Comments Add Comment

अक्टोबरमा आफ्ना नागरिकलाई कोरोनाको खोप दिने रुसको तयारी

१८ साउन, काठमाडौं । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले आगामी अक्टोबर महिनामा आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजनामा रहेको बताएका छन् । साथै विस्तृत खोप अभियान सञ्चालन गरिने पनि उनले उल्लेख गरेका छन् । रुसी सञ्चारमाध्यमहरुका अनुसार स्वास्थ्यमन्त्रीले सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप डाक्टर र शिक्षकहरुलाई दिइने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसमा सम्भावित कोरोना भाइरसविरुद्धको खोपले यसै महिना नियामकहरुबाट अनुमति पाउनेछ । यद्यपि विशेषज्ञहरुले भने निकै छिटो रुसले बनाएको खोपप्रति आशंका पनि व्यक्त गर्दै आएका छन् ।

शुक्रबार अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले चीन र रुसले कोरोना भाइरसविरुद्धको खोपको लागि सम्बन्धित सबै परीक्षण गरेकोमा आशंका व्यक्त गरेका छन् । फाउचीले यस वर्षको अन्तिममा अमेरिकासँग एक सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको लागि अमेरिकाले कुनै अर्को मुलुकमा निर्भर हुनु नपर्ने बताएका छन् ।

अहिलेसम्म विश्वभरका धेरै मुलुकमा कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम भइरहेको छ । अहिलेसम्म करिब २० खोपको क्लिनिकल परीक्षण पनि सुरु भइसकेको छ । इन्टरफ्याक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्यमन्त्रीले गामालेया इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको क्लिनिकल परीक्षण सुरु गरेको बताएका छन् । अहिले यसलाई दर्ता गराउने काम चलिरहेको बताइएको छ ।

गत महिना रुसी वैज्ञानिकहरुले गामालेया इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोपको लागि गरेको परीक्षणको सुरुवाती परीक्षण पूरा गरेको र यसको नतिजा सकारात्मक आउको बताएका थिए ।

गत महिना बेलायत, अमेरिका र क्यानडाका सुरक्षा एजेन्सीहरुले रुसमाथि कोरोना विरुद्धको खोप निर्माण गरिरहेका कम्पनीमाथि साइबर आक्रमण गरेको आरोप लगाएका थिए । यद्यपि रुसले भने यो आरोपको खण्डन गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment