Comments Add Comment

वीरगञ्जमा विद्यालय आउन अभिभावकको मञ्जुरी अनिवार्य

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा कोरोना महामारीका कारण सात महिनादेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । महानगरका सामुदायिक विद्यालय पनि सोमबारदेखि खुलेका छन् । कक्षा ८ देखि माथिल्लो कक्षाका विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमा बोलाएरै पठनपाठन सुरु गरिएको हो ।

यसअघि प्याब्सनले आयोजना गरेको बैठकमा कात्तिक ११ गतेदेखि नै विद्यालय खोल्ने भनिएपनि त्यसो भने हुन सकेन । निजी तथा आवासीय विद्यालय पनि कात्तिक १६ गतेदेखि मात्रै सञ्चालनमा आएका छन् । तर सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमा विद्यालय पठाउनका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरेका छन् ।

त्यसका लागि विद्यालयले अभिभावकसँग लिखित सहमति लिइरहेका छन् । विद्यार्थीलाई कारणबस कोरोना संक्रमण भइहालेको अवस्थामा विद्यालय दोषी नहुने गरी मञ्जुरी लिने गरिएको हो ।

नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्दा कथम कदाचित संक्रमण भइहालेको अवस्थामा अभिभावकले निहुँ खोज्ने अवस्था नआओस् भनेर लिखित सहमित लिने गरिएको विद्यालयहरुले जनाएका छन् ।

तर सरकारले कोरोना महामारी संक्रमणको जोखिमबाट बालबालिकालाई जोगाउँदै सिकाइ प्रणाली सञ्चालन गर्न वैकल्पिक शिक्षा प्रणालीमा जोड दिइएको छ । त्यसका लागि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।

सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर भएका विद्यार्थी, एमएम रेडियोमा पहुँच भएका विद्यार्थी, टेलिभिजनमा पहुँच भएका विद्यार्थी, कम्युटर भएको तर अनलाईन कनेक्टिभिटि नभएका विद्यार्थी, इन्टरनेट तथा सूचना प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी गरी पाँच वटा समूहमा वर्गीकरण गरेर वैकल्पिक माध्यमबाट शिक्षा दिन भनिएको छ ।

अवस्था विश्लेषण गरी विद्यालयले आफ्नो क्षेत्रभित्रका सबै बालबालिकाको सिकाइ सहजीकरण गर्ने कार्य योजना तयार गरी पालिकासँग समन्वयमा उपयुक्त वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था छ ।

तर महानगरपालिकामा नयाँ विकल्प अपनाइएको छ । अभिभावकको लिखित मञ्जुरी लिएर विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर अध्यापन गराउन सुरु गरिएको छ । कोभिड १९ संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा सतर्कताको पूर्ण पालनासहित विद्यालय सञ्चालन गरिएको दाबी उनीहरुले गरेका छन् ।

विद्यार्थीलाई मास्क अनिवार्य गरिएको र भौतिक दूरी पालना गराइएको उनीहरुले दाबी गरेका छन् । विद्यालयले सेनिटाइजर र हात धुने ठाउँको व्यवस्थापन मिलाउनु पर्नेछ ।

नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य छोटेलाल प्रसादले पहिलो दिन भएर विद्यार्थी कमै मात्र विद्यालयमा आएको जानकारी दिए । ‘आवश्यक तयारी गरिसकेका केही विद्यालय मात्रै सोमबार सञ्चालन भए, न्यून संख्यामा विद्यार्थी सहभागी थिए ।’ उनले भने ।

अभिभावकको लिखित मञ्जुरी अनिवार्य गर्नु आवश्यक देखिएकोले शिक्षक महासंघ लगायत शिक्षक संघ संगठनले नै सल्लाह दिएको उनको भनाइ छ ।

‘जोखिमको राज्यले जिम्मा नलिएको अवस्था छ, स्थानीय सरकारले पनि जिम्मा लिँदैन । भने विद्यालयले कसरी जिम्मा लिन सक्छ र ?’ उनले भने ‘ त्यसैले अभिभावकको लिखित सहमति अनिवार्य गरेका हौं ।’

वीरगञ्ज–२४ बहुअरीस्थित शारदा माविका शिक्षक समेत रहेका छोटेलालले पहिलो दिन विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने उपायहरुका बारेमा समेत सिकाइएको बताए ।

अभिभावकले विद्यार्थीलाई भौतिक रुपमा विद्यालय पठाउन नचाहेको अवस्थामा ती बालबालिकाकालाई उपयुक्त वैकल्पिक माध्यमबाट अध्यापन गराउने विद्यालयहरुले दावी गरेका छन् ।

कात्तिक १३ गते छिटपुट रुपमा खुलेका निजी विद्यालय आइतबारबाट भने धेरै संख्यामा खुलेको छ । ८ कक्षा भन्दा माथिको कक्षा सञ्चालन गरेको निजी विद्यालयहरुले अवस्था अनुकुल बन्दै गएको अवस्थामा तल्ला कक्षाहरु पनि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरिरहेका छन् । उनीहरुले विद्यार्थीमा संक्रमण देखिएको अवस्थामा विद्यालय जिम्मेवार नहुने भनेर लिखित सहमति गरेका छन् ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन पर्साका कोषाध्यक्ष सरोज चौधरीले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि विद्यार्थीमा कोरोना संक्रमण भएको खण्डमा त्यसको जिम्मेवारी विद्यालयले लिन नसक्ने भएकोले अभिभावकसँग लिखित मञ्जुरी लिनुपरेको बताए ।

‘विद्यार्थी विद्यालय बाहेकको समय घरमा पनि बस्छन्, बजार जान सक्छन्, ती ठाउँमा पनि संक्रमणको जोखिम हुन्छ ।’ उनले भने ‘सावधानी अपनाउँदा अपनाउँदैपनि कुनै विद्यार्थीलाई संक्रमण भईहालेको अवस्थामा अभिभावक वा अन्य कुनै पक्षबाट समस्या उत्पन्न हुन सक्छ भनेर सावधानी अपनाएका हौं ।’

आइतबार महानगरपालिकाले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग छलफल समेत गरेको थियो । सोही छलफलको आधारमा अभिभावकसँग लिखित मञ्जुरी लिएर, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरि भौतिक रुपमा विद्यालय खोल्न महानगरपालिका सहमत देखिएको छ ।

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले भने अभिभावकको सहमतिमा विद्यार्थीलाई भौतिक रुपमा विद्यालय बोलाएर अध्यापन गराउने गरी नयाँ मोडालिटी ‘ट्रायल’ मात्रै गर्न खोजिएको बताएका छन् ।

‘अनलाइन शिक्षाबाट सन्तुष्ट हुने अवस्था छैन, मेरो मञ्जुरीमा नै भौतिक रुपमा बालबालिकालाई विद्यालय पठाएको हुँ भन्ने कुरामा अभिभावक सहमत हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई राखेर पढाउन भनेका छौं । अभिभावकले विद्यालय पठाउन सक्दिन भनेको अवस्थामा पनि उनीहरुको सिकाइ सुनिश्चित हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment