+
+
Shares

मुख्य नेताहरुलाई छिटो बिदा दिनुपर्छ, इमान्दार वाम नेताले सक्रियता लिनुपर्छ : घनश्याम भूसाल

मुख्य नेताहरुलाई बिदा गरेपछि दलहरुभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरुको पुनर्गठनलाई तीव्र पार्नुपर्ने उनको धारणा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मध्यम र श्रमजीवी वर्गको दैनिक जीवन कष्टकर हुँदै जान सक्ने चिन्ता प्रकट गर्नुभएको छ।
  • भुसालले भदौ २४ गते देशभर आगजनी, लुटपाट र तोडफोड भएको र मुलुक असाधारण अन्योलतर्फ धकेलिएको बताउनुभएको छ।
  • उनले मुख्य नेताहरुले भ्रष्टाचार र कुशासन संरक्षण गरेको र नयाँ निर्वाचनमा जान चुनौती बढेको उल्लेख गर्नुभएको छ।

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मध्यम र श्रमजीवी वर्गको दैनिक जीवन कष्टकर हुँदै जान सक्ने चिन्ता प्रकट गरेका छन् ।

जेनजी युवा आन्दोलनपछिको परिस्थितिका सम्बन्धमा सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले आर्थिक गतिविधि ओरालो लाग्दै जाने र त्यसले सामाजिक–सामुदायिक आक्रोशलाई तीव्र पार्न सक्ने बताएका हुन् ।

उनी भन्छन्, ‘त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्छ । जेनजीले उठाएको एउटा मुख्य मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ ।’

मुख्य नेताहरुलाई बिदा गरेपछि दलहरुभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरुको पुनर्गठनलाई तीव्र पार्नुपर्ने उनको धारणा छ ।

‘असाधारण अन्योलतर्फ मुलुक’

बदलिएको राजनीतिक परिस्थितिअनुसार बदलिन प्रमुख दलका प्रमुख नेताहरू तयार नदेखिएको भनेर पनि नेता भुसालले खबरदारी गरेका छन् ।

उनका अनुसार भदौ २३ को प्रदर्शन र तत्कालीन सरकारले गरेको ‘नरसंहार’ले भदौ २४ गते देशभर आगजनी, लुटपाट र तोडफोड भएको हो । यस अगाडिको परिस्थिति जसरी अगाडि बढ्यो त्यसमा उनको चिन्ता छ । उनी लेख्छन्, ‘संसद बाहिरबाट सरकारको गठन र संसदको विघटनपछि मुलुक असाधारण अन्योलतर्फ धकेलिएको छ ।’

नेता भुसालका अनुसार २०७२ को संविधान नेपालका राजनीतिक दल र आम नागरिकका बीचमा भएको सम्झौता थियो । तर, राजनीतिक दलहरु, खासगरी तिनका नेताका गुटहरुले उक्त सम्झौता उल्लंघन गर्दै राजनीतिलाई राज्य दोहनको संयन्त्र बनाउँदै आएका थिए ।

‘नेताहरुले नै भ्रष्टाचार र कुशासनलाई संरक्षण गर्दै गएपछि आम नागरिकमा निराशा र आक्रोश बढ्दै गयो’ जेनजी आन्दोलनबारे उनको दृष्टिकोण छ, ‘भदौ २३ गते जेनजीले भ्रष्टाचारको विरोध गर्दै राजनीतिक दलको ड्राइभिङ् सिटमा बसेका सबैको बहिर्गमन हुनुपर्ने माग राखेर सडकमा आए ।’

भुसालका अनुसार जेनजीहरुले समाजका सबै वर्ग र समुदायको असाधारण सहानुभूति र समर्थन पाए । प्रदर्शनमा भएको नरसंहारले त्यो सहानुभूति र समर्थन आम आक्रोशमा बदलियो ।

भदौ २४ गते पपुलिष्ट, घुसपैठिया र अराजक सामाजिक लफङ्गा तत्वहरुले देशव्यापी आगजनी, तोडफोड र लुटपाटमा उपयोग गरेको उनको बुझाइ छ ।

‘मुलुक दुर्दशामा पुग्नुमा मुख्य नेताहरु नै जिम्मेवार’

यहाँनेर पनि भुसाल राजनीतिक रुपमा अगामी बाटोलाई लिएर चिन्तित देखिन्छन् । अगाडि लेख्छन्, ‘अहिले राष्ट्रपतिले आपत्कालीन अवस्थामा संसद बाहिरबाट सरकार बनाएर नयाँ निर्वाचनमा जाने बाटो खोलेका छन् । तर राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरुका सामाजिक प्रभाव र सामर्थ्यको धरहरा गर्ल्यामगुर्लुम् ढलेर मुलुक भयानक राजनीतिक शून्यतामा पुगेको छ ।’

तर अझै पनि शीर्ष नेताहरूले नचेतेको उनको भनाइ छ । ‘दुर्भाग्यवस, अहिले पनि मुख्य राजनीतिक पार्टीहरुमा संस्थागत सुधारको परिणाममुखी पहलकदमी देखिएको छैन’ उनी लेख्छन्, ‘मुलुक यस दुर्दशामा पुग्नका लागि अनेक कारण छन् । ती देशभित्र र बाहिर पनि छन् । तर मरणोपरान्त सत्ताभोग लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरु नै त्यसका मुख्य जिम्मेवार हुन् ।’

‘समाजले बहिष्कार गरेको नेतृत्व बोकेर पार्टीहरु जनतामा जान सक्ने छैनन्’

कुनै पनि बहानामा यो तथ्यलाई अस्वीकार गरियो भने मुलुकलाई अस्थिरताको अर्को चक्रबाट बचाउन नसकिने उनको निष्कर्ष छ । ‘सबैजसो पार्टीका नेताहरु आ–आफ्नो पद र नियन्त्रण यथावत् राख्न अनेक बहानाबाजी गर्नेछन् । तर समाजले बहिष्कार गरेको नेतृत्व बोकेर पार्टीहरु जनतामा जान सक्ने छैनन्,’ नेता भुसालको बुझाइ छ ।

एकीकृत समाजवादीका महासचिव भुसालको नजरमा निर्वाचनभन्दा अगाडि नै संविधान संशोधनको मुद्दा उठाउनेहरुको स्वर चर्को हुँदै जानेछ । यस्तोमा तथाकथित परम्परा र राष्ट्रवादका नयाँ–पुराना शक्तिले सामाजिक ‘लफङ्गा’हरुलाई संगठित गर्ने प्रयास गर्ने छन् ।

‘अनेकौं सामाजिक मुद्दा लिएर पपुलिष्ट तथा अराजकहरु सडकमा देखिन थाल्नेछ’ यहाँनेर भुसालको चिन्ता छ, ‘सबै आफ्ना दाबीहरु जेनजीको भावना र मर्म हुन् भनेर अगाडि आउने छन् । आर्थिक गतिविधि ओरालो लाग्दै जाँदा मध्यम र श्रमजीवी वर्गको दैनिक जीवन कष्टकर हुँदै जानेछ । त्यसले सामाजिक–सामुदायिक आक्रोशलाई तीव्र पार्नेछ ।’

मुलुक असफलतातर्फ जान सक्ने चिन्ता

यस्तो परिस्थितिमा लोकतान्त्रिक पार्टीहरु कमजोर हुँदै जाने र  बहुपक्षीय द्वन्द्व बढ्न थाल्ने उनको व्याख्या छ । उनी थप्छन्, ‘अराजनीतिक–आपराधिक समूह र प्रतिगामीहरुको स्वर बलियो हुँदै जान्छ, समाजमा भय र आतंकको विस्तार हुँदै जान्छ, भूराजनीतिक खेलहरु तीव्र हुँदै जानेछन् ।’

नयाँ राजनीतिक परिस्थितिमा सरकारको नालायकी बढ्ने, निर्वाचन हुन नसक्ने परिस्थिति बन्दै जाने र मुलुक असफलतातर्फ जान सक्ने उनको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?