Comments Add Comment

बादल कुन गुटमा ? यस्तो छ उनको अडान

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र जब पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचमा विवाद उत्पन्न हुन्छ, गृहमन्त्री राम बहादुर थापा बादलबारे अनेक अड्कलबाजी सुरु हुन्छ ।

सचिवालय सदस्य बादल अहिले कुन गुटमा छन ? ओली कि प्रचण्ड ? माधव नेपाल गुटमा पो हो कि । तर उनी हमेशा बोल्दैनन् । उनी कुनै निश्चित बैठकमा सहभागी भएको र नभएको आधारमा कतिपयले उनको कित्ता निर्धारण गर्छन् ।

तर उनी सधैं नबोल्ने भने होइन । ‘जब बोल्छन्, बोल्ने मात्रै नभएर कित्ता नै प्रष्ट पारिदिन्छन्’, लामो समयदेखि उनी नजिक रहेका एक नेता भन्छन् । आइतबार खुमलटार भेलामा पनि बादलले मुख खोले ।

बादलको भनाइ थियो,’पार्टीलाई संस्थागतरुपमा बढाउनुपर्छ, विधि र पद्दतिमा चल्नुपर्छ । तर, विभाजन हुने ठाउँसम्म पुग्नु हुन्न ।’

पार्टी विवादमा तटस्थ देखिने उनी आइतबार खुमलटार पुगेका थिए । त्यहाँ सचिवालयका बहुसंख्यक सदस्यहरू(कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बादल) थिए ।

एकदिन अघिको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको संकेत गरेको भन्दै आफू निकटका नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए ।

यसपछि बादल सहित सचिवालयका सदस्यहरूले विभाजनसम्म पुग्ने बाटो रोज्न नहुने धारणा राखे । प्रचण्डले बोलाएको यो भेला सकिएपछि भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देशन दिइयो । मुख्यमन्त्री शाहीले ओली पक्षका दुई मन्त्री (दल रावल र नन्दसिंह बुढा) लाई बर्खास्त गरी नेता नेपाल निकट तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए ।

तर, रावल र बुढालाई राजीनामा नगर्नू, बरु हटाए हट्नु भन्ने निर्देशन दिएका ओलीले चाल्न सक्ने संभावित कदमबारे अनुमान गरेरै कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन रोकियो । तर, साढे तीन महिना पछाडि प्रचण्ड-नेपाल समूहमा सहभागी बादलले भने यो समूहलाई सशर्त साथ दिने सन्देश दिए । नभन्दै, भेलाले पनि पार्टी संस्थागत रुपमा चल्नुपर्छ, तर विभाजनसम्म पुग्नु हुन्न भन्ने निष्कर्ष निकाल्यो ।

‘बादललाई कहिले प्रचण्ड, त कहिले ओलीतिर लागेको विश्लेषण गरिन्छ । तर, एजेण्डा र अडान चाहिँ माधव नेपालसँग मिल्छ’, उनी निकट एक नेता भन्छन् । गएको साउन २ को खुमलटार भेलामा पनि बादलले आइतबारकै जस्तो अभिव्यक्ति दिएका थिए ।

त्यसबेला, ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको थियो । त्यसबेला बादलले दुवै पदबाट कसैलाई हटाउँदैमा समस्या हल नहुने अडान लिए । बादल सँगै, उपाध्यक्ष वामदेव गौतमको ‘यूटर्न’ले नेकपा संकटको रूप बदलिएको थियो ।

आइतबारको भेलामा पनि बादलले पार्टीभित्र कसैलाई निषेध गरेर जाने पक्षमा कोही लाग्न नहुनेमा बादल अडिग थिए । बादलले आफू निकटहरुसँग भन्ने पनि गरेका छन्, ‘ओली र प्रचण्डका धेरै कुरा समान छन् । आफूलाई अनुकुल पार्टी परिभाषा दिन्छन् ।’

द्वन्द्वकालदेखि शान्तिपूर्ण अवधिको राजनीतिक घटनाक्रममा पनि बोल्दै नबोल्ने, तर अन्तिम समयमा कित्ता प्रष्ट हुनेगरी निर्णय लिने स्वभाव उनीसँग रहेको नेकपाका नेताहरु बताउँछन् ।

पार्टी भित्रको विवादको सम्बन्धमा बादलले निएको अडानचाहिँ ठ्याक्कै माधवकुमार नेपालसँग मिल्छ । पार्टीमा जति नै विवाद भए पनि पार्टी विभाजनमा कुनै पनि हालतमा जानु हुन्न भन्ने नेपालको दृढ अडान छ । उनी निकट नेताका अनुसार वादलको पनि त्यही अडान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment