+
+

हिउँभन्दा चिसो : भेर्मिल्यो

हामीलाई ‘भेर्मिल्यो’ले ऐतिहासिक समयको निर्मम यथार्थतामा डुबाउँछ। फिल्मको अन्त्य गहिरो र मार्मिक छ। यसले जीवनमा बलिदान र पुनर्निर्माणको बीचको अर्थ बुझाएर जान्छ।

ऋतेश ऋतेश
२०८१ पुष ६ गते ११:३५

केही दिनअघि ९७औं ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्ने पन्ध्रवटा फिल्महरूको सर्टलिस्ट सार्वजनिक भयो। उक्त विधाका लागि विश्वभरबाट ८५ वटा देशहरूले आफ्ना फिल्म पठाएका थिए। नेपालबाट मीनबहादुर भामको ‘शाम्बाला’ पठाइएको थियो, तर अन्तिमसम्म त्यसले आफ्नो स्थान भने बनाउन सकेन।

ती पन्ध्र फिल्महरूमध्ये तीन फिल्म, ‘द सिड अफ सिक्रेट फिंग’ (जर्मन), आइम् स्टिल हियर (ब्राजिल) र एमिलिया पेरेज (फ्रान्स) मुख्य दाबेदारी भएर उभिएका छन्। सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सर्टलिस्टमा परेमा फिल्महरूले विविध सांस्कृतिक पृष्ठभूमि र मानवीय संवेदनाहरूलाई विभिन्न कोणहरूबाट उजागर गरेका छन्। मैले पन्ध्रमध्ये अहिलेसम्म उपलब्ध भएका (छ-सात) फिल्महरू हेरें। ती फिल्महरूले युद्ध, प्रेम, संघर्ष र सामाजिक अन्याय जस्ता गहिरा विषयवस्तुहरूलाई समेटेका छन्। पछिल्लो समय हेरेको फिल्म इटालीको ‘भेर्मिल्यो’ हो।

‘भेर्मिल्यो’ हेरिरहँदा कता-कता मलाई कवि ‘तीर्थ श्रेष्ठ’को कविता ‘हिउँमा लेखिएका नामहरू’का केही पंक्तिहरू याद आएको थियो।

“हामीले लेखेर आएका छौं

हिउँमा आआफ्ना नामहरू

एकछिनपछि हिउँ थपियो भने

रहने छैनन् हाम्रा नामहरू

एकछिनपछि घाम लाग्यो भने पनि

बाँकी रहने छैनन् हाम्रा नामहरू

हिउँमा लेखिएका नामहरू मेटिएलान्, तर हिउँको क्यानभासमा कोरिएका कहानी सायदै मेटिएलान्। त्यसैले पनि होला ‘भेर्मिल्यो’ले बोकेको इतिहास हिउँले पनि मेटाउन सकेको छैन, सक्दैन। ‘भेर्मिल्यो’, समुद्री सतहबाट करिब १२६० मिटर उचाइमा रहेको उत्तर इटालीको ट्रेन्टिनो-आल्टो एडिजे क्षेत्रमा रहेको एउटा सानो गाउँ हो, जुन आफ्नो भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, सांस्कृतिक धरोहरका कारणले प्रसिद्ध छ। यो गाउँ अल्पाइन क्षेत्रको नजिक भएको हुँदा, यो क्षेत्र युद्धको समयमा जर्मन र इटालियन सेनाहरूको लागि एक महत्वपूर्ण मार्ग हुने गर्थ्यो। यस गाउँको नजिकका पहाडहरूमा विभिन्न सुरक्षात्मक किल्लाहरू निर्माण गरिएका थिए, विशेष गरी इटालियन आर्मीद्वारा। ती संरचनाहरू पहिलो विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धसम्म पनि प्रयोग गरिएका थिए।

फिल्मको कथा दोस्रो विश्वयुद्धको कठिन समयमा सन् १९४४ को दुर्गम पर्वतीय ‘भेर्मिल्यो’ गाउँमा घटित घटनाहरूमा आधारित रहेको छ। निर्देशक तथा लेखक ‘मौरा डेलपेरो’ले हिउँलाई चित्रपट बनाएर आफ्नै गाउँ र जीवनलाई कोरेकी छिन्, ‘भेर्मिल्यो’मार्फत। सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्व युद्धका केही दागहरूलाई अझै पनि ‘भेर्मिल्यो’मा पर्ने हिउँले छोप्न अथवा मेटाउन सकेका छैनन्।

बाहिरी दुनियाँबाट धेरै टाढा रहेको ‘भेर्मिल्यो’ चारैतिरबाट हिमालले ढाकिएको छ, हिउँले ढाकिएको छ। त्यहाँका बासिन्दाहरू आफ्नो साधारण र संघर्षपूर्ण जीवन बिताइरहेका छन्। फिल्मको केन्द्रमा एक शिक्षकको ठूलो परिवार रहेको छ, जसले गाउँमा शिक्षा र नैतिकताको प्रतीकको रूपमा स्थान बनाएका छन्। शिक्षक आफ्नो धर्म र कर्तव्यमा समर्पित भए पनि उनको परिवारले थुप्रै रहस्यहरूलाई लुकाएको छ।

शिक्षकको उक्त ठूलो परिवारमा तीन बहिनीहरू छन्- ‘लुसिया’, ‘आदा’ र ‘फ्लाभिया’, जो आफ्नो कडा स्वभावको बुबाले कोरेको साँघुरो परिधिमा बाँच्न अभिशप्त छन्। उनीहरूको परिवार पुर्खौंदेखि भेर्मिल्योमा बस्दै आइरहेका छन्। ‘आदा’ घर र विद्यालय दुवैमा इमानदार र आज्ञाकारी छिन्। उनको एक स्थानीय केटी ‘भर्जिनिया’सँग मित्रता रहेको छ, जसको बारेमा उनका बुबा बेखबर छन्। उनी आफ्नो बुबाको गोप्य अश्लील तस्बिरहरूको किताबबाट सुख लिने गर्छिन्, दराज पछाडि आफूलाई लुकाएर। ‘फ्लाभिया’ चलाख छिन्, राम्रोसँग पढ्छिन्। ‘लुसिया’ संवेदनशील छिन्, उनी आमालाई सघाउँदै घरायसी काममै खुसी छिन्। उनलाई देख्दा मलाई कवि ‘भूपी शेरचन’को एउटा कविताको पंक्ति याद आएको थियो

“घामको देशमा हिउँको कुरा गरेर,

कसरी बाँच्ने म… सपनाहरू हराएर।

दोस्रो विश्वयुद्ध अन्त्यको संघारमा रहेको छ, तर भेर्मिल्यो युद्धभन्दा निकै टाढा बाँचिरहेको प्रतीत हुन्छ, आफ्नै गति र अवस्थामा। र, एकदिन भेर्मिल्योमा युद्ध प्रवेश गर्छ, ‘पिएट्रो’को रूपमा। सिसिलियन सिपाही ‘पिएट्रो’ युद्धबाट भागेर आएको हुन्छ, आफ्नो घाइते सिपाही साथीलाई लिएर। उसले आफ्नो यात्राभरि साथीलाई आफ्नो काँधमा बोकेर ल्याएको हुन्छ। त्यसैले गाउँलेहरूबाट उसलाई भेर्मिल्योमा नायकको रूपमा स्वागत गरिन्छ, विशेष गरी महिला पात्रहरूले उनलाई संवेदनशीलताका रूपमा हेर्छन्। यसरी युद्धबाट भागेर आउनेहरूलाई कायरता वा अनुशासनको उल्लंघनका रूपमा पनि लिने गरिन्छ। त्यसैले ‘पिएट्रो’को उपस्थितिले पारिवारिक तथा सामुदायिक जीवनमा केही असहजता लिएर आउँछ, जसले त्यो समयको सामाजिक संरचना र परम्परागत सोचलाई केही हदसम्म प्रतिबिम्बित गरेको छ।

फिल्मले युद्धकालीन समाजमा पुरुषहरूको वर्चस्वलाई पनि उजागर गरेको छ। पुरुषहरूले अक्सर यस्ता भगौडे सिपाहीहरूलाई कमजोरीका रूपमा हेर्दै आलोचना गर्थे, जबकि महिलाहरूले तिनीहरूलाई फरक दृष्टिले बुझ्ने प्रयास गर्थे। यो दृष्टिकोणले द्वन्द्वकालीन मानवीय अवस्था र सामाजिक संरचनाको जटिलता प्रस्तुत गरेको छ। युद्धको कठोरता र व्यक्तिगत स्वतन्त्रताको खोजीबीचको द्वन्द्वलाई फिल्मले गहिराइपूर्वक अन्वेषण गरेको छ।

  ‘पिएट्रो’लाई शिक्षकले आफ्नो घरमा आश्रय दिन्छन्। त्यो समयमा उसको प्रेम शिक्षकको जेठी छोरी ‘लुसिया’सँग हुन पुग्छ। उक्त सम्बन्धले यस्तो घटनाक्रमको श्रृंखला शुरू गर्छ, जसले एक अनिष्टकारी परिणामको दिशा देखाउन थाल्छ। समयक्रमसँगै, उक्त परिवारको अतीतका केही अनुत्तरित प्रश्न तथा लुकेका घटना-रहस्यहरू बाहिर निस्किंदै जान्छन्। त्यसैले ‘पिएट्रो’को उपस्थितिले बाहिरी दुनियाँको समस्या मात्र ल्याउँदैन, उसले पात्रहरूको आन्तरिक द्वन्द्व र परिवारका दवाइएका भावनाहरूलाई पनि सतहमा लिएर आउँछ।

फिल्मले पारिवारिक रहस्य, विश्वास, अपराध, पश्चात्ताप र भावनात्मक द्वन्द्वलाई उजागर गरेको छ। यसले मानव सम्बन्धहरूको विविधता र तिनीहरूको बीचमा रहेको भावनात्मक तथा मानसिक उथलपुथललाई राम्रोसँग दर्शाएको छ। फिल्मका केही दृश्य र संवादहरूले पात्रका आन्तरिक द्वन्द्व तथा अवस्थालाई मज्जासँग चित्रित गरेको छ। अबोध बच्चाहरूले बोल्ने केही संवादहरू त यस्ता छन्, जुन हिउँभन्दा पनि चिसा लाग्छन्, जसले स्पष्टसँग बयान गरेका छन्, युद्धका तरङ्गहरूलाई।

प्रकृतिले आफ्नो चक्र चार विभिन्न मौसममा पूरा गर्छ। त्यो अवधिभर जे पनि हुन सक्छ- एउटी केटी महिला बन्न सक्छ। आमा बन्न सक्छ। कसैले आफ्नो घरको बाटो बिर्सिन सक्छ। आफ्नो घर बिर्सिन पुग्छ। कोही मर्न सक्छ, कसैले पुनर्जीवन लिन सक्छ। फिल्म ‘भेर्मिल्यो’ पनि चार मौसममा अर्थात् चार भागमा बाँडिएको छ।

‘भेर्मिल्यो’ बनाउन निर्देशक तथा लेखक ‘मौरा डेलपेरो’लाई आफ्नै पारिवारिक इतिहास र एक अजीव सपनाबाट प्रेरणा मिलेको थियो, जसमा उनका बुबा ६ वर्षका केटाको रूपमा देखा परेका थिए। फिल्मका शिक्षक पात्र आंशिक रूपमा उनका हजुरबुबाबाट प्रेरित छन्। फिल्मको निम्ति मौराले आफ्नो बुबाको मृत्युपश्चात् गाउँ ‘भेर्मिल्यो’का स्थानीय मानिसहरूसँग थुप्रै अन्तर्वार्ता लिएकी थिइन्, जसले उनलाई गाउँका परम्परा तथा इतिहासलाई गहिरो रूपमा बुझ्न मद्दत मिलेको थियो।

उनको अनुसार ‘भेर्मिल्यो’ यस्तो युद्धको कथा हो, जहाँ कुनै लडाइँ हुँदैन, हतियारको प्रयोग हुँदैन। सुरूमा उनले फिल्मको नाम ‘ब्राइड अफ द माउन्टरन्स्’ राखेकी थिइन्। उनले देखेको त्यो अजीव सपना चार भागमा विभाजित थियो, जसले चार ऋतु (मौसम) लाई बयान गर्छ र त्यसै आधारमा उनले फिल्म बनाइन्।

उनले अन्तर्वार्तामा आफ्नो सपना बताएकी थिइन्, ‘बुबाले सधैंका लागि आँखा बन्द गर्नुअघि हामीलाई एकटकले अचम्मित भएर हेरिरहनुभएको थियो। मैले सुनेकी थिएँ, जब कोही बूढो भएर मर्छ, ऊ बच्चाजस्तै देखिन्छ। एउटै उमेरमा कसरी दुई अवस्थाका अनुहारहरू देखिदा हुन् ? बुबाको मृत्युपछि, केही समयसम्म उहाँ मेरो सपनामा आइरहनुहुन्थ्यो ६ वर्षको बालकको रूपमा, मलाई भेट्न। उहाँ तस्बिरबाट बाहिर निस्किएर बाहिर आउनुभएको जस्तो लाग्थ्यो। उहाँ आफ्नो भेर्मिल्योमा रहेको बाल्यकालको घरमा खुसी देखिनुहुन्थ्यो, जुन मेरो हजुरबुबा-आमाको थियो। यस्तो लाग्थ्यो, उहाँले ‘भेर्मिल्यो’लाई बोकेर हिंडिरहनुभएको छ।


मैले उक्त सपनाबारे लेख्न थालें। यो फिल्म मेरो बाबु, उहाँको परिवार र उहाँहरूको सानो गाउँप्रतिको प्रेमको कोसेली हो। म कहिल्यै यस्तो फिल्म बनाउन चाहन्नथें, जहाँ युद्धकालीन समाजको वास्तविकतामा एक समकालीन महिलाको दृष्टिकोणमा लादिएको होस्। मैले त्यस समयका महिलाहरूको जीवनलाई सकेसम्म यथार्थ रूपमा पुन:निर्माण गर्ने कोसिस गरेकी छु, फिल्म मार्फत।

मेरो हजुरआमाले बीस वर्षको अवधिमा दश बच्चा जन्माउनुभयो, दुईलाई गुमाउनुभयो। उहाँको पुस्ताका महिलाहरूले कुनै घरायसी कामबाहेक अरू केही गर्दैनथे। उनीहरू जहिल्यै अभाव र सीमिततामा बाँच्थे। मेरो र मेरी हजुरआमाबीच ठूलो खाडल छ, तर म अझै पनि उहाँलाई कता-कता आफूभित्र जीवित महसुस गर्ने गर्छु।

निर्देशकको बुबा परिवारको आठौं सदस्य थिए। फिल्मको ठूलो परिवार उनकै आफ्नै हरजुबुबाको परिवारसँग एकदम नजिक छ। ‘भेर्मिल्यो’ मृत्यु र जन्मबीचको, निराशा र पुनर्जन्म बीचको बच्चा र वयस्कहरूको कथा हो। फिल्म ‘भेर्मिल्यो’ चिसो बिहानमा चुल्होमा उम्लिरहेको दूधको बास्नाको कथा हो। यो युद्धबाट टाढा भए पनि युद्धलाई अनुभव गरिरहेकाहरूको कथा हो। ती आमाहरू, जसले भान्साबाट संसार हेर्थे, चिसोका कारण नवजात शिशुहरू मर्थे, ती महिलाहरू जसले आफूहरू पहिले नै विधवा भइसकेको भय बोकेर बस्थे, ती किसानहरू जसले कहिल्यै नफर्किने आफ्ना बच्चाहरूको प्रतीक्षा गर्थे, शिक्षक र पादरी जसले पिताहरूको स्थान लिएका थिए, ‘भेर्मिल्यो’ ती सबैका कथा हुन्।

‘भेर्मिल्यो’को प्रिमियर ८१औं भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भएको थियो, जहाँ त्यसले ग्रान्ड जुरी पुरस्कार जित्न सफल भएको थियो। ४९औं टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि भाग लिएको यस फिल्मलाई नारीवादी फिल्म पनि मान्न सकिन्छ, यसलाई तीन बहिनी र तिनकी आमाको आँखाबाट देखाइएको छ, जसका भाग्य एक पुरुष पितृसत्ताको पराधीनमा रहेको छ।

फिल्मले मुख्य रूपमा युद्धको विनाश, समाजका कठोर नियमहरू र परिवारभित्रको बन्धन तथा विश्वासघातको जटिलतालाई केन्द्रमा राखेको छ। हामीलाई ‘भेर्मिल्यो’ले ऐतिहासिक समयको निर्मम यथार्थतामा डुबाउँछ। फिल्मको अन्त्य गहिरो र मार्मिक छ। यसले जीवनमा बलिदान र पुनर्निर्माणको बीचको अर्थ बुझाएर जान्छ।

 

लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?