Comments Add Comment

अस्तित्व रक्षाको संघर्षमा हुलाक

१७ कात्तिक, काठमाडौं । २०३१ सालमा भारत गएका लाहुरेहरूलाई लक्षित गर्दै हुलाक सेवा विभागले सुरु गरेको विप्रेषण (रेमिट्यान्स) सेवा यतिबेला बन्दप्रायः अवस्थामा पुगेको छ ।

झण्डै तीन दशकपछि सुरु भएका निजी संस्था मालामाल भइरहँदा सोही किसिमको विप्रेषणको काम गर्ने सरकारी स्वामित्वको केन्द्रीय धनादेश कार्यालय भने बन्दप्रायः अवस्थामा पुगेको हो ।

भारत सरकारले लाहुरेको पेन्सन बापतको रकम पठाएर जेनतेन चालु राखेको अन्तर्राष्ट्रिय धनादेश कोषमा गत वर्षदेखि सो पैसासमेत जम्मा हुन छाड्यो । पेन्सनबापत हरेक वर्ष २७ लाख भारतीय रुपैयाँ भारत सरकारले कोषमा राख्ने गरेको थियो । तर गत वर्षदेखि सो रकमसमेत कोषमा राख्न छाडेको केन्द्रीय धनादेश कार्यालयकी प्रमुख जानुका सुवेदीले जानकारी दिइन् । ‘चौमासिक रूपमा नौ लाख भारतीय रुपैयाँ राख्दै आएकोमा गत वर्षदेखि सो रकम पनि जम्मा हुन छाडेको छ’ सुवेदीले भनिन् ।

हुलाक बचत बैङ्क नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३/०३४ देखि सञ्चालित हुलाक बचत बैङ्क समयअनुसार चल्न नसक्दा दयनीय अवस्थामा पुगेको छ । सो बैङ्कको अहिलेसम्को नाफा केवल ३२ लाख रहेको सुवेदीले जानकारी दिइन् ।

आव ०५०/५१ मा देशभर ११७ शाखामार्फत् सेवा दिँदै आएको हुलाक बचत बैङ्कको शाखा यतिबेला ६५ वटामा सीमित भएको छ । त्यसमा पनि ५४ वटा सामान्य नाफामा छन् भने ११ शाखा घाटामा छन् ।

साधारण बचतमा ६ प्रतिशत र ज्येष्ठ नागरिक बचतमा ७ प्रतिशतसम्म ब्याज दिने सो बैङ्क आमनेपालीमा बचतको बानी विकास गर्ने उद्देश्यका साथ स्थापना भएको थियो । गाउँगाउँमा बैङ्किङ पहुँच पुग्नुअघि लोकपि्रय रहेको यो सेवा आधुनिक प्रविधि अँगाल्न नसक्दा कर्मकाण्डी बनेर अवसानको बाटोतिर लागेको छ ।

बैङ्कले अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत्का कर्मचारीमा रु.४० करोड ३३ लाख ऋण प्रवाह गरेको छ भने बैङ्कको कुल निक्षेप एक अर्ब ७५ करोड ६५ लाख १३ हजार ७८४ रहेको हुलाक सेवा विभागले जनाएको छ । हाल बैङ्कमा खातावालको संख्या ६२ हजार ४७५ छन् ।

विशाल कार्यक्षेत्र, संकुचित सेवा

हुलाक भन्नेबित्तिकै चिठ्ठीपत्र आदानप्रदान गर्ने अड्डा हो भन्ने लाग्छ । तर वाणिज्य बैङ्कले गर्ने बचत र ऋण प्रवाहको अधिकारदेखि विप्रेषणको कारोबार र कुरियरको कामसम्म गर्ने अधिकार पाएको गोश्वारा हुलाक कार्यालयको कार्यक्षेत्र आफैँमा विशाल छ ।

अत्यावश्यक सेवाको सूचीमा पहिलो नम्बरमा पर्ने, युद्धको समयमा शत्रु सेनाले समेत अवरोध गर्न नपाउने जस्ता सुविधा पाएको हुलाक सेवालाई अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा परराष्ट्र मन्त्रालयपछिको महत्वपूर्ण संस्था मानिन्छ ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ ले डाँक सेवालाई अत्यावयक सेवाको पहिलो सूचीमा राखेर यसमा हड्ताल र अवरोध गर्न नहुने भनेको छ । यति महत्वपूर्ण हुलाक सेवा अहिले किन यति कमजोर बन्यो ? आफ्नो अधिकारको उपयोग किन गर्न सकेन ? यसको सोझो उत्तर हो- समय अनुसार चल्न नसक्नु ।

लकडाउनपछि चार्टर्ड एवं नियमित उडान सुरु भएसँगै निजी कुरियर कम्पनीले सामान पठाउन सुरु गरिसके । उनीहरूले विभिन्न एयरलाइन्स कम्पनीसँग समन्वय गरेर काम चलाइरहेका छन् । तर हुलाक सेवा विभागले भने आफूले सम्झौता गरेको थाइ एयरलाइन्सले नेपालमा नियमित उडान नगरेको भनेर अन्तर्राष्टि्रय कुरियर सेवा नै बन्द गरेको छ ।

नेपाली हुलाकको संगठन संरचना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत् रहेको हुलाक सेवा विभाग मातहत चारवटा महत्वपूर्ण कार्यालय छन् । यीमध्ये एउटा गोश्वारा हुलाक कार्यालय हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन एवं हुलाक बचत बैङ्कको व्यवस्थापन समेत गर्ने गर्छ । साविकको मध्यमाञ्चल क्षेत्रीय हुलाक कार्यालय खारेज भएपछि त्यसको काम समेत यही कार्यालयले सम्हाल्दै आएको छ ।

अर्काे छ, केन्द्रीय धनादेश कार्यालय, जसलाई हुलाक विभागको सम्पूर्ण आर्थिक सेवासँग सम्बन्धित कार्य र धनादेश सेवाको केन्द्रीय हिसाब राख्ने जिम्मेवारी दिइएको थियो । यसलाई वेस्टर्न युनियन मनी ट्रान्सफरबाट हुने विप्रेषण रकमको केन्ऽीय कारोबार गर्ने अधिकार समेत दिइएको भए पनि यसको उपयोग नै भएको छैन ।

त्यस्तै, हुलाक टिकट डिजाइन, छपाई, वितरण लगायतका जिम्मेवारी पाएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय छ । हुलाक सेवाका सबै कर्मचारीलाई प्रशिक्षण दिने हुलाक प्रशिक्षण केन्द्र हुलाक सेवा विभागको अर्काे महत्वपूर्ण कार्यालय हो ।

अहिले गोश्वारा हुलाकबाहेक पहिलेको पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रीय हुलाक कार्यालय सञ्चालमा छन् । काठमाडौंको गोश्वारा कार्यालय अन्तर्गत् काठमाडौं जिल्लाको २० स्थानमा इलाका हुलाक कार्यालय र सो अन्तर्गतका ५२ स्थानमा अतिरिक्त हुलाक कार्यालय एवं ३ स्थानमा हुलाक काउण्टरहरु छन् ।

हाल धनादेश सेवातर्फ देशभर ७८ हुलाक कार्यालयबाट वित्तीय कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय धनादेश कारोबार नेपालले अहिलेसम्म भारतबाहेक अरू मुलुकसँग गरेको छैन । भारतले पनि धनादेश कोषमा रकम राख्न छाडेपछि धनादेश सेवा पनि आन्तरिक सेवामा सीमित भएको धनादेश कार्यालयकी प्रमुख सुवेदी बताउँछिन् ।

असफल हुलाक बैंकिङ

विश्व हुलाक संघको सदस्यता लिएका मुलुकमध्ये नेपाली हुलाकको अवस्था निकै कमजोर देखिन्छ । दक्षिण एसियाकै भुटान, माल्दिभ्स जस्ता मुलुकले आधुनिकीकरण गरेर हुलाक सेवालाई सफल बनाइरहँदा नेपाली हुलाक सेवा भने उपेक्षित निकाय बन्न पुगेको छ ।

हुलाक सेवा विभागका निर्देशक यज्ञराज भट्ट समयअनुसार प्रतिस्पर्धी बन्न नसक्दा हुलाकका सेवाहरूप्रति आममान्छेको चासो कम हुँदै गएको बताउँछन् । एउटै सेवा दिने निजी क्षेत्रले दू्रत सेवा दिँदा सोहीअनुसार प्रतिस्पर्धामा जान नसकेका कारण नेपाली हुलाक कमजोर बनेको उनले बताए ।

२०४८ सालमा प्रशासन सुधार आयोगले हुलाकलाई आधुनिकीकरण गर्दै बहुमत सेयर नेपाल सरकारको हुने गरी निजीकरण गर्न सुझाव दिएको थियो । सोही आयोगको सुझाव अनुसार धेरै निकायलाई निजीकरण गरियो तर हुलाकलाई न निजीकरण गरियो न त चुस्त बनाइयो । परिणाम, अहिले नेपाल सरकारको सबैभन्दा कमजोर निकायको रुपमा हुलाक सेवा सञ्चालनमा छ ।

२०५० सालमा २०२० को हुलाक ऐन र नियमावली संशोधन गरेर हुलाकले दिँदै आएका कतिपय सेवा निजी कम्पनीले समेत गर्न सक्ने व्यवस्था गरेपछि ओरालो लाग्दै गयो नेपाली हुलाक सेवा । २०५५ सालसम्म आइपुग्दा हुलाक सेवाका महत्वपूर्ण पदहरू हुलाकी र हल्काराको स्थायी दरबन्दीमा पदपूर्ति गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई दिइयो ।

त्यसपछि अहिलेसम्म लोकसेवाले हुलाक सेवामा कुनै पनि कर्मचारीको विज्ञापन नगरेका कारण झण्डै आधा दरबन्दी खाली छ । धेरै हुलाक कार्यालय हुलाकी-हल्काराको भरमा छ ।

व्यक्तिगत पत्र संख्या घट्यो

काठमाठौं उपत्यकाभित्रको बैङ्क हरियो, उपत्यका बाहिरको बैङ्क रातो र विदेश पठाउन नीलो रंगको पत्र मञ्जुषा काठमाडौंका सडकहरुमा कताकतै अझै पनि देख्न सकिन्छ । यी तीन किसिमको मञ्जुषामध्ये हरियो र रातोमा अहिले पत्र खस्नै छाडेको छ । नीलो रंगको पत्र मञ्जुषामा भने पत्रहरु अझै खस्ने गरेका छन् ।

गोश्वारा हुलाक कार्यालय काठमाडौंकी सम्झना देवकोटाका अनुसार, विदेशी पर्यटकहरुले नीलो मञ्जुषामा पोस्ट कार्ड खसाउने गरेका छन् । अहिले हालखबर सोध्ने-भन्ने व्यक्तिगत पत्र नभए पनि कागजपत्र पठाउने काम रोकिएको छैन ।

विदेशबाट उपहार पठाउने, नेपालबाट विदेश सामान पठाउने क्रम खासै नघटेको देवकोटा बताउँछिन् । ‘बैङ्कहरुले आर्थिक वर्षको मसान्तमा पठाउने पत्र, अदालतका मिसिल, विभिन्न कार्यालयले अर्काे कार्यालयलाई पठाउने पत्रहरु पनि हुलाकबाटै जान्छन्’, उनी भन्छिन् ।

चिठीको सिजनमा यस वर्ष फुर्सद्

दशैं-तिहारको मौसम हुलाकका कर्मचारीको बैङ्क सिजन मानिन्थ्यो । आर्थिक वर्षको अन्तिममा कार्यालयले व्यक्तिलाई पठाउने पत्र र दसैं तिहारमा विदेशबाट आउने वा विदेश पठाउने सामानहरु पर्याप्त आउने गरेको थियो ।

तर यो वर्ष हुलाकको सामान ओसार्ने ठेक्का पाएको थाइ एयरलाइन्सको नेपाल उडान लकडाउनका कारण बन्द भएसंगै विदेश पठाउने र त्यहाँबाट आउने सामानहरु रोकियो । गोश्वारा हुलाक कार्यालयका अनुसार यो वर्ष दसैंमा मानिसहरुले टीका-जमरा र उपहारहरु पठाउने काम पनि गरेनन् ।

सफलताको उदाहरण : जापानी हुलाक बैङ्क

विश्वका केही मुलुक यस्ता पनि छन्, जसमा हुलाक सेवा अन्तर्गत् दिइने बैंकिङ सेवा उत्कृष्ट मानिन्छ । विश्वका यस्ता उत्कृष्ठ हुलाक बैंकिङ सेवा जापान, बंगलादेश लगायतका छन् ।

जापानको हुलाक सेवा अन्तर्गत्को कम्पनी समूहमा जापान पोष्ट होल्डिङ कम्पनी लिमिटेड, जापान पोष्ट बैङ्क कम्पनी लिमिटेड, जापान पोष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र इन्टरनेसनल एटिएम सर्भिस लिमिटेड छन् । जापान पोष्ट कम्पनी लिमिटेडको संचालक संस्था जापान पोष्ट होल्डिङ कम्पनी सन् १८७१ मा स्थापना भएको थियो ।

त्यसको एक वर्षपछि जापानले सबैतिर नेटवर्क स्थापना गरेर हुलाक सेवा विस्तार गर्यो । १८७७ मा विश्व हुलाक संघको सदस्य बनेको जापान हुलाक सेवाले १८८० देखि अन्तर्राष्ट्रिय धनादेश सेवा सुरु गरेको थियो । १८९२ मा पार्सल सेवा सुरु गरेको जापानी हुलाक सेवाले १९०६ देखि विप्रेषण सेवा थालेको थियो ।

आधुनिकीकरणको क्रममा जापानले २००७ मा जापान पोष्ट ग्रुप नामको कम्पनी समूह स्थापना गर्यो । समूहमा जापान पोष्ट होल्डिङ, जापान पोष्ट सर्भिस कम्पनी, जापान पोष्ट नेटवर्क कम्पनी, जापान पोष्ट बैङ्क कम्पनी र जापान पोष्ट इन्स्योरेन्स कम्पनी छन् ।

२०१५ देखि यो कम्पनी समूहलाई जापान स्टक एक्सचेन्जमा दर्ता गरेर १० प्रतिशत सेयर सर्वसाधारणबाट समेत आहृवान गरियो । यसरी समय अनुसार परिवर्तन गर्दै लगेको जापान पोष्ट बैङ्क विश्वकै उदाहरणीय हुलाक बैङ्कको रुपमा विकास भएको छ ।

यता, नेपालको हुलाक बचत बैङ्कमा भने बचतको बैङ्क सबै सर्वसाधारणलाई खुला गरे पनि ऋण प्रवाह सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका कार्यालयका कर्मचारीबाहेक अरूलाई गर्न नसक्ने संकुचित कार्यक्षेत्र लिएर बसेको छ । यसले गर्दा पनि नेपालको हुलाक बचत बैङ्कमा कसैको चासो देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment