Comments Add Comment

कर्णालीमा ६ हजार नाघे कोरोना संक्रमित

१९ कात्तिक, सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बुधबार ३२ जनामा कोरोना संक्रमण देखिएपछि कर्णालीमा संक्रमितको संख्या ६ हजार चार पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा ९ जना, रुकुम पश्चिममा ६ जना, दैलेखमा चारजना, जुम्ला र कालिकोटमा तीन/तीनजना, सल्यानमा दुईजना, जाजरकोटमा एकजना र अन्य प्रदेशका चारजनामा संक्रमण पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप ४० जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार २६३ पुगेको छ ।

प्रदेशभर हालसम्मा ६१५ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment