१२ असार, काठमाडौं । केही समय अघिसम्म कुनाल साह भारतको स्टार्टअप र लगानीकर्ता वृत्तमा मात्रै एउटा चिनिएको नाम थिए।
फिनटेक कम्पनी ‘क्रेड’ का संस्थापक साहले आफूले स्थापना गरेका व्यवसायहरूभन्दा बाहिर पनि विस्तारै आफ्नो पहिचान कमाउँदै गएका थिए। विभिन्न पडकास्टहरूमा उनको उपस्थिति अक्सर ‘ट्रस्ट’, ‘इनसेन्टिभ’, ‘वेल्थ कियेसन’ र मानव व्यवहार जस्ता विषयहरूमा केन्द्रित हुने गर्थ्यो। उनका सामाजिक सञ्जालका पोस्टहरू पनि आर्टिफिसियल इन्टेलिजेन्सदेखि दर्शनशास्त्रसम्मका विविध विधामा फैलिएका हुन्थे।
अहिले मेटाले उनलाई प्रख्यात म्यासेजिंग एप ह्वाट्सएपको नेतृत्व सुम्पिएसँगै उनी चर्चाको केन्द्रमा आएका छन्।
मेटाले क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गरेलगत्तै यो नियुक्ति सार्वजनिक भएको हो। यो यस्तो समयमा भएको छ जब ह्वाट्सएपले केवल सन्देश आदानप्रदान गर्ने माध्यममा मात्र सीमित नरहेर पेमेन्ट, व्यावसायिक सेवा र एआई-सञ्चालित उत्पादनहरूमा आफ्नो दायरा विस्तार गर्न खोजिरहेको छ।
भारतीय मूलका कार्यकारीहरूले विश्वका केही ठूला प्रविधि कम्पनीहरूको नेतृत्व गरिसकेका भए तापनि, भारतकै स्टार्टअप इकोसिस्टमभित्र आफ्नो करियर बनाएका कुनै संस्थापकलाई यति ठूलो स्तरको विश्वव्यापी उपभोक्ता प्लेटफर्मको कमान्ड सुम्पिनु भने विरलै हुने गर्छ। ह्वाट्सएपका विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्।
मेटाले उनलाई यो जिम्मेवारी दिनुभन्दा धेरै अघि नै साह भारतको स्टार्टअप परिदृश्यमा एक स्थापित व्यक्तित्व बनिसकेका थिए।
उनको पहिलो ठूलो सफलता ‘फ्रीचार्ज’ मार्फत भएको थियो। भारतमा इन्टरनेट अर्थतन्त्रले भर्खरै आकार लिन थालेको बेला सन् २०१० मा उनले यस मोबाइल रिचार्ज प्लेटफर्मको सह-स्थापना गरेका थिए। यो कम्पनी द्रुत गतिमा फस्टायो र सन् २०१५ मा ई-कमर्स कम्पनी ‘स्न्यापडिल’ ले यसलाई ‘एक्वायर’ गर्यो । जुन तत्कालीन समयमा देशकै सबैभन्दा ठूलो स्टार्टअप प्राप्तिहरूमध्ये एक थियो।
तर, साहको पहिचान उनी आफैँले खडा गरेका कम्पनीहरूमा मात्रै सीमित रहेन।
फ्रीचार्जबाट बाहिरिएपछि उनले केही वर्ष नयाँ प्रविधि कम्पनीहरूमा लगानी गर्न र तिनका संस्थापकहरूलाई परामर्श दिनमा बिताए। भारतको स्टार्टअप इकोसिस्टम तीव्र गतिमा विस्तार भइरहेका बेला उनले चर्चित स्टार्टअप एक्सेलेरेटर ‘वाई कम्बिनेटर’ र ‘सिक्वोया क्यापिटल’ मा सल्लाहकारका रूपमा काम गरे। यी भूमिकामार्फत उनी विशेष गरी प्रविधि क्षेत्रका नयाँ पुस्ताका संस्थापकहरूसँग धेरै नजिकबाट जोडिन पुगे।
मुम्बइमा हुर्किएका साहले कलेजमा दर्शनशास्त्र पढेका थिए। भारतका अन्य प्रख्यात प्रविधि संस्थापकहरू जस्तै उनी कुनै प्रतिष्ठित इन्जिनियरिङ वा व्यवस्थापन संस्था (आईआईटी वा आईआईएम) को बाटो पछ्याएर यो उचाइमा पुगेका होइनन्।
भारतीय उद्यमी एवं लगानीकर्ता सञ्जीव बिखचन्दानीले सामाजिक सञ्जाल एक्समा एकपटक साहसँगको पुरानो कुराकानी स्मरण गरेका थिए। साहले दर्शनशास्त्र रोज्नुको मुख्य कारण त्यसको कक्षा बिहान मात्र हुने भएकाले थियो । जसले गर्दा आफ्नो पारिवारिक व्यवसाय आर्थिक संकटमा परेपछि उनलाई पूर्णकालीन रूपमा काम गर्न सजिलो भएको थियो।
विभिन्न अन्तर्वार्ता र पोडकास्टहरूमा साहले आफ्नो अध्ययनका क्रममा विविध सानातिना कामहरू गर्नु परेको संघर्षबारे पनि बताएका छन्। उनका अनुसार ती प्रारम्भिक अनुभवहरूपछि नै उनले फ्रीचार्ज सुरु गरेका थिए । जसले उनलाई पहिलोपटक राष्ट्रियस्तरमा चर्चामा ल्यायो।
सन् २०१८ मा स्थापित ‘क्रेड’ ले मानिसहरूलाई समयमै क्रेडिट कार्डको बिल भुक्तानी गरेबापत पुरस्कृत गर्ने एउटा सरल व्यावसायिक मोडेल अघि सारेको थियो। सार्वजनिक कार्यक्रमहरूमा साहले अक्सर यस कम्पनीको स्थापनालाई ट्रस्ट एन्ड इन्सेन्टिभ्स ( विश्वास र प्रोत्साहन ) सम्बन्धी दर्शनसँग जोड्ने गरेका छन्। पछि क्रेडले आफ्नो व्यवसायलाई कर्जा , बीमा, वाणिज्य र सम्पत्ति व्यवस्थापन (वेल्थ म्यानेजमेन्ट) का उत्पादनहरूमा समेत विस्तार गर्यो।
एक रोयटर्स प्रतिवेदनका अनुसार मेटाको यस पछिल्लो लगानीले क्रेडको मूल्याङ्कन करिब साढे ४ अर्ब अमेरिकी डलर कायम गरेको छ, जुन यसको अघिल्लो फन्डिङ राउन्डको मूल्याङ्कनभन्दा बढी भए पनि सन् २०२२ मा हासिल गरेको उच्च मूल्याङ्कनभन्दा भने कम हो।
यसका साथै, क्रेड एक स्थापित फिनटेक ब्रान्डका रूपमा पनि उदाएको छ । विशेष गरी यसका विज्ञापन अभियानहरूले गर्दा जसमा अक्सर हास्यरस, पुरानो सम्झना र अप्रत्याशित सेलिब्रेटीहरूको उपस्थितिलाई प्रस्तुत गरिन्थ्यो।
तर यसको उचाइसँगै कम्पनीमाथि सुक्ष्म निगरानी पनि बढ्न थाल्यो। वर्षौंसम्म यो कम्पनी आफ्नो ब्रान्ड र वृद्धिका लागि प्रशंसित भए तापनि यसको नाफा कमाउने मार्ग लाई लिएर बारम्बार प्रश्नहरू उठिरहे। आलोचकहरूले कम्पनीको वित्तीय प्रदर्शनले लगानीकर्ताहरूको उत्साह र उच्च मूल्याङ्कनलाई न्यायसंगत ठहर्याउँछ कि ठहर्याउँदैन भनी संशय व्यक्त गरे । जबकि समर्थकहरूले भने थुप्रै सफल प्रविधि व्यवसायहरूले पनि आफ्नो आकार बढाउने क्रममा लामो समयसम्म घाटा सहेको तर्क अघि सारे।
यो बहस गत वर्ष पुनः सतहमा आयो । एक सामाजिक सञ्जाल पोस्टले दिगो नाफाको कमीका बाबजुद पनि उद्यमीहरूलाई किन अक्सर नायकका रूपमा उत्सव मनाइन्छ भनी प्रश्न उठायो। साहले नाफामूलक व्यवसायहरू पहिचान र सम्मानका हकदार भएको कुरामा सहमति जनाउँदै जवाफ दिए । तर उद्यमशीलताले रोजगारी सिर्जना गर्ने र जोखिम मोल्ने हुनाले यसलाई आफैँमा प्रोत्साहन गरिनुपर्ने तर्क गरे।
आफ्ना समर्थकहरूका लागि साह उद्यमीहरूको यस्तो पुस्ताको प्रतिनिधित्व गर्छन् जसले भारतको आधुनिक इन्टरनेट अर्थतन्त्रलाई आकार दिन मद्दत गर्यो- सुरुमा डिजिटल भुक्तानी र पछि वित्तीय प्रविधि (फिनटेक) मार्फत।
स्टार्टअप पोलिसी फोरमकी प्रमुख कार्यकारी श्वेता राजपाल कोहली, जसले नीतिगत मुद्दाहरूमा साहसँग धेरै वर्षसम्म काम गरेकी छन्, उनलाई ‘नियामकीय जटिलता (रेगुलेटरी कम्प्लेक्सिटी) मा प्रविधिको दृष्टिकोण र प्रविधि डिजाइनमा नियामकको दृष्टिकोण ल्याउन सक्ने दुर्लभ क्षमता भएको व्यक्तिका रूपमा’ चित्रण गर्छिन्।
उनले बीबीसीसँग भनिन्, ‘उनको सिर्जनशीलता र समस्या समाधान गर्ने प्रवृत्ति सधैँ लोभलाग्दो रहँदै आएको छ।’
यद्यपि, आलोचकहरूको नजरमा भने उनी यस्तो स्टार्टअप संस्कृतिको प्रतीक हुन् जसले कहिलेकाहीँ दिगो व्यावसायिक मोडेलहरू भन्दा मूल्याङ्कन, कोष संकलन र तीव्र वृद्धिलाई बढी प्राथमिकता दिने गर्छ।
यो पछिल्लो नियुक्तिले साहको करियरमा निरन्तर देखिँदै आएका कतिपय आयामहरूलाई पनि प्रतिविम्बित गर्छ।
ह्वाट्सएप द्रुत रूपमा सन्देश आदानप्रदान गर्ने माध्यमभन्दा बाहिर निस्किएर भुक्तानी, वाणिज्य र व्यावसायिक सेवाहरूमा विस्तार भइरहेको छ- यी यस्ता क्षेत्र हुन् जहाँ साहले विगत एक दशकको अधिकांश समय उत्पादनहरू बनाउन, लगानी गर्न र कम्पनीहरूलाई सल्लाह दिन बिताएका छन्। ह्वाट्सएपको सबैभन्दा ठूलो बजार रहेको भारत नै उनको उद्यमशीलताको करियरको केन्द्रसमेत रहँदै आएको छ। यस नियुक्तिको साथ, साह ह्वाट्सएपको नेतृत्व गर्ने पहिलो भारतीय बन्नेछन्।
तर केही विश्लेषकहरू साहको नियुक्तिलाई केवल फिनटेक वा भुक्तानीको दृष्टिकोणबाट मात्र हेर्न नहुने चेतावनी दिन्छन्।
प्रविधि समाचार वेबसाइट ‘मिडियानामा’ का संस्थापक र सम्पादक निखिल पाहवाले बीबीसीसँग भने, ‘साहलाई फिनटेक र पेमेन्ट पृष्ठभूमिका कारण यो भूमिकाका लागि छानिएको हो भन्ने अनुमान गरिन्छ । यो निकै संकुचित दृष्टिकोण हो।’
उनले थपे, ‘उनी त्यस्ता व्यक्ति हुन् जसले वर्षौंदेखि प्रविधि उत्पादन, उपभोक्ता व्यवहार (कन्ज्युमर बिहेभियर), प्रोत्साहन र वृद्धि (इन्सेन्टिभ्स एन्ड ग्रोथ)का बारेमा सोच्दै आएका छन्। र उनको व्यवसायमा पेमेन्ट उपभोक्ताहरू आकर्षित गर्ने एक माध्यम मात्र थियो, ताकि उनीहरू माझ उत्पादनहरू बजारिकरण गर्न सकियोस्। यो नियुक्ति पेमेन्ट क्षेत्रको भन्दा पनि उपभोक्ता व्यवसायको व्यावसायिक पक्षलाई ठूलो स्तरमा लैजाने अनुभव भएको संस्थापकलाई मेटाले रोजेको जस्तो देखिन्छ।’
मेटाले यो भूमिकाका लागि साहलाई किन रोजेको हो भन्ने कुरा सार्वजनिक रूपमा विस्तृत रूपमा खुलाएको छैन। यद्यपि, नियुक्तिको घोषणा गर्दै प्रमुख कार्यकारी मार्क जुकरबर्गले उनको ‘निर्माणकर्ता मानसिकता’ (बिल्डर मेन्टालिटी) र ‘वैश्विक दृष्टिकोण’को प्रशंसा गरेका थिए।
ह्वाट्सएपले विश्वभरका अर्बौँ प्रयोगकर्ताहरूलाई सेवा दिँदै पेमेन्ट, व्यावसायिक उपकरण र एआई-सञ्चालित उत्पादनहरूमा आफ्नो उपस्थितिलाई गहिरो बनाउन खोजिरहेका बेला यी गुणहरूको कडा परीक्षा हुने सम्भावना छ।
साहको अगाडि रहेको यो चुनौती उनले यसअघि सामना गरेका कुनै पनि कुराभन्दा निकै फरक छ।
क्रेडमा उनले वित्तीय रूपमा सक्रिय प्रयोगकर्ताहरूका लागि उत्पादनहरू बनाइरहेका थिए, जहाँ उनका उपभोक्ताहरू मुख्यतया संस्थापक, लगानीकर्ता र प्रविधि उत्साहीहरू (टेक्नोलोजी एन्थुजियास्ट्स) थिए। तर ह्वाट्सएपमा भने अब उनी त्यो घेराभन्दा धेरै टाढा रहेका आम सर्वसाधारणले प्रयोग गर्ने सेवाका लागि जिम्मेवार हुनेछन्।
प्रतिक्रिया 4