Comments Add Comment

बैंकमा अधिक तरलता : कर्जा लगानी किन हुँदैन ?

बैंकर्स संघका अध्यक्ष भन्छन्-कोरोनाको प्रभाव हो

१८ साउन, काठमाडौं । यतिबेला बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेकोका असरका कारण बैंकहरुमा तरलता अधिक देखिएको हो ।

केही वर्ष अघिसम्म तरलता अभाव झेलिरहेका बैंकहरु अहिले लगानी गर्न आतुर छन् । तर, लगानी हुन नसकेर २ खर्बभन्दा ठूलो रकम बैंकमा थुप्रिएको छ । लकडाउनपछि नयाँ कर्जा विस्तार नभएका कारण कर्जा लगानी सुस्ताएको विज्ञहरु बताउँछन् । जसको असर तरलतामा देखियो ।

अधिक तरलता भएपछि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ खिचेको छ । बैंकहरुमा २ खर्ब रुपैयाँभन्दा बढी तरलता थुपि्रएपछि रिभर्स रिपोमार्फत नेपाल राष्ट्र बैंकले तरलता तानेको हो । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको छ ।

यति धेरै तरलता अब के गर्ने यतिबेला बैंकहरु पनि अलमलमा छन् । अब के हुन्छ भन्नुभन्दा पनि पहिला बिहीबार जारी गरिएको रिभर्स रिपोबारे थोरै चर्चा गरौं ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आहृवान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नुपर्ने व्यवस्था छ ।

रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।

निक्षेपको ब्याजदर घट्दै

बैंकहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपालि बैंकलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको छ । तरलता अभावका जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्छ ।

फलस्वरुप बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्छन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । उता कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।

नेपाल बैंकर्स ससंघका अध्यक्ष भुवन दाहाल अहिले निक्षेपको ब्याजदर घट्दै गएको स्वीकार गर्छन् । उनले निक्षेपको ब्याजदर घट्दा थोरै निक्षेप पनि घटेको बताए । विकास बैंक तथा सहकारीमा निक्षेप गएको हुनसक्ने उनको आशंका छ ।

अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पुँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यस्तै, बैंकमा कम व्याज पाउने भएपछि सुपरीवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

यतिबेलै यसको असर निक्षेपमा पर्न सुरु भइसकेको छ । केही बैंकहरुले निक्षेपको ब्याजदर घटाइसकेका छन् भने केही बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । तर, कर्जाको ब्याजदरको जति चर्चा हुन्छ, त्यति चर्चा निक्षेपको ब्याजदरले नपाउने हुँदा यसलाई बेवास्ता गरिँदै आएको छ । निक्षेपको ब्याज कम हुँदा बचत गर्न मानिसहरू निरुत्साहित हुने बैंकिङ जानकारहरु बताउँछन् ।

कोरोनाको प्रभाव हो : अध्यक्ष दाहाल

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल कोभिडका कारण बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) थुप्रिएको बताउछन् । ४ महिना लामो लकडाउनमा कर्जा लिन आउने संख्या एकदर्म कम भएका कारण बैंकमा धेरै भएको उनले बताए ।

‘कोभिडको सबै क्षेत्रमा असर परेको छ, पुराना व्यवसायहरु विस्तार भएनन्, नयाँ पनि थपिएनन’ अध्यक्ष दाहाल भन्छन्,’ अध्यक्ष दाहाल भन्छन्, ‘यसले गर्दा बैंकको जुन रुपमा कर्जा लगानी हुनुपर्ने थियो त्यो भएन, कर्जा लगानी नभएपछि अधिक तरलता देखियो ।’

यतिबेला भने लकडाउन सरकारले हटाइसकेको छ । उद्योग व्यवसायहरु विस्तारै चल्न सुरु गरिसकेका छन् । तर पहिलेकै अवस्थामा व्यवसायहरु सञ्चालन नभएका कारण अझै कर्जाको माग हुन नसकेको अध्यक्ष दाहालको बुझाई छ ।

कोरोनाको त्रास यही हिसाबमा रहने हो भने दशैंसम्म पनि बैंकको लगानी खासै बढ्न नसक्ने उनी बताउँछन् । व्यवसायहरु अहिले पनि आंशिकरुपमा चलेको र व्यवसायीहरुले थप लगानी गर्न नचाहेको उनले बताए ।

‘उदाहरणका लागि मोटरसाइकलको व्यवसायलाई हेरौँ न, पहिले १० हजार स्टक राखिन्थ्यो भने अहिले ५ हजारमात्रै व्यवसायीहरुले स्टक राख्ने गर्नु भएको छ’ अध्यक्ष दाहालले भने, ‘अब हिजो १० हजार मोटरसाइकलका लागि जाने कर्जा अहिले ५ हजारका लागि मात्रै जाने भयो, अनि त तरलता बैंकमा जम्मा हुने भइहाल्यो नि ।’

राष्ट्र बैंकको विश्वासः बिस्तारै सुधार हुन्छ

केन्द्रीय बैंकले बिहीबार रिभर्स रिपो जारी गर्‍यो । २ खर्ब ७ अर्ब रुपैयाँ रहेको तरता अब रिभर्स रिपोपछि १ खर्ब ८७ अर्ब रुपैयाँ रहनेछ । केही समय अघिसम्म लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुका यो रकम निकै ठूलो हो ।

अब कहिलेसम्म बैंकमा थुप्रिएला ? राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बिस्तारै लगानीको वातावरण बन्दै गएको बताउँछन् । कोभिडका कारण समग्रमा अर्थतन्त्रमा असर परेको र लकडाउन खुलेको धेरै नभएका कारण अब विस्तारै लगानीको वातावरण बन्ने उनले बताए ।

‘आर्थिक गतिविधिहरु विस्तारै बढ्छ, आयात बढ्ने वित्तिकै कर्जाको माग बढ्छ’ विभागीय प्रमुख भट्टले भने, ‘निर्माण तथा पूर्वाधारका साथै उत्पादनको कामहरु विस्तारै अब बढ्छन् । त्यसपछि लगानी पनि बढ्दै जानेछ ।’ लकडाउन खुले पनि कोरोनाको त्रास अझै बाँकी रहेको र निजी क्षेत्र विस्वस्त भइनसकेका कारण अहिले लगानी नभएको उनको बुझाई छ ।

कोभिडको त्रासपछि बैंकहरुको लगानी भएन । जसको असर निक्षेपको ब्याजदरमा देखा परेको छ । निक्षेपको ब्याजदर बैंकहरुले घटाइरहेका छन् । यसले निक्षेपकर्ता सर्वसाधारणमा असर परेको छ ।

यस विषयमा राष्ट्र बैंक पनि जानकार छ । राष्ट्र बैंकका प्रवक्तासमेत रहेका विभागी प्रमुख भट्ट आर्थिक गतिविधिले निरन्तरता पाओस् भनेर हस्तक्षेप नगरिएको बताउँछन् । अर्थतन्त्रलाई सकारात्मक असर गरोस् भनेर निक्षेपको ब्याजदर घटे पनि केन्द्रीय बैंकले हस्तक्षेप नगरी खुला बजार अर्थतन्त्रलाई निरन्तरता दिइरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment