Comments Add Comment

वीरगञ्ज नाका खोल्न कांग्रेसको माग

१७ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसले वीरगञ्ज नाका खोल्न नेपाल सरकारसँग माग गरेको छ । सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ‘ख’ को क्षेत्रीय कार्य समितिले वीरगञ्ज नाका खोल्न माग गरेको हो ।

पर्साको क्षेत्र नम्बर १ ‘ख’ का क्षेत्रीय कार्य समितिका सभापति अरविन्दकुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई सोमबार ज्ञापनपत्र बुझाएका थिए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगञ्ज नाकामा आवगमन सहज बनाउन कांग्रेसले सरकारसँग माग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका नाका भारतले कात्तिक ६ गतेदेखि एकतर्फी रुपमा खोलिसकेको छ । नेपाल सरकारले भने कात्तिक ३० गतेसम्मका लागि नाका बन्द नै रहने जनाएको छ ।

नाका बन्द हुँदा नेपाल भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि असर पारेको दाबी कांग्रेसको छ । सँगसँगै तराई मधेसवासीको प्रमुख चाड दिपावली तथा छठ नजिकै आइरहेको अवस्थामा नाका बन्द हुँदा आवागमन तथा व्यापार व्यवसायमा समेत कठिनाइ परेकोले नाका खोल्नुपर्ने तर्क कांग्रेस क्षेत्रीय कार्य समितिले गरेको छ । ज्ञापन पत्रमा वीरगञ्जमा पसल व्यापार खोल्ने समय सीमा बढाउन समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment