Comments Add Comment

कमाइ देख्ने, काठमाडौं नदेख्ने !

अलि अगाडि मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप स्मरणमा आलै हुनपर्छ । हुन त कोरोनाले अन्य प्रसङ्गलाई टाढा हुत्याएको मात्र छैन, यो बाहेकका विषयलाई छेवै पर्न पनि दिएको छैन । जे होस् बेमौसमी सही बाँसुरी बजाउने यत्न मात्र यहाँ गर्न खोजिएको हो ।

कोलाज जसरी त्यो दिनका चित्रहरु छरपस्टिएका छन् । पुलिसले रथ तान्नेलाई भगाएको, ट्राफिक पुलिस पिटिएको, समातिएकाको रिहाईका लागि आवाजहरु आदि इत्यादि ।

त्यो दिन मानिसहरु किन यसरी सडकमा आए भन्नेबारे टिप्पणी गर्नुपूर्व साल २०७२ सम्झाउने धृष्टता गर्न चाहेँ ।

भूकम्पले रन्थनाएको समय । पटकपटक आइरहेको झट्काबाट त्रसिद देखिने अनुहारहरुका बीच केही चाउरिएका अनुरहारहरु उमेरले चार बीस नै कटेका पनि हौसिएर चल्मलाइरहेका थिए पाटन म्युजियमको कोर्टयार्डमा । लयवद्ध उनीहरुका हातहरु ठोकिरहेका, जोडिरहेका । यी अग्रज भूकम्पले ढालेका आफ्ना धरोहरहरुलाई पुन: ठड्याउन लागिपरेका ।

उनीहरुलाई भलै सिनियर सिटिजन भनेर भत्ता थमाएको थियो देशले तर, ऊर्जा युवामा भन्दा कुनै कोणले कम नराखी दतचित्त भई एकोहोरो बनाउन लागिपरे । सायद यही जोडाइ, बसाइको प्रतिफल हुनसक्छ, पाटनको पुनर्निर्माण सोचेको भन्दा परिणाममुखी भयो ।

यी त्यही उमेर समूहका नागरिक थिए, जसलाई टोलमा हुने सरसफाइ, नाचगान वा अन्य भेला हुने कार्यक्रमले बिरलै आकर्षित  गर्नसक्थ्यो । भुइँचालोले पारेका चिरामा मल्हम अनि धुजाधुजा बनाएको धरोहरलाई जोड्न यी हातहरु नै काम आए । र जुटाई पनि बेजोड रह्यो । भूकम्प लगतै पुग्दा सानो सानो टुक्रालाई समेत बढो जतनले राखिएको थियो म्युजियमको कोर्टयार्ड लगाएतका स्थानहरुमा । ती अनवरत जोडहरु सम्भव भयो, आफ्नो धरोहरका लागि, संस्कृतिका लागि ।

एकैछिन यो प्रसङ्गलाई पनि पर राख्दै अर्को उप्काएँ । बाबुराम भट्टराई अर्थमन्त्री कालको । जात्रा, चाडपर्व मान्नका लागि छुट्याइने जे जति बजेट थियो त्यो नछुट्याएर अन्यत्र परिचालन गराउने उनको निर्णय धेरै समय टिक्न पाएन । सर्बत्र विरोध, जनस्तरबाट दबाब उनको निर्णय फिर्ता गराउने कारक थिए । यी सबै यहाँको संस्कृतिलाई जोगाइराख्नका निमित्त थियो ।

यो गहिरो सम्बन्ध जोडाईलाई बाहिरिया (यो उपनाम काठमाण्डौं बाहिरबाट आई पढ्ने, जागिर खाने र पछि घरजम यतै गर्ने, काठमाण्डौंको सुविधा सदा प्रयोग गर्ने, अस्थायी ठेगानामा काठमाण्डौं जनाउने, स्थायीमा जनाएको ठेगानामा चाहिँ केही वर्षहरुमा पनि नपुग्नेलाई दिइएको) ले विकासविरोधी मात्रै पाए । विकासचाँहि असारे विकास मात्रै भइरह्यो । काठमाण्डौंको दुर्भाग्य भन्नुपर्छ, समयकालमा काठमाण्डौंका बारेमा निर्णय गर्ने कुर्सीमा यो मर्म, संस्कृतिसँगको सानिध्यता नबुझेका वा बुझ्न नचाहेका ब्यक्तिहरु मात्र विराजमान भइरहे ।

भूकम्पले जरजर भएको वसन्तपुरका सम्पदामा डोजर लगाउनसम्मको काम काठमाण्डौमा भइराख्दा पाटन भने अर्गानिक पूननिर्माणमा लागिरह्यो । रानीपोखरीमा सटर बनाउने निर्णयका विरुद्ध पनि एकजुट नभएको भए आजको रानीपोखरी सायदै देख्न सकिन्थ्यो । काठमाण्डौंको आवाज सदा निर्णायक रह्यो जनआन्दोलन १∕२ वा अन्य प्रदर्शन वा आन्दोलनहरुमा । फेरि यसले ओत त सबैलाई दियो, भूमिगतकालदेखि अहिलेसम्म विनाभेदभाव सबैलाई । ती मध्ये अहिले ठूला पदमा रहेकाहरुको ससुराली पनि बन्यो । अझै पनि सम्पदा मास्न पाइँदैन भनेर आन्दोलित हुनपर्ने यहाँका स्थानीयहरुको वाध्यता कायमै छ ।

पर्यटनमा बडो चल्तीको शब्द छ ‘ट्रान्जिट’। बाहिरबाट काठमाण्डौं आउने अनि काठमाण्डौंबाट देशै बाहिर जाने । यो उफ्राइ नौलो वा यहाँ मात्र हुने किसिमको त होइन, तर यसबाट काठमाण्डौं दुखित छ । कारण काठमाण्डौंले आफ्ना पाएन जसले यहाँको हरेक धड्कनमा रहेको जात्रापर्वलगायत सम्पूर्ण संस्कृतिमा अपनत्व पाओस् । सडक विस्तारसँगै बासिन्दाका पीरमर्का बुझोस्, जात्रापर्व यसरी मनाउन सकिन्छ भनोस् ।

यही अपनत्वको अभावमा काठमाण्डौंले केही पुस्ता यहाँ बसेकालाई पनि बाहिरिया देख्यो, हरेक सरकारी निर्णयमा गलत नियत भेट्यो । अघि कोट्याएको ट्रान्जिटको कुरा यहाँ अझ बढी सान्दर्भिक छ । नेपालको पर्यटनको आधारतुल्य रहेको काठमाण्डौं उपत्यका अहिले पोखरा, चितवन पुर्‍याउन ट्रान्जिट भएको छ ।

हालसम्मकै एकमात्र अन्तराष्ट्रिय विमानस्थल यहीँ भएका कारण यसलाई नछोइ बाहिरिन सम्भव नभएकाले संख्यात्मक हिसाबले यहाँ आउने पर्यटक धेरै देखिनु स्वाभाविक हो । पोखरा र लुम्बिनीको विमानस्थल सुचारु भएपछि स्थिति अर्कै हुन सक्छ ।

काठमाण्डौंलाई कमाइ खाने भाँडो बनाउने व्यवसायी, अन्धाधुन्ध विकास लाद्न खोज्ने नीति निर्माताभन्दा बढी खाँचो आफन्तको छ । आफैंमा अलौकिक यस नगरीलाई यसको विशेषताअनुसारको फल प्राप्त गर्न संस्कृतिसँगको यसका रैथानेका सम्बन्ध, संस्कृति जगेर्नाका लागि जस्तो कदम उठाउन नहिच्किचाउने बासिन्दाका बारेमा गहन बुझाइ आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment