Comments Add Comment

सीमा सम्बन्धी संयन्त्रको बैठक गर्न भारत सकारात्मक

१८ कात्तिक, काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ ।

नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका लागि प्रस्ताव गरे पनि मिति पनि भने तय भइसकेको छैन । वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ ।  भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको छ ।

नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सो बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन किनभने दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने रहेको छ ।

सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ ।

हरेक वर्ष मनसुन सकिएपछि सो संयन्त्रको बैठक बस्ने भएपनि कोभिड–१९ र दुई देशको बिचमा रहेको सीमा विवादका लागि बैठक हुन सकेको छैन । भारतीय सेना प्रमुखको भ्रमणपछि सो संयन्त्रको बैठक हुने टाइम्स अफ इन्डियाले सरकारी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउनु हो । अहिलेसम्म सो संयन्त्रको बैठक ६ पटकसम्म बसेको छ ।

सो संयन्त्रलाई सुस्ता र कालापानीको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सीमा समस्या समाधानको लागि सुझाव दिन भने भनिएको छ ।

त्यसैले सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । यसले कालापानी र सुस्ताको विषयमा पनि वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment