिएका पुस्तक अध्ययन गरिरहनु उसको रुचि हो।
इरावतीलाई आएको प्यानिक अट्याक देखेपछि उसले त्यसबारे लेखिएको पुस्तक खोजेर पढ्न थाल्छ। दुई हप्ता जसो सोही समय (८-६) मा इरावतीले त्यो यात्रा जारी राख्नुपर्ने हुँदा, प्रितम र ऊ सहयात्री बन्न पुग्छन्। त्यस यात्राले यिनीहरू बीचको निकटतामा उत्प्रेरकको काम गर्न थाल्छ। जसरी मेट्रो कुदेर अघि बढ्न थाल्छ उनीहरू बीचको सम्बन्धले पनि आफ्नो गति समाउँदै जान्छ।
अर्को दिन मेट्रोमा हुँदा प्रितमले इरावतीलाई अकस्मात् आउने प्यानिक अट्याकलाई कम गर्ने एक तरिकाबारे वर्णन गर्न थाल्छ। त्यसको लागि प्रितमलाई कागजको जरुरत पर्न जान्छ। उसले इरावतीलाई कागज छ भनेर सोध्दा इरावतीले आफ्नो डायरी झिकेर खाली पाना पल्टाउँदै प्रितमलाई दिन्छे। प्रितमले त्यहाँ केही कोर्दै गर्दा, सँगैको पानामा लेखिएको इरावतीको एक कवितामाथि प्रितमको नजर जान्छ।
कविताको सौखिन प्रितमले इरावतीसँग अनुमति लिएर कविता पढेपछि निकै तारिफ गर्छ। इरावतीले मैले लेख्ने प्रयास मात्र गर्छु, बुबाले चाहिं धेरै राम्रो कविता लेख्नुहुन्थ्यो भन्छे। यसबाट साहित्य, रचनाबारे उनीहरूले कुराकानी गर्ने साझा विषय फेला पार्छन्।
मेट्रो गुडेसम्म बातचित गरेर छुट्टिंदै गरेका उनीहरू त्यस समयावधिमा आफ्ना रुचिबाट दैनिकीसम्मका कुराकानी गर्ने भइसकेका हुन्छन्। त्यत्तिकैमा एकपल्ट इरावतीले उत्तम फिल्टर कफी बनाउने विधिलाई बडो रोचक ढंगले बयान गर्छे। प्रितमले त्यो बयानको प्रशंसा गर्दै, सँगै फिल्टर कफी पिउने प्रस्ताव राख्न पुग्छ। हैदरावाद प्रितमको कार्यथलो भएकोले उसले स्टेशन छेउमै कफी शप रहेको बारे पनि सुझाउँछ। त्यो दिनपछि उनीहरू कफी पिउँदै विविध विषयबारे कुरा गरेर समय व्यतीत गर्न थाल्छन्। मागी विवाह भएतापनि आफूलाई बुझ्ने पति पाएकोमा इरावती कृतज्ञ रहेको बताउँछे। प्रेमविवाह गरेको प्रितमले पनि आफ्नी पत्नी र छोराछोरी प्रतिको गहिरो स्नेहबारे बताउँछ।
“मानिसले तीन ओटा मुकुट भिरेर जिन्दगी कटाइरहेको हुन्छ। एक जो हामी बाहिरी दुनियाँसामु पेश गर्ने गर्छौं। एक जो हामी आफ्नो घरपरिवार र साथीभाइसामु जाहेर गर्छौं। र एक जो हामीले आफैंसँग कैद गरेका हुन्छौं अरूबाट लुकाएर”, प्रितमले इरावतीलाई एकदिन मेट्रोमा भन्छ। “लुकाउँछौं, किनभने अरूले हाम्रो कमि-कमजोरी हाम्रो माथि प्रयोग नगरून् भनेर” इरावतीको जवाफ रहन्छ। यसै सन्दर्भमा प्रितमले बस्तर भन्ने ठाउँमा एक आदिवासी समुदाय रहेको बारे जानकारी सेयर गर्छ। उनीहरु बीच ईर्ष्या, जलन जस्ता तत्त्व रहेको छैन। सन् १९२७ मा एक जना व्यक्ति त्यो समूहको बारे थप खोज, अनुसन्धान गर्न गएको थियो। तर तिनीहरू बीच कायम सहिष्णुताबाट प्रभावित भएर ऊ स्वयम् त्यहींको बासिन्दा बनेर बस्न पुग्यो। प्रितमले त्यो व्यक्तिद्वारा लिखित पुस्तक इरावतीलाई देखाउँदै यो सम्पूर्ण कहानीबारे चर्चा गर्छ।
अन्तर्मुखी हुनु र एक लेखक त, एक पाठक भई दुवै साहित्यसँग करिब हुनुले उनीहरू एक-अर्को सामु खुल्दै जान्छन्। एकको भाव, नियत र हर्कत अर्कोले सजिलै बुझ्ने भइसकेको हुन्छ। यसले गर्दा, आफ्नो वास्तविक चेहरा उनीहरूले एक-अर्को प्रति प्रस्तुत गर्नमा केही हिचकिचाहट रहेको हुँदैन।
पुस्तक पठनीय सामग्री मात्र होइन, यो त विगतका घटनाहरूसँगको संवाद हो, लेखकसँगको वार्तालाप हो। प्रितमले इरावतीलाई आफू जिउने तरिकाबारे गरेको वर्णनबाट उसको जीवनदर्शन यस्तै भेटिन्छ।
अध्ययनशील प्रितम, आफूले अध्ययन गरेका सामग्रीको सन्दर्भ दिंदै अनेक अनौठो परम्परा, संस्कृतिबारे इरावतीलाई सुनाउने गर्छ। इरावतीको हरेक भ्रम र कौतूहल दूर गर्ने मामिलामा उसले विश्वभर प्रचलित अजिब कहानीहरू उदाहरण स्वरूप सेयर गर्ने गर्छ। फलस्वरूप इरावतीलाई आफ्नो बचपनको भय खतम हुँदै गएको थाहै हुँदैन। मेट्रोको सफरमा हुने छट्पटी उसले बिर्सिंदै गइरहेकी हुन्छे।
बिदाको एकदिन प्रितमले इरावतीलाई हैदरावाद घुमाउने प्रस्ताव राख्दछ। त्यस ठाउँको प्रसिद्ध स्थलहरू घुम्दै उनीहरू त्यो दिन बिताउँछन्। घुम्दै-फिर्दै साँझको समय उनीहरू एक नदी तटतिर पुग्छन्। त्यस छेउ “यो ठाउँमा आत्महत्या गर्न मनाही छ” भनी लेखिएको बोर्ड टाँगिएको हुन्छ। “आत्महत्या गर्ने मान्छे कस्तो अवस्थाबाट गुज्रिएको हुन्छ होला ? आत्महत्या गर्नु ठिक अघि मान्छेले के सोच्छ होला ?” जस्ता इरावतीले मनको सन्देह जाहेर गर्छे। त्यो कुराबाट प्रितम असहज भएको देखिन्छ जुन कुराको चाल इरावतीले पाउँदिनँ।
त्यस लगत्तै उनीहरू दाहसंस्कार गर्ने थलो पुग्छन्। आफ्नो बुबा बित्दा इरावतीले दाहसंस्कार हेर्न नसकेको घटना प्रितमलाई सुनाएकी हुन्छे। त्यसै बेला आफूलाई नजिकबाट दाहसंस्कार भइरहेको हेर्ने इच्छा भएको कुरा पनि इरावतीले प्रितमलाई भनेकी हुन्छे। त्यसैले उनीहरू त्यहाँ पुगेका हुन्छन्।
कथाले अन्तिम रूप लिंदै गर्दा, इरावतीले प्रितमसामु उसको पत्नीलाई भेट्ने इच्छा रहेको व्यहोरा सुनाउँछे। प्रितमले पनि केहीबेर सोचेर हुन्छ भोलि भेटौं न त भन्दै समर्थन जनाउँछ। तर संयोगवश प्रितम र इरावती प्रितमको घर पुग्दा, मूलढोकामा ताला लागेको हुन्छ। प्रितमले शायद उसकी पत्नी र छोराछोरी बजार गएको हुनुपर्छ भन्दै ढोका खोल्छ। हुन पनि भित्र टेबलमा छोडिएको चिर्कोटमा टिकी (उनीहरूको कुकुर) लाई अस्पताल लगेर गएको भन्ने कुरा उल्लेख भएको हुन्छ। यसरी केहीबेर बिताइसक्दा पनि प्रितमको पत्नी नफर्किए पछि इरावतीले ढिलो हुने भन्दै त्यहाँबाट छुट्टिन्छे।
इरावती हैदरावादबाट फर्किने दिन नजिकिंदै गरेको हुन्छ। यसै क्रममा उसले आफ्नो पतिलाई त्यही अस्पतालमा उसकी बहिनीलाई भेट्न आएको भेटाउँछे। इरावतीलाई प्रितमसँग गाँसिएको मित्रता र त्यो कुरा आफ्नो पतिसँग नभनेको कुराले पिरोल्छ। उसले सही समयमा आफ्नो पतिलाई यी सबै कुरा खुलस्त भन्नेबारे सोच्छे। अर्को दिन उसले मेट्रोमा प्रितमसामु आफ्नो पतिलाई यो बारे भन्न नसकेको कुरा राख्छे। यसैको निरन्तरतामा इरावतीले अब यसपछि हामीले कुनै किसिमको सम्पर्क नराखी छुट्टिनुपर्ने कुरा व्यक्त गर्छे। प्रितमले पनि इरावतीको त्यस निर्णयलाई सहर्ष स्वीकार गर्छ।
कथाको यहाँसम्म आइपुग्दा दर्शकले यसको अन्त्य अब यही ढंग हुन्छ होला भन्ने अनुमान लगाउनु स्वाभाविक हो। तर आफ्नो घर फर्कनुअघि अन्तिम पल्ट प्रितमलाई भेटेर एउटा पत्र दिने सोच इरावतीलाई आउँछ। त्यत्तिकैमा ऊ विना सूचना प्रितमको घरतिर लाग्छे। तर जब ऊ त्यो पत्र दिन प्रितमको घर पुग्छे, तब उसले प्रितमको सारा सत्य भिन्न रहेको भेटाउँछे। भलै उसको घरमा ताला लागेको हुन्छ, तैपनि झ्यालबाट देखिएको दृश्यले इरावती छाँगाबाट गिरे झैं हुन्छे।
त्यतिबेलै प्रितम आइपुग्छ। उसले केही क्रोध त केही दु:खेसो मिश्रित आवाजमा इरावतीलाई हामी कहिल्यै भेट्ने छैनौं भन्ने निर्णय भएको थियो भन्ने कुराबाट आफ्नो कुरा सुरु गर्छ। यसपछि कथाले प्रितमको रहस्यबाट सबैजसो दर्शकलाई चकित बनाउने सामर्थ्य राख्दछ।
कथाको अन्त्य अनुभव गर्न एकपल्ट चलचित्र हेर्नै पर्ने हुन्छ। यसको अन्त्य फरक मात्र नभएर उत्तिकै बिझाउने किसिमको छ। कसरी हरेक व्यक्तिभित्र केही न केही रिक्तता, खालीपनले वास गरेको हुन्छ र त्यसलाई उसले कसरी टार्दै आइरहेको हुन्छ भन्नेबारे चलचित्रले सघन ढङ्गले दर्शाएको छ।
हुन पनि रिक्तता मेटाउन र खालीपन भर्न हामी कल्पनाले आफ्नो संसार सिंगार्न थाल्छौं। वास्तविकतासँग जुध्न भयलाई कल्पनाकै रंगले पोत्न थाल्छौं। अतीतका पश्चातापबाट छुटकारा पाउन भ्रमित कहानीले आफूलाई सम्हाल्छौं। यी चलचित्रले छर्लङ्ग पारेको विषय हुन्। साथै कथाको वहाब अनि सशक्त पात्र र अभिनयले चलचित्र असाध्यै सुन्दर बनाएको छ। यस चलचित्रको अर्को तारिफयोग्य पक्ष कसरी दुई विवाहित महिला र पुरुषबीच पनि एक निश्चल, मित्रवत् सम्बन्ध कायम रहन सक्छ भनी प्रस्तुत गर्नु हो। यसले आफैंमा समाजको संकीर्ण सोचलाई घच्घच्याउने क्षमता राख्दछ ।
प्रतिक्रिया 4