Comments Add Comment

काठमाडौं महानगरपालिकाको कर अनलाइनबाटै तिर्न मिल्ने

२९ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिका घरमै बसेर कर तिर्न सकिने प्रण्णली सञ्चालनमा ल्याउने भएको छ । असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्न लागिएको हो ।

वडामा कर तिर्ने करदाताले यो प्रणालीबाट आफूले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्यांकन आफैं र घरमै बसेर कर तिर्न सक्छन् ।

प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले करदातालाई कार्यालयमा आएर लामो लाइनमा बस्नु पर्ने अभ्यासले सुुशासनको प्रत्याभूत नगराने बताए ।

‘साउन १ गतेदेखि खर्च लेखाङ्कनलाई सब-नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित बनाइसक्यौं । त्यसपछि भवन नक्सा स्वीकृति गर्ने पद्धतिलाई ईबीपीएस (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम) प्रणालीबाट कार्यान्वयनमा ल्याएका छौं, अब राजस्व प्रणालीलाई अनलाइन बनाउने अन्तिम तयारीमा पुगेका छौं ,’ उनले भने ।

जनताले सुशासनमा महानगर कहाँ छ भनेर प्रश्न गरिरहेका भन्दै उनले बिद्युतीय प्रणालीमा नागरिक अभ्यस्त हुन थालेपछि जवाफ आफैं पाउने बताए ।

यो प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटर्फम छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर जनसाधारण सबैका लागि उपयोग गर्न मिल्ने खालका छन् । साइट खोलेर करदाताले यसैका फिचर प्रयोग गरेर आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न सक्नेछन् । आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।

यो विवरण फरवार्ड गरेपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्यांकनलाई अप्रुभल दिनेछन् । यसपछि करदाताले आफूसँग भएका अनलाइन पेमेन्ट सिस्टमबाट वा वडामा गएर कर दाखिला गर्न सक्नेछन् ।

राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले महानगरको प्रगतिशील कर प्रणाली निर्माण गर्ने नीतिका आधारमा यो प्रणाली विकास गरिएको बताए ।

वाषिर्क २ लाख रुपैयाँसम्मको राजस्व मूल्याङ्कनको अधिकार वडालाई दिइएको छ । सफ्टवेयरको प्रयोगात्मक सिकाइका लागि महानगरले भोलि र पर्सि २ दिन वडालाई ४ समूहमा बाँडेर तालिम सञ्चालन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment