Comments Add Comment

नाबालक छोरालाई पनि छाडेन कोरोनाले

देशव्यापी लकडाउन हुँदा नेपालमा दैनिकजसो छिटफुट कोरोनाका बिरामीहरू देखिन थालेका थिए । छिमेकीहरू घर बाहिर निस्कन निकै डराउँथे । तर, मेरो पेशाले भने बन्दाबन्दी भए पनि घरमै रहने छुट दिएको थिएन ।

म कार्यालय आउने–जाने गरेको देखेर उनीहरूले मलाई टोलमा कोरोना ल्याउने भनेकै कि स्वास्थ्यकर्मी कि सञ्चारकर्मी हो भनेर जिस्काउने गर्दथे । यतिसम्म कि नगरपालिकाको फोहर संकलनको गाडी आउँदा मेरो नजिक कोही नै पर्दैनथे । उनीहरूलाई लाग्दो हो, यो दैनिक अफिस जान्छ, कोरोना हुन सक्छ ।

छिमेकीले शंका गरेजस्तै मेरो घरमा म सञ्चारकर्मीको रूपमा थिएँ । दाइ–भाउजु भने स्वास्थ्यकर्मी हुनुहुन्छ । यसकारण पेशागत जिम्मेवारीका कारण पनि लकडाउनको अवधिमा घरमा बस्ने कुरै रहेन । दैनिकजसो कार्यालय जाने–आउने भइरहन्थ्ये । मेरो काम कार्यालयमा मात्र सीमित नरही फिल्डमा समेत जानुपर्ने र पत्रकार धेरैको सम्पर्कमा रहनुपर्ने भएका कारण मलाई घरमा अलि बढी जोगिनु भनी सबैले सम्झाइरहन्थे ।

म सकेसम्मको सावधानी अपनाउँथे । समाचार संकलनको क्रममा फिल्डमा जाँदा घरमा रहेका वृद्धा आमा र सानो छोरालाई सम्झन्थें । त्यसैले पनि मास्क, सेनिटाइजर र समाजिक दुरीको सुत्रलाई मैले पूर्ण पालना गरिरहेको थिएँ ।

अफिसबाट बेलुका आएर बच्चा नुवाइधुवाइ गरेर पनि बच्चा उचाल्ने र आमासँग नजिक हुने आँट कहिले गरिनँ । अफिसबाट घर फर्कंदा करिब १० बज्ने हुँदा सबै सुतिसकेका हुन्थे । म भने नुवाइधुवाइ गरी खाना खाएर अलग्गै रूममा गएर सुत्ने गर्थें । अनि अर्को दिन बिहानमात्र मास्क लगाएर दुरी कायम गर्दै बच्चा र आमाको नजिक जान्थें । धेरैबेर नबसी आमा र बच्चालाई सँगै बस्नुस् भनेर म आफ्नै रुममा लाग्थें । आफ्नो कामको निरन्तरतासँगै यसरी नै कोरोनाबाट बच्ने र परिवारलाई बचाउने प्रयास गरिरहेको थिएँ ।

यही निरन्तरताको कारण राजधानीमा महामारीको ग्राफ बढ्दै जाँदा पनि कति नआत्तिकन हामी सुरक्षित रहँदै आएका थियौं । तर आज ६ महिनापछि मेरा छिमेकीले भनेजस्तै मेरो घरमा कोरोनाले पहिलो आक्रमण गर्यो ।

नेपालमा कोभिड देखिएसँगै स्वास्थ्य विभागमा कार्यरत दाइको व्यस्तता निकै बढेको थियो । निरन्तरको फोन र मिटिङ भइरहने र उहाँ कतिबेला राजधानी बाहिर जानुपर्ने टुंग्गै हुँदैन्थ्यो । अस्पतालको अनुगमन, निरीक्षण र व्यवस्थानको कामको शिलशिलामा उहाँ पटक–पटक काठमाडौं बाहिर जाने गरिरहनुहुन्थ्यो । दुई हप्ताअघि पोखरा र बागलुङ जिल्लामा जानुभएको थियो । सधैंजसो जोगिएर आउने दाइ यसपटक भने कोरोनसँग जोगिन सक्नुभएनछ ।

घरमा १ वर्षको दुधे बालक र ७४ वर्षीया वृद्धा आमा भएकाले दाइलाई ज्वरो आउनेबित्तिकै हामीले उहाँलाई आइसोलेट गर्यौं । अर्को दिन तुरुन्तै टेस्ट गर्न पठायौं । त्यसको दुई दिनपछि रिजल्टमा उहाँलाई कोरोना पोजेटिभ देखियो । खासै गम्भीर लक्षण नदेखिएकाले उहाँलाई नआत्तिन भन्यौ । उहाँ आफैं स्वास्थ्यकर्मी भएकाले पनि हामीले थप सिकाइरहनुपर्ने थिएन ।

दाइको रिपोर्ट आएको साँझपखबाट छोरालाई पनि ज्वरो देखियो । अब भने मन निकै आत्तियो । मैले श्रीमतीलाई सोधें, दाइले उचाल्नु भएको त थिएन । उचाल्नुभएको छैन भनिन् । दाइलाई अस्ति बेलुका ज्वरो आएको हो ।

बाबुको जन्मदिन परेकाले त्यसै दिन बिहान टीका लगाइदिनुभएको थियो । कोभिड संक्रमणको जोखिम कायम रहेकाले पहिलो जन्मदिन भए पनि नजिकै रहेका दिदी भान्जा–भान्जीहरू कसैलाई नबोलाई जन्मदिन मनाउने सोच बनाएका थियौं । त्यसैले जन्मदिनको दिन आमाले बिहान पूजा गरेपछि सबैले बच्चालाई टीका लगाइदियौं । दाइले पनि टीका लगाइदिनु भएको थियो ।

‘भर्खर एक वर्षको भयो । दाँत निस्कने बेला भएको छ । दाँत निस्कने बेलामा ज्वरो आँउछ भन्छन् त्यही भएको होला’, श्रीमतीले थपिन् । म पटक–पटक बच्चाको निधार तथा शरीर छाम्छु, पुरै तातो छ ।

राति पनि बच्चालाई ज्वरो आइरहयो । हैन, एकपटक त ज्वरो नाप्न पर्यो भनेर नाप्दा १०१.८ ज्वरो देखायो । एक बिर्को ‘निको’ खुवाइदिएँ । ज्वरो विस्तारै कम भयो । तर, अर्को दिन बिहान पनि फेरि ज्वरो नाप्दा ज्वरो छ । झनझन् डर लाग्न थाल्यो ।

चिनजानमा रहेका कान्तिबाल आस्पतालका डाक्टरलाई सम्पर्क गरेर सोधें । उहाँले ज्वरो आएर आँत्तिनु पर्दैन निम्स खुवाइदिनुस् भन्नुभयो । दुई–तीन दिनसम्म रोकिएन, बच्चा लोसे भयो, खान मन गरेन र कोखा हान्न थाल्यो भने घरमा नराख्नु ल्याइहाल्नु भन्नुभयो ।

भोलिपल्ट बेलुकापख ‌बाबुलाई साह्रै च्याप्दै लगेछ । । औषधि खुवाए पनि ज्वरो नरोकिने, नाकबाट पानीजस्तो पातलो सिंगान बगिरहने, आँसु झरिरहने गर्यो । रातको साढे एघार भइसकेको थियो । सधैं आइरहने ट्याक्सीवाला दाइलाई फोन गरें ।

ट्याक्सीमा हामी पाटन आस्पताल पुग्दा रातको १२ बजिसकेको थियो । गेटमै रोकेर सुरक्षाकर्मीले हामीलाई सोधे, बच्चालाइ के भएको ?

ज्वरो छ, रोएको रोएकै छ । इमरजेन्सीमा देखाउँ भनेर ल्याएको भनें । इमरजेन्सीमा होइन, तपाईं ज्वरो क्लिनिक अर्थात कोरोनाको उपचार हुने कक्षमा लैजानुस् भने । हामी त्यतै लाग्यौं । ज्वरो आएको भनेपछि इमरजेन्सीमा नपठाउने नियम रहेछ ।

डाक्टरसँग घरमा दाइलाई कोरोना पोजेटिभ देखिएको र आइसोलेसमा रहेको विषय पनि बतायौं । डाक्टरले बच्चालाई लक्षण सबै मिलेको छ, घरमा ‘पोजेटिभ एक्सपोजर’ पनि रहेछ यसैले कोभिड वार्डमै भर्ना गरौं भन्न लागे । मैले भर्ना नगरौं, बरु तीन दिनअघि बच्चाले खोप पनि लाएको थियो । दाँत आउने बेला भएको छ । त्यसको असर पनि हो कि बरू ‍औषधि के खुवाउने हो लेख्दिनुस्, पीसीआर टेस्टचाहिँ गरौं भने ।

उनले भित्र ल्याउनू भने । बच्चाको मास्क छैन, कोभिडका बिरामीहरू भएको हलभित्र कसरी बच्चालाई छिराउनु ? मन भारी भयो । डाक्टरसाब तपाईं बाहिर यतै–कतै गल्लीमै आएर स्वाब लिने र चेक गर्ने गरिदिनुस् न, मैले अनुरोध गरें ।

यता हामी पाटन अस्पताल पुग्नुभन्दा पहिले नै भाउजुले हामीहरूले बच्चा लिएर आएको आफ्नो साथीलाई फोन गरेर बच्चाको डाक्टरलाई नि देखाउन र सहयोग गर्न उहाँको साथीलाई आग्रह गरिसक्नु भएको रहेछ । उहाँ पनि सोही अस्पतालमा नर्सको रूपमा कार्यरत हुनाले उहाँको साथीको सहयोगमा बच्चाको डाक्टरले पनि बच्चालाई आएर हेरे । र, आत्तिनु पर्दैन भने ।

त्यसपछि कोभिड वार्डको डाक्टरले पनि हाम्रो अनुरोधलाई मान्दै बाहिरै आएर बच्चाको ज्वरो नापे । १००.४ ज्वरो देखायो । अन्य चेकजाँच गर्ने र स्वाब लिने काम गरे । केही मेडिसिन लेख्दिए र हामीलाई नआत्तिन भने । ‘यो मेडिसिनले ठिक होला लक्षण कोभिडसँग मिलेको छ । टेस्ट के आउँछ हेरौं । तर ज्वरो तीन दिनसम्म रोकिएन, कोखा हान्न लाग्यो भने घर नराख्नू ल्याइहाल्नुस्’ भने ।

हामी घर फर्कियौं । रातको साढे एक बजेतिर डाक्टरले भनेअनुसार औषधि खुवाएर बच्चालाई सुतायौं । अर्को दिनदेखि नियमित औषधी खुवाउँदै गयौं । ज्वरो घट्दै गयो, रूघाखोकी पनि कम हुँदै गयो । बच्चाको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । थप जटिलता आएन । तर, हस्पिटलले ५ दिनपछि रिपोर्ट पठायो । अन्तत: जे नहोस् भनेको, त्यही भयो । बच्चाको पीसीआर रिपोट पोजेटिभ आयो ।

सधैं आमा र हजुरआमाको काखमै रहने, घर बाहिर कहीँ ननिस्किने निर्दोष बालकले पनि कोरोनासँग लडनु पर्यो । कोरोनाले दिएको पीडा भोग्नुपर्यो ।

बच्चालाई केही सुधारका लक्षणहरू देखिँदै थिए । यहीबीचमा श्रीमतीलाई ज्वरो आयो । शरीर दुख्यो भनिन् । यता, आमा–भाउजू पनि टाउको फुट्लाजस्तो गरी दु:खेको छ भन्न लाग्नुभयो ।

दाइलाई आइसोलेसनमा बसेको चारपाँच दिन भएपछि सबैको कोरोना टेस्ट गरौं भनेर घरमै स्वाब लिन बोलायौं । टेस्ट गर्न पठायौं । मेरोबाहेक सबैलाई कोरोना पोजेटिभ देखियो । छोरोको स्वास्थ्यमा सुधार आएर केही शान्त भएको मन आमा, भाउजु र श्रीमतीमा देखिएको पोजेटिभ नतिजाले थप उथलपुथल पारिदियो ।

घरमा मबाहेक सबै संक्रमित । आमाले रिपोर्ट के आयो भन्नुभयो । एक मनले झुट बोलौंजस्तो भयो । मलाई सबैभन्दा गाह्रो लाग्ने काम भनेकै झुट बोल्नु भएकाले आमालाई सान्त्वना दिने किसिमले यसरी सम्झाएँ–

