१९ कात्तिक, काठमाडौं । वाम दलहरुबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता हुँदैछ ।
हिजो बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका खनालले आज बिहान प्रचण्डसँग भेट्न लागेका हुन् ।
भेटमा वाम एकताको कुरा गर्ने खनालले अनलाइनखबरलाई बताए । ‘वाम दलहरु एकताबद्ध हुनैपर्छ । त्यसका विषयमा आज प्रचण्डसँग पनि छलफल गर्छु,’ खनालले भने ।
एकताका लागि खनालले चार सर्त अघि सारेका छन्-
पहिलो, मार्क्सवाद, लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्छ । यो जबज आदि लगायतका विषयमा रहने कुरा हुँदैन ।
दोस्रो, अहिले समाजवादी क्रान्तिको युगमा हामी छौं । हामी समाजवादी क्रान्ति अघि बढ्नुपर्छ भन्ने मान्नुपर्छ । समाजवादी क्रान्तिको अवधि हो । हामी समाजवादी क्रान्ति अघि बढाउनुपर्छ भन्ने मान्नुपर्छ ।
तेस्रो, एकमात्रै कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ भन्ने मान्नुपर्यो ।
चौथो, समाजवादी कार्यक्रम प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त आदिमा एकरुपता हुनुपर्यो ।
यी चार सर्त जसले मान्छे उसैसँग पार्टी एकता गर्ने खनालले बताए । त्यसका लागि विभिन्न नेताहरुसँग भेट जारी राखेको खनालले बताए ।
एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहितको समूहले माओवादी केन्द्रसँग एकताको निर्णय गरिसकेको छ । हाल झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्रीसहितका नेताहरु भने एकताको निर्णयमा विमती राख्दै आएका छन् । रामकुमारी झाँक्री सहितको टोलीले आज पत्रकार सम्मेलन गर्दैछ । सो समूह नेकपा एमालेमा जाने तयारीमा छ ।
प्रतिक्रिया 4