
१५ भदौ, काठमाडौं । सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपाली (एनआरएन)का लागि आंशिक अनुमति खुला गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने छ ।
यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोगले दिनेछ । नियोगले साच्चै समस्यामा परेको प्रमाणित गरेपछि गैरआवासीय नेपाली नागरिकले पनि नेपाल आउन पाउनेछन् ।
साथै, सरकारले अब नेपालमा अध्ययन गर्ने विदेशी विद्यालयलाई सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय समेत गरेको छ ।
दैनिक ८ सयसम्म यात्रु आउने
सरकारले विदेशबाट नेपाल आउन पाउने दैनिक संख्या समेत बढाएको छ । सुरुमा ५ सय दैनिक यात्रु भनिएकोमा अब पर्यटन मन्त्रालयले क्वारेन्टिनको उचित व्यवस्थापन गरी थप ३ सय जनालाई दैनिक नेपाल आउन दिने निर्णय गर्न सक्नेछ ।
यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा अब पर्यटन मन्त्रालयले पाएको छ । उता, पीसीआर रिर्पोट नहुने कारणले नियमित उडान नखुलेका स्थानमा कम्पनी स्वयमले टिकट काटेर नेपाल पठाउन चाहेमा वा कामदार आफैले टिकट काटेर स्वदेश फर्कन चाहेमा समेत सरकारले नेपाल आउन अनुमति दिनेछ ।
यसका लागि चार्टर्ड उडानले अनुमति पाउनेछन् । यी मुलुकमा यसअघि समस्यामा परेका नेपालीलाई मात्र ल्याउने गरी चार्टर्ड उडान तय भएका छन् ।
प्रतिक्रिया 4