१२ असार, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री आवद्ध राजनीतिक दल रास्वपाको सदस्यता विवरणमा संविधान, कानुन र बालबालिका सम्बन्धी अभिसन्धि विपरीत देखिएको कर्म दुःखद मात्रै नभई आपत्तिजनक र लज्जास्पद भएको टिप्पणी गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेको हो । यस सन्दर्भमा प्रधानमन्त्रीको सार्वजनिक जवाफसँगै कानुन कार्यान्वयनमा तदारुकता देखाउनेमा कांग्रेसले अपेक्षा राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।
१८ वर्ष मुनिका ३५ हजार बढी बालबालिकाले रास्वपाको सदस्यता लिएको पाइएको छ । चितवनको भरतपुरमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा यस्तो तथ्यांक फेला परेको । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ । जसमध्ये १८ वर्ष मुनिका सदस्यको संख्या ३५ हजार २५७ छ । यो रास्वपाको कूल सदस्य संख्याको ६.७ प्रतिशत हो ।
पार्टी सदस्य संख्या धेरै देखाउने अर्थहीन होड गरेर बालबालिकाको बालापन खोस्ने, अर्कातर्फ कानुन र संविधान विपरीत कार्य गर्ने गलत प्रवृत्ति देशभरि कहीँ पनि प्रस्तुत हुन नदिन कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तिमा छ ।
‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । नेपाल पक्ष राष्ट्र रहेको ‘संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि’ तथा बालअधिकार सम्बन्धी विश्वव्यापी स्थापित सिद्धान्तहरूले बालबालिकालाई राजनीतिक तथा दलीय स्वार्थ र दुरुपयोगबाट सर्वथा मुक्त राख्दै उनीहरूको नैसर्गिक बाल्यकाल, संरक्षण र सुरक्षित शिक्षाको अधिकार प्रत्याभूत गर्न निर्देशित गरेका छन् । यी सबैको सम्मान र पालना गरेर नै हामीले समुन्नत समाज स्थापित गर्न सक्ने हो,’ कांग्रेसले भनेको छ ।
प्रतिक्रिया 4