Comments Add Comment

अगाडि बढ्यो बीआरआईलाई काउन्टर गर्ने ‘ब्लु डट नेटवर्क’

जापान र अष्ट्रेलियाको पनि साथ

१७ कात्तिक, काठमाडौं । इन्डोप्यासेफिक क्षेत्रमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई काउन्टर गर्नका लागि अमेरिकाले ब्लु डट नेटवर्क अन्तर्गत गुणस्तरीय परियोजना निर्माण गर्ने तयारीलाई अगाडि बढाएको छ ।

दुई दिन अगाडि भियतनाममा सम्पन्न इन्डोप्यासेफिक क्षेत्रको तेस्रो विजनेस फोरमको बैठकमा यस विषयमा विस्तृतमा छलफल भएको छ । अब अमेरिकाले यसको विस्तृत मोडालिटी तयार पार्नेछ र अन्य मुलुकहरुसँग थप छलफल गर्नेछ ।

अमेरिकाले सो परियोजना जापान र अष्ट्रेलियासँग मिलेर अगाडि बढाउने सहमति भइसकेको छ । सो नेटवर्कमा सहभागी हुनको लागि भारत पनि सकारात्मक भइसके पनि औपचारिक पार्टनर भने भइसकेको छैन । विशेषतः बिआरआईका परियोजनाहरु असमाबेशी, अपारदर्शी र वातावरणीय हिसाबले प्रतिकूल भएको भन्दै सन् २०१९ मा अमेरिकाले सो प्रस्ताव गरेको थियो ।

सो नेटवर्कको उद्देश्य सरकार, निजी क्षेत्र र नागरिक समाजलाई एकै ठाउँमा ल्याई अन्तर्राष्ट्रिय मापदण्ड र कानुनमा आधारित पूर्वाधारको निर्माण गर्नु हो ।

भियतनाममा बसेको सो बैठकले गरेको निर्णयमा यस सम्वन्धी परियोजनाको विकास र लगानीका सम्बन्धमा अमेरिकाले काम गरिरुहेको उल्लेख गरेको छ ।

निर्णयमा भनिएको छ, ‘खुला, समावेशी, पारदर्शी, आर्थिक रुपमा व्यवहारिक र वातावरणीय र सामाजिक रुपले दीर्घकालीन हुने पूर्वाधार निर्माणका लागि अमेरिकाले पहल गरिरहेको छ । सो बैठकलाई अमेरिकी विदेशमन्त्री माइक पम्पियोले सम्बोधन गरेका थिए ।’

वार्षिक रुपमा हुने सो फोरमको बैठकमा अमेरिकी उच्च अधिकारीहरुले इन्डोप्यासेफिक क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

बैठकमा ऊर्जा, पूर्वाधार, डिजिटल अर्थतन्त्र, मार्केट अर्थतन्त्र, अमेरिकाको इन्डोप्यासेफिक साझेदारी र वाणिज्य सम्बन्धी अवसर लगायतका विषयमा गहन छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सो कार्यक्रममा अमेरिकी अधिकारीहरुले भारतलगायत देशमा अमेरिकाको प्रत्यक्ष लगानीमा ठूलो वृद्धि भएको जानकारी दिएका थिए । अमेरिकाले यस क्षेत्रका विभिन्न क्षेत्रिय संगठनसँगै देशहरुसँगका लगानी, पूर्वाधार लगायतका क्षेत्रमा साझेदारी अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment