Comments Add Comment

सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको निधन

१८ कात्तिक, पोखरा । नेपाली चाउचाउ उद्योगका पायोनियर भनेर चिनिने प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो ।

निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन थालेका केसी परिवारको जलविद्युत, बैंकिङ, खाद्य क्षेत्रमा लगानी छ ।

सुगर, प्रेसरको समस्या र चिसोको असरलेसमेत ६३ वर्षीय केसीको निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment