Comments Add Comment

विभाग बनाइसकेँ, अरु विषयमा छलफल गर्न तयार छु : देउवा

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा देउवाले भने, ‘मैले विभाग बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’

देउवाले चार वर्षसम्म बनाएका विभागहरु १४औं महाधिवेशनको मिति तय भइसकेपछि गठन गरेका छन् । यो विधान विपरीत भएकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ ।

पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता, समाजयोजनबारे २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । १९ असोजको केन्द्रीय कार्यसमिति बैठक अघि त्यसबारे छलफल गर्न १७ असोजमा बैठक बसेको थियो ।

तर अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसको सबै बैठक विथोलियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका देउवाले त्यही छलफलको निरन्तरताका रुपमा सोमबार नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकको सुरुमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुलाई दिइएको क्रियाशील सदस्यताबारे धारणा राखेका थिए । विधानको व्यवस्थाअनुसार नै केन्द्रीय कार्यसमितिले क्रियाशील दिइएको उनको दाबी थियो । तर नेता महेश आचार्यले त्यसको विरोध गरे । सम्बन्धित तहबाट क्रियाशील माग भएपछि केन्द्रीय समितिले दिने व्यवस्था रहेको भन्दै उनले अहिले तलबाट माग हुनुपर्ने प्रक्रिया पूरा नभएको बताए ।

आचार्यसँग वरिष्ठ नेता पौडेल बोल्दा सभापति देउवा बीचबीचमा प्रतिक्रिया दिइरहन्थे । सभापतिले अरुलाई नसुन्ने हो भने सम्वाद नै हुन नसक्ने भन्दै आचार्य रिसाएपछि महामन्त्री पूर्णबहादुर खड्कालगायतका नेताहरु देउवालाई रोक्नु परेको एक नेताले बताए ।

बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन हुन नसक्ने भएकाले नयाँ मिति तोकेर कार्यातालिका बनाउनुपर्ने बताए । साथै पौडेल समूहले उठाएका विषयमा यसरी छलफल गरेर सहमति हुन नसक्ने भन्दै सानो समूह बनाएर छलफल गर्नुपर्ने बताए ।

लगतै सभापति देउवाले विभाग गठन भइसकेकाले त्यसमा सहमति नखोज्ने तर अरु विषयमा छलफल गर्न आफू तयार रहेको बताएका हुन् ।

बैठक भोलि फेरि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment