+
+
Shares

घोषणापत्रमा घनश्यामको चिन्ता : ‘सामाजिक लफङ्गा’ले लोकतन्त्र दुरुपयोग गर्नसक्छन्

‘अनुदानमा देशविकास : राजालाई विदेशीले हिँडाएको बाटो, गिरिजा-देउवा, ओली-प्रचण्ड त्यही हिँडे’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १५:५७

५ फागुन, काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘विकासको नेपाली बाटो : सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा दिइएको घोषणापत्रमा मुलुक बनाउने आफ्नै बाटो नभएकाले विकास हुन नसकेकाले अस्थिरता भूमरीमा जकडिएको टिप्पणी गरिएको छ ।

घोषणापत्रमा लोकतन्त्र र आर्थिक विकासका विश्वव्यापी मानकहरूको घरेलुकरण हुन नसके राष्ट्रले फाइदा लिन नसक्ने उल्लेख छ । ‘तिनको घरेलुकरण हुन सकेन भने राष्ट्रले अवसरबाट फाइदा लिन सक्दैन, संकटहरू समाधान गर्न सक्दैन र आर्थिक रूपले पराधिन बन्दै जान्छ । आज नेपाल त्यही दुश्चक्रमा फस्दै गएको छ,’ घोषणापत्रमा भनिएको छ ।

लोकतन्त्र ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मात्रै नभएको नेकपा संयुक्तले व्याख्या गरेको छ । ‘हरेक निर्वाचनले जनताको जीवनमा नयाँ सम्भावनाको ढोका खोल्दैन भने लोकतन्त्रले गति लिँदैन,’ घोषणापत्रमा भनिएको छ, ‘त्यसका लागि राजनीतिक दलको मुख्य भूमिका हुन्छ ।’

लोकतन्त्रमा राजनीतिक नेतृत्वले निर्वाचनलाई सत्ताको खेलमा मात्रै सीमित बनाए त्यसले जनतामा निराशा बढ्ने पनि नेकपा संयुक्तले टिप्पणी गरेको छ । ‘त्यसलाई प्रतिगामी, पपुलिस्ट, सामाजिक लफङ्गाहरूले दुरुपयोग गर्न सक्छन्, भूराजनीतिक शक्तिहरूको हस्तक्षेप बढ्छ र राष्ट्रिय स्वाधीनता खतरामा पर्दैजान्छ,’ घोषणापत्रमा भनिएको छ ।

भदौ २३ र २४ गतेको नरसंहार र विध्वंसपछि नेपाली समाजको आँत हल्लिएको सबैले महसुस गरेको घोषणापत्रमा भनिएको छ ।

‘अनुदानमा देशविकास : राजाका लागि विदेशीले बनाइदिएको बाटो’

लोकतन्त्र हासिलपछि अन्य मुलुकले समृद्धिको आफ्नै बाटो बनाए पनि नेपालले त्यो बनाउन नसक्दा पछि परेको नेकपा संयुक्तको घोषणापत्रमा भनिएको छ ।

‘अनुदानमा देशविकास गर्ने राजाको बाटो विदेशीले बनाइदिएको बाटो थियो, नेपालको बाटो थिएन,’ घोषणापत्रमा भनिएको छ, ‘प्रजातन्त्रपछि हामीलाई उनै विदेशीले भने : सबै कुरा बजारलाई देउ, त्यसैले विकास गरिदिन्छ । हामीले पत्यायौँ । तर त्यो पनि हाम्रो बाटो थिएन ।’

गणतन्त्रको संविधान बनेपछि हामी आर्थिक व्यवस्था बदल्ने कुरामा केन्द्रित हुनुपर्ने भएपनि पुरानै राजा हिँडेकै बाटोमा लोकतान्त्रिक नेता पनि हिँडेको घोषणापत्रमा व्याख्या गरिएको छ ।

‘गिरिजा, देउवा, ओली वा प्रचण्ड त्यही बाटोमा हिँडे, राजाकै गल्ती दोहोर्‍याए,’ घोषणापत्रमा भनिएको छ, ‘नेपाललाई सिङ्गापुर, स्विट्जरल्यान्ड इत्यादि बनाउने कुरा गरे । अरुको बाटो हिँडेर आफ्नो गन्तव्यमा पुग्न सकिन्नथ्यो ।’

त्यसैको परिणाम सन्तानलाई देशभित्रै रोजगारी दिन नसक्ने स्थिति बनेको टिप्पणी गरिएको छ । ‘युवा पलायन बढ्यो । हाम्रो उत्पादन झन् कमजोर हइँदै गयो,’ घोषणापत्रमा भनिएको छ ।

संविधान बनेको १० वर्ष बितिसकेको भन्दै आर्थिक परनिर्भरताको अपमानपूर्ण इतिहासका बारेमा छलफल नै नगरिकन चुनावमा गइरहेको घोषणापत्रमा भनिएको छ ।

‘त्यसले गर्दा कुनै न कुनै रुपमा हामीमाथि संकटहरू आइरहने छन्, राजनीतिक अस्थिरता भइरहने छ र नेपाल अझ पछि पर्दै जानेछ,’ नेकपा संयुक्तको घोषणापत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?