+
+
Shares

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९६० मा बेलायतमा पेन्गुइन बुक्सले डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीज लभर सेन्सर नगरी छाप्न खोज्दा कानुनविरुद्ध मुद्दा चल्यो।
  • छ दिनको सुनुवाइपछि पेन्गुइन बुक्स निर्दोष ठहर भयो र उपन्यास प्रकाशन भयो, जसले सामाजिक परिवर्तनको प्रतीक मानेको थियो।
  • उपन्यासमा उच्च वर्गकी महिला र श्रमिक वर्गका पुरुषबीचको सम्बन्ध देखाइएको छ र यौनलाई साहित्यमा स्वीकार्य बनाउन लेखकले आशा राखेका थिए।

सन् १९६० मा बेलायतमा डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीज लभर (लेडी च्याटर्लीको प्रेमी) ले व्यापक चर्चा पायो । कारण थियो, अश्लीलता सम्बन्धीको प्रकाशन रोक्ने कानुन । उक्त कानुनअनुसार लेडी च्याटर्लीज लभर अभद्र र अनैतिक थियो । र, पुस्तक प्रकाशनलाई अपराधिकरण गरिने अवस्था थियो ।

यता बेलायती प्रकाशन गृह पेन्गुइन बुक्स डीएच लरेन्सको किताब कुनै सेन्सर नगरी छाप्न चाहन्थ्यो । परिणामस्वरूप यो कानुनविरुद्ध प्रकाशनगृहले मुद्दा हाल्यो । अन्ततः ६ दिनको सुनुवाइपछि पेन्गुइन बुक्सले मुद्दा जित्यो । किताब निर्दोष ठहर भयो । प्रकाशन भयो । र, किताब अत्यधिक मात्र नै विक्री भयो ।

तर, त्यो मुद्दालाई धेरैले पुस्तकभन्दा पनि दोस्रो विश्वयुद्धपछिका वर्षहरूमा भित्रभित्रै उम्लिरहेका सामाजिक परिवर्तनहरूको प्रतीकका रूपमा लिए । पुरानो नैतिक रूढीवादमाथि उदारवादी सोचको विजय भएको भनेर अर्थाए ।

यद्यपि यो किताब सन् १९२० को दशकको अन्त्यतिर इटाली र फ्रान्समा निजी रूपमा प्रकाशित थियो । तर त्यसपछि अमेरिका, अस्ट्रेलिया र जापानसहित विश्वका धेरै देशहरूमा प्रतिबन्धित भयो ।

बेलायतमा यो किताबलाई लिएर मुद्दा चल्नुभन्दा अघिका वर्षहरूमा समेत यौनका कुराहरू भएको किताबको प्रकाशनको अवस्था उस्तै थियो । धेरै बेलायती लेखक र प्रकाशकहरू अश्लीलताका लागि मुद्दा चलाइएका पुस्तकहरूको सङ्ख्याले चिन्तित थिए ।

यसैलाई कम गर्ने प्रयासमा बेलायतको संसदले सन् १९५९ मा ‘अश्लील प्रकाशन ऐन’ ल्याएको थियो । त्यस कानुनले साहित्यको संरक्षण र अश्लीलतासम्बन्धी कानुनलाई बलियो बनाउने वाचा गरेको थियो ।

त्यस्तै ‘फोहोरी’ भनिएको किताबलाई प्रतिरक्षाको मौका दिएको थियो । किनकि कानुनले कृतिको सामग्री सामान्य मानिसलाई स्तब्ध पार्ने भए पनि साहित्यिक योग्यता छ भने त्यसलाई प्रकाशन गर्न रोकेको थिएन ।

लेडी च्याटर्लिज लभरमा उच्च वर्गकी महिला र श्रमिक वर्गका पुरुषबीच भावुक सम्बन्ध स्थापित भएको देखाइएको छ । उपन्यासमा गाली गलौजका शब्द र यौनको स्पष्ट वर्णन समावेश गरिएको छ । अहिले त यसैमा आधारित फिल्म समेत बनेका छन् ।

लेखक लरेन्स आफैंले यौनलाई साहित्यमा स्वीकार्य हुने कुराको रूपमा पुनर्स्थापित गर्ने आशा राखेको बताएका थिए । उपन्यासमा यौन सम्बन्धहरूलाई लाजमर्दो कुराको सट्टा वैध र बहुमूल्य बनाउन चाहेको उनले सुनाएका थिए ।

यसैबीच नयाँ कानुनलाई परीक्षण गर्न पेन्गुइन बुक्स तयार भयो । सन् १९६० मा उनीहरूले बेलायतको कानुनी प्रमुखलाई पत्र लेखेर किताबको मौलिक संस्करण प्रकाशित गर्ने चेतावनी दिए । लगत्तै देशका मुख्य कानुनी सल्लाहकार रेजिनाल्ड म्यानिङ्घम बुलरले किताबका केही अध्याय पढे । र पेन्गुइनविरुद्ध कानुनी कारबाही अघि बढाउन अनुमति दिए ।

त्यसबेला पेन्गुइनका संस्थापक सर एलेन लेन भने स्पेनमा थिए । घटनाक्रम चर्किरहेकालेउनका सहकर्मीहरूले उनलाई तुरुन्तै बेलायत फर्कन सल्लाह दिए ।

अदालतमा नैतिकताको लडाइँ

पेन्गुइनले आफ्नो पक्षलाई बलियो बनाउन ३५ जना प्रख्यात लेखक, शिक्षाविद् र नेताहरूलाई विशेष साक्षीको रूपमा अदालतमा उपस्थित गरायो । उनीहरूमध्ये प्राध्यापक रिचर्ड होगार्टको गवाही महत्त्वपूर्ण रह्यो ।

उनले उपन्यास सारमा एक नैतिक र शुद्धतावादी कृति भएको तर्क गरे । उनले उपन्यासमा प्रयोग भएका गालीका शब्दहरूलाई पनि सामान्यीकरण गर्दै त्यस्ता शब्दहरू अदालत आउने बाटोमा पनि सुनेको बताए ।

त्यस्तै पेन्गुइनको विपक्षको नेतृत्व मर्भिन ग्रिफिथ जोन्सले गरेका थिए । उनले उपन्यासमा भएको यौनलाई अनावश्यक अश्लीलता करार गर्दै किताबमा प्रयोग भएका गालीका शब्दहरूको सूची पनि प्रस्तुत गरेका थिए । साथै किताबको सस्तो मूल्यको कारण यो ‘सबैका लागि’ उपलब्ध हुने खतरा औँल्याएका थिए

तर छ दिनसम्म चलेको बहसपछि २ नोभेम्बर १९६० मा न्यायाधिशले तीन घण्टा लगाएर सर्वसम्मत फैसला सुनायो । त्यस फैसला अनुसार ‘अश्लील प्रकाशन ऐन’ अन्तर्गत पेन्गुइन बुक्स निर्दोष ठहर भयो । यता पेन्गुइन पहिलेदेखि नै सफाइको तयारीमा थियो । तर उनीहरूको नियमित मुद्रण फर्मले यस किताबलाई छाप्न अस्वीकार गरेको थियो । त्यसै भएर उनीहरूले नयाँ फर्मसँग काम गर्नुपर्‍यो ।

यद्यपि मुद्दाले किताबको ठूलो प्रचारको काम गरेको थियो । त्यसैको प्रभाव स्वरुप किताब प्रकाशनको पहिलो दिनमै दुई लाख प्रतिहरू विक्री भएका थिए । तीन महिनामा ३० लाखप्रति विक्री भएको थियो ।

बीबीसीका अनुसार त्यसबेला ग्राहकले समेत यो किताबको नाम लिएर पसलमा किताब माग्न सक्दैनथे । उनीहरूले ‘लेडी सी’ भन्ने गर्थे । त्यस अनुभवका आधारमा विक्रेताहरूले यो साधारण किताब बेच्नुभन्दा अलि फरक अनुभव रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?