Comments Add Comment
संस्थापन-पौडेल समूह बैठक :

१६ बुँदेको प्रष्ट जवाफ चाहन्छ पौडेल समूह

१६ कात्तिक, काठमाडौं । १७ असोजमा बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधपत्रबारे जवाफ दिएपछि महामन्त्री पूर्णबहादुर खड्काले भनेका थिए-केही विषयमा उपसभापति विमलेन्द्र निधिले जवाफ दिनु हुनेछ ।

निधिले अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरूलाई वितरण गरेको क्रियाशील सदस्यताबारे जवाफ दिन नपाउँदै अर्जुनरसिंह केसी, गगन थापा लगायतका केही नेतालाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि पूर्व निर्धारित केन्द्रीय समितिको बैठक बिथोलियो ।

पार्टी कार्यालय सानेपामा १९ र २५ असोजका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेन ।

दसैं लगतै पार्टी सभापति शेरबहादुर देउवाले २१ कात्तिकका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । त्यसको पूर्वसंध्यामा फेरि पौडेल र संस्थापन समूहका केही नेताहरूबीच सोमबार छलफल हुँदैछ । पौडेल समूहले भोलिको छलफलमा आफूहरूले उठाएका १६ बुँदेको प्रष्ट जवाफ चाहेको देखिन्छ ।

पौडेल समूहका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी भन्छन्, ‘हामीले विधान विपरित भएका गतिविधि सच्याउन माग गर्दै आएका छौं । त्यसमा संस्थापन पक्षको प्रष्ट धारणा आउनुपर्छ ।’

पौडेल समूहकै अर्का नेता डा. मिनेन्द्र रिजाल पनि पार्टी सभापतिले आफ्नो पक्षले चित्त बुझ्दो जवाफ पाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अघिल्लो बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले जवाफ दिइसक्नुभयो, सोमबार उपसभापति बिमलेन्द्र निधिले दिनुपर्छ । त्यसपछि सभापतिले हाम्रो चित्त बुझ्यो कि बुझेन सोध्नुपर्छ ।’

पार्टी विधान विपरित भएका निर्णयहरू सच्याए अझै पनि सहमतिका साथ अघि बढ्न सक्ने नेताहरू बताउँछन् । तर संस्थापन पक्षले पेलेर अगाडि बढ्न खोजे २१ कात्तिकबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक सहज नहुने उनीहरूको भनाइ छ ।

संस्थापन पक्षले भने भोलिको बैठकमा क्रियाशील सदस्यताबारे प्रष्ट पारेपछि महाधिवेशन कार्यतालिकाबारे छलफल होस् भन्ने चाहेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्, ‘धेरै विषय अघिल्लो बैठकमा प्रष्ट भइसक्यो । अरु पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यताबारे उहाँहरूले आशंका निवारण गर्नुपर्छ । त्यसपछि महाधिवेशनमा छलफल गर्छौं ।’

डा. महतका अनुसार पूर्व निर्धारित मिति (२०७७ फागुन)मा पार्टीको १४औं महाधिवेशन गर्न कठिन देखिन्छ । तर यसबारे पार्टी सभापतिको कुनै प्रस्ताव नरहेको भन्दै उनले भने, ‘हाम्रो प्रस्ताव भन्ने केही छैन । छलफल गरेर जे निष्कर्ष निस्कन्छ, त्यस आधारमा अगाडि बढ्न सभापतिजी तयार हुनुहुन्छ ।’

कतिपय नेताहरूले भने यसलाई देउवाको चलाखी भनेका छन् । किनकी वरिष्ठ नेता पौडेल महाधिवेशनको मिति सार्ने प्रस्ताव सुन्न पनि तयार छैनन् । महाधिवेशनको नयाँ मिति प्रस्ताव गर्नासाथ कार्यकाल लम्ब्याउन खोजेको आरोप लाग्ने भएकाले देउवाले यो विषय खुला छलफलमा छोड्न खोजेका हुन् ।

त्यसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहयोगी बन्न सक्ने एक नेता बताउँछन् । हुन पनि सिटौलाले सार्वजनिक रुपमा नै फागुनमा सम्भव छैन, नयाँ कार्यतालिका बनाउनुपर्छ भनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment