+
+
Shares
जाँचबुझ आयोगमा रवि लामिछानेको बयान :

‘कारागार प्रशासनकै आग्रहमा म निस्किएको हुँ’

कारागारको बाहिरी भाग र भित्र कैदी बस्ने ठाँउसम्म तहतहको सुरक्षाघेरा भएको भन्दै लामिछानेले कारागार प्रशासनले आफूलाई रिहा गर्ने क्रममा गरेका कामकारबाही र क्रियाकलापबारे आफू जानकार नभएको बयान दिएको, स्रोतले बतायो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नख्खु कारागार प्रशासनको आग्रहमा कारागारबाहिर निस्किएको दावी गरेका छन्।
  • लामिछानेले आयोगलाई भने, \'मलाई अरूको विश्वास छैन, तर तपाईहरूको नाम देखेपछि बयानमा आएको हुँ।\'
  • जाँचबुझ आयोगले कारागार निरीक्षण गरी लामिछानेको बयान लिएको र जेलर सत्यराज जोशीले दबाबमा हस्ताक्षर गरेको स्वीकारेका छन्।

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दाबी गरेका छन् ।

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा बयान दिँदै लामिछानेले त्यो दिन (भदौ २४ गते) तपाईं बाहिर ननिस्किए प्रदर्शनकारीहरूले कारागारमै आक्रमण र तोडफोड गर्ने अवस्था आउने भनेपछि आफू निस्किएर गएको भनी बयान गरेका हुन् ।

‘त्यो दिन म कारागारमै बसिरहेको थिएँ, प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ,’ लामिछानेको बयान उद्धृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुपर्‍यो भनेपछि म निस्किएको हुँ ।’

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूले दुई दिन नख्खु कारागारको स्थलगत निरीक्षण गर्नुका साथै त्यहाँका कैदीहरूको नाईके तथा भाइनाइकेहरूसँग सोधपुछ गरेको थियो । स्थलगत अध्ययन र सोधपुछपछि आयोगले १९ कात्तिकमा लामिछानेको बयान लिएको हो ।

‘विश्वासले आएको हुँ’

करिब छ घण्टा लामो बयानको सुरुआतमा लामिछानेले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य विज्ञानराज शर्माको नाम लिएका थिए ।

‘मैले अर्का सदस्य (विशेश्वर भण्डारी) लाई नचिन्दो रहेछु, तपाईंहरू दुई जना यहाँ (आयोगमा) हुनुहुन्छ भनेपछि तपाईहरूमाथिकै विश्वासले बयानमा आएको हुँ,’ लामिछानेले भने, ‘मलाई अरूको विश्वास छैन, तर तपाईंहरूको नाम देखेपछि मलाई अन्याय हुनेछैन भनेर बयानमा आएको हुँ ।’

त्यसपछि लामिछानेले त्यो दिन नख्खु कारागारमा भएको घटनाका बारेमा विस्तृत रूपमा बताएका थिए । आफू कारागारमै रहेको अवस्थामा बाहिर प्रदर्शनको खबर आइरहेको र अपडेट भइरहेको भन्दै उनले पछि संसद्‌ भवन, विभिन्न सरकारी निकायहरूमाथि आक्रमणको खबर थाहा पाएको बताए ।

उनले बयानमा गरेको दाबी अनुसार, रास्वपा समर्थक एवं प्रदर्शनकारीहरूको एउटा टोली रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने भन्दै नख्खु कारागार पुगेको थियो । गृहमन्त्री रमेश लेखकले राजिनामा दिएकाले खाली भएको पदमा ‘रविदाई’लाई लैजानुपर्ने भन्दै भीडले नाराबाजी गर्न सुरु गरेको थियो ।

सुरुमा सानो भीडलाई सामना गरिरहेको सुरक्षाकर्मी र कारागार प्रशासकहरूले पछि भीड बढेपछि भने चुनौती महसुस गरे । प्रदर्शनकारीहरूले ‘रवि लामिछानेलाई बाहिर निकाल्नुपर्ने’ माग बढाउन थाले । त्यसबीचमा कारागार प्रशासनका कर्मचारीहरूले रास्वपाका केही नेता र रवि लामिछानेकी पत्नी निकितालाई खबर गरेको बयानमा दाबी छ ।

‘त्यसपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनका कर्मचारी आएर ‘यहाँ हामीले थेग्न नसक्ने भयौं, हजुर गइदिनुपर्ने भयो’ भनेर मलाई आग्रह गरे’ लामिछानेको भनाइ उद्धृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘म कारागारको पत्र नभई एक डेगपछि चल्दिन भनेपछि पत्र तयार पारेका हुन्, त्यसपछि बल्ल म निस्किएको हुँ ।’

बयानका क्रममा सौहार्दपूर्ण रूपमा कुराकानी भएको र त्यसक्रममा लामिछानेले आयोगलाई आफ्नो कार्यशैली चुस्तदुरुस्त पार्न पनि सुझाव दिए ।

लामिछानेलाई प्रश्न सोध्ने, अनि आयोगका कर्मचारीहरूले जवाफ टाइप गर्ने काम भइरहेको थियो । लामिछानेले ‘तपाईंहरूले यसरी काम गर्दा त निकै ढिला हुन्छ, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुल प्रयोग गरेर बोलेको कुरा लिपिबद्ध हुनेगरी छिटो गर्नुहोस्’ भनेर सुझाब दिए ।

लामिछानेले नै सहजीकरण गरेर मौखिक बयान लिपिबद्ध हुने काम गरे । उनले बोलेको कुरा लिपिबद्ध गरी लामिछानेले नै रुजु गरेपछि उनको औंठाछाप र हस्ताक्षर सहित अभिलेखिकृत गरिएको थियो । उनले गरेको बयान करिब १० पेज भएको छ ।

कारागारको बाहिरी भाग र भित्र कैदी बस्ने ठाँउसम्म तहतहको सुरक्षाघेरा भएको भन्दै लामिछानेले कारागार प्रशासनले आफूलाई रिहा गर्ने क्रममा गरेका कामकारबाही र क्रियाकलापबारे आफू जानकार नभएको बयान दिएको, स्रोतले बतायो ।

भीड बड्न थालेपछि उनीहरूले रवि लामिछानेलाई नै संयमित बन्नका लागि आग्रह गरिदिन आग्रह गरेको र उनले पटकपटक तोडफोड नगर्न आग्रह गरेको भनी बयान गरेका छन् ।

जाँचबुझ आयोगले नख्खुका जेलर सत्यराज जोशीसँग पनि बयान लिएको थियो । रवि लामिछाने थुनाबाट निस्कँदा जारी भएको पत्र आफूले तयार नपारेको बताएका उनले पछि भने कारागारमा आएको भीडले ‘अहिले नै मार्छु र काट्छु’ भन्ने दबाब दिएपछि बाध्य भएर पत्रमा हस्ताक्षर गरेको बताएका थिए । उनले पत्रमा भएको व्यहोरा समेत आफूले हेर्न नपाएको दाबी गरेका छन् ।

जाँचबुझ आयोगलाई लिखित जवाफ समेत लेखेका जोशीले घटनाको दिन परिस्थिति नियन्त्रणमा नरहेको भन्दै भीड बढ्दै गएर थेग्न नसक्ने अवस्था भएपनि कैदीबन्दी नै मारिने अवस्था आउनुभन्दा उनीहरूलाई थुनामुक्त गर्नु नै उचित ठानिएको बताएका थिए । उनले सञ्चारकर्मीहरूले लगाउने जस्तो पहेलो रंगको टल्किने ज्याकेट लगाएकाहरूले चर्को दबाब दिएपछि आफूले पत्रमा हस्ताक्षर गरेको स्वीकारेका हुन् ।

त्यसपछिको परिस्थिति चित्रित गर्दै रवि लामिछानेले आफू केहीबेर रास्वपाका नेताहरूसँग कारागारमा नै बसेको र त्यत्तिकै सामान्य गाडीमा बसेर घर जाँदा प्रदर्शनकारीहरू ढुंगामुढा गर्नसक्ने जोखिम भएकाले ‘रुफटप’ (छतपट्टीको भाग खोलेर गाडीभित्र बसेको मान्छेले टाउको बाहिर निकाल्न मिल्ने सुविधा भएको) गाडी मगाएर आफू घर जानुपरेको बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?