+
जर्मन बुन्डेसलिगा :

ओलिसेको ह्याट्रिक, केनको कीर्तिमानी १००औं गोलमा बायर्नको फराकिलो जित

२०८३ असोज  ३ गते ११:५९ २०८३ असोज ३ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइकल ओलिसेको ह्याट्रिक र ह्यारी केनको दुई गोलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई ७–० ले हराएको छ ।
  • ह्यारी केनले ९८ खेलमा १०० बुन्डेसलिगा गोल पूरा गर्दै सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने खेलाडीको कीर्तिमान बनाए ।
  • जमाल मुसियाला र इस्माइल सैबारीले पनि एक–एक गोल गरेपछि बायर्नले जारी सिजनको अपराजित यात्रा कायम राखेको छ ।

३ असोज, काठमाडौं । माइकल ओलिसेको ह्याट्रिक तथा ह्यारी केनको कीर्तिमानी १००औं गोलको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा युनियन बर्लिनलाई ७–० ले पराजित गरेको छ ।

बायर्नको जितमा ओलिसेले तीन गोल गर्दा केनले दुई गोल गरे । जमाल मुसियाला र इस्माइल सैबारीले पनि एक–एक गोल थपे । जितसँगै जर्मन च्याम्पियन बायर्नले जारी सिजनको अपराजित यात्रा कायम राखेको छ ।

अल्फोन्सो डेभिसको उत्कृष्ट प्रयासपछि १८औं मिनेटमा मुसियालाले करिब २० यार्ड टाढाबाट शानदार गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा ओलिसेलाई टम रोथेले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

त्यस गोलसँगै केनले बुन्डेसलिगामा १०० गोल पूरा गरे । उनले जर्मनीको शीर्ष डिभिजनमा ९८ खेलमै १०० गोल पूरा गर्दै सबैभन्दा छिटो उक्त उपलब्धि हासिल गर्ने खेलाडीको कीर्तिमान बनाए । यसअघि डाइटर मुलरले १२९ खेलमा १०० गोल पूरा गरेका थिए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि ओलिसेले बायर्नका लागि तेस्रो गोल गरे । ५४औं मिनेटमा ओलिसेको उत्कृष्ट क्रसमा हेड गर्दै केनले व्यक्तिगत दोस्रो तथा बुन्डेसलिगामा १०१औं गोल पूरा गरे ।

७०औं मिनेटमा पीएसभीबाट यसै सिजन बायर्न आएका सैबारीले गोल गर्दै टोलीको अग्रता ५–० मा पुर्‍याए । त्यसपछि ओलिसेले ७७औं र ८०औं मिनेटमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

बायर्नमा २०२३ मा आबद्ध भएयता केनले सबै प्रतियोगितामा १५४ खेलमा १५२ गोल गरिसकेका छन् । उनले गत सिजन सबै प्रतियोगितामा ५१ खेलबाट ६१ गोल गरेका थिए । जारी सिजन भने सात खेलमा उनको गोल संख्या ६ पुगेको छ ।

युनियन बर्लिनविरुद्धको खेलमा दुई गोल थपेसँगै केनले उक्त टोलीविरुद्ध सात खेलमा सात गोल गरेका छन् । उनको सबैभन्दा बढी गोल गर्ने विपक्षी स्टुटगार्ट हो, जसविरुद्ध उनले सात खेलमा १० गोल गरेका छन् ।

‘१०१ बुन्डेसलिगा गोल पूरा गर्दा मलाई निकै गर्व लागेको छ । यहाँ बिताएको छोटो समयमै मैले हरेक क्षणको आनन्द लिएको छु’ केनले भने, ‘यी खेलाडीहरूसँग खेल्दा मैले अवसरहरू पाइरहेको छु। खेल संख्याभन्दा गोल बढी हुनु पनि राम्रो तथ्यांक हो ।’

केनको बायर्नसँगको सम्झौता यस सिजनको अन्त्यमा सकिँदैछ । क्लबमा आफ्नो भविष्यबारे छलफल जारी रहेको बताउँदै उनले आफू बायर्नमा निकै खुसी रहेको बताएका छन् ।

ह्यारी केन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय