Comments Add Comment

कोरोनाको नयाँ हटस्पट बन्न सक्छ काठमाडौं

१६ साउन, काठमाडौं । सरकारको दाबी छ, कोभिड–१९ रोकथाम र नियन्त्रणमा दक्षिण एसियामै राम्रो काम गरेका छौं । तैपनि सरकारको आलोचना भएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार सार्वजनिक मञ्चबाटै भने, ‘सरकारको काम नदेख्नेलाई मोतिबिन्दु लागेको हुनसक्छ ।’

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतम निरन्तर भनिरहन्थे, नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छैन ।’

हुन पनि दैनिक पहिचान भएका संक्रमितको संख्या ७४० (असार १९) बाट ३ साउनमा ५७ मा झर्‍यो । त्यसयता पनि दैनिक भेटिने संक्रमितको संख्या २०० कटेको थिएन ।

काठमाडौं उपत्यकाका केही स्थानमा समुदाय स्तरमा गएर स्वाब संकलन गर्दा पनि नगन्य मात्र संक्रमित भेटिए । त्यसैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रटान लगाए, कोभिड–१९ नियन्त्रणमा हामी सही ट्र्याकमा छौं र, नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छैन ।’

तर अहिले मन्त्रालयको अधिकारीहरुको बोली फेरिएको छ । उनीहरुले भन्न थालेका छन्, ‘जोखिम निकै बढेको छ र, अब झन् ठूलो ट्वीस्ट आउनेवाला छ ।’

मन्त्रालयका अधिकारीहरुले भनेझैं पछिल्लो समय देखिएका दृश्यहरुले राम्रो संकेत दिएको छैन ।

पछिल्लो समय वीरगञ्जमा समुदायमा कोरोना संक्रमण फैलिएको देखिन्छ र त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा चार जनाको मृत्यु भएको छ । र, उनीहरु सबै वीरगञ्जका हुन् ।

– काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढ्दो छ । नक्सालस्थित नेपाल प्रहरीको हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार त्यहाँमात्र ७२ जना संक्रमित भेटिएका छन् ।

– पछिल्लो केही दिनमा उपत्यकाका प्रवेश गरेका ३७१३ जनाको परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भयो । नागढुंगा, फर्पिङ र साँगा नाकामा कुल १० हजार २०५ जनाको स्वाब संकलन गरिएको र, केहीको रिपोर्ट आउन बाँकी  रहेकाले संक्रमितको संख्या अझ बढ्नसक्ने देखिएको छ ।

– लामो समयसम्म नेपालका अधिकांश अर्थात ९८ प्रतिशत बढी कोरोना संक्रमितमा लक्षण नै देखिएको थिएन । अधिकांश संक्रमित आइसोलेसन सेन्टरबाटै निको भएर घर फर्किन्थे । संक्रमितलाई आईसीयू वा भेन्टिलेटरमा राख्नु पर्दैनथ्यो । तर अहिले २६ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् । संक्रमितहरू यति धेरै संख्यामा आईसीयूमा भर्ना भएको यो पहिलोपटक हो ।

उपत्यका झन् जोखिममा

साउन १ देखि १६ गतेसम्ममा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भयो, जसमध्ये १० जना पर्साका छन्, जहाँ कोरोना संक्रमण र मृत्युको रफ्तार बढ्दो छ । तर वीरगञ्ज जस्तै काठमाडौं पनि ‘हट स्पट’ बन्नसक्ने खतरा देखिएको छ ।

काठमाडौं उपत्यकाको जनघनत्व आफैंमा अत्यधिक छ । त्यसमाथि लकडाउन खुकुलो भएपछि विभिन्न स्थानबाट मानिसहरु उपत्यका आउने क्रम बढ्दो छ ।

सुरक्षा निकायको तथ्यांकअनुसार थानकोट, साँगा र फर्पिङ नाकाबाट दैनिक करिव ५ हजार मानिस उपत्यका प्रवेश गर्ने गरेका छन् । र, २६ असारबाट सार्वजनिक यातायात सञ्चालनमा आएदेखि १५ साउनसम्म १ लाख १८ हजार मानिस उपत्यका प्रवेश गरेका छन् ।

सबैभन्दा धेरै थानकोटबाट ९१ हजार १०, साँगाबाट २३ हजार ११० र फर्पिङबाट ४ हजार ६८६ जना आएको रेकर्ड छ ।

यसबाहेक लुकिछिपी आउनेको कुनै रेकर्ड छैन । यसले कोरोना संक्रमण अझ फैलिन सक्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

उनकाअनुसार यसका केही संकेत देखिएको छ ।

त्यसमध्ये एक हो, काठमाडौं प्रवेश गरेका ३ हजार ७१३ को परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण देखिनु । स्वाब दिएदेखि संक्रमण पुष्टि भएको अवधिमा उनीहरु आइसोलेसनमा थिएनन् । र, संक्रमण पुष्टि भएपछि पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) उनीहरुसम्म पुग्न सकेको छैन ।

ईडीसीडीका निर्देशक वासुदेव पाण्डे कन्ट्याक ट्रेसिङ गर्न पहिलेकै समस्या दोहोरिएको बताउँछन् । उनका अनुसार नाकामा स्वाब दिएर पोजेटिभ आएका केही मानिसले गलत ठेगाना र नम्बर टिपाएका छन्, जसको कारण कन्ट्याक ट्रेसिङमा समस्या आएको छ ।

‘संक्रमितलाई कन्ट्याक गर्दा कोही वीरगञ्ज फर्किसकेको बताउँछन् त, कसैको फोन नै लाग्दैन’ डा. पाण्डेले अनलाइनखबरसँग भने, ‘हामीले वडादेखि नगरपालिकासम्म सबैलाई नयाँ मानिसको निगरानी गर्न निर्देशन दिएका छौं, तर ढुक्क हुने अवस्था छैन ।’

नाकामा स्वाब दिएका र पोजेटिभ आएका मानिसको कन्ट्याक ट्रेसिङ गरेर मात्रै उपत्यका नजोगिने उनको तर्क छ ।

स्वाब दिएभन्दा तेब्बर मानिस सुरक्षाकर्मीको आँदा छलेर काठमाडौं प्रवेश गरेका छन् । स्वाब संकलन गर्न सुरु गर्नुअघि काठमाडौं छिरेका मानिसहरु निष्फिक्री बजार डुलिरहेका छन् । त्यसैले जोखिम बढेको डा. पाण्डे बताउँछन् ।

मुख्य‘तीन गल्ती’का कारण काठमाडौं ‘हटस्पट’ बन्ने चरणमा पुगेको पाण्डेको कथन छ ।

पहिलो : नाकाबाट छिर्ने मानिसहरुको स्वाब संकलन गर्न ढिलो सुरु गर्नु र स्वाब कलेक्सन गरेका मानिसलाई क्वारेन्टिनमा राख्न नसक्नु ।

दोस्रो : कन्ट्याक ट्रेसिङ, स्बाब कलेक्सन र डाटा म्यानेजमेन्टको काम व्यवस्थित र चुस्त नगर्नु ।

तेस्रो : आम मानिसले कोरोना महामारीलाई गम्भीरतापूर्वक नलिनु अर्थात खेलाँची गर्नु ।

‘हाम्रो मात्र कमजोरी भएको छैन, सर्वसाधारणको पनि कमजोरी छ । स्वाब दिएर लुक्ने, आँखा छलेर प्रवेश गर्ने काम भएको छ’ डा. पाण्डे भन्छन्, ‘हटस्पटबाट आएकाहरुले यसरी लापरवाही गरेपछि काठमाडौंमा आगो सल्किन बेर लाउन्न ।’

त्यसो भए काठमाडौंलाई बचाउन के गर्ने ?

‘काठमाडौं उपत्यकालाई बचाउने धेरै उपाय सकिइसकेको छ’ डा. पाण्डे भन्छन्, ‘अब कोरोनाको हटस्पट मानिएका ठाउँबाट आउने मानिसलाई रोक्नु नै मुख्य विकल्प हो ।’

त्यसका अलावा काठमाडौं प्रवेश गर्नेहरुको नाकामा नै स्वाब लिएर क्वारेन्टिनमा व्यवस्थापन गर्नुपर्ने डा. पाण्डे बताउँछन् । भन्छन्, ‘नागरिकले सहयोग गरेनन् भने अवस्था सोचेभन्दा गम्भीर हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भने समयमै विज्ञहरुलाई नसुन्दा पनि यो अवस्था आएको बताउँछन् । मन्त्रालयकै अधिकारीले नेपालमा कोरोनाले महामारीको रुप लिँदैन भन्ने मानसिकता बनाएको भन्दै उनले भने, ‘हाम्रै केही प्रमुख र जिम्मेवार व्यक्तिहरुले काठमाडौं छिर्ने मानिसको परीक्षण गर्नु पर्दैन भनेर अडान लिएका थिए ।’

तर निकै जोडबल गरेर परीक्षण गर्दा काठमाडौं प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिनुले तीन तहमा कोरोनाको जोखिम रहेको बुझाएको उनको कथन छ ।

पहिलो, उनी लकडाउनको अविधिभरी बसेको ठाउँ र त्यहाँका मानिसहरु ।

दोस्रो, काठमाडौं आउँदा सँगै यात्रा गरेर आएका मानिसहरु ।

तेस्रो, स्वाब दिएर क्वारेन्टिनमा नबसी घुलमिल गरेका घर अथवा कोठाका आफन्तहरु ।

‘एउटा व्यक्तिलाई गाउँमै संक्रमण भएको रहेछ भने उसले सँगै यात्रा गरेका मानिसलाई मात्र होइन, घर तथा छरछिमेकमा भएकाहरुलाई पनि सार्न सक्छ’ उनी भन्छन्, ‘मानिसको शरीरमा भाइरस प्रवेश गर्नासाथ संक्रमण नदेखिने भएकाले नाकाबाट छिरेका कोही पनि मानिस अहिले नै ढुक्क हुने अवस्था छैन ।’

स्वास्थ्य मन्त्रालयका अर्का अधिकारी कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर मन्त्रालयले देशभर कडाइ गर्न गृह मन्त्रालयलाई परीपत्र गर्ने तयारी गरेको बताउँछन् । उनका अनुसार मन्त्रालयको आन्तरिक छलफलले देशभर थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘अब फेरि लकडाउनमा फर्कन सकिन्न’ उनी भन्छन्, ‘तर हटस्पटहरुमा थप कडाइ हुनसक्छ । काठमाडौंमा अतिआवश्यक कामबाहेक छिर्न नदिने हो कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment