+
+
Shares

कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्रै दिन निर्देशन

रोयल आचार्य रोयल आचार्य
२०७७ कात्तिक १८ गते २०:२३

१८ कात्तिक, काठमाडौं । कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

मंगलबार दिउसो कोरोना बिमाका विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जतिसक्दो चाडो भुक्तानी हुने व्यवस्था मिलाउन बिमा समितिका अध्यक्षलाई भनेका थिए ।

अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले कार्यको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना बिमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको अर्थमन्त्रालयले जनाएको छ ।

बैठकमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङाना, राजश्व सचिव रामशरण पुडासैनी, बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

समितिका अध्यक्ष चापागाईंले रोकिएका सबै भुक्तानी दिन निर्देशन दिइएको बताए । कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका थिए । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?