‘अरूलाई भर्खर सुरू भएको देखाएको छ । तपाईं उनीहरूको नजिक नजानुस् । तपाईंको चाहिँ भाइरस सरेर निको भइसकेको रिपोर्ट आएको छ ।’

श्रमती–भाउजुको सिटु भ्यालु १८–२० देखाउँदा आमाको २७ देखाएको थियो । त्यही भएर पनि मेरो दिमागमा आमालाई सम्झाउने यो आइडिया आएको हुनुपर्छ । कम्तीमा झुट बोल्न परेन । आमा केही ढुक्क हुनुभयो । अस्ति बाबुलाई अस्पताल लगेपछि मलाई निद्रा नै परेको छैन । ज्वरो नि छ । जिउ नि दुखेको थियो सिटामोल खाएकी थिएँ । अहिले सानो बच्चालाई नि कम भयो, मलाई नि निको भयो भन्नुभयो ।

उहाँलाई भाइरसको दुखाइ र पीडा भन्दा बढी नाति बिरामी भएकोमा पीडा रहेछ । त्यसैले होला, बाबुलाई पनि ठिक भयो, मलाई पनि ठीक छ भन्नुभएको । सायद त्यसैले होला भाइरसले आफूलाई गलाइसक्दा नि केही नभएजस्तो गरी सम्हालिँदै आउनुभएको ।

मलाई भने बाबुलाई निको हुँदै गएकामा बच्चाको चिन्ता केही घटेको थियो । अब चिन्ता थपियो आमाको । उहाँले मलाई ठीक छ भने पनि म उहाँकै कोठामा बसें । बेलाबेला अक्सिमिटरले अक्सिजन लेभल नापीरहें । थर्मोमिटरले बीच–बीचमा ज्वरो पनि चेक गरिरहें । सबै नर्मल थियो । हल्का खोकी थियो । बेलाबेला तातो पानी खानुस् भन्थें उहाँले मन नगर्दा पनि उठाएर तातो पानी खुवाउथें ।

‘मलाई ठीक छ, जा बच्चालाई हेर यहाँ कुर्नु पर्दैन । उनीहरूलाई कस्तो छ ?’, आमा आफूलाई गाह्रो भएको छैन भन्नुहुन्थ्यो र अरुका बारे सोधिरहनु हुन्थ्यो । मलाई डर लागिरहेको थियो ।

अर्को दिन टाउको दु:खेको छ भन्नुभयो । बाफ लिन लगाएर ज्वरो नापेको, ज्वरो थिएन । तर, पनि टाउको, शरीर सबै दुखेको हुनाले सिटामोल खान दिएँ । त्यसपछि उहाँ तंग्रिदै जानुभयो । बच्चालाई पनि ठीक हुँदै गएको थियो । यत्तिकैमा आमाले भन्नुभयो– ‘मलाई र बच्चालाई कोरोना–सोरोना होइन, चिसोले हो, कात्तिक लागिसकेको छ, चिसो बढदै छ । अस्पतालले जाँचेपछि त सबैलाई त्यही देखाउँछ ।’

हो आमा, तपाईंलाई र बच्चालाई चिसोले नै हो भनें । यता दाइलाई निको हुँदै गएको थियो । घरमा मबाहेक सबै संक्रमित । मलाई नेगेटिभ देखाएकोले सबै काम म गर्छु, तपाईंहरू आराम गर्नुस् भनें । सबैलाई आफ्नो–आफ्नो रूममा आइसोलेसनमै बस्न भनेको थिएँ ।

आमा भने दिउँसो मसँगै बस्ने, कुरा गर्ने, टीभी हेर्ने गर्नुहुन्थ्यो । मेरो नतिजा नेगेटिभ भए पनि हर समय म उहाँसँगै बसें । सँगै बस्दा मास्क लगाएर बस्ने गर्थें । मैले लगाएपछि तपाईंले लगाउनुपर्दैन भनेर सम्झाउँथें ।

अरूको कोठामा जान र अरूसँग नजिक हुन भने दिएको थिइनँ । सबै संक्रमित भए पनि कसैलाई बढी–घटी भाइरसको लोड फरक–फरक हुन्छ भन्ने सुनेको थिएँ । उहाँलाई आफ्नो कोठाको अतिरिक्त र टीभी कोठामा, किचनमा आउन रोकेको थिइनँ । अरूको कोठामा भने जान दिइनँ ।

म उहाँसँग गफ गर्ने सबै परिवारलाई तातोपानी, गुर्जो–पानी पकाउने, खुवाउँने गरे । क्रमशः ठीक हुँदै गयो । आमालाई सुरूमा तपाईंलाई भएर निको भइसकेछ भनेका थियौं । नभन्दै आमालाई त्यसै निको हुँदै गयो थप कुनै समस्या आएन ।

घरमा सबैलाई देखाउँदा मलाई भने नेगेटिभ रिजल्ट आइरहँदा दाइ–भाउजूले मलाई भन्नुहुन्थ्यो– पहिले नै भएर निको भएछ कि ? सबैलाई संक्रमण हुँदा कसरी बचेको होला ? सबैलाई हुँदा एक जनामात्र कसरी बच्न सक्छ ? तपाईको त एन्जीजिन नै चेक गर्न पठाउनु पर्ला ।

नभन्दै, घरमा अरूलाई पुष्टि भएको पाँच दिनपछि मलाई सुख्खा खोकी लाग्न लाग्यो । शरीर दुख्ने, ज्वरो आउने भयो । लाग्यो– घरमा कसैलाई छोड्ने भएन यो कोभिडले ! म मात्र बाँकी थिएँ, मलाई नि सर्यो जस्तो लाग्यो ।

दाइसँगै चेक गर्न टेकु गएँ । दाइ र मैले स्वाब दियौं, मेरो पोजेटिभ देखायो, दाइको नेगेटिभ ।

मलाई पोजेटिभ देखिएकोमा कुनै समस्यका रूपमा लिइनँ । घरमा एक वर्षे छोरा र सात दशक पार गर्नुभएकी आमाले कोभिड हो भन्ने थाहा नभई कोभिड जितेको देखेको थिएँ । यदि भएछ भने पनि‍ केही हुँदैन भन्ने आत्मबल बढेको थियो ।

मलाई भने ज्वरोमात्र नभई सुख्खा खोकी, घाँटी दुख्ने र छाती दुख्ने लक्षणसमेत देखियो । तर, मन आत्तिएन । सिटामोल खाएपछि ज्वरो बस्दै गयो, खोकी पनि कम हुँदै गयो । तर, घाँटी भने अलि बढी नै दुख्यो । तातोपानी, खाने बाफ लिने गरिरहेको छु ।

दाइको नेगेटिभ रिजल्ट आइसक्यो । परिवारका अन्य सदस्यहरू सबैले दसैंको पूर्णिमा पछिमात्र चेक गर्ने भनेर बसेका छौं । गम्भीर र जटिल खालका लक्षणहरू हामीमा छैनन् । मलाई सबैभन्दा पछि देखिएको हुनाले केही लक्षण अझै बाँकी छन् । तर, आमा, श्रीमती, भाउजु र छोरामा त्यस्तो कुनै समस्या छैन । उहाँहरूमा कोरोना संक्रमण पुष्टि भएको हप्ता दिन भइसकेको छ । लाग्छ, मेरो परिवारले कोरोनालाई परास्त गरिसकेको छ ।

मेरो अनुरोध तपाईंहरूलाई, सकेसम्म स्वास्थ्य सावधानी अपनाएर सेनिटाइजर, मास्क र सामाजिक दुरीको पालना गरेर बच्ने प्रयास गर्नुहोला । यदि केही गरी लाग्यो भने पनि पटक्कै नआत्तिकन आत्मबल दरिलो पार्नुभयो भने आधा त यसै निको हुन्छ ।

विश्व आक्रान्त छ । आखिर यो विश्वव्यापी महामारीसँग लड्नु नै छ । मेरो भोगाइले पनि तपाईंहरूमा आत्मबल बढाउन सहयोग पुग्ने अपेक्षासाथ होम आइसोलेसनबाटै यो ‘ब्लग’ सेयर गरेको छु ।

(लेखक नेपाल टेलिभिजनमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment