Comments Add Comment

प्रधानमन्त्रीले चाल्ने ‘कडा स्टेप’ के हो ?

१९ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका नेताहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले कडा स्टेप चाल्ने बताएका छन् ।

आखिर, प्रधानमन्त्री ओलीलाई संविधान र कानुनले कस्तो अधिकार दिएको छ, जसअनुसार उनले कडा कदम चाल्न सक्छन् ?
नेकपा नेताहरुको विश्लेषणअनुसार प्रधानमन्त्रीले चाल्न सक्ने त्यस्तो कदम भनेको संकटकाल हो । तर, अहिलेको अवस्थामा प्रधानमन्त्रीले संकटकाल लगाउने कुनै पनि संवैधानिक आधार छैन ।

नेपालको संविधानमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, वाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रंखलता, प्राकृतिक विपद् वा महामारीको कारणले गम्भीर संकट उच्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्न सक्ने उल्लेख छ ।

तर, अहिले त्यस्तो कुनै अवस्था छैन । कोरोना भाइरस कोभिड-१९ का कारण कुनै गम्भीर अवस्था आएमा सरकारलाई संकटकालीन अवस्थाको घोषणा गर्न सक्ने अधिकार प्रदान गरेको छ तर राजनीतिक प्रयोजनका लागि होइन ।

ओलीले यस अगाडि नै अपनाएर पछाडि हटेको विषय भनेको निर्वाचनसम्बन्धी कानुनमा संशोधन गरेर पार्टी विभाजनसम्बन्धी कानुनलाई सहज बनाउने अविश्वासको प्रस्ताव आएमा त्यसलाई सामना गर्ने । तर त्यसका लागि उनलाई अन्य दलहरुको समर्थन आवश्यक पर्छ जुन यकिन छैन् ।

तर आफूविरुद्ध कुनै कदम चालिए, त्यसको विरुद्ध मिनेट भरमा नै ठूलो कदम चाल्ने ओलीको धम्कीले नेकपालाई फुटबाट जोगाउनको लागि भने सहयोग नै गरेको छ । यस अगाडि पनि विवाद उत्कर्षमा पुग्दा ओलीले पार्टी विघटन गर्ने, संकटकाल लगाउने धम्की प्रचण्ड र माधव नेपाललाई दिएका थिए ।

यो पनि पढ्नुहोस बालुवाटारको ‘लुतो’

प्रचण्डमा पनि ओलीलाई संसदीय दलबाट हटाउँदा पार्टी नै विभाजन हुने हो कि भन्ने भय छ । त्यसैगरी अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि पार्टी विभाजन नहोस भन्नका लागि विशेष सचेत देखिन्छन् ।

दोस्रो वरीयतामा रहेका नेताहरुले पनि कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने बताइरहेका छन् । संसदीय दलमा ओलीलाई अल्पमतमा पारेर हटाउँदा पार्टी विभाजन र संकटकालीन अपस्थामा पुग्ने भयले नै यस अगाडि भदौको अन्तिम साता बिग्रह उत्पन्न भएको हो । तर पहिलाको भन्दा थोरै पृथक छ ।

पहिला प्रचण्ड, वरिष्ठ नेता ओली, झलनाथ खनाललगायतका नेताहरु केपी ओलीको विरुद्धमा एक थिए । तर अहिले विशेषत प्रम ओली र प्रचण्डको वीचमा बढी तनाव देखिन्छ भने माधवकुमार नेपाल तुलनात्मकरुपमा मौन छन् ।

ओलीले प्रचण्डसँगको भेटघाटमा संँगै मिलेर जान नसकिने भयो बरु सल्लाहमा नै पार्टी फुटाउँ भनी दिएको अभिव्यक्तिले तरंग सिर्जना गरेको छ तर नेपालले भने केही पनि बोलेका छैनन् । बरु उनीहरुले पार्टी कुनै पनि हालतमा विभाजन नहुने अभिव्यक्ति दिइरहेका छन् । तर ओली र अन्य नेताहरुको विचमा विवादका विषयहरु भने चाँग लाग्दै गएका छन् । तर उनले दाबी गरेजस्तो ठूलो कदम चाल्ने कार्य ओलीका लागि त्यति सहज भने देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment