+
+
Shares

ती १० चलचित्र, जसले दुनियाँको सोच बदले

यसमा निर्दोष हरिणको बच्चाको कथा देखाइएको छ, जसको आमालाई शिकारीले मारेका हुन्छन् । यो चलचित्र हेरेर शिकार गर्नेहरूको संख्या धेरै घट्यो।

सापेक्ष सापेक्ष
२०८२ जेठ २७ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्रले मनोरञ्जनका साथै समाज, संस्कृति, राजनीति र कानुनमा परिवर्तन ल्याउन सक्छन्।
  • डकुमेन्ट्री र कथानक चलचित्रहरूले जनचेतना फैलाउने र बहस उत्पन्न गर्ने क्षमता राख्छन्।
  • उदाहरणस्वरूप, \'ब्ल्याकफिश\', \'अ गर्ल इन द रिभर\', र \'द थिन ब्लु लाइन\' ले सामाजिक मुद्दामा प्रभाव पारेका छन् ।

हामी धेरैबीच एउटा अर्धसत्य भाष्य स्थापित छ-चलचित्र मन बहलाउने बहाना हो । तर चलचित्रहरू के मनोरञ्जनका स्रोतहरू मात्र हुन् ? यसको सिधा जवाफ हो, होइन । सही समयमा, सही सन्देशसहित प्रदर्शनमा आउने चलचित्रहरूले समाज, संस्कृति, राजनीति र कानुनसम्म परिवर्तन गर्न सक्छन् ।

खासमा चलचित्रको काम मनोरञ्जन दिनु मात्र पनि होइन । सञ्चार, परिवर्तन र चेतना फैलाउनु पनि हो । यसमा दर्शकहरूबीचमा गहिरो प्रश्न उठाउने, कानुन परिवर्तन गर्ने, इतिहास नै उल्टाउने सामर्थ्य हुनेगर्छ ।

आज हामी त्यस्तै १० चलचित्रबारे चर्चा गर्ने छौं ।

१. ब्ल्याकफिश (Blackfish)

ट्रेलर

निर्देशक: गाब्रिएल कोपरथ्वेट

शैली: डकुमेन्ट्री

सन् २०१३ मा सार्वजनिक भएको डकुमेन्ट्री ‘ब्ल्याकफिश’ ले संसारलाई झस्काइदियो । सी वर्ल्ड (समुद्री जनावर राखिएका मनोरञ्जन पार्क) मा बन्दी बनाई राखिएको टिलिकम नामक ओर्का ह्वेलको दु: खद कथा देखाइएको छ ।

अमानवीय व्यवहार, साँघुरो ट्यांकीका कारण टिलिकमले तीन प्रशिक्षकको ज्यान लिन्छ । त्यसपछि आइपरेका कानूनी झन्झटको कुरालाई यसमा उठाइएको छ । समग्रमा यो चलचित्रले दर्शकलाई केवल भावुक मात्र बताएन जनावरहरूमाथि गरिने अत्याचारबारेमा समेत आवाज बुलन्द बनायो । यसपछि सी वर्ल्डको कामको सामाजिक सञ्जालभरि विरोध, हस्ताक्षर सङ्कलन र बहस भयो । अन्तत: सी वर्ल्ड पछि हट्नुपर्‍यो । शोहरूका लागि ह्वेलको प्रयोग गर्न बन्द गरिए ।

आईएमडीबीमा यसको रेटिङ ८.१, रोटेन टोम्याटोमा ९८ प्रतिशत रहेको छ ।

२. अ गर्ल इन द रिभर (A Girl in the River)

ट्रेलर

निर्देशक: शर्मिन ओबेद‍-चिनो

शैली: डकुमेन्ट्री

यो फिल्मले एक युवतीको कथा भन्छ । उनलाई आफ्नै बाबुले प्रेम सम्बन्धका कारण गोली हानी हत्या गर्ने प्रयास गर्छन् । तर भाग्यवश युवती बाँच्छिन् । त्यसपछि बाबु-छोरीले झेल्नु परेका कानुनी दबाब र सामाजिक अपमानबीचको कुरा यस चलचित्रमा देखाइएको छ ।

यो चलचित्र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफले हेरेका थिए । त्यसपछि नै उनले ‘अनर किलिङ’ विरुद्ध कानुन कडा बनाउने घोषणा गरे । यसले गर्दा यो चलचित्रले नारी हिंसाविरुद्धको बहसलाई थप अन्तर्राष्ट्रियकरण गर्न भूमिका खेल्यो ।

आईएमडीबीमा यसको रेटिङ ७.८, रोटेन टोम्याटोमा ९२ प्रतिशत रहेको छ ।

३. विक्टिम (Victim)

ट्रेलर

निर्देशक: बसिल डियरडेन

शैली: ड्रामा

१९६१ मा आएको यस फिल्ममा एक सफल वकिल हुन्छन् । तर उनी समलिङ्गी भएको शंका हुन्छ । त्यसपछि उनका पुराना प्रेमीले उनलाई ब्ल्याकमेल गर्न थाल्छन् ।

समलिङ्गी समुदायप्रति सहानुभूतिपूर्ण ढंगले प्रस्तुत गरिएको यो पहिलोमध्येको एक फिल्म हो । तत्कालीन समयमा बेलायतमा समलिङ्गी सम्बन्ध गैरकानुनी थियो । तर चलचित्र सार्वजनिक भएपछि बेलायतले १९६७ को ‘सेक्सुअल अफेन्सेस एक्ट’ पारित गर्यो । त्यस्तो कदमका लागि यो चलचित्रको भूमिका महत्वपूर्ण थियो ।

आईएमडीबीमा यसको रेटिङ ७.७, रोटेन टोम्याटोमा शतप्रतिशत रहेको छ ।

४. फिलाडेल्फिया (Philadelphia)

ट्रेलर

निर्देशक: जोनाथन डिम्मी

शैली: कोर्ट-ड्रामा

१९९३ मा आएको यो चलचित्रले एचआईभी/एड्स सम्बन्धी पूर्वाग्रह हटाउन ठूलो भूमिका खेल्यो । टम ह्याङ्क्स अभिनीत यो चलचित्रले एड्स पीडितप्रतिको घृणा र डर हटाउन सहयोग गरेको बताइन्छ । चलचित्रको प्रदर्शनपछि मानिसहरू ‘हामी डराइरहेका थियौं कि बुझ्न चाहँदैन थियौं?’ भनेर सोच्न बाध्य पारेको थियो । यसपछि नै एड्सको विषय खुला बहसमा आएको थियो ।

आईएमडीबीमा यसको रेटिङ ७.७, रोटेन टोम्याटोमा ८१ प्रतिशत रहेको छ ।

५. सुपर साइज मी (Super Size Me)

ट्रेलर

निर्देशक र पात्र: मोर्गन स्परलोक

शैली: डकुमेन्ट्री

यसमा निर्देशक नै पात्र छन् । उनले एक महिनासम्म लगातार म्याकडोनाल्ड्सको खानेकुरा खान्छन् । त्यसबाट आफ्नो शरीरमा पर्ने असर क्यामेराले कैद गर्छन् । त्यसले गर्दा उनको तौल, मानसिक अवस्था र अंगमा प्रत्यक्ष असर पुग्छ । तर यो पर्दाफासले अमेरिकामा मोटोपनको संकटबारे गम्भीर बहस सुरु गर्छ । यतिसम्म भयो कि म्याकडोनाल्ड्सले ‘सुपर सिज’ मेनु नै हटायो ।

आईएमडीबीमा यसको रेटिङ ७.२, रोटेन टोम्याटोमा ९२ प्रतिशत रहेको छ ।

६. द थिन ब्लु लाइन (The Thin Blue Line)

ट्रेलर

निर्देशक: एरोल मोरिस

शैली: डकुमेन्ट्री / क्राइम

१९८८ मा आएको एरोल मोरिसको यो डकुमेन्ट्रीले एउटा निर्दोष मानिसलाई मृत्युदण्डबाट बचाएको थियो । र्‍यान्डल डेल एडम्स नामक व्यक्तिलाई झूटो बयानका आधारमा दोषी ठहर गरिन्छ। तर, सो कुरा यस डकुमेन्ट्रीले उजागर गर्छ । त्यसपछि उक्त व्यक्तिको पुनः सुनुवाइ हुन्छ । त्यसबे‍ला उनी निर्दोष साबित हुन्छन् । यसले कानुनी प्रणालीको त्रुटि देखाउनुका साथै एकजना निर्दोष मानिसको जीवन समेत बचाएको थियो ।

आईएमडीबीमा यसको रेटिङ ७.९, रोटेन टोम्याटोमा शतप्रतिशत नै रहेको छ ।

७. अ सर्ट फिल्म अबाउट किलिङ (A Short Film About Killing)

ट्रेलर

निर्देशक: क्रिस्टोफ किएसलोभ्स्की

शैली: ड्रामा / अपराध

१९८८ मै आएको यस डकुमेन्ट्रीले मृत्युदण्डको नैतिकतामाथि प्रश्न उठाउँछ । एक युवकले ट्याक्सी चालकको हत्या गर्छ । त्यसैको सजाय स्वरूप उनले मृत्युदण्ड पाउँछन् । र त्यो मृत्युदण्ड कुनै हत्याभन्दा कम हुँदैन । यसबाट हत्या र मृत्युदण्ड बीचको समानता देखाएर दर्शकलाई ‘हामी के फरक गरिरहेका छौं ?’ भनेर निर्देशकले प्रश्न गरेका छन् । यसपछि पोल्यान्डले मृत्युदण्डको सजाय नै हटाएको थियो ।

आईएमडीबीमा यसको रेटिङ ८, रोटेन टोम्याटोमा ९१ प्रतिशत रहेको छ ।

८. भोलहिनिया (Volhynia / Hatred)

ट्रेलर

निर्देशक: भोइचेख स्मार्जोभ्स्की

शैली: हिस्टोरिकल ड्रामा

२०१६ को चलचित्र सन् १९४३/४४ को भ्लोनिया हत्याकाण्ड (युक्रेनले गरेको पोलहरूको नरसंहार) को कथामा आधारित छ । चलचित्रमा दुवै पक्षको क्रूरता देखाइएको छ । तर, सोही कुराले पोल्यान्ड–युक्रेनबीचको ऐतिहासिक घाउ पुनः खोतलियो । दुवै देशले यसलाई प्रतिबन्ध पनि लगाए । यसलाई रुसले आफ्नै पक्षमा गर्न खोज्यो । यसले यथार्थ देखाउने नाममा चलचित्रले नराम्रो सम्भावना भड्काउन सक्छ भन्ने सन्देश दिएको छ ।

आईएमडीबीमा यसको रेटिङ ७.६, रोटेन टोम्याटोमा ९३ प्रतिशत  रहेको छ ।

९. द बर्थ अफ अ नेशन (The Birth of A Nation)

ट्रेलर

निर्देशक: डी. डब्लु. ग्रिफिथ

शैली: ऐतिहासिक ड्रामा

१९१५ को यस चलचित्रले अमेरिकी गृहयुद्धपछिको समयलाई देखाएको छ । यसमा जातीय दङ्गा फैलाउने समूह कू क्लूक्स क्वेन (केकेके) लाई सकारात्मक रूपमा चित्रण गरिएको छ । यही चलचित्रका कारण सुस्ताउँदै गएको यो समूह पुनः सक्रिय हुन गयो । अझ पहिलेकोभन्दा धेरै सदस्यहरू थपिए । चलचित्रले गलत विचारलाई पनि कति सजिलै सामान्यकरण गर्न सक्छ भन्ने कुरा देखायो ।

आईएमडीबीमा यसको रेटिङ ६.१, रोटेन टोम्याटोमा ९१ प्रतिशत रहेको छ ।

१०. बाम्बी (Bambi)

ट्रेलर

निर्देशक: डेभिड ह्यान्ड

शैली: एनिमेटेड ड्रामा

१९४२ को यस एनिमेटेड चलचित्रमा बाम्बी नाम गरेको एउटा निर्दोष हरिणको बच्चाको कथा देखाइएको छ । जसको आमालाई शिकारीले मारेका हुन्छन् । त्यसपछि बाम्बीको दु:ख, पीडा चलचित्रमा देख्न सकिन्छ । जसलाई हेरेर  शिकार गर्नेहरूको संख्यामा उल्लेख्य गिरावट आएको बताइन्छ । यसले पशु अधिकारबारे जनचेतना फैलाउने काम गरेको थियो ।

आईएमडीबीमा यसको रेटिङ ७.३, रोटेन टोम्याटोमा ९१ प्रतिशत रहेको छ ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?