Comments Add Comment

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

७ कात्तिक, ओखलढुंगा । ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।

तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ ।

आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गरेका छन् । अहिलेसम्म १६ हजार २७५ रुपैयाँ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment