Comments Add Comment

म्यानचेष्टर सिटीका फेरान टोरेसले भने – मेस्सीविनै हाम्रो टिम राम्रो छ

२ असोज, काठमाडौं । यसै सिजन प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमा अनुबन्ध भएका स्पानिस खेलाडी फेरान टोरेसले आफ्नो टिमको क्षमतामा कुनै शंका नभएको बताएका छन् ।

लिओनल मेस्सीले बार्सिलोना छाड्ने निर्णय सार्वजनिक गर्दा म्यानचेष्टर उनलाई क्लब भित्र्याउन सबैभन्दा अघि देखिएको थियो । त्यसैबेला सिटीले ला लिगाबाट युवा फरवार्ड टोरेसलाई अनुबन्ध गरेको थियो ।

स्पानिस क्लब भ्यालेन्सियाबाट उनी २१ मिलियन पाउण्डमा सिटीमा अनुबन्ध भएका थिए । सिटीले लरे सानेको स्थानमा उनलाई अनुबन्ध गरेको हो । २० वर्षीय यी खेलाडीलाई युरोपकै अन्य ठूला क्लबहरुले समेत चासो देखाएका थिए तर उनले पेप ग्वार्डिओलाको टिममा जाने निर्णय गरे ।

सिटीको चाहना र पेपसगको कुराकानीपछि आफू सिटी जान सहमत भएको फेरान टोरेसले बताएका छन् । ‘जब मैले पेपसँग कुरा गरेँ उनले मलाई सिटी आउने भने । मेरो आगमन क्लबको लागि महत्वपूर्ण हुने र क्बमा राम्रो स्थान पाउने भनेर उनले भने । त्यसपछि म यहाँ आउन सहमत भएँ,’ टोरेसले भने ।

उता मेस्सी भने अन्तत: बार्सिलोनामै बस्ने भए । तर टोरसले आफ्नो टिमको क्षमतामा कुनै शंका नभएको जनाए । ‘मेरो विचारमा मेस्सी बाहेक नै हाम्रो टिम राम्रो छ,’ उनले थपे, ‘कुनै पनि टिमविरुद्ध प्रतिस्पर्धा गर्नका लागि हाम्रो समूहमा खेलाडीहरु छन् र हामी च्याम्पियनस लिगमा राम्रो गर्न सक्षम छौँ ।’

टोरेसले लिभरपुल बलियो टिम रहेको भन्दै गत वर्ष उनीहरुले प्रमाणित गरेको समेत बताए । यस सिजन सिटी पनि प्रिमियर लिगको उपाधि जित्न सक्षम रहेको उनले बताए । ‘मेरो व्यक्तिगत आकाँक्षा भनेको म सधैँ गोल गर्न चाहन्छु र मेरो टिममेटलाई सहयोग गर्न चाहन्छु । तर त्योभन्दा माथि म खल्न चाहन्छु र टिममा मेरो स्थान बनाउन चाहन्छु ।’

गति क्षमता र शारीरिक संयोजनले गर्दा फेरान टोरेसले अहिल्यै क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न थालिएको छ । उनी रोनाल्डो जस्तै बन्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment