Comments Add Comment

चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ

१७ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् ।

दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् ।

सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताएका छन्, ताकि द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् ।

चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

शुभकामना आदानप्रदान

नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छन् ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment