Comments Add Comment

पत्रु खाना र मोबाइलले ल्याएका रोगहरु

दसैं गयो, अब तिहार आउन लाग्यो । दिदीबहिनीले दाजुभाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइदिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ ।

जंकफुडमा, अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुका मुख्य कारणहरूमध्ये पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे नसिकाउनु हो । घरमा पकाउँदा समय धेरै खेर जाने र अल्छी लाग्ने भएकाले प्याकेटका खानेकुरा दिदाँ ‘आनन्द’ हुन्छ भन्ने भ्रम पनि अर्को कारण हो ।

अहिले एकछिनको आनन्दले जीवनभर आफ्ना सन्तानहरू रोगी भएर बाँच्दा के आनन्द हुन्छ होला ? आमाबुबाको मानसिकता कस्तो छ भने खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ । त्यसैले भातमा यस्ता खानेकुरा हालिदिन्छन्, अनि बच्चाले स्वाद लिएको देखेर खुशी हुन्छन् । तर, यो खुशी कति रहला र ? जब २०–२२ वर्षको उमेरमा नै सन्तानहरू मोटो हुन्छन्, चिनी रोग लाग्ने सम्भावना बढ्छ । शिशु अवस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म चुरोट र रक्सी खानेको जस्तै लत बस्छ ।

स्कुल र समुदायबाट नै पत्रुखानालाई निरुत्साहित गर्नेखालको नीति सरकारले ल्याउनुपर्छ । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारबाट पनि अस्वस्थकर खानाको बारेमा सूचना प्रवाह गर्नुपर्छ ।

बाबुआमाले साना नानीहरूलाई स्कुल जाँदा पनि पेटभरि खावोस् भनेर बिस्कुट, कुरमुरे हालेर पठाउँछन् । अभिभावककै सोचाइमा यस्तो भएपछि बालबच्चाको त के दोष र ? बिस्तारै उनीहरूको पत्रु खाना खाने बानी बढ्दै जान्छ । दाल, भात, रोटी उनीहरू हेर्न चाहँदैनन् । सरकारको गलत नीतिले टोलटोमा राखिएका पत्रु खानाको होडिङ बोर्ड, टीभी रेडियोमा बालबच्चालाई नै प्रयोग गरेर बनाइएका प्रचार सामग्रीले बालबालिकालाई जंकफुडप्रति आकर्षित गर्छ । यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न सक्दैन । स्वास्थ्य मन्त्रालयले पत्रु खानाको नकारात्मक असरका बारेमा अभिभावकमा चेतना जगाउँदैन ।

पत्रु खानाको असर तत्काल त नदेखिए पनि भविश्यमा स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने शंका छैन । भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकैबारीमा फलेको मौसम अनुसारका फलफूल नखाए महंगो प्याकेटको खाना दिने चलनले हाम्रो भोजनको संस्कृतिमा नै नराम्रो असर परेको छ । पत्रु खाना बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ ।

किनभने, पत्रु खानामा क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्वहरू हुँदैनन् । अनि बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा बाधा पुग्छ । तर, यो कुरा पनि धेरै विस्तारै हुनाले प्रायः कमैको ध्यान जान्छ । अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ , त्यसैले बालबालिकामा मोटोपन बढ्छ । अनि केही वयस्क भएपछि उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुनेजस्ता समस्या देखिन्छन् ।

घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झन सकोस्, तपाईँ आफ्ना बालबालिकालाई ‘अस्वस्थ बन्न’ मद्दत गर्दै हुनुहुन्छ । जिन्दगीभर बिरामी होस, मुटु कमजोर होस्, हड्डीहरू मक्किनु, शारीरिक र मानसिकरुपमा पनि सधैं सुस्त रहोस् भन्ने कामना नगर्ने हो भने पत्रु खाना दिन छोड्नुस् ।

परिवारका सदस्यले सबैभन्दा पहिले यो यो बुझ्न जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिलाई खानामा पत्रु खाना मिसाएर दिने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी नराम्रो बानी हो ।

अस्वस्थ बानी हो, आफूसँग राखेर घरकै खाना ख्वाउनुपर्छ । बच्चाले आफ्नो हातले भात, रोटी, खाँदा पोख्छ, फोहोर गर्छ, अनि विस्तारै सफा गरेर सिक्छ । साथै परिवारमा सबैजनासँगै बसेर खाँदाको आनन्दले पनि बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसकारण बालबालिकालाई जसरी सकिन्छ, पत्रु खाना नख्वाउने, बानी छ भने हटाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।

बच्चालाई स्कुल पठाउँदा होस् वा घरमा खाजा खुवाउँदा होस्, घरकै खाजा चिउरा, चना, अण्डा, आलु भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिकालाई पत्रु खानाको लत बस्दैन, कम हुन्छ । यो विषयमा बुबाआमा आफ्ना सन्तानका लागि आफू पनि अनुशासनमा बस्नुपर्छ । आफूले बाहिरका खाना नखाए घरकै खोज्छ । उनीहरूलाई घरकै खाना ख्वाउन सजिलो हुन्छ । पैसा बच्छ स्वास्थ्य राम्रो हुन्छ ।

स्वस्थ खानाले ‘एक पन्थ, हजारौं काज’ को काम गर्छ । स्कुलका शिक्षकहरूले पनि पत्रु खाना न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । बालबालिकाले आमाबुबाको भन्दा पनि शिक्ष्कले भनेका कुराहरू मनन गर्छन् । घरमा खाजा बनाउने प्रक्रियामा पनि छोराछोरीलाई सामेल गराउने गर्नुपर्छ, जसले गर्दा उनीहरूलाई कुन खानेकुराको महत्व कस्तो हुन्छ भनेर जानकारी होस् ।

स्कुल र समुदायबाट नै पत्रुखानालाई निरुत्साहित गर्नेखालको नीति सरकारले ल्याउनुपर्छ । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारबाट पनि अस्वस्थकर खानाको बारेमा सूचना प्रवाह गर्नुपर्छ । बालबालिकाको खानामा आकर्षित हुन् र उनीहरू स्वस्थ्य रहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment