Comments Add Comment

लकडाउनपछिको कारोबार : उधारोमा गहना बेचेर घरखर्च !

सुनचाँदी पसले भन्छन्– पैसा छैन, बिल लैजानोस्

१८ साउन, काठमाडौं । गुल्मीकी सकुन्तला थापा मगर लकडाउन खुकुलो भएपछि गाउँबाट काठमाडौं फर्किइन् । करिब चार महिना गाउँ बसेकी उनलाई काठमाडौं फर्कने बितिक्कै पैसाको खाँचो पर्‍यो । लकडाउनमा कमाइ नभएकाले कसैले सरसापट दिएनन् । अन्ततः उनले छड्के तिलहरी बेचेर गर्जो टार्ने सोच बनाइन् ।

चार महिनाको घरभाडा अनि बच्चाको नयाँ किताब लिन स्कुलको ताकेताले तुरुन्तै पैसा चाहिएको थियो । भोलिपल्ट पुरानो बिल र सुनसहित सकुन्तला न्युरोडमा आफूले खरिद गरेको सुन पसलमा पुगिन् ।

सुनको हिसाब निकालियो, भाउ राम्रै आयो । तर, सुन पसलेले तत्काल सबै पैसा भुक्तानी गर्न नसक्ने सकुन्तलालाई बताए । उनले भनिन्, ‘थोरै पैसा तत्कालै हुन्छ, तर बाँकी पैसा लिन एक सातापछि आउनुपर्छ भनेर एउटा बिल बनाएर दिनुभयो ।

लकडाउनपछि धेरै मान्छे गहना बिक्री गर्न आएकाले नगद नभएर त्यसो गरिएको सुन पसलेले सकुन्तलालाई बताएका थिए ।

सकुन्तला जस्तै किनेका बेलामा भन्दा सुनको मूल्य निकै बढेपछि पुरानो सिक्री बिक्री गर्न बागबजारको सुन पसलमा आइपुगेका मोरङका विशाल गिरीको भोगाइ पनि उस्तै छ ।

उनले बिक्री गरेको दुई तोलाको सिक्रीबाट आउने कुल रकममध्ये तत्कालै १५ हजार रुपैयाँ मात्र लिएको र बाँकी एक सातासम्म लिने गरी बिल लिएको सुनाए ।

‘दुःखमा जोडेको थिएँ, भाउ बढेका बेला राम्रै नाफा भयो । चिनेकै पसले हो पैसा, दिनुहुन्छ बिस्तारै,’ गिरीले भने ।

लकडाउनपछि सुन बिक्री गर्ने बढे

सुनको मूल्य आकाशिएसँगै सुनका गहना बिक्री गर्ने ग्राहकहरु बढेको व्यवसायी बताउँछन् । नयाँ सुनको बिक्री ठप्प रहेको र पुरानो गहना फिर्ता गरेर बढेको मूल्य लिन ग्राहकमा आत्तुरी देखिएको गहना निकुञ्ज सुन पसलका सञ्चालक तथा सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले अनलाइनखबरलाई बताए ।

‘दैनिक पसलमा ८/१० जना ग्राहक आउँछन् तर सबैजना पुरानो गहना फिर्ताकै लागि आउनुहुन्छ,’ शाक्यले भने ।

सामान्य अवस्थामा यो सिजन दैनिक १० किलो सुन बिक्री हुने गरेको भए पनि बजार ऋणात्मक भएको उनी बताउँछन् । ‘जति परिमाणमा पहिले हामीले बिक्री गर्दथ्यौँ अहिले देशभर सोही मात्रामा सुन फिर्ता आइरहेको छ,’ शाक्यको भनाइ छ ।

यकिन तथ्यांक नआए पनि मोटामोटी देशभर दैनिक ७ किलो हाराहारी सुन ग्राहकबाट फिर्ता भइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अत्यधिक मात्रामा सुनको फिर्ताका कारण केही पसलहरुले सुन फिर्ता लिन सक्ने अवस्थै नरहेको पनि उनले सुनाए ।

किस्ताबन्दीमा भुक्तानी

सुन बिक्री गर्दा नाफा हुने भए पनि ग्राहकबाट फिर्ता सुन किन्दा नाफा नहुने सुन व्यवसायीहरुको भनाइ छ । बढ्दो भाउले बजार नकारात्मक हुँदा व्यवसायीहरु घाटामा गएको र नगद अभाव चुलिने अवस्था आउन सक्ने महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

सुन बिक्री गर्न आउने ग्राहक बढेपछि नगद अभावमा व्यवसायीहरुले ग्राहकलाई फिर्ता सुन बिक्रीको पैसा लिन एक साताको म्याद तोकेको । तर, धेरै पसलमा यस्तो समस्या आई नसकेको उनको भनाइ छ ।

अत्यन्तै जरुरी हुनेका लागि तत्कालै उपलब्ध गराउने र जरुरी नहुनेका लागि सात दिनमा किस्ता तिर्ने गरी व्यवस्था गर्न महासंघले सुन व्यवसायीलाई सर्कुलर गरेको उनको भनाइ छ ।

एकै पटक रकम दिन पसलले नसक्ने भएकाले किस्तामा पैसा दिन सकिने गरी व्यवस्था गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । यसबारे राष्ट्र बैंकलाई पनि जानकारी गराइएको उनको भनाइ छ ।

थेग्न नसक्ने अवस्था आउन सक्छ

नेपाली बजारमा अभिलेख नभएको तर अरबौँको मूल्य बराबरको सुन भएको अनुमान व्यवसायीहरुको छ । अहिले खाँचै पर्ने मानिसहरु मात्रै सुन बिक्रीमा आएको भए पनि मूल्य एउटा उचाइमा पुगेर ओरालो लाग्ने बेला फिर्ता सुन बिक्रीको बाढी आउने डरमा व्यवसायीहरु छन् ।

सीमित पुँजीमा चलेको सुन पसलहरुले फिर्ताको बाढी थेग्नै नसक्ने अवस्था आउन सक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । ‘अहिलेसम्म ठिकै छ, तर अवस्था यस्तो नआउला कि व्यवसायीको पहुँचबाहिर अवस्था नपुगोस्,’ उनले भने ।

सम्भावित खतरा टार्न सरकारले बैंकमार्फत सुन खरिदको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

‘सरकारले १० किलो सुन किन्न बैंकलाई जिम्मा दिएजस्तै व्यापारीले बिक्री गरेको सुन ग्राहकबाट बैंकले खरिद गर्ने पनि व्यवस्था हुनुपर्छ,’ महासचिव बज्राचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment