Comments Add Comment

१५ वर्षीया बालिका बलात्कार : रक्षककै भक्षक

१८ कात्तिक, डोटी । उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षक नै भक्षक भएपछि यस्तो भएको हो ।

डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले आफ्नो हवस मेटाउनका लागि ती बालिकाको इज्जत लुटे । गाउँमा अशान्ति हुन लाग्यो भन्दै स्थानीयले प्रहरी चौकीको माग गरेपछि सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट राखिएको थियो । तर के थाहा, रक्षक नै भक्षक होलान् भन्ने !

कक्षा १० मा पढ्दै गरेकी बालिका एसईईको तयारीकै लागि घरको अलग्गै कोठामा बस्थिन् । प्रहरी आएर आफूलाई लुट्ला भन्ने न त उनले सोचेकी थिइन्, न उनको परिवारले । ‘यसको सातो गएजस्तो छ, नयाँ मान्छे देख्यो भने आत्तिन्छे,’ छोरीलाई सँगै ल्याएर सोमवार जिल्ला प्रहरी कार्यालय डोटी पुगेका पीडित बालिकाका बुवा भन्छन् ‘एक्लै त छोड्नै हुन्न, पुलिस आए, पुलिस आए भनेर चिच्याउँछे । राम्रोसँग होस पनि छैन ।’

बलात्कार गरेर घाँटी थिचे, मरेको ठानेर कोदो बारीमा फाले

सदाझैं कात्तिक १३ गते राति पनि बालिका खाना खाइवरी आफ्नो कोठामा सुत्न गइन् । उनी सुत्ने कोठा भुइँतलामा छ । परिवारका अन्य सदस्यहरु अर्कै कोठामा सुत्छन् । कोठामा गएर केहीबेर उनले किताब पढिन् । पढ्दापढ्दै निदाइछन् ।

राति ११ वजे उनको कोठामा एक जना पुरुष पसे । उनी थिए बझाङ्ग स्थायी घर भई गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह । उनले बालिकालाई ब्युँझाए, मुख थुनिदिए अनि बलात्कार गरे । आफूले गरेको अपराध लुकाउन उनले बालिकाको ज्यान लिने सोचे । बालिकाकै दुपट्टाले उनको घाँटी थिचे । बालिका बेहोस भएपछि उनलाई घर नजिकैको कोदो बारीमा फालेर प्रहरी जवान सिंह आफ्नो बाटो लागे ।

‘१४ गते बिहान ३/४ बजेतिर म बाहिर आउँदा बारीमा कोही कराएको जस्तो आवाज आयो,’ पीडितका बुवा भन्छन्, ‘के रहेछ भनेर हेर्न जाँदा त आफ्नै छोरी रहिछे, अनि घर लगेँ ।’ छोरीलाई कुनै भूतप्रेतले समात्यो भन्ने लाग्यो उनलाई । तर जब आमाले छोरीको अवस्था नियालिन् अनि थाहा भयो दुर्दशा ।

उनले छोरीलाई उपचारका लागि गडसेरा स्वास्थ्य चौकी, जोरायल प्राथमिक स्वास्थ्य केन्द्र हुँदै सेती प्रादेशिक अस्पताल पु¥याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् । बालिकाको घाँटीमा दुपट्टाले कसेको निलडाम छ । शरीरमा कुटपिटका घाउहरु पनि छन् ।

आफूलाई प्रहरी जवानले फोन गर्ने गरेको पीडित बालिकाले बताइन् । ‘म माया गर्छु र तिमीसँग विवाह गर्छु भन्थ्यो,’ बालिकाले भनिन् ‘राति घरमा आएर ज्यानै मार्न खोज्यो ।’

अस्थायी प्रहरी पोष्ट गडसेराले बालिका बलात्कारपछि हत्या प्रयासको घटनाको निवेदन गर्दा गर्न नमानेको गुनासो पीडितकी आमाको छ । घटनामा संलग्न प्रहरी जवान सुशील सिंहविरुद्ध उजुरी दिन पीडित बालिकाका परिवारका सदस्य कात्तिक १४ गते बिहान अस्थायी प्रहरी पोष्ट पुगेका थिए । पोष्टका इन्चार्ज चन्द्र भण्डारीले उजुरी लिन नमानेपछि पीडितहरु निरास भएका थिए । बालिकाकी आमा भन्छिन् ‘निवेदन दर्ता गर्न भनेपछि उल्टै हकारेर पठाए ।’

पीडक प्रहरी जवानलाई कडाभन्दा कडा कारवाही हुनु पर्ने बताउँछन् पीडितका आफन्त तथा स्थानीय रमेश खडायत । नेकपा जिल्ला सदस्य समेत रहेका खडायतले भने, ‘अपराध गर्ने प्रहरी जवानसँगै निवेदन दिन जाँदा उल्टो हपार्ने इन्चार्जलाई पनि कारवाही हुनु पर्छ ।’

उनले अस्थायी पोष्टमा रहेका सबै प्रहरी कर्मचारी गैरजिम्मेवार देखिएकाले उनीहरुलाई तत्काल सरुवा गरी नयाँ प्रहरी कर्मचारी पठाउनु पर्ने बताए ।

मुद्दा दर्ता

पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा बालिकामाथी जबरजस्ती करणी गरी ज्यान मार्ने प्रयास गरेको भन्दै जाहेरी दर्ता गरेको छ ।

सुरुमा जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी दर्ता गर्न आनाकानी गरेको पीडितका आफन्तहरुको आरोप छ । पीडित पक्षहरुको दबाबपछि आरोपी प्रहरी जवान सुशील सिंहविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र मल्ल भने आफूहरुले दर्ता गर्दैनौं नभनेको बताउँछन्  उनले भने, ‘हामीले जाहेरीको व्यहोरा मिलेको छैन, मिलाएर ल्याउनुहोस् मात्रै भनेका हौं, उहाँहरुले जस्तो ल्याउनु भयो त्यस्तै दर्ता गर्‍यौं ।’

मुद्दा दर्ता भइसकेपछि आरोपीलाई नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । उनले भने, ‘उनी आजसम्म ड्यूटीमै छन्, आज मुद्दा दर्ता भएको छ, अब नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment