३ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी र भ्रष्टाचारप्रतिको नागरिक चिन्तालाई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास पनि साझा चुनौतीका रूपमा रहेको बताए ।
उनले संविधानको सफलता घोषणामा मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा देखिनुपर्ने धारणा राखे । उनले नागरिकले संविधानले सुनिश्चित गरेका अधिकारको अनुभूति दैनिक जीवनमै गर्न पाउनुपर्ने बताए ।
सार्वजनिक कार्यालयबाट सहज सेवा, समाजमा न्याय र सुरक्षा, युवाका लागि शिक्षा तथा रोजगारी, किसानले उत्पादनको उचित मूल्य र उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री थापाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । प्रदेशलाई संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानून निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । ‘अधिकार, जिम्मेवारी र स्रोतबीच उचित सन्तुलन कायम गर्नु सङ्घीयता सुदृढीकरणको आधार हो,’ उनले भने ।
बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले तीव्र सहरीकरण, वातावरणीय प्रदूषण, विपद् जोखिम, क्षेत्रीय असमानता र सार्वजनिक सेवामाथिको बढ्दो मागलाई चुनौतीका रूपमा औँल्याए ।
प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा काम गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाले बताए । प्रशासनलाई सरल, प्रविधिमैत्री र उत्तरदायी बनाउने, सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने तथा समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्ने विषयमा सरकारले विशेष ध्यान दिने उनले बताए । उनले कानूनको शासन, शान्ति सुरक्षा, नागरिक अधिकारको संरक्षण र विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताए ।
समारोहमा मुख्यमन्त्री थापाले भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको जलप्रलयबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायको दुःखमा प्रदेश सरकार साथमा रहेको बताए ।
विपद्का समयमा खोज, उद्धार, उपचार र राहतमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय तह, जनप्रतिनिधि, स्वयंसेवक, निजी क्षेत्र तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, अत्यावश्यक सेवा, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र जीविकोपार्जन पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउने बताए ।
संविधान दिवसको अवसरमा उनले संविधान लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, मानव अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन र स्वतन्त्र न्यायपालिकालाई संस्थागत गर्ने आधार भएको बताए ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सर्वसाधारण बचतकर्ताको हित संरक्षण गर्नु प्रदेश सरकारको महत्त्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले सहकारी संस्थामा प्रभावकारी नियमन, सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया 4