Comments Add Comment

पैँचोमा मल दिने समझदारीबाट पछि हट्यो बंगलादेश

१६ कात्तिक, काठमाडौं । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको सरकारी अधिकारीहरुले बताएका छन् ।

दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले अनलाइखबरलाई बतायो ।

‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।

जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका अधिकारीले बताएका छन् ।

मल ल्याउने प्रक्रियामै बित्यो समय

धान भित्र्याएपछि अहिले तराईका धेरैजसो स्थानमा गहुँ छर्ने काम लगभग सकिएको छ । अबको दुई सातापछि गहुँमा युरिया छर्नु पर्छ । किसानले मल पाउनु त परको कुरा सरकार अझै मल ल्याउने प्रक्रियामै रुमल्लिएको छ ।

‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी समकक्षी शेख हसिनाबीच छलफलपछि तीन चरणमा भएको छलफलमा पनि मल ल्याउने मोडालिटी नटुङ्गिएको मन्त्रालयका ती अधिकारीले बताए ।

दुई प्रधानमन्त्रीबीच भएको समझदारीपछि नेपाललाई मल दिनेबारे बंगालदेशले पहिलो समझदारी पत्रको मस्यौदा नेपाल पठाएको थियो ।

उक्त मस्यौदामा नेपालले केही थप घट गरेर बंगालदेशलाई पुनः दोस्रो मस्यौदा पठायो । नेपालको प्रस्तावमा पुनः बंगालदेशले संशोधन गरेर पैचोंबाट पछि हटेर जीटूजीमार्फत मल किन्न तेस्रो प्रस्ताव गरेको मन्त्रालय स्रोत बताउँछ ।

‘बंगलादेशको दोस्रो र प्रक्रियागत तेस्रो मस्यौदामा गरेको प्रस्तावपछि नेपालले अझै बंगलादेशलाई अन्तिम मस्यौदा पठाउन सकेको छैन,’ ती अधिकारी भन्छन् ‘यो विषय अझै लम्बिने देखिन्छ ।’

‘बोरा थापेर बसेका छौं’

सरकारले मल ल्याउने विधि पुरा गरे आफूहरु मल ल्याउनका लागि बोरा नै थापेर मात्रै बसेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । मल नेपालसम्म ल्याउने कम्पनीको टेण्टर सकिएर अब एलसी खोल्न मात्रै बाँकी रहेको तर मल कसरी ल्याउने भन्ने नै नटुगिंएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

‘जेएन ट्रेड यूएयीले ८२.२४ प्रतिमेट्रिक टन लागतमा मल ल्याउन टेण्डर पाएको छ, हामीले कम्पनीलाई एलसी खोल्न पनि भनेका छौँ तर मल ल्याउने विषय टुङ्गिएको छैन,’ भण्डारीले थपे, ‘पैंचो पैंचो भनेर एक महिना ३२ दिन बित्यो अब नेपाल सरकारले बंगलादेश सरकारसंगै मल किन्ने निर्णयमा पुगेका छौँ ।’

यसै वर्षको विनियोजित बजेट मार्फत मल किन्नका लागि अर्थमन्त्रालयको सहमति मागिएको पनि भण्डारीले बताए । मल खरिद टुङ्गिएको २० दिनमै नेपालमा मल आइपुग्ने उनको दाबी छ ।

गहुँलाई मल खोई ?

गहुँका लागि चाहिने ५० हजार मेट्रिक टन युरिया मल खरिदको टेण्डर नेकपा अध्यक्ष प्रचण्डका घरबेटीसमेत रहेका ठेकदार शारदा प्रसाद अधिकारीको शैलुङ इन्टर प्राइजेजले पाएको थियो । गत असारमा भएको ठेक्का सम्झौता अनुसार युरिया मल नेपाल आइसक्नुपर्नेमा शैलुङले मल नल्याउने निश्चित भएपछि कृषि मन्त्रालयले गहुँ, तोरी र तरकारी बालीमा छर्नकालागि मलको जोहो सुरु गरेको थियो ।

विभिन्न देशमा गरिएको आग्रहपछि बंगलादेश नेपाललाई मल दिन तयार भएको थियो । तर अन्तिममा आएर बंगालादेशले पैंचोमा मल नदिने बताएपछि गहुँ, तोरी र तरकारी बालिको लागि मल अभाव हुने भएको छ ।

तर कम्पनीको गोदाममा १० हजार मेट्रिक टन पोटास मौज्दात रहेको र २० हजार मेट्रिक टन डीएपी मल बाटोमा आउने क्रममा रहेकाले उक्त मल गहुँमा हाल्न सकिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment