+
+
Shares

काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते २२:०२

२० कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा बिहीबार साँझदेखि १२ वर्षे श्री नरदेवी श्वेतकाली नाच सुरु भएको छ । बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा शुरु भएको नाच तीन दिनसम्म सञ्चालन हुनेछ ।

बिहीबार भक्तपुरबाट विधिवत् रूपमा देवीको प्रतिमा ल्याएर उनीहरूलाई बनेपाको पुलबजारमा स्वागत भएपश्चात नाचको तयारी हुन्छ ।

नरदेवी श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच पहिलो चरणमा बिहीबार साँझ ८ बजेबाट शुरु भएर राती १२–१ बजे सकिन्छ । दोस्रो दिन शुक्रबार सूर्योदय भएसंगै करुणामय (सुथ:माजु)को विधिवत् नाच सुरु भएसँगै दोस्रो चरणको देवीनाच आरम्भ हुनेछ ।

दोस्रो दिनको नाच शुरु हुने बेलामा सुथ:माजुको अनुहारमा घाम आउनुपर्छ ।  दोश्रो दिन घाम झुल्के सँगै शुरु हुने नाच साँझ ८ बजेसम्म संचालन हुने बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्यले जानकारी दिए ।

प्रमुख शाक्यका अनुसार अन्तिम दिन शनिबार लायकु डबली तथा आखा:मा विधिवत् पूजा सम्पन्न भएपछि देवीलाई काठमाडौं नरदेवीस्थित देवीको द्य:छेंमा भिर्त्याइने कार्यक्रम हुन्छ ।

नरदेवीको स्थापना गुणकादेवको पालामा भएको र देवीनाचको सुरुवात मल्ल राजा अमर मल्लको पालामा सुरु भएको मानिन्छ । नरदेवीबाट सुरु हुने देवी नाच १२ वर्षभित्रमा १२ ठाउँमा आयोजना गरेर सम्पन्न गर्ने प्रचलन रहँदै आएको छ ।

श्वेतकालीको धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष पिशाच चतुर्दशी, पाहाँचहेका दिन नरदेवी डबलीमा श्वेतकाली देवीनाच सञ्चालन हुँदै आएको छ भने प्रत्येक बाह्र–बाह्र वर्षमा १२ वर्षे देवीनाच पर्वअन्तर्गत नरदेवीस्थित देवीको डबलीका साथै हनुमानढोका दरवारस्थित तलेजु भवानी, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडिको डबली, थाना अगाडिको डबली, नासल चोक र कीर्तिपुर, त्यस्तै ललितपुर दरवार क्षेत्रको डबली, भक्तपुर दरवार क्षेत्रका प्राचीन डबलीहरुका साथै बनेपाको लायकु डबलीमा १२ वर्षे देवीनाच पर्व सञ्चालन गरिने परम्परा रहेको छ । बनेपामा रहेकी चण्डेश्वरीदेबी पनि उक्त नाचमा सामेल छ ।

देवीनाचको स्थानीय व्यवस्थापनको जिम्मा बनेपा नगरपालिकाले लिएको छ भने नाचको सम्पूर्ण खर्च नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले गर्दै आएको छ ।

परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वा: समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक  एवं बनेपा ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